Tuesday, April 19, 2011

सिल्करोड हुँदै नेपाल


सारा दम्ब्रस
नेपालमा स्थानीय महिलाहरूसँग जंगलमा गएर काठदाउरा काट्न, १५ मिनेट तलबाट गाग्रीमा पानी बोकेर ल्याउन मलाई निकै रमाइलो लाग्यो। रोग लाग्दा फुकफाक गर्ने विद्या देखेर मलाई अचम्म लाग्यो। यो विद्या सिक्ने रहर छ

म सानैदेखि घुम्न भनेपछि हुरुक्कै हुन्थेँ। साथीभाइ बटुल्यो, घुम्न निस्किहाल्यो। त्यो बानी आजसम्म छ।
घुम्नु भनेको सोचेजति सजिलो कहाँ हुन्छ र! कपडादेखि खानेबस्नेसम्मको बन्दोबस्त मिलाउनुपर्छ। भनेको ठाउँमा राम्रा होटल फेला पर्दैनन्। परे पनि नयाँ ठाउँमा राम्रो होटल खुट्टयाउनु आफैंमा गाह्रो काम हो। घुमफिरको सोख राख्ने मान्छेले यस्ता चुनौतीसँग जुध्ने हिम्मत देखाउनैपर्छ। नयाँ ठाउँमा नयाँ मान्छेसँग बोल्दा नै खुट्टा लगलग कमाउनेहरूले घुमेर खाँदैनन्।
म गर्वसाथ भन्छु, ममा सानैदेखि यो सामर्थ्य थियो। म चुनौतीदेखि डराउँदिनँ। नयाँ ठाउँमा नयाँ मान्छेसँग भेट्दा–बोल्दा खुट्टा कमाउँदिनँ।
मुटु दरो नभइदिएको भए इटालीबाट …सिल्करोड' हुँदै नेपाल आइपुग्न कहाँ पाएर सक्थेँ र! त्यो पनि पाँच वर्षको अविराम यात्रा गरेर। कहिले गाडीमा, कहिले त पैदल।
पाँच वर्षअघि म स्कुलमा पढ्दै थिएँ। १६ वर्षको अल्लारे उमेर थियो। सिल्करोड छिचोलेर हिमालयको देश पुग्ने योजनाले मलाई दिनरात खान थालिसकेको थियो। विभिन्न वेबसाइटमा सिल्करोडको रोमाञ्चक यात्रा अनुभव पढेदेखि र त्यहाँका तस्बिर हेरेदेखि म भित्रभित्रै जुर्मुराइसकेकी थिएँ। घरि मरुभूमि, घरि पहाड र घरि हिमालय भूमि पार गर्नुपर्ने यो यात्रामा कहिले निस्कुँ भन्ने भइसकेको थियो। मनमा उत्साहको कमी थिएन, तर आमाबुवालाई यति लामो यात्राको योजना कसरी सुनाउने?
घरबाट अनुमति पाउन सजिलो भएन। सुरुमा त आमाबुवा तीनछक पर्नुभयो, मैले पाँचछ वर्षलाई घुम्न जान्छु भन्दा। कैयौं दिन बोलचाल भएन घरमा। म अगाडि परे कि उहाँहरू तर्किने, उहाँहरू अगाडि पर्नुभए म आँखा जुधाउन नसक्ने।
यसबीच दुई महिनाका लागि इटालीमै घुम्न निस्केँ, मेरो प्यारो पुन्टे कुकुर …सासा' लाई साथ लिएर। यात्रा रोमाञ्चक भयो। यो घुमाइले मेरो आत्मविश्वास हलक्कै बढाइदियो। फर्केर आएपछि आफूले खिचेका सबै फोटो आमाबुवालाई देखाएँ। फोटो देखेर उहाँहरू दंग पर्नुभयो। सासा पनि कम्प्युटरमा आफ्नो फोटो देखेर पुच्छर हल्लाउँदै कुइँकुइँ गर्थ्यो। आमाबुवा झन् खुसी हुनुभयो।
इटालीको यो यात्रामा निस्कनुअघि घरमा जुन खालको अप्ठ्यारो स्थिति थियो, फर्केर आउँदा हराइसकेको थियो। दुई महिना टाढा रहेर होला, आमाबुवा मसँग निकै घुलमिल हुन थाल्नुभयो। मैले पनि यही मौका हो भन्ठानेर फेरि उहाँसँग अनुमति मागेँ, सिल्करोडको यात्रा गर्न।
उहाँहरूले आनाकानी त गर्नुभयो, तर जानै दिन्नँ भन्ने ढिपी लिनुभएन। इटालीको रोमाञ्चक यात्राको वर्णनले सायद उहाँहरू मप्रति ढुक्क हुनुभयो भन्ने लाग्छ।
मैले अनुमति पाएँ।
सन् २००५ जनवरीमा मेरो यात्रा सुरु भयो।
...
यात्रामा जाँदा पुरै तयारी गर्नुपर्छ भन्ने मलाई थाहा थियो, तर म तयारीबिनै निस्केँ। सोचेँ, जहाँ जे पर्छ त्यही गर्छु। घरबाट निस्केको एक वर्ष त युरोपमै बिताएँ। युरोपका विभिन्न देश घुमेँ। पैसाको जोहो गर्न म सानोतिनो जे काम भेट्यो त्यही गर्थें।
लन्डन पुगेपछि पैसा पुर्‍याउन निकै गाह्रो भयो। त्यो सहर निकै महंगो रहेछ। जे कुरा पनि छोइनसक्नु। खानचाहिँ सबभन्दा महंगो लाग्यो। साथमा रहेको सबै पैसा निखि्रएपछि मैले त्यहाँको एउटा सानो होटलमा …सेफ असिस्टेन्ट'को काम गरेँ। कमाएको पैसा थप यात्रालाई चाहिन्थ्यो। त्यसैले, फुर्माइस गर्ने हैसियत थिएन। खानलाई खुबै कञ्जुस्याइँ गरेँ। पाउरोटीको भरमा कैयौं दिन काटेँ। त्यहाँका सुपरमार्केटहरूमा …एक्सपाइरी डेट' (प्रयोग गर्ने अवधि) सकिन लागेका खानेकुरा निःशुल्क पाइन्थ्यो। …डम्पस्टर डाइभिङ' भनिने त्यस्ता खानेकुराले स्वास्थ्य ठिक गर्दैन भनेर अंग्रेजहरू रुचाउँदा रहेनछन्। मलाई त के मतलब! कमभन्दा कम पाउन्ड खर्चेर पेट भर्नुपर्ने थियो। त्यसमाथि पैसै नपर्ने भएपछि मलाई अरू के चाहियो! मैले त्यही खाएँ। केही केही त पछिलाई काम लाग्ला भनेर पनि राखेँ।
बस्नलाई भने …अक्युपाइड हाउस' (लन्डनमा प्रयोगमा नरहेका घर) सफा गरेर बस्थेँ। त्यहाँ घर सफा गरिदिएबापत् बस्नलाई पैसा लाग्थेन।
पैसाको कति महŒव हुन्छ भन्ने कुरा मैले लन्डन बसाइमा थाहा पाएँ। झन् होटलमा मिहिनेत गरेर कमाएको पैसा चोरी भयो। थप पैसा जम्मा गर्न फेरि केही दिन लन्डनमै बस्नुपर्‍यो।
यात्रामा मैले सबभन्दा बढी दुःख पाएको लन्डनमै हो। अर्को ठाउँसम्म पुग्ने पैसा जोरजाम भएपछि मैले एक सेकेन्ड त्यहाँ बिताइनँ।
एक वर्षको युरोप यात्रापछि करिब एक वर्ष मैले पूर्वी अफ्रिकामा बिताएँ। त्यहाँ पनि विभिन्न संस्थामा स्वयंसेवकका रूपमा काम गरेँ। त्यसले खान, लाउन र बस्न मज्जाले पुग्थ्यो। केन्या, तान्जेनिया, जाम्बियालगायत अफ्रिकी देश घुमेँ। म केन्या पुग्दा चुनाव भइरहेको थियो। छिटपुट हिंसाका घटना हुन्थे। तर, असुरक्षित महसुस गर्नुपर्ने अवस्था थिएन।
त्यहाँ म गाउँको एउटा झुपडीमा बस्थेँ। राति एक्लै हिँड्दावर्दा आफैंलाई असुरक्षित भएजस्तो लाग्थ्यो। मनमा नराम्रा–नराम्रा कुरा खेल्थे। टिनएज उमेरमा मनमा उठ्ने अनेकन प्रश्नले झक्झक्याइरहन्थ्यो। तैपनि मन दरो पारेर आफैंलाई सम्हाल्थेँ।
...
घरबाट हिँडेको दुई वर्ष भइसकेको थियो। परिवारको न्यास्रोले सतायो। इटाली फर्किएँ। एक महिना घरमै बसेँ। सिल्करोडको महŒवाकांक्षी यात्रा अधुरै थियो। मेरा खुट्टा फेरि फड्फडाए। दुई वर्षको युरोप र अफ्रिका यात्राले नयाँ जीवनशैली, भाषा, भेषभुषा र चालचलनबारे मलाई धेरै कुरा सिकाएको थियो। फेरि नयाँनयाँ गन्तव्य पुगेर नयाँनयाँ कुरा सिक्ने इच्छाले मेरो मन कुटुकुटु खान थाल्यो।
मैले फेरि यात्रा सुरु गरेँ।
पहिलो गन्तव्य बन्यो, कोसोभो। कोसोभो भर्खरै स्वतन्त्र राष्ट्र बनेको थियो। यसअघि कोसोभो र बाल्कन्स युगोस्लाभियाअन्तर्गत थियो। स्वतन्त्र राष्ट्र गठनपछि त्यहाँका मानिसमा निकै ठूलो उत्साह मैले देखेँ। वर्षौं पिँजडाभित्र कुञ्जिएर बसेको चराले स्वतन्त्र आकासमा पखेटा फिँजारेजस्तै।
कोसोभोबाट घुम्दैघुम्दै गाजा आइपुगेँ। गाजा कसको हो भन्ने विवाद चलेकै थियो। इजरायल र प्यालेस्टाइनको युद्धभूमि थियो गाजा। म गाजा युद्ध सुरु भएको दुई दिनपछि त्यहाँ पुगेकी थिएँ। को कतिखेर कहाँ मारिने हो थाहा थिएन। मलाई त्यहाँ धेरै दिन बस्नु ठिक लागेन। त्यहाँबाट मध्यपूर्वी एसिया र इजिप्ट हानिएँ।
सिल्करोडको मुख्य व्यापारिक केन्द्र टर्की हो। यहाँ आइपुगेपछि ४ महिनाको निःशुल्क भिसा पाइयो। यसले टर्कीको बसाइ आरामदायी रह्यो। पहिले पाएका दुःखजति जम्मै बिर्सें।
सिल्करोडको एउटा विशेषता के हो भने, यहाँ विभिन्न देशलाई समेटेर एउटा खास नाम राखिएको हुँदो रहेछ। जस्तो– जर्जिया, अर्मानिया र अजरबैजानलाई समेटेर …काउकाजुस' नाम राखिएको थियो। म काउकाजुसमा झन्डै तीन महिना बसेँ। यतिञ्जेल आफूसँग भएको पैसा सक्किसकेको थियो। फेरि पैसाको फिटिफिटी पर्न थाल्यो। मैले थप यात्राका लागि पैसा जम्मा गर्न काउकाजुसमा विभिन्न …आर्ट प्रोजेक्ट' मा काम गरेँ।
नयाँ यात्राले नयाँ कुरा सिकाउँछ। म पनि पाइलैपिच्छे नयाँनयाँ कुरा सिकिरहेकी थिएँ। कहीँ नयाँ संगीत, कहीँ नयाँ नृत्य। एउटा देशमा कम्तिमा तीन दर्जनजति लोकनाच र लोकगीत सिक्ने मौका मैले पाएँ। गीत–संगीत र कलामा विशेष रुचि भएकाले म नयाँ ठाउँ पुग्यो कि सबभन्दा पहिला यिनै विषयको खोजखबरमा लाग्छु। त्यसलाई आफ्नो डायरीमा उतार्छु। र, रट्न थाल्छु।
मलाई यो यात्राभरिमा सबभन्दा मन परेको टर्कीको संगीत हो। यहाँको संगीतलाई …पोलिफोनिक' संगीत भनिँदो रहेछ। यसमा तीन या सातवटा आवाज मिलाएर स्वरबद्ध गरिन्छ। सुन्दा निकै आनन्द आउँछ। त्यतिमात्रै होइन, जंगल र प्राकृतिक दृश्यावलोकनमा पनि म खुबै रमाएँ। सहरका चिल्ला सडक र अग्ला महलभन्दा प्राकृतिक सौन्दर्यले मलाई बढ्ता तान्छ। आधुनिक सभ्यता हेर्नलाई त इटालीमा कम्ता चिज छन् र! म त प्रकृतिसँग नजिक हुनै भनेर सिल्करोड यात्रामा निस्केकी हुँ।
र, नेपाल आउनुको मुख्य उद्देश्य पनि मेरो यही हो।
...
तपाईं पनि मजस्तै सिल्करोडमा यात्रा गर्न चाहनुहुन्छ एउटा कुरा याद राख्नुस्, यहाँ सार्वजनिक गाडीको सुविधा त्यति राम्रो छैन। वा, भनौं छँदैछैन। यात्रा गर्दा प्रायः अर्काको गाडीमा लिफ्ट माग्नुपर्छ। त्यसैले, लिफ्ट माग्ने कला जानिराख्नु राम्रो। मैले धेरै ठाउँमा लिफ्ट मागेरै यो यात्रा पुरा गरेकी हुँ।
इरान आइपुग्दा म १९ वर्षकी भइसकेकी थिएँ। मैले यो यात्रामा इरानीजस्ता मिजासिला र सहयोगी मान्छे अन्त भेटिनँ। इरानमा भेटिएको मेरो एकजना साथी अर्काे हप्ता नेपाल आउँदैछ। ऊ पहिलोचोटि नेपाल आउन लागेको हो। मैले यहाँ धेरै ठाउँ देखिसकेँ। उसले मलाई इरान घुमाएको थियो, अब म उसको काठमान्डुको पथप्रदर्शक।
इरानमा रहँदा मैले एकदिन पनि गेस्ट हाउसमा बस्नुपरेन। त्यहाँ त पर्यटकलाई भगवानजस्तै मानिँदो रहेछ। जसलाई भेटे पनि छिट्टै घुलमिल भइहाल्ने। र, आफ्नै घरमा बस्न प्रस्ताव राख्ने। म धेरै इरानीहरूको घरमा बसेँ। त्यो साथीलाई भेटेको पनि त्यसै क्रममा हो।
मैले इरानको याज भन्ने ठाउँमा घुम्नुका साथै एक महिना काम पनि गरेँ। उजाड मरुभूमिको बीचमा बनेको खैरो रङको सहर हो त्यो। त्यहाँका घरहरूमा परालको भित्ता हुँदो रहेछ। गरिबीले नै होला, त्यो निकै कमलो हुन्थ्यो। अलिकति बल लगाउँदा पनि गर्ल्यामगुर्लुम ढल्ने। त्यो देखेरै मेरो मन त्यसै पग्लिएर आउँथ्यो। मैले त्यहाँका साथीहरू र मलाई घरमा पाहुना बनाएर राखेका घरधनीहरूलाई इटालियन पिज्जा बनाएर खुवाएँ। उनीहरूले पिज्जाको नयाँ स्वाद निकै मन पराए।
याजमै बन्दरबस नामको एउटा टापु छ, जहाँ हिप्पीहरू जम्मा भएर रङ र संगीतको उत्सव …फेस्टिभल अफ कलर्स एन्ड म्युजिक' मनाउँदा रहेछन्। सरकारले यो पर्वलाई गैरकानुनी मान्छ, तर स्थानीयले मनाउन छाडेका छैनन्।
इजरायली र इरानी सरकारले एकअर्काको देशमा जान निषेध गरेको छ। त्यहाँका मानिस यही टापुमा आएर रमाइलो गर्दा रहेछन्। म पनि त्यहाँ पुगेर निकै रमाएँ। अचम्म त के लाग्यो भने, टापुमा बस्ने भएर पनि त्यहाँका केटाकेटीलाई पौडी खेल्न आउँदो रहेनछ। मैले खुब मज्जाले पौडी खेलेँ। केटाकेटीहरू ट्वाल्ल परेर हेर्थे। मैले केही टाठा बालखाहरूलाई पौडी खेल्न सिकाइदिएँ।
इरानपछि अफगानिस्तान हुँदै पाकिस्तान आइपुगेँ। अफगानिस्तानसँग जोडिएको पाकिस्तानको पेसावर निकै अनौठो लाग्यो। …ट्राइबल' क्षेत्र रहेछ। पुलिसलाई समेत छिर्न बन्देज थियो। पर्यटकहरू भने १० डलर तिरेर छिर्न पाउँदा रहेछन्। यहाँ हतियार, गाँजा, चरेसको खुलेआम खरिदबिक्री हुँदो रहेछ। म छक्क परेँ।
पाकिस्तानको बालुचिस्तान सहरमा पनि अचम्मकै नियम रहेछ। यहाँ आउने प्रत्येक पर्यटकलाई सुरक्षा दिन एकजना सैनिक खटाइँदो रहेछ। धेरै आतंककारी हमला हुने भएर होला। ती सैनिक प्रत्येक घन्टा परिवर्तन हुँदा रहेछन्। यस्तो निगरानीमा बस्नुपरेकाले मैले घुमघाम गर्ने त कल्पनै गरिनँ।
बालुचिस्तानको यात्रा गर्दा चार दिनसम्म एकजना पनि महिला देखिनँ। मलाई त्यो ठाउँमा निकै विरक्त लागेर आयो। त्यहाँ बसोबास गर्दा मैले पनि इस्लाम संस्कृतिअनुसार टाउको र मुख बुर्का लगाएर छोप्नुपर्‍यो। बालुचिस्तानको सिमानामा आइपुग्दा साँझ परिसकेको थियो। त्यहाँका कुनै पनि होटलले मलाई राख्न मानेन। एक त पर्यटक, त्यसमाथि केटी। म निकै समस्यामा परेँ। बल्लतल्ल भनसुन गरेर एउटा होटलमा कोठा पाएँ।
मैले पाकिस्तानको कराँचीमा केही साता बसेर त्यहाँका गरिब छात्राहरूलाई स्याहारसुसार र पढाउने काम गरेँ। पाकिस्तानको संस्कृति मध्य र पूर्वी एसियाको मिश्रण रहेछ। त्यहाँ बस्दा घरिघरि आतंककारी हमला भएका खबर आइरहन्थे। मेरो मन त्यसै कामेर आउँथ्यो। आतंककारी हमला भइरहने पाकिस्तानमा लामो समय बिताउनु मलाई त्यति उचित लागेन।
म कराँचीबाट लाहोर आएँ। लाहोर सिल्करोडको मुख्य केन्द्रविन्दु मानिन्छ। लाहोरबाट इस्लामबाद पुगेँ। त्यहाँ भारत छिर्न भिसा लिएँ। भिसा पाउन निकै गाह्रो भयो। यसअघि अफगानिस्तानबाट पाकिस्तान छिर्दा पनि भिसा पनि गाह्रो भएको थियो।
अफगानिस्तान, पाकिस्तान र भारत सिल्करोडको …काराकोरम' राजमार्गमा पर्ने ठाउँ हो। सुरक्षा स्थिति जेजस्तो भए पनि यहाँको भौगोलिक दृश्य निकै सुन्दर छ। यहाँ बस्दा मैले विभिन्न पत्रपत्रिकामा लेख पनि लेखेँ।
भारत आइपुग्दा २० वर्ष पुगेकी थिएँ। मैले तीन महिना भारत बसेर विभिन्न ठाउँ घुमेँ। काम भने गर्नुपरेन।
...
सन् २०१० अगस्टमा नेपाल आएँ। अहिले पोखराबाट ३५ किलोमिटर वरको गाउँमा बसेकी छु। यो ठाउँमा भौतिक सुविधाहरू खासै छैनन्। मैले यो ठाउँ रोज्नुको कारण यही हो। म सहरी जीवनबाट टाढा, गाउँले रहनसहनमा बस्न चाहन्छु।
यहाँ स्थानीय महिलाहरूसँग जंगलमा गएर घाँसदाउरा काट्न, १५ मिनेट तलबाट गाग्रीमा पानी बोकेर ल्याउन मलाई निकै रमाइलो लाग्छ। नेपाल अति नै रमणीय देश रहेछ। हिन्दु, बौद्ध, मुसलमान, क्रिस्चियन मिलेर बसेको देख्दा मलाई अचम्म लाग्छ। अरू देशमा यसरी कहाँ मिलेर बस्छन् र? धर्म–धर्म, जातजातिबीच काटमार हुन्छ। नेपालमा भने यस्तो साम्प्रदायिक वैरभाव मैले देखिनँ। सबै मिलेर बसेका छन्। खुलेर बसेका छन्। मैले यहाँ आध्यात्मिक शान्ति पाएकी छु।
भिसाका लागि केही समय काठमाडौं आउँदा वसन्तपुरको झोछेँ (फ्रिक स्ट्रिट) मा बसेँ। हुन त फ्रिक स्ट्रिट सिल्करोडको हिस्सा होइन। तैपनि हिप्पी युगमा थुप्रै गोरा हिप्पीहरू घुम्दैफिर्दै यही ठाउँमा आइपुगे। आज पनि यहाँ हिप्पी युगको केही झझल्को मैले भेटेँ। यहाँ पर्यटकको अटुट आवतजावत हुँदो रहेछ। केही बूढा पर्यटक पुराना हिप्पीकालको सम्झना ताजा पार्न फेरि फर्केको आएको पनि मैले देखेँ।
मैलेे आजसम्म नेपालमा लुम्बिनी, पोखरा र काठमाडौं वरपरमात्र घुमेकी छु। ट्रेकिङ जान मन त पर्छ, तर महंगो छ। त्यति खर्च गर्ने मेरो आर्थिक हैसियत छैन। सबै पर्यटक धनी हुँदैनन्, म धनी छैन।
मलाई नेपालको संस्कृति निकै मन पर्‍यो। खासगरी रोग लाग्दा फुकफाक गर्ने विद्या अचम्म लाग्यो। यो विद्या सिक्ने रहर छ। धन्यवाद, चिया, भोलि, पर्सिजस्ता नेपाली शब्द जानिसकेकी छु। अरू शब्द सिक्दै छु। अब मेरो भिसा सकिन केही समयमात्रै बाँकी छ। नेपाल छोड्नुपर्ने दिन नजिकिँदै गएकोले मलाई दुःख लाग्न थालेको छ। तर, एउटा कुरा पक्का हो, यसपालि फर्किए पनि म फेरि नेपाल आउँछु।

के हो सिल्करोड?
सिल्क रोड भनेको व्यापरिक मार्ग हो, जसले युरोपलाई एसियासँग जोड्छ। आजभन्दा तीन हजार वर्षअघि सुरु भएको यो व्यापारिक मार्ग अहिले घुमघामका लागि प्रख्यात छ। चीनबाट आयात गरिएको सिल्क अर्थात् रेशम यही मार्गबाट व्यापारिक प्रयोजनका लागि युरोप–अमेरिका लगिने हुँदा यसलाई सिल्करोड भनिएको हो।

प्रस्तुति: कञ्चन अधिकारी

No comments: