Monday, April 18, 2011

सयरमा सावधानी!

यात्रा भनेकै अनुभव हो। अनुभव सुखद पनि हुन्छ, दुःखद पनि। सुखद क्षणमा त सबै पुलकित भइहाल्छन्, तर यात्रामा निस्कँदा दुःखद अनुभवका लागि पनि तयार रहनुपर्छ।
यात्राका अधिकांश दुःखद पल हाम्रो आफ्नै असावधानीले निम्तन्छन्। कति भने टारेर टार्न सकिँदैन, तर समाधानका उपाय हुन्छन्। जसको ज्ञान यात्रामा निस्कनुअघि नै हुनु जरुरी छ।
डाँफे ट्राभल सेन्टरका प्रबन्ध निर्देशक पवित्रकुमार कार्कीसँग हामीले विदेश यात्राका क्रममा आउनसक्ने केही आकस्मिक समस्या र त्यसको निदानबारे वार्ता गर्‍यौं। ट्रान्जिट जहाज छुटेको छ भने अर्को व्यवस्था गर्ने पुरा जिम्मेवारी सम्बन्धित जहाज कम्पनीकै हुन्छ। तपाईं खाली आफ्नो टिकट देखाउनुस्, बाँकी बन्दोबस्त उसैले गर्छ। छुट्टै शुल्क एक पैसा लाग्दैन हराएका अधिकांश लगेज फिर्ता हुन्छन्। सम्बन्धित जहाज कम्पनीले तपाईंको घर वा तपाईं बस्ने होटलमै ल्याएर छाडिदिन्छन्। त्यसैले, आत्तिनुपर्ने आवश्यकता छैन

जहाज छुट्यो भने?
विदेश जाँदा अधिकांश ठाउँमा सिधा फ्लाइट पाइन्न। अर्को कुनै सहर गएर त्यहाँबाट …कनेक्टिङ फ्लाइट' समात्नुपर्छ। जस्तो, अमेरिकाको न्यूयोर्क जानुछ भने सबभन्दा पहिला थाइल्यान्डको बैंकक, अनि बल्ल न्यूयोर्क। वा, कतिचोटि त दुई/चारवटै सहर फन्को मार्नुपर्छ। यस्तोबेला कुनै एउटा जहाज ढिलो भयो भने अर्को जहाज छुट्ने सम्भावना धेरै हुन्छ। यसले तपाईंको पुरै यात्रा योजना चौपट पार्छ। यस्तोमा के गर्ने त?
…जहाज छुट्यो भन्दैमा आत्तिनुपर्ने कुनै कारण छैन,' कार्की भन्छन्, …तपाईंले सम्बन्धित विमान कम्पनीको सम्पर्क डेस्कमा गएर आफ्नो समस्या राख्नुभयो भने तुरुन्तै अर्को जहाजमा सिट पाउनुहुन्छ।'
यसका लागि उनको सुझाव छ — सबभन्दा पहिले एयरलायन्सको सम्पर्क डेस्कमा गएर लगत्तै अर्को जहाजमा सिट सुरक्षित पारिहाल्नुस्। तपाईंको आफ्नै लापरवाहीले छुटेको हो, अघिल्लो जहाज आइपुग्नै ढिला भएको हो वा एयरपोर्टको भीडभाडले नभ्याएको हो — यी सबै अवस्थामा तपाईंले अर्को जहाजमा सिट पाउनुहुन्छ।
ट्रान्जिट जहाज छुटेको छ भने अर्को व्यवस्था गर्ने पुरा जिम्मेवारी सम्बन्धित जहाज कम्पनीकै हुन्छ। तपाईं खाली आफ्नो टिकट देखाउनुस्, बाँकी बन्दोबस्त उसैले गर्छ। छुट्टै शुल्क एक पैसा लाग्दैन।
तर, कहिलेकाहीँ यही समस्या स्वदेशमा पनि पर्न सक्छ। यसको निदानका लागि सबभन्दा पहिला त घरबाट अतिरिक्त समय राखेर निस्कनुपर्‍यो, र जहाज छुट्ने वातावरण आउनै दिनुभएन।
…रिभ्यालिड टिकट' लिनु पनि समाधानको उपाय हो। फिर्ता नपाइने टिकट लिनुभएको छ भने जहाज छुट्नेबित्तिकै त्यसको काम सक्किहाल्यो। अब अर्को टिकट नकाटी सुख छैन। नवीकरण गर्न मिल्ने रिभ्यालिड टिकट छ भने त्यो स्वतः नवीकरण भइहाल्छ। यस्तो टिकटको मूल्य बढी पर्छ।

लगेज हरायो भने?
जहाजको लामो यात्रा गर्दा सबै झोला आफैं बोकेर साध्य हुन्न। त्यसैले हातेझोला आफूसँग राखेर ठुल्ठुलो ब्यागेज (अधिकतम तौलसम्मको) जहाजमा पठाउनुपर्छ। कहिलेकाहीँ गन्तव्यमा पुगेपछि आफ्नो लगेज आइनपुगेको थाहा पाउनुहुनेछ। परेन फसाद!
यस्तोमा तपाईंले चाल्ने पहिलो कदम भनेको सरासर विमानस्थलको …लस्ट एन्ड फाउन्ड' काउन्टरमा जाने र ब्यागेज हराएको सूचना दिने। यसका लागि आफू कहाँबाट आएको, कहाँ जाने, कुन ठाउँमा बस्नेलगायत सूचना र लगेजमा भएका सामानको विवरण खुलाएर फारम भर्नुपर्छ। कतिपय ठाउँमा टुथपेस्ट, ब्रसलगायत अत्यावश्यक सामान किनमेल गर्न केही पैसा क्षतिपूर्ति पाइन्छ।
हराएका अधिकांश लगेज फिर्ता हुन्छन्। सम्बन्धित जहाज कम्पनीले तपाईंको घर वा तपाईं बस्ने होटलमै ल्याएर छाडिदिन्छन्। त्यसैले, आत्तिनुपर्ने आवश्यकता छैन।
लगेज पाइएन भने (सामान्यतया यसरी ढिला हुने २ प्रतिशत लगेज हराएको रेकर्ड छ) त्यसभित्र भएका सामानको मूल्य दाबी गर्न सकिन्छ। यसका लागि जहाज कम्पनीले दिने …लगेज ट्याग' जतनसाथ राख्नुपर्छ। त्यही ट्याग देखाएर सामान दाबी गर्न सकिन्छ।
केही कम्पनीले प्रतिकिलो २० देखि ५० डलरसम्म क्षतिपूर्ति दिने गरेका छन्। तर, अधिकांशले लगेजमा भएका नगद, कलात्मक तथा पुराताŒिवक सामग्री, विद्युतीय सामान, गरगहनाजस्ता महँगा सामानको क्षतिपूर्ति दिँदैन। त्यसैले, यस्ता सामान लगेजमा नराखेकै राम्रो। क्षतिपूर्ति दिँदा पनि बजार भाउअनुसार पैसा पाइँदैन। केही प्रतिशत …डेप्रिसियसन' काटिन्छ। कहिलेकाहीँ खरिद गर्दाको रसिद बुझाउनुपर्ने हुनसक्छ।
…सबभन्दा राम्रो भनेको महँगा र अत्यावश्यक सामग्री लगेजमा राख्दै नराख्नू,' कार्की भन्छन्, …यस्ता सामान लैजानुछ भने आफूसँगै ह्यान्डक्यारीमै लगेको बेस।'

पासपोर्ट हरायो भने?
विदेश यात्रामा निस्कँदा सबभन्दा जतनसाथ राख्नुपर्ने पासपोर्ट हो। तर, जतिसुकै जतन गरे पनि मानवीय त्रुटी न हो, कहिलेकाहीँ हराउनसक्छ, गोजीमा बोकेर हिँड्दाहिँड्दै खस्नसक्छ, ह्यान्डक्यारीसँगै चोरिनसक्छ। यस्तो बेला धेरै यात्रु के हुने हो कसो हुने हो भनेर आत्तिन्छन्।
…जे भएपनि यो आत्तिनुपर्ने समस्या होइन,' उनी भन्छन्, …अलिकति दुःख पाइन्छ, तर समस्याको समाधान छ।'
पासपोर्ट हराइहाल्यो भने सबभन्दा पहिला त्यो ठाउँमा नेपाली दूतावास छ कि छैन र छ भने कहाँ छ पत्ता लगाउनुपर्छ। दूतावासले सजिलै ट्राभल डकुमेन्ट बनाइदिहाल्छ। तपाईं त्यही देखाएर यात्रा गर्न सक्नुहुन्छ। तर, सबै देशमा नेपाली दूतावास छैन। यात्रामा निस्कनुअघि यसको जानकारी लिनैपर्छ। कुन–कुन देशमा दूतावास छ भन्ने सूचना …डब्लुडब्लुडब्लु डट एमओएफए डट जिओभी डट एनपी'मा राखिएको छ।
पासपोर्ट हराएको ठाउँमा दूतावास रहेनछ भने त्यो देशको सहप्रमाणीकरण कुन दूतावासले हेर्छ, त्यहाँ सम्पर्क गर्नुपर्छ। जस्तो, ब्राजिलस्थित नेपाली दूतावासले अर्जेन्टिना पनि हेर्छ। अर्जेन्टिनामा पासपोर्ट हराउँदा ब्राजिलको दूतावासबाट सहयोग पाइन्छ। तपाईंलाई अर्जेन्टिनी अध्यागमन विभागले ब्राजिलको नेपाली दूतावासमा सम्पर्क गराइदिन्छ।
…यात्रामा निस्कँदा आफूसँग पासपोर्टका केही प्रतिलिपि पनि साथै राख्नुपर्छ, यसले नयाँ बनाउन वा ट्राभल डकुमेन्ट निकाल्न सजिलो हुन्छ,' कार्की भन्छन्, …त्योभन्दा राम्रो र सजिलो भनेको पासपोर्ट स्क्यान गरेर आफ्नो इमेलमा सेभ गरेर राख्नु हो।'

बिरामी परियो भने?
यात्रामा निस्कँदा हावापानी परिवर्तन भएर वा खानपिन नमिलेर बिरामी पर्न सकिन्छ। यस्तोमा जहाज कम्पनीसँग सम्पर्क गर्नुपर्छ। कम्पनीले नै बिरामीको हेरचाह गर्छ। बिरामी यात्रुको हेरचाहका लागि कम्पनीहरूले स्वयंसेवक खटाएका हुन्छन्।
कहिलेकाहीँ गम्भीर प्रकृतिको बिरामी छ भने अवस्था हेरेर स्वदेश फिर्ता पठाउने गरिन्छ। सामान्य छ भने औषधिउपचार गरेर लगिन्छ। तर, विमान कम्पनीले नै हेरचाह गरे पनि उपचार खर्च भने आफैंले बेहोर्नुपर्छ।
यो त भयो जहाजभित्रको कुरा। सम्बन्धित देशमै पुगेर बिरामी परे के गर्ने? आकस्मिक उपचार चाहिए स्थानीय सरकारी अस्पतालमा सम्पर्क गर्न सकिन्छ। तर, अमेरिकाजस्तो देशमा औषधिउपचार खर्च हामीले धान्नैनसक्ने महँगो हुन्छ। त्यसैले, यात्रामा निस्कनुअघि नै स्थानीय बिमा कम्पनीमा औषधिउपचार र दुर्घटना बिमासहितको …ट्राभल इन्स्योरेन्स' गराउँदा यात्रा सहज हुन्छ।

वृद्धवृद्धा वा बालबालिकामात्रै भए के गर्ने?
विदेशमा रहेका साथीभाइ वा आफन्तले छोराछोरी वा बुबाआमालाई मात्रै घुम्न बोलाउँछन्। वृद्धवृद्धा र बालबालिकालाई यात्राको कुनै जानकारी हुँदैन। भाषाको ज्ञान पनि नहुनसक्छ। ट्राभल एजेन्सीलाई पहिल्यै आफ्नो अवस्थाबारे जानकारी गराउनुपर्छ।
…तपाईं आफूलाई यात्रा अनुभव नभएको र भाषा पनि नआउने कुरा ट्राभल कम्पनीलाई जानकारी दिनुस्, अरू काम एयरलायन्सले नै गर्छ,' उनी भन्छन्।
यस्तो अवस्थामा टिकट बुकिङ गर्दा छुट्टै शुल्क तिर्नुपर्छ। शुल्क तिरेपछि जहाजमा उक्लने, ओर्लने र सम्बन्धित ठाउँसम्म पुर्‍याइदिने जिम्मा एयरलायन्सकै हुन्छ। कतिले त घाँटीमा सूचना झुन्ड्याएर पठाइदिन्छन्। जस्तो, …उहाँले कान सुन्नुहुन्न, सहयोग गरिदिनुहोला।'
कार्कीका अनुसार दस वर्षभन्दा बढी उमेरका केटाकेटीलाई यसैगरी पठाउन सकिन्छ। …त्योभन्दा कम उमेरकालाई भने एक्लै यात्रा गर्न दिइँदैन,' उनी भन्छन्।

पाकेटमारको फन्दा परे?
नेपालमा मात्रै होइन, पाकेटमारको बिगबिगी संसारभरि छ। जहाँ पनि सावधान हुनु नै राम्रो। कति ठाउँमा त ट्याक्सी चालकहरूले नै हैरान पार्छन्। एयरपोर्ट र जहाजभित्र यस्तो समस्या विरलै पर्छ।
यसबाट बच्न धेरै नगद पैसा बोकेर हिँड्नुभन्दा क्रेडिट कार्ड वा ट्राभल चेक बोक्नु सबभन्दा बेस। यी हराए पनि सम्बन्धित बैंकलाई सम्पर्क गरेर तत्काल समाधान खोज्न सकिन्छ। नगदै छ भने भएभरको पैसा कहिल्यै एकै ठाउँमा राख्नुहुन्न। तीनचार ठाउँमा बाँडेर राख्नुपर्छ। एकठाउँको पैसा चोरी हुँदा पनि अर्को ठाउँको बच्छ।
यति गर्दा पनि पाकेटमारको फन्दा परियो भने एउटै उपाय भनेको दूतावासमा गएर सहयोग माग्ने। त्यो देशमा भएका साथीभाइले पनि सहयोग गर्न सक्छन्। स्थानीय प्रहरीबाट भने सहयोगको आस कम हुन्छ।

जहाजको खान्की?
कति जहाजले खानाको सुविधा दिन्छन् त कतिले दिँदैनन्। कति जहाजमा पैसा तिरेर खाना खान पाइन्छ। यदि तपाईं सस्तो टिकटको बजेट एयरलायन्समा यात्रा गर्दै हुनुहुन्छ भने खाना किन्नुपर्छ। कतिलाई खानाको मेनु र मूल्यबारे जानकारी नहुनसक्छ। यस्तोमा निसंकोच अरूको सहयोग लिनैपर्ने कार्की बताउँछन्।
जहाजमै खानाको सुविधा छ भने टिकट काट्दा नै आफू साकाहारी हो वा होइन खुलाउनुपर्छ। त्यहीअनुसार जहाजभित्र खाना आइपुग्छ। कहिलेकाहीँ मेनु हेर्दा खानाको प्रकृति र स्वाद थाहा नपाएर पनि हैरान परिन्छ। …खानाको नाम जानिँदैन भने एयर होस्टेस वा अरू जान्ने मान्छेसँग सोधपुछ गर्नुको विकल्प छैन, यहाँ लाज मानेर चल्नेवाला छैन,' कार्की भन्छन्, …नत्र भोक्कै परिन्छ।'
त्यस्तै, कति जहाजामा शौचालय प्रयोग गर्न गाह्रो हुन्छ। यस्ता कुरामा एयरहोस्टेस वा साथीयात्रीको सहयोग माग्दा तपाईंलाई कसैले होच्याउँदैन। …यो भ्रमलाई नेपालको विमानस्थलमै मिल्काएर उड्नु नै राम्रो,' उनी भन्छन्।

प्रहरीले समात्यो भने?
आफू सही हुँदाहुँदै पनि कहिलेकाहीँ भिसा वा पासपोर्टमा समस्या आएर त्यहाँको प्रहरी वा अध्यागमन विभागले समात्नसक्छ। त्यस्तो बेला नहड्बढाई आफ्ना कुरा राख्नुपर्छ। उनीहरूलाई शंका लाग्यो भने अध्यागमन विभागमा राख्छन्। बदमासी गर्नुभयो भने स्वदेश फिर्ता पठाइन्छ। गैरकानुनी काम गरेको ठहरिए त जेल सजाय पनि भोग्नुपर्छ।
यात्रामा निस्कनुअघि नै सम्बन्धित देशको नियमकानुनबारे मोटामोटी ज्ञान हुनु जरुरी छ। जस्तो, अमेरिकी विमानस्थलमा हुने एक–तिहाई पक्राउ लागूऔषधसँग सम्बन्धित छ। सिंगापुर विमानस्थलले शौचालय …फ्लस' नगर्दा पनि तपाईंलाई जरिवाना गराउँछ। चक्लेट खाएर बोक्रा भुइँमा मिल्काउँदा पनि सजायको भागीदार हुनुपर्छ। कुनैकुनै देशमा चुरोट–रक्सी लग्न पाइँदैन।
दुर्भाग्यवस पक्राउ परियो भने दूतावासमा सम्पर्क गराइदिन प्रहरीलाई आग्रह गर्नुपर्छ। त्यसपछि घरपरिवारसँग सम्पर्क गरेर सहयोग माग्नुपर्छ।

प्राकृतिक वा मानवीय विपत्ति परे?
विपत्ति कसैले टार्न सक्दैन। जस्तो, नयाँ ठाउँमा पुग्दा अचानक आतंककारी हमला हुनसक्छ। भुइँचालो जानसक्छ। यस्तो अवस्थामा आफ्नो बन्दोबस्त आफैंले गर्नुपर्छ। खानेबस्ने व्यवस्था आफैं मिलाउनुपर्छ। अहिले हिमपातका कारण उत्तरी युरोपका धेरै फ्लाइट रोकिएका छन्। यसमा आफ्नो व्यवस्था आफैं गर्नुको विकल्प छैन। मौसमका कारण आउने विपत्ति टार्न यात्रामा निस्कनुअघि नै इन्टरनेटबाट आफ्नो गन्तव्यको मौसमबारे जानकारी लिन सकिन्छ।
तर, एयरलायन्सका कारण विपत्तिमा परे जहाज कम्पनीले नै सबै खर्च बेहोर्छ। जहाजको प्राविधिक समस्याले उडान स्थगित भए खानेबस्ने व्यवस्था उसैले मिलाउँछ।

No comments: