Friday, September 2, 2011

गिद्ध यात्रा

तस्बिर विकास कार्की

मध्याह्नको चर्काे घाम। नवलपरासीको गिद्ध खोलाभन्दा दक्षिणतिरको बसाबसाही भन्ने ठाउँमाथि आकासमा एक बथान गिद्ध घुमिरहेको छ। वरिपरि जंगल, बीचमा खाली मैदान। मैदानमा डुङडुङती गन्हाइरहेको गाईको सिनो। गिद्धहरू हुरहुरती आएर सग्लो सिनोमा थप्प बस्छन्। एकैछिनमा बाँकी रहन्छ, करङै करङ।
तपाईंलाई सुन्दै फोहोरी र दुर्गन्धित लाग्यो होला यो दृश्य। तर, यही दृश्यलाई गिद्धप्रेमीहरूको आकर्षक गन्तव्य बनाउन सकिन्छ भन्ने अभियानमा लागेका छन्, …रुट्स एन्ड सुट्स' नामक संस्था र स्थानीय ह्यापी फ्लाइट ग्रुप। गिद्ध संरक्षण गर्न ती समूहले असोज ८ गतेदेखि १० गतेसम्म गिद्ध संरक्षण महोत्सवको आयोजना गरेको थियो।
हामी कुरा गर्दैछौं, नवलपरासीको गिद्ध रेस्टुरेन्टको। जसलाई गिद्धको गतिविधि नियाल्ने थलो बनाउने प्रयास हुँदैछ। यस्तै प्रयास नवलपरासीको जटायु रेस्टुरेन्ट र पोखराको घाहाचोक गाविसमा यसअघि भइसकेको छ। अचेल यी गिद्ध संरक्षणमा क्षेत्रमा पर्यटक आउने क्रम विस्तारै बढ्दै गएको सम्बन्धित सञ्चालकहरू बताउँछन्।
नेपालमा गिद्ध लोपोन्मुख छ। त्यसैले सन् २००६ देखि संरक्षण अभियान सुरु भएको हो। यसका लागि स्थानीय बासिन्दाले गिद्धलाई चाहिने सिनो रेस्टुरेन्टलाई उपलब्ध गराउँछन्। गाउँलेले जनावर मरेपछि ह्यापी फ्लाइट ग्रुपलाई खबर गर्छन्। मरेको जनावर उठाउने जिम्मा त्यही गु्रपको हो।
गिद्धको संख्या १९९७ यता एकाएक घट्न थालेको थियो। संख्या घट्नुको कारण भने २००३ मा मात्रै पत्ता लाग्यो। रुट्स एन्ड सुट्सका राष्ट्रिय संयोजक मनोज गौतमका अनुसार …डाइक्लोफेेनेक' औषधि खाएर मरेका जनावरको सिनो खानाले गिद्धहरू मर्ने क्रम बढेको थियो। यो तथ्य फेला परेपछि नेपाल र भारतले यसमाथि प्रतिबन्ध लगाएका छन्।
नेपालमा आठ प्रजातिका ५ देखि ७ हजार गिद्ध पाइन्छन्। तीमध्ये चार प्रजातिका लोपोन्मुख छन्। पोखरामा आठैथरी गिद्ध पाइए पनि नवलपरासीमा सातथरीका मात्र पाइन्छन्।
गिद्धलाई स्वस्थ सिनो खुवाउन दुई वर्षदेखि नेपालमा गिद्ध रेस्टुरेन्ट खोल्ने क्रम बढेको हो। नवलपरासीकै जटायु रेस्टुरेन्टमा पहिले ३०/४० को संख्यामा आउने गिद्ध अहिले दुई सयसम्म पुगेको छ। यसैगरी दाङको लालमटियामा पनि सयौं गिद्ध घुम्ने गरेका छन्।
सन् १९९२ यता गिद्धको संख्या घट्दै गएर २००० सम्म पुग्दा भारतीय उप–महाद्वीपमा डंगर, सानो खैरो र लामोठुँडे गिद्धको संख्यामा ९५ प्रतिशत कमी आएको तथ्यांक छ। २००७ मा चार प्रजातिका गिद्धलाई संकटको सूचीमा राखिएको थियो।

1 comment:

Anonymous said...

http://genericpillshq.com/#viagra-50-mg | [url=http://genericpillshq.com/#order-viagra]generic viagra[/url] | cheap viagra