Monday, September 26, 2011

घमाइलो घलेगाउँ

म लगलग काँपिरहेको देखेर तिनले आफ्नो पछ्यौरा मतिर बढाउँदै भनिन्, …लौ ओढ्नुस््।'
पुमाको डाँडोबाट घामले नेटो काटिसक्यो। सबैलाई आ–आफ्नो गुँडमा जाने हतारो। सदरमुकाम बेसीसहरको पुरानो राष्ट्र बैंक चोकमा मानिस भेला भएका थिए। त्यो हुल घलेगाउँ जाने गाडीको पर्खाइमा रहेछ। म पनि त्यतै जान लागेको। मिसिएँ त्यही हुलमा।

काठमाडौंबाट दिउसो २ बजे पुगेको म, गाउँ जाने गाडी कुर्दाकुर्दै साँझको ६ बज्यो। गाडीमा ठेलमठेल थिए यात्रु। फोरह्वील ड्राइभ मात्रै कुद्छन् त्यता। त्यसैले दोस्रो विश्वयुद्धका लागि तयार पारिएको बलियो गाडी महिन्द्रामा चढेँ म पनि। जस्तोसुकै अप्ठ्यारो बाटोमा पनि गुड्न सक्ने गाडी। हिँडेर गए ६ घण्टामै पुगिन्छ, गाडीमा चाहिँ साढे दुइघण्टा लाग्ग्दोरहेछ घलेगाउँ पुग्न।

हामी १६ जना यात्रु थियौं। धेरै अनुरोधपछि बल्ल–बल्ल गाडी मिल्यो ३५ सय रुपैयाँ रिजर्भमा। रिजर्भमा जाँदा बढी पैसा तिर्नुपर्ने डरले तयार भएनन् यात्रु। रिजर्भबिना गुरुजी नजाने। गाडी जान नमान्नुको कारण रहेछ भाडाको। स्थानीय युवा पैसा नदिई गाडीबाट भाग्दारहेछन्, त्यसैले पो गुरुजी डराएका।

सबैको अनुहार हेरेपछि टिठ लागेर हो कि पैसा कमाइन्छ भन्ने दाउले कन्डक्टरलाई भाडा उठाउन उर्दी गरे। …ल सबैले पैसा दिनुस् त। बाटोमा पुगेर कचकच गर्न नपरोस्। घले गाउँसम्मको भाडा दुई सय।'

सवा ६ बजे गुरुजीले गाडी स्टार्ट गरे। कस्तो फसाद राति साढे ८ बजे मात्रै पुग्ने भइयो। त्यतिबेला पुगेर कहाँ बास बस्ने? मन आत्तियो।

ग्ााडीको दायाँबायाँ, तलमाथि टेक्ने ठाउँ छैन। एक जना बस्ने अगाडिको सिटमा हामी तीन जना कोचिएका छौं। गुरुजीलाई गियर लगाउनसमेत मुस्किल पर्थ्यो।

हरित सडकमा गुड्यो जिप। यता र उता ढलपल–ढलपल गर्न थालेको छ गाडी। गाडी नै उडाउलाझैं गरी जोडले हावाहुरी चल्न थाल्यो। जिपको हुटमा बस्नेको के हाल भइरहेको होला? बाटो हेर्दै डर लाग्ने। तल हेर्‍यो छङगाछुर भिर। माथि टोपी खस्ने पहाड। यस्तो अस्जिलो बाटोमा पनि २० किमी प्रतिघण्टाको रफ्तारमा हुँइकिएको छ गाडी।

उचाइसँगै चिसो पनि बढ्दैछ। काठमाडौंमा जस्तै उखरमाउलो गर्मी होला भनेर टिसर्ट र जिन्स पाइन्टमा झिल्के बनेर गएको म। जनविकास उच्च मावि बेसीसहरमा सामाजिक शिक्षा पढाउने शिक्षिका यशोदा श्रेष्ठ आडैमा थिइन्। म लगलग काँपिरहेको देखेर तिनले आफ्नो पछ्यौरा मतिर बढाउँदै भनिन्, …लौ ओढ्नुस््।'

गाउँको पुछारमा जिपबाट ओर्लंदा साढे आठ बजिसकेको थियो। जुनेली रात भएकाले बत्तीको सहारा चाहिएन। छरितो ज्यान भएकाले म फटाफट उकालो चढिरहेको छु। सँगैका साथीहरू भने स्याँस्याँ गर्न थालिहाले। एकबहादुर रानाले यशोदा र करिश्मालाई छेड हान्न भ्याइहाले, …ब्रोइलरहरू हिँड्न सक्दैनन्।'

घलेगाउँको मुखमा गाउँलेहरू हाम्रो स्वागतमा उभिएका रहेछन्। जुनेली रातमा कसैको अनुहार खुट्याउन सकिएन। …सबैलाई नमस्कार अनि स्वागत छ है,' एकै स्वरमा उनीहरूले भने। हामीले पनि टाउको निहुर्‍यायौं। हामी सिरसिर हावा चलेको चौतारीमा टुसुक्क बस्यौं। यही नै रहेछ घलेगाउँ छिर्ने गेट। विदेशी पर्यटकले यहीँ पैसा तिर्नुपर्छ।

लमजुङको उत्तर कन्या गाविसमा पर्छ घलेगाउँ। समुद्री सतहबाट २१ सय मिटर माथि पर्छ। स्वागतमा उभिएका प्रेमबहादुर घलेले लिएर गए पाहुना घरमा। होटल, रेस्टुँराको सुविधा छैन, चालीसवटा पाहुना घर छन् गाउँमा। कुन घरमा बस्ने हो भन्ने यकिन पर्यटन समितिले गर्छ। एउटा घरमा दुई जना भन्दा बढी पाहुना राखिँदोरहेनछ। प्रेमबहादुर भन्छन्, …होटल चलाउन दिए एउटैले पैसा सोरेर लैजान्छ। होम स्टे गराए गाउँलेको आम्दानी हुन्छ।'

मेरो रुम पार्टनर बने एकबहादुर। दोहोरी रेस्टुरेन्टका मालिक हुन् उनी। बोतलको चुस्की नलगाई निद्रा नपर्ने रहेछ उनलाई।

रातको नौ बजिसकेको थियो। घरभेटी यमुना गुरुङले चिया टक्र्याइन्। गुन्द्रीमाथि राडीमा बसेर चियाको चुस्की लगाउन थाल्यौं। उनी आजै मात्र स्थानीय विद्यालयकी …हेडमास्टर' भएकी रहिछन्। मौकाको फाइदा उठाउँदै भनिहालेँ, लौ बधाई छ, भोज ख्वाउने होइन?
बाठी रहिछन् तिनी, नाकको चस्मा माथि सार्दै भनिन्, …यही चियालाई भोजका रूपमा स्विकार्नुस्।'

दाइ सितनचाहिँ के नि?
…के पाइन्छ?' एकबहादुरले सोधे।
जे खाए पनि छ । कुखुरा, भैंसी र खसीको मासु।
…कुखुरा काटौं न त,' एकबहादुरले मुख मिठ्याए।

यहाँ बियर, ह्विस्की केही पाइँदैन। लोकल रक्सी मात्र हो। घलेगाउँ जानुको मजा पनि यही हो, सबै खानेकुरा स्थानीय। …भाइ आजबाट खान सुरु गरौं न त,' नारेपाको गिलास ओठतिर पुर्‍याउँदै यशोदाले मलाई भनिन्।

यमुनाचाहिँ दिउसो महोत्सवमा पेट मिचीमिची हाँसेको क्षण सम्भि्करहेकी थिइन्। कलाकार मनोज गजुरेलले नयाँ नेपालको गफ दिने नेताहरूलाई व्यंग्य गरेर दिनभर हँसाएछन्। ढिलो पुगेकाले हामीले हाँस्न पाएनौं।

हामी बसेको घरमा बुढाबुढी मात्रै बस्दारहेछन्। छोराबुहारी काठमाडौं पसेका। सुत्ने कोठामा ओढ्ने–ओछ्याउने सफा रहेछन्। सजिलै निदायौं।

बिहानी सूर्यको किरणले सुनौला देखिने हिमालका फोटा खिच्ने मेरो सपना। त्यसैले पौन ६ बजे उठेँ र क्यामेराको लेन्स सोझ्याएँ अन्नपूर्ण हिमालतिर। एन्टिलाइट परेकाले मनास्लुको चाहिँ फोटो खिच्न पाइनँ।

बिहानको नास्तास्वरूप अन्डा, झिलिङ्गा, सेलरोटी र चिया बन्दोरहेछ। खायौं।

अब गाउँ घुम्ने पालो। म पछिलागेँ लिलबहादर घलेको। उनी इन्डियन आर्मीका पेन्सनर। साँच्चै गाउँको नाम किन घले राखिएको होला? लिलबहादुरले एकछिन सोचे र भने, …पहिला यो ठाउँमा जंगल मात्रै थियो। १४१७ तिर सिस्यौरा घलेले बसाइ बसाएकाले घलेगाउँ भन्न थालियो।'

एक सय १६ घरधुरी छन् यहाँ। जनसंख्या सात सय। युवाजति सहर पसेका। बुढाबुढी र बालबालिका मात्रै छन् गाउँमा। राम्रा–राम्रा युवाको तस्बिर खिच्ने मेरो रहर अधुरै हुने छाँट देखियो।

गाउँबाट लमजुङ, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमाल देख्न सकिन्छ। मौसम खुलेका बेला फेवाताल र धौलागिरी हिमालसमेत देखिने बताए गाउँलेले।

एउटा सुखद खबर, गाउँमा प्लास्टिक निषेध गरिएको छ। सरसफाइमा ध्यान दिइएको छ। बाटोमा ढुंगा ओछ्याइएको छ। बर्खामा हिलो हुने डर छैन।

नेपालको पहिलो ग्रामीण पर्यटकीय गाउँ सिरुबारी (स्याङ्जा) हो। दोस्रो नम्बरमा आउँछ घलेगाउँ। गाउँ घुम्दाघुम्दै ११ बजिसकेछ। दोस्रो दिनको कार्यक्रम सुरु हुनै लाग्यो। लोकभाका घन्कियो स्टेजमा। राजु परियार र करिश्मा रानामगरको दोहोरीमा लठ्ठ पर्‍यौं हामी।

बिजुली पुगेको छैन गाउँमा। प्रायः घरमा सोलार राखिएको छ। महोत्सवअघि बत्ती बाल्ने योजना विद्युत् प्राधिकरणले ट्रान्सफर्मर नदिएकाले पुरा हुन सकेन। त्यसको सिकार भएँ म पनि। क्यामेराको ब्याट्री सकियो। कस्तो नमज्जा! कार्यक्रममा भेला भएका युवतीको फोटो खिच्नै पाइनँ। अब अर्को वर्ष खिचौंला तिनको तस्बिर।

1 comment:

SumAn said...

nice story yar. keep it up.