Saturday, October 1, 2011

हिँड्दै मनकामना

साँझको सात बज्यो। मनकामनामा टेकियो। मनमा डर छ — बास बस्न होटल पो नपाइने हो कि! जब बजारमा भेटिए दुई युवती तब हट्यो चिन्ता
तस्बिरः कञ्चन अधिकारी 
उमेश खतिवडा

केबलकारमा मनकामना पुगेर आउँदा, हिँडेर गएकाले भन्थे, …हिँडेर जाँदा पो मजा!' मलाई पनि रहर थियो — हिँड्दै मनकामना जाने। …हिँडेर जाने हो त?' सहकर्मी कञ्चनबाट प्रस्ताव आयो। चिरञ्जीवीले पनि साथ दिए।
.....................
काठमाडौंबाट आँबु खैरेनी पुग्दा दिउसोको दुई बजिसकेको थियो। खाना खाइवरी ३ बजे हिँड्न सुरु गर्‍यौं। मर्स्याङ्दी नदीमा साना नानी मस्त नुहाइरहेका।
पुराना घर बीचबीचै साँघुरो खुडि्कलो। मर्स्याङ्दी पुल तरेसँगै सुरु भयो उकालो। …खासै परिवर्तन भएको रहेनछ,' पन्ध्र वर्षअघिको यही बाटो सम्झँदै कञ्चन अनुभव साट्दैछन्, …मोटरबाटोले बिगारेछ।'
उकालिँदै जाँदा भेटिइन् एक अधबैंसे। तानमा गुन्द्री बुनिरहेकी। चिरञ्जीवीले क्यामरा तेर्स्याउँदै गर्दा लाजले रातो भइन् र भनिन्, …किन फोटा खिचेको होला?' …आमाको सम्झना आयो दिदी।'
हाम्रा पाइला अघि बढे।
...
एकपाखे घामले तालु तातिसके। असिनपसिन भैसकियो। हिँडेर जानुको मजा यही हो। आफ्नै पारा, आफ्नै संसार। साथीबीच गफिनुको मजै बेग्लै। चिरञ्जीवी छिट्छिटो उकालो चढेको देखेर कञ्चनले लख काटे, …यसलाई हिँड्ने बानी रहेनछ।' कराउँदै थिए, …यो पाराले तिमी मनकामना पुग्न सक्दैनौ। बिस्तारै हिँड। बाटो लामो छ।'
दायाँबायाँ केही देख्यो कि क्यामरा तेर्स्याहाल्नुपर्ने। चाहे मान्छे हुन् या डाँडा। गर्मीले सताइसक्यो। छेउको चौतारीमा बस्यौं। आहा, कस्तो चिसो हावा!
हिँड्ने, खाने, पिउने, बस्ने र रमाइलो गर्ने। हिँडेर जानुको मजा यही थियो हाम्रो। बाटोमा के पर्छ के पर्छ, काठमाडौंबाटै व्यवस्था गरेका थियौं पिउने सोमरस।
आवतजावत गर्नेहरू फाट्टफुट्ट भेटिन्छन् बाटोमा। दर्शनार्थी सम्झेको गाउँले पो रहेछन्। निकै कम छन् रे अचेल हिँडेर मनकामना ओहोरदोहोर गर्नेहरू। केबलकार र मोटरबाटो पुगेपछि हिँड्नेको संख्या घटेको सुनाए बाटोमा भेटिएका गीता कोइरालाले। …मान्छे सुखी भैसके,' उनले भनिन्, …यो उकालो–ओरालो कसले गरोस्!'
अघिअघि छन् चिरन्जीवी। झन्डै आधा घन्टा उकालिएपछि ऊ लœयाकलुत्रुक परिहाल्यो। अघिसम्म दौडने साथी अहिले नै थकित। मैले उसलाई हौस्याउँदै भनेँ, …हामीले तिमी हिँड्न सक्दैनौं भन्ने सोचेका थियौं, तिमी त हामीभन्दा तगडा पो निस्कियौ।' साथी साँच्चै थाकेको रहेछ। भन्यो, …मेरो त ब्यागमा ल्यापटप पनि छ। यो बोकेर हिँड्न गाह्रो भो।'
गलल्ल हाम्रो हाँसो। पाइला सर्न कम भो। बाहुन गाउँको पसलमा ठेकी देखेर कञ्चन र म दही खान खोज्दैथ्यौं। पसलमा बसेकी एक बुजु्रकले भनिन्, …बाबु हो, दही नखानुस्। हिँड्दा कैंडा लाग्छ।'
त्यही पानी खाँदै गर्दा भेटिइन् ४५ वर्षीया रेवती रेग्मी। …केबलकार चल्नु पहिला र अहिले हिँड्ने मान्छेमा कत्तिको कमी आएको छ त दिदी?' दिदीले एकसरो नजर डुलाउँदै जवाफ दिइन्, …पहिला–पहिला त पहिलोचोटि आउने मान्छे पनि बाटो नसोधीकनै मनकामना पुग्थे, अहिले त आइरहने पनि अल्मलिन्छन्।'
…दिदीको कुरो अलि बुझिएन नि!'
दिदीले प्रस्ट पारिन्, …पहिला–पहिला ताँती नै हुन्थ्यो यो बाटो भएर मनकामना जानेको, पछि–पछि हिँडे पुगिने। अहिले चिलसा खोजेजस्तै गर्नुपर्छ, मान्छे भेट्न।'
...
दिन छिप्पिँदैछ। आँबुखैरेनीको डाँडोबाट घाम लुकिसक्यो। हिँड्दै गर्दा बनौती गाउँमा भेटिए हर्कबहादुर आले। सबै उनलाई काइँला दाइ भन्दा रहेछन्। गाउँका किसान। सुन्तला व्यापारी। आसपास गाउँका सुन्तलाको खेलो गरेको पनि भैसकेछ दुई शताब्दी। मन आत्तिन थाल्यो। हामी सोध्छौं, …काइँला दाइ, अब कति छ मनकामना आउन?'
उनले हाम्रो हिँडाइको गति विचार गरेका रहेछन्। भने, …तपाईंहरूको हिँडाइको सारअनुसार लाग्छ अझै डेढ घन्टा।'
मैले ट्वाक्क सोधेँ, …केबलकारले गर्दा धेरै सजिलो बनाएको छ है काइँला दाइ मनकामना आसपासका ठाउँलाई?' प्रश्न चित्त बुझेनछ। प्रतिप्रश्न गरे, …खै के सजिलो भो र?'
…चार घन्टाको उकालो बाटोलाई १५ मिनेटमै पुग्न सकिने गरी छोट्याइदिएको छ नि!'
उनी अर्थ्याउन थाले, …तपाईं पो एकदिनको पाहुना। वर्षमा एक–दुईचोटि आउँदा पैसा तिर्न गाह्रो हुँदैन। हामीलाई त दैनिक ओहोरदोहोर गर्नुपर्छ।' काइँला दाइले थपे, …सहुलियत नै दिए पनि खेपको ७० रुपैयाँ पर्छ, कैयौंपल्ट ओहोरदोहोर गर्नुपर्छ अनि भन्नुस् त कसरी सजिलो बनायो?' आफ्नो समस्या सुनाउँदै थपे, …समय पाउँदा हामी बुढा त हिँडेरै ओहोरदोहोर गर्छौं तर हाम्रा छोरा–भतिजा हिँड्न भनेपछि मरेजस्तो गर्छन्।'
...
भक्तजनका लागि केबलकार नचल्दा मनकामनासम्म हिँड्नु बाध्यता थियो भने अचेल रहर
डाँडा गाउँपुगेपछि रात पर्‍यो। चिरञ्जीवी खुइ˜य गर्दै खुट्टा लतार्दैछन्। शनिबार भएकाले मन्दिरबाट फर्किनेहरू बाटोमा भेटिए। कतै ढुंगा छापिएको बाटो कतै तरपाया–तरपाया।
जुनेली रातको मधुर प्रकाशमा बाटो दायाँबायाँ देखिएका छन् सुन्तला घारी। कोपिलामै असिनाले झारेर यो वर्ष सुन्तला कम फलेछन्। त्यसैले महंगो भएको रे!
साँझको सात बज्यो। मनकामनामा टेकियो। मनमा डर छ — बास बस्न होटल पो नपाइने हो कि! जब बजारमा भेटिए दुई युवती तब हट्यो चिन्ता। …सर कोठा चाहिन्छ? हाम्रो होटलमा खाली छ,' उनीहरूले मुख खोले। चिरन्जीवीले सर्त राखे, …हामीलाई नुहाउन तातो पानी चाहिन्छ।' उनीहरू …तातो पानी भएको होटल माथितिरमात्र छ' भन्दै उँभो लागे।
रात परेपछि मान्छे पछ्याउने होड चल्दोरहेछ। …यता दाइ, हाम्रो होटल राम्रो। सस्तो। तातो/चिसो पानी भएको,' हातै समाउन आइपुग्दा रहेछन्।
…एउटा कोठाको कति पर्छ?' बार्गेनिङ सुरु भो। कसैले हजार भने कसैले ५ सय त कसैले ३ सय रुपैयाँ। हामी पुग्यौं मनकामना मन्दिरअगाडिको होटल — मनकामना प्लाजा रेस्ट हाउस एन्ड रेस्टुराँ।
होटल साहुजी कृष्ण श्रेष्ठ। केबलकार चलेदेखि होटल चलाएका। भन्दैथिए, …पहिला–पहिला मनकामनामा सधैं सिजन थियो। अहिले शुक्रबार मात्रै।' केबलकार चलेपछि दर्शनार्थी शुक्रबार आएर शनिबार बिहानै फर्कने गरेको गुनासो गरे उनले। एक हजारदेखि पन्ध्र सय पर्ने कोठा अरू दिन बार्गेनिङमा डेढ/दुई सय रुपैयाँसम्ममा पाइँदो रहेछ।

No comments: