Sunday, October 23, 2011

आँखैमा हिमाल


अहा, कतै नछुटेका हिमाली शृंखला! आँखाले भ्याउन्जेल देख्न पाइने। त्यो पनि ५ किलोमिटर  नजिकैबाट 

बिहान सात बजे। त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल भवनमा स्वदेशी तथा विदेशी यात्रुको भिड। कोही नाम्चे, कोही पोखरा त कोही विराटनगर, कोही माउन्टेन फ्लाइटका लागि जहाज कुरिबसेका। सेप्टेम्बरसँगै सुरु भएको पर्यटन क्षेत्रको सिजनले पर्यटक खचाखच छन् अहिले।
असोज/कात्तिक छ्यांग आकास खुल्ने बेला। जाडो पनि होइन, त्यति धेरै गर्मी पनि। ठिक्कको मौसम। झरी पनि नहुने, बादल पनि नलाग्ने। घुम्ने उपयुक्त मौसम। त्यसैले यसलाई घुम्ने सिजन मानिन्छ। यही मौका पारेर असोज अन्तिम साता म पनि माउन्टेन फ्लाइटका लागि विमानस्थल पुगे ँ।
अघिल्ला दिनहरूमा काठमाडौंको आकास छ्यांग खुलेका थिए। तर त्यो दिन बिहानैदेखि हुस्सु र तुवाँलोले डम्मिएको। यही कारण बिहान सात बजेदेखि लगभग साढे २ घन्टा त्रिभुवन विमानस्थलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फ्लाइट बन्द भए। बिहानै केही कम्पनीका जहाजले माउन्टेन फ्लाइट भरेका भएपनि तिनले काठमाडौं फर्कंदै गर्दा डाइभर्ट गरेर सिमरा, विराटनगर र पोखरा ल्यान्ड गर्नुपरेको थियो।
साढे ९ बजे जहाज आउन र जान सुरु भयो। एकैचोटि आउने र जाने भएकाले एकछिन जाम पर्‍यो। बल्लतल्ल १० बजे गुण एयरलाइन्सको डाइभर्ट भएर पोखरा पुगेको जहाज आइपुग्यो। १९ यात्रुले टिकट काटेकामा फ्लाइट ढिला भएकाले १२ यात्रु मात्र भयौं। असोज पहिलो साता बुद्ध एयरको जहाज दुर्घटना भएपछि मौसम अलि फेरबदल हुनेबित्तिकै उडान र अवतरणमा कडाइ गरिएको रहेछ। त्यसैले यो पटक हामीले सामान्य हुस्सु लाग्दा पनि लामो समय उड्न पाएनौं।
सेम्टेम्बरदेखि नोभेम्बर तीन महिना धेरैभन्दा धेरै उडान भरेर अरू ९ महिनालाई धान्नुपर्ने गुण एयरलाइन्सका मार्केटिङ म्यानेजर प्रज्वल थापाले बताए। उनले भने, …आकास खुल्ने सिजन भएकाले पर्यटक पनि यही बेला आउँछन्।' उनका अनुसार लगभग ६० प्रतिशत पर्यटकले यही तीन महिना माउन्टेन फ्लाइट गर्छन्। दिनमा एउटा जहाज कम्पनीले लगभग १० उडान भर्ने गरेको थापाले बताए। बुद्ध, अग्नि, यति र गुण एयरलाइन्सले माउन्टेन फ्लाइट गर्दै आएका छन्। बिच र एटिआर दुई मोडलका जहाजले उडान भर्ने गरेका छन्। 
पछिल्लो पटक यसरी माउन्टेल फ्लाइट गर्नेमा चिनियाँ, भारतीय र युरोपेली मुलुकका नागरिक बढी छन्। जहाज उडेको समयदेखि १ घन्टामा फ्लाइट सकिन्छ। नेपालका तीन ठाउँबाट फ्लाइट हुन्छ– काठमाडौं, पोखरा र नेपालगन्ज। काठमाडौंबाट पूर्वको कन्चनजंगादेखि पश्चिम अन्नपूर्णसम्म, पोखराबाट अन्नपूर्ण, माछापुच्छ्रे धौलागिरी लगायत हिमाल हेर्न सकिन्छ। नेपालगन्जबाट सुदूरपश्चिमका अपि सैपालसम्मका हिमाल हेर्न सकिन्छ। 
...
काठमाडौंलाई एक फन्को लाएर गुण एयरलायन्सको बिच एयरक्राफ्ट उचाइ लिँदै थियो। काठमाडौंमा लागेको हुस्सु पातलिँदै थियो। सोझै शिवपुरीमा ठोसिएलाजस्तै गरी उत्तर उडेको जहाज फनक्क फन्का मारेर पूर्व लाग्यो। काठमाडौंमा आकासै छेडुँलाजसरी बनेका घरहरू सलाइका बट्टाजत्रा देखिन थाले।
पूर्वको फ्लाइट छ भने जहाजको बायाँ र पश्चिमको भए दायाँपट्टिको सिटमा बस्न सुझाव दिएका थिए केही समय अगाडि, क्याप्टेन एसबी भट्टराईले। त्यसैले म बायाँपट्टिको सिटमा बसेँ। जहाज अझै आकासिँदै थियो। टाढाटाढा सेतो हिमाल देखियो। कति नाम सुनेका त कति नामै नसुनेका। ए, यो त गणेश हिमाल पो! घरबाट देखिने भएकाले सजिलै चिनेँ। यही हिमालबाट सुरु हुन्छ माउन्टेन फ्लाइटको दृश्यावलोकन।
हिमाल मात्र होइन तलतिरका दृश्य पनि कम्ता रमाइला थिएनन्। कहिले बादल माथि कहिले तल। बादलसँग लुकामारी खेल्दै उड्दा पनि रोमान्चक नै हुने। ठ्याक्कै तल हेर्दा नागबेली नदी, जताततै खनिएका घुम्ते मोटरबाटो। अनि खेतभरि लहलह झुलेका धान देख्दा आनन्द आउने। 
गणेश हिमालपछि सिसापाङमा अनि दोर्जेलाक्पा, पूर्वी ग्याचु एयरहोस्टेज पल्लवी उदय बताउँदै थिइन्। साढे २ वर्षदेखि एयरहस्टेसको काम गर्दै आएकी पल्लवीलाई अहिले हिमालका नाम कन्ठस्थै भइसक्यो। …ऊ त्यो गौरीशंकर, नुम्बुर, पुमोरी अनि त्यो सबैभन्दा अग्लोचाहिँ सगरमाथा, परको कन्चनजंगा,' अरू फ्लाइटभन्दा माउन्टेन फ्लाइटमा रम्ने उनी भन्दै थिइन्, …माउन्टेन फ्लाइट आउँदा रिफ्रेस हुन्छु।'
हाम्रो जहाज क्याप्टेन विनय विजुक्छे र को–पाइलट युरेश शाक्यले उडाइरहेका छन्। यात्रुहरू फोटो खिच्न आतुर छन्। कहिले अगाडिको ‰यालबाट त कहिले पछाडिको। कोही मुभी क्यामराबाट दृश्य लिँदै थिए, कोही कम्प्याक्ट त कोही डिएसएलआरबाट। म पनि हिमालतिर १७ एमएमको लेन्सबाट फोटो खिच्दै थिएँ।
अहा, कतै नछुटेका हिमाली शृंखला! आँखाले भ्याउन्जेल देख्न पाइने। त्यो पनि ५ किलोमिटर  नजिकैबाट। बिहान हावा नचलेका बेला हिमाल र जहाजको दुरी ५ किलोमिटर मात्र हुन्छ। अरू बेला हावाले जहाज हल्लाउने भएकाले १० किलोमिटरभन्दा नजिक लैजान नसकिने क्याप्टेन विजुक्छेले बताए। हामी मध्यान्हमा परेकाले १० किलोमिटर टाढाबाटै हिमाल हेर्न पायौं।
…लौ, एकएक गरी ककपिटमा गएर हेर्नुहोला,' एयरहस्टेस पल्लवीले भनिन्। चारपाँच जनापछि मेरो पालो आयो। त्यतिबेला जहाज सगरमाथा अगाडि पुग्नै लागेको थियो। जहाजको ‰याल मैलो भएकाले टिलिक्क टल्केको हिमाल देख्न सकिएको थिएन। 
म ककपिटमा गएँ। अगाडि के हेरेको थिएँ, मेरो अगाडि सेताम्मे हिमाल आँखैमा टाँसिए। म कराएछु, …आम्मामा।' क्याप्टेन हाँसे।
…ऊ त्यही हो सगरमाथा,' उनले पनि चिनाए। फोटो र भिडियोमा मात्र संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथा देखेको मैले आँखैसामु देख्दा मेरा आँखा ठूला भए र एकछिन पनि झिम्किएनन्। 
क्लिक–क्लिक पार्दै फोटा खिचेँ। केविधि हुन् चुच्चा हिमाल! कतिले नाम पाएका, कति चुच्चाले पाउनै बाँकी। सगरमाथा साँच्चै अग्लो देखियो। नेपालले प्राकृतिक बरदान पाएकै रहेछ। सँगै रहेका लोत्से, अमादब्लम, नुप्त्से पनि कम्ता राम्रा थिएनन्। निकै पर देखियो कञ्चनजंगा।
म आफ्नै सिटमा फर्किएँ। हिमाल हेर्न र फोटो खिच्न अझै धित मरेको थिएन। जहाज फर्कियो। तलतिर पनि पूरै हिउँले ढाकेका डाँडा। बिस्तारै जहाज काठमाडौं लाग्दैछ। आँखै अगाडि देखिएका हिमाल पछि पर्दै थिए। 
बिस्तारै सगरमाथा ओझेल पर्‍यो। त्यसपछि गौरीशंकर। हिमाल टाढा–टाढा हुँदै जहाज बस्तीमाथि लाग्यो। कति चाँडै १ घन्टा पुगेको। रामेछाप, दोलखा, सिन्धुपाल्चोक हुँदै काठमाडौं खाल्डोमा जहाज आइपुग्यो। 
कतिले अर्काेचोटि आउने बताए। कतिले स्वर्गको एक टुक्रा देखेको बताए। युएईबाट आएका मुस्लिम यात्रु फरेहाल अलाक्लाले भने, …सगरमाथाको नाम मात्र सुनेको थिएँ। आँखैअगाडि देख्दा अल्लाहलाई सम्झेँ। अब परिवार लिएर आउँछु।'   
सबै यात्रु खुसीले गदगद थिए। युएईबाटै आएका ब्राहिम अल्मरले जहाजबाट ओर्लंदै भने, …सुकर अल्लाह (धन्यवाद भगवान)।'

नेपालीलाई प्याकेज ल्याउँदैछौं
प्रज्वल थापा 
मार्केटिङ म्यानेजर, गुण एयरलाइन्स
नेपालमा बसेर माउन्टेल फ्लाइटको आनन्द लिने नेपाली कमै छन्। खासगरी विदेशबाट आएका नेपालीले मात्र गर्ने गर्छन्। धेरैजसो नेपालीले हिमाल देखेर पनि हुन सक्छ। नजिकैबाट हिमाल हेर्दाको रमाइलो अर्कै हुन्छ। नेपालीलाई माउन्टेन फ्लाइट जानुपर्छ, रमाइलो हुन्छ भनेर कन्भिन्स गर्न सकिएको छैन। यसका लागि नेपालीलाई लक्षित गरेर छुट्टै प्याकेज जरुरी छ। हामीले यसको तयारी गर्दैछौं।
नेपालीलाई अहिले सबै एयरलाइन्सले ८ हजार २ सय ४० रुपैयाँमा उडाइरहेका छन्। यो अलि महंगो हो। कम गर्न सकियो भने नेपाली पनि आकर्षित हुन्छन्। यसलाई कम गर्ने सोचमा हामी छौं। 

No comments: