Sunday, October 23, 2011

आँखैमा हिमाल


अहा, कतै नछुटेका हिमाली शृंखला! आँखाले भ्याउन्जेल देख्न पाइने। त्यो पनि ५ किलोमिटर  नजिकैबाट 

बिहान सात बजे। त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल भवनमा स्वदेशी तथा विदेशी यात्रुको भिड। कोही नाम्चे, कोही पोखरा त कोही विराटनगर, कोही माउन्टेन फ्लाइटका लागि जहाज कुरिबसेका। सेप्टेम्बरसँगै सुरु भएको पर्यटन क्षेत्रको सिजनले पर्यटक खचाखच छन् अहिले।
असोज/कात्तिक छ्यांग आकास खुल्ने बेला। जाडो पनि होइन, त्यति धेरै गर्मी पनि। ठिक्कको मौसम। झरी पनि नहुने, बादल पनि नलाग्ने। घुम्ने उपयुक्त मौसम। त्यसैले यसलाई घुम्ने सिजन मानिन्छ। यही मौका पारेर असोज अन्तिम साता म पनि माउन्टेन फ्लाइटका लागि विमानस्थल पुगे ँ।
अघिल्ला दिनहरूमा काठमाडौंको आकास छ्यांग खुलेका थिए। तर त्यो दिन बिहानैदेखि हुस्सु र तुवाँलोले डम्मिएको। यही कारण बिहान सात बजेदेखि लगभग साढे २ घन्टा त्रिभुवन विमानस्थलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फ्लाइट बन्द भए। बिहानै केही कम्पनीका जहाजले माउन्टेन फ्लाइट भरेका भएपनि तिनले काठमाडौं फर्कंदै गर्दा डाइभर्ट गरेर सिमरा, विराटनगर र पोखरा ल्यान्ड गर्नुपरेको थियो।
साढे ९ बजे जहाज आउन र जान सुरु भयो। एकैचोटि आउने र जाने भएकाले एकछिन जाम पर्‍यो। बल्लतल्ल १० बजे गुण एयरलाइन्सको डाइभर्ट भएर पोखरा पुगेको जहाज आइपुग्यो। १९ यात्रुले टिकट काटेकामा फ्लाइट ढिला भएकाले १२ यात्रु मात्र भयौं। असोज पहिलो साता बुद्ध एयरको जहाज दुर्घटना भएपछि मौसम अलि फेरबदल हुनेबित्तिकै उडान र अवतरणमा कडाइ गरिएको रहेछ। त्यसैले यो पटक हामीले सामान्य हुस्सु लाग्दा पनि लामो समय उड्न पाएनौं।

Thursday, October 13, 2011

माछा मिठो चिसापानीको

चिसापानी पुगेकाहरु माछाको स्वाद नलिई फर्कंदैनन् 

होटलभरि आलो, तारेको र सुकेको माछा झुन्ड्याइएका। तिनै होटलका वरपर ट्रक, सार्वजनिक गाडी, मोटरसाइकल र निजी सवारी साधन लर्कनै रोकिएको छ। जताको होटलमा गए पनि सुकेको  माछाको बास्ना आइहाल्ने। कतिलाई यो बास्ना मिठो लाग्छ। र, होटल छिर्छन्। कति नाक खुम्च्याउँदै जान्छन्। कर्णाली चिसापानीको विशेषता भनेकै यही हो–आलो, सुकेको र तारेको माछाको खाँटी स्वाद! 

कारमा हुइँकिने हुन् या बाइकमा गुड्ने। साधारण हुन् या ठूलाबडा। नेपाली हुन् या विदेशी। पूर्व–पश्चिम राजमार्ग हुँदै जाने जो कोही चिसापानीको माछा नचाखी हिँड्दैनन्। सात वर्षदेखि चिसापानीमा होटल लुक चलाएर बसेका शशीलाल लिगन भन्छन्, …माछा र भात खान भनेरै टाढा–टाढाबाट मानिस आउँछन्।' उनका अनुसार २०५० सालमा कर्णाली पुल बनेदेखि यहाँ व्यवसाय सुरु भएको हो।
चिसापानी कैलाली जिल्लामा पर्छ। मध्य तथा सुदूरपश्चिम विकास क्षेत्र छुट्याउने कर्णाली नदीको किनारमै छ चिसापानी। लगभग ३० वटा होटल छन् यहाँ। बाह्रै मास कर्णाली नदीको पानी चिसो हुने हुँदा यहाँ पाइने माछा स्वादिलो हुने होटल व्यवसायी बताउँछन्। प्रकाश होटलकी सञ्चालक भन्छिन्, …चिसो पानीका माछा तिखर हुन्छन्। गर्मीका खल्लो हुन्छन्। त्यसैले ग्राहक झुम्मिन्छन्।'

Saturday, October 1, 2011

हिँड्दै मनकामना

साँझको सात बज्यो। मनकामनामा टेकियो। मनमा डर छ — बास बस्न होटल पो नपाइने हो कि! जब बजारमा भेटिए दुई युवती तब हट्यो चिन्ता
तस्बिरः कञ्चन अधिकारी 
उमेश खतिवडा

केबलकारमा मनकामना पुगेर आउँदा, हिँडेर गएकाले भन्थे, …हिँडेर जाँदा पो मजा!' मलाई पनि रहर थियो — हिँड्दै मनकामना जाने। …हिँडेर जाने हो त?' सहकर्मी कञ्चनबाट प्रस्ताव आयो। चिरञ्जीवीले पनि साथ दिए।
.....................
काठमाडौंबाट आँबु खैरेनी पुग्दा दिउसोको दुई बजिसकेको थियो। खाना खाइवरी ३ बजे हिँड्न सुरु गर्‍यौं। मर्स्याङ्दी नदीमा साना नानी मस्त नुहाइरहेका।
पुराना घर बीचबीचै साँघुरो खुडि्कलो। मर्स्याङ्दी पुल तरेसँगै सुरु भयो उकालो। …खासै परिवर्तन भएको रहेनछ,' पन्ध्र वर्षअघिको यही बाटो सम्झँदै कञ्चन अनुभव साट्दैछन्, …मोटरबाटोले बिगारेछ।'
उकालिँदै जाँदा भेटिइन् एक अधबैंसे। तानमा गुन्द्री बुनिरहेकी। चिरञ्जीवीले क्यामरा तेर्स्याउँदै गर्दा लाजले रातो भइन् र भनिन्, …किन फोटा खिचेको होला?' …आमाको सम्झना आयो दिदी।'
हाम्रा पाइला अघि बढे।
...
एकपाखे घामले तालु तातिसके। असिनपसिन भैसकियो। हिँडेर जानुको मजा यही हो। आफ्नै पारा, आफ्नै संसार। साथीबीच गफिनुको मजै बेग्लै। चिरञ्जीवी छिट्छिटो उकालो चढेको देखेर कञ्चनले लख काटे, …यसलाई हिँड्ने बानी रहेनछ।' कराउँदै थिए, …यो पाराले तिमी मनकामना पुग्न सक्दैनौ। बिस्तारै हिँड। बाटो लामो छ।'
दायाँबायाँ केही देख्यो कि क्यामरा तेर्स्याहाल्नुपर्ने। चाहे मान्छे हुन् या डाँडा। गर्मीले सताइसक्यो। छेउको चौतारीमा बस्यौं। आहा, कस्तो चिसो हावा!
हिँड्ने, खाने, पिउने, बस्ने र रमाइलो गर्ने। हिँडेर जानुको मजा यही थियो हाम्रो। बाटोमा के पर्छ के पर्छ, काठमाडौंबाटै व्यवस्था गरेका थियौं पिउने सोमरस।