Friday, September 23, 2011

चन्द्रागिरीको उकालो काट्दा...

अड नमानी धित मरुन्जेल हाँस्नु, हल्ला गर्नु, सिठी बजाउँदै हिँड्नु, मन लागेजति पोजपोजमा फोटो खिच्दै हिँड्नु पनि हाइकिङको मजा हो
गर्मी मौसम। बिहान सातैबजे चिरिक्क छ घाम। सानो माइक्रोमा १५ जना खाँदिएर बस्दा खलखली पसिना छुट्ने। कलंकीबाट थानकोट गोदामका लागि हिँडेका हामीलाई गर्मीले आलसतालस पारिसक्यो।
माइक्रो भने चिसोले ग्यास पास नभएर स्टार्ट नै नहुने। एकछिन घ्यार्र अगाडि बढ्छ, फेरि रोकिन्छ। सरासर जाँदा १० मिनेटमा पुग्ने ठाउँ हामीलाई झन्डै एक घन्टा लाग्यो।
गाडीसम्मको गन्तव्य गोदाम। त्यसपछि हिँडेर चन्द्रागिरीको डाँडो उक्लने र डाँडैडाँडा मातातिर्थ झर्ने हाम्रो योजना। त्यसैले कलेजका मिल्ने साथी कलंकीमा जम्मा भएर गोदाम पुगेका।
गोदाम काठमाडौं सहरबाट केही टाढाको काँठे बजार। थानकोटबाट लगभग २ किलामिटर पश्चिम लागेपछि गोदाम पुगिन्छ। मोटर नचल्दा यही बाटोले तराई र काठमाडौं जोडेको थियो। तराईका मानिस काठमाडौं र काठमाडौंका मानिस तराई जाँदा यही बाटो हुँदै जान्थे। राजारजौटा हिँड्ने बाटो पनि यही भएको स्थानीय बताउँछन्। त्यसैले कुनै समय मुख्य व्यापारिक नाका थियो गोदाम।
चित्लाङ हुँदै हेटौंडा निस्कने छोटो बाटो पनि हो यही हो। तर मोटर चल्न थालेपछि शुन्यप्राय छ गोदाम। चित्लाङका बासिन्दा मात्रै यो बाटो आउजाउ गर्छन्।
...
गोदाममा केही सरसामान किनेर बिस्तारै उकालोतिर पाइला बढाउँदैछौं। १५ जनाको हुल बाटो नाप्दैछ।
यात्रामा जहिल्यै पनि समयको ख्याल गर्नुपर्छ। जुन आज हामीले गर्न सकेनौं। किनकि भनेको समयभन्दा झन्डै साढे एक घन्टा ढिलो यात्रा गर्दैछौं। समयमा निस्केनौं भने फर्कने बेला गाह्रो हुन्छ। हतार हुन्छ। रमाइलो गर्ने समय हुन्न। त्यसैले बिहान सातै बजे गोदामबाट चन्द्रागिरी उक्लने योजना बुनेको।
कलेजका मिल्ने साथीहरू भएकाले हामीलाई गफिन कुनै विषय चाहिन्थेन। जे देख्यो त्यहीमा गफिनुको मजा बेग्लै। अड नमानी धित मरुन्जेल हाँस्नु, हल्ला गर्नु, सिठी बजाउँदै हिँड्नु, मन लागेजति पोजपोजमा फोटो खिच्दै हिँड्नु हाइकिङको अर्को मजा हो। स्वतन्त्र हुन सकिन्छ यो बेला। स्वच्छ हावा त भइनै हाल्यो। हाइकिङ जाँदा मन मिल्ने र चिनेका साथी भयो भने अझै रमाइलो हुन्छ।
हाइकिङमा गति मिलाएर बिस्तारै हिँड्नुपर्छ। सुरुमै छिट्छिटो हिँडे दिनभर हिँड्न सकिन्न। बेथितिले हिँड्यो भने बीच बाटोमा नै अलपत्र पर्न सकिन्छ। …लौ है, बिस्तारै ताल मिलाएर हिँडौं,' मैले भनेँ। मुन्टो हल्लाएर सबैले …हुन्छ' को संकेत दिए।
घाम रापिलो हुँदैछ। भोक लागिसक्यो। पाइला बिस्तारै ओइलाउँदैछन्। …ब्रेकफास्ट लिउँ न,' पहिलोचोटि हाइकिङ गएकी उत्तरा घिमिरेले भनिन्। …निश्चित ठाउँ र समयमा मात्र खाजा/खाना खाइन्छ,' मैले भनेँ।
गोदामबाट अलि माथि उक्लेपछि दुइटा बाटो आउँछ। एउटा मान्छे हिँड्ने ठाडै उकालो। अर्काे मोटर गुड्ने। मान्छे हिँड्ने बाटो अलि गाह्रो छ। मोटरबाटो नबन्दा मान्छेहरू यही बाटो भएर हिँड्थे।
…लौ राजकुमार दिक्पाल हुने कि हरुवा!' बाटो बेलिविस्तार लगाउँदै भनेँ। सबैले राजकुरमार दिक्पाल हुने बताए। अनि सुरु भयो ठाडो उकालो। दायाँबायाँ झाडी। बीचमा सानो बाटो। लौरो टेक्दै उकालिँदैछौं।
काठमाडौंको धुलोधुवाँबाट मुक्त भइयो। हरिया रुखले फालेका स्वच्छ अक्सिजन लिन पाइने। घाइँघुइँ पनि नहुने। काठमाडौंमा चल्ने सवारीसाधनका चर्को आवाजले टट्टाएका कान चराचुरुंगीको मिठो सुसेलीले पवित्र जस्तै भए।
गोदाम छोडेपछि पानीको मूल पाइन्न। त्यसैले पानी आफैं बोक्नुपर्छ। हुन त जहाँसुकैको हाइकिङमा पनि पानी आफैंले बोके राम्रो हुन्छ। यसैगरी लगाउने लुगा पनि आरामदायी हुनुपर्छ। जुत्ता त हिँड्न सहज हुने लगाउनु नै पर्छ। पहिलोचोटि हाइकिङ गएका साथी सिताराम रिजालको नवजोडी छालाको जुत्ता र हाइहिलमा थिए। जसले उनीहरूलाई बाटोमा धेरै अप्ठ्यारो पार्‍यो।
बिहानको ब्रेक फास्ट खाएर हामी बिस्तारै उकालिइरहेका छौं। घाम झन् चर्किंदैछ। सबै असिनपसिन हुँदैछौं। तर उकालो लाग्दै गर्दा चिसो बढेकाले खासै गर्मीको अनुभव भएन हामीलाई। बिस्तारै बाटो नाप्दैछौं हामी। एकछिन हिँड्यो, कम्मरमा हात लगायो खुइ˜˜य सुस्केरा हाल्यो।
काठमाडौंमा हाइकिङ गर्ने चलन खुब बढेको छ। तर पनि यो रुटबारे कमैलाई जानकारी छ। हाइङिका लागि निकै उपयुक्त मार्ग छ यो। मोटर फाट्टफुट्ट चल्ने भएकाले घाइँघुइँ सुन्नु नपर्ने।
…मोटरबाटो पनि के विधि डरलाग्दा!' सहकर्मी सन्तोष शर्माले भने। हुन पनि यो बाटोमा गाडी तलमाथि केही भयो भने केहीको पनि अस्तु रहँदैन। हेर्दै डरलाग्दो! तर नेपालमा यस्ता बाटो धेरै छन्।
लालीगुराँस फुल्ने मौसममा वनै राताम्मे हुन्छन् यहाँ। झन्डै साढे १ घन्टा उकालो लागेपछि बल्ल तरपाय तरपाय बाटो आयो। अब चन्द्रगिरी भन्ज्याङसम्मै मोटरबाटो! खुट्टाले अलि राहत पायो। भन्ज्याङमा पुग्न अझै यहाँबाट १ घन्टा लाग्छ। लन्च लिने ठाउँ।
लौ, भन्ज्याङ आयो! भन्ज्याङबाट पूर्व काठमाडौं पश्चिम मकवानपुर। जिल्ला फरक। अन्चल फरक। यहाँबाट काठमाडौं र चित्लाङ दृश्य प्रष्ट देखिन्छन्। समुद्री सतहबाट १८ सय मिटर उचाइमा रहेको यो भन्ज्याङमा चन्द्रशमशेरको पालामा बनाइएका टहरा छन्। पानी परेका बेला ओत लाग्न सकिन्छ।
असिनापानी पर्ने मौसम। पश्चिमबाट बादल कालोनिलो भएर मडारिन थाल्यो। संकेत भारी वर्षा हुने छ। पानी बेस्मारी परे हामी बाटैबाट हाइकिङ छाडेर फर्कनुपर्छ। भन्दाभन्दै असिनापानी बर्सन थाल्यो। हामी एउटा पाटीमा ओत लाग्छौं।
चन्द्रशमशेरको पालमा बनाएको पाटी। तराईबाट काठमाडौं हिँडेर आउँदा राजामहाराजाको थकाइ मार्ने ठाउँ। यहाँ आएपछि १ घन्टा थकाइ मारेर राजाहरू काठमाडौं ओर्लने गरेका चित्लाङका स्थानीय बुद्धरत्न मानन्धर बताउँछन्।
पानी परेका बेला पारेर हामीले खाजा खायौं। खाइवरी सक्दा पानी रोकियो। अब हाम्रो यात्रा भालेश्वर अर्थात चन्द्रागिरीको डाँडोतिर। चिप्लो र हिलो बाटो। हामी भन्ज्याङबाट बायाँ लाग्दैछौं। झन्डै ३ सय मिटरचाहिँ डोजरले बाटो खनेको रहेछ।
अघिसम्म गर्मीले हपहपी बनाएका हामीलाई चिसो हावाले हान्दैछ। दायाँबायाँ के विधि फुलेका गुराँस! गज्जबको गुराँस घारी रहेछ।
हाइकिङमा साथीसाथीलाई उडाउन र मनका कुरा पोख्न कम्ता रमाइलो हुन्न। जुन मजा हामी लिइरहेका छौं। डोजरले खनेको बाटो सकेर हामी ढुंगैढुंगाको सिढी उक्लँदैछौं। यो ढुंगे सिढी बनाउन भौतिक तथा निर्माण योजना मन्त्रालयले १ करोड दिएको रहेछ। भालेश्वर चन्द्रागिरीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न तयार गरिएको बाटो हो यो। तर यसबारे खासै प्रचार नभएकोले धेरैलाई यो रुटबारे थाहा नभएको मानन्धरले बताए।
अघिसम्म कहाँ हो कहाँ देखिएका चुच्चा डाँडाहरू हामी भन्दा तल पर्दै गए। हामीमाथि देखिएका बादल तलतिर परिसके। जहाज त निकै तलबाट उडेको देखियो। माथि डाँडामा बसेर बादल तलतल कुदेका हेर्दा पनि रोचक लाग्ने।
उत्तरतिरका हिमाल पनि हामीबराबर लाग्ने। लगभग २२ मिटर उचाइमा आइपुग्यौं हामी। ढुंगा बिछ्याइएको घुम्तीघुम्ती बाटो पार गर्न झन्डै डेढ घन्टा लाग्यो। बाटोमा पानी पाइएन। बोकेर लगेको पानी सकिसक्यो। सबैलाई पानीले प्याकप्याक्ती बनाएको छ। अब १ लिटर फेन्टा र स्प्राइट मात्र छन्। अझै पानी पाउने ठाउँ पुग्न २ घन्टा लाग्छ।
भालेश्वर आइपुगियो। खासै मन्दिर छैन। ढुंगैढुंगामा पूजा गरेर भालेश्वरको मूर्ति स्थापना गरिएको छ यहाँ। चारैतिर सफाचट देखिने। हरर चिसो हावा लाग्ने। सिमसिम पानी परेकाले झन् चिसो बनाएको छ। एउटा बडेमानको ठुटोमा आगो बलेको छ। यो आगो सितिमिति निभ्दैन रे। यति अग्लो ठाउँमा कस्ले बाल्यो आगो?
भालेश्वरलाई महादेवका रूपमा पुज्ने चलन छ। यहाँ फागुपूर्णिमाको दिन भव्य मेला लाग्छ। फर्पिङ, चित्लाङ, चखेल, फाखेल, गर्जुधारा र नैकापका मानिस पूजाका लागि यहाँ आउँछन्। यहाँ आएर पूजा गरे मनले चिताएको पुग्छ भन्ने जनविश्वास छ।
यस्तै काठमाडौं र मकवानपुरतिर लामो समय पानी परेन भने यहाँ आएर पूजा गर्ने चलन भएको मानन्धरले जानकारी दिए।
चन्द्रगिरी नाम कसरी रह्यो भन्ने रमाइलो किंवदन्ती छ। जब महादेवले समुद्र मैथुन गर्दा कैलाशकुट विष सेवन गरे। उनलाई विषले औडाह हुन थाल्यो। त्यसपछि उनले यहाँ आएर त्रिशुल गाडे। त्रिशुल गाडिएन। यहाँ चन्डाल गिरी रहेछ भनेर एकै पाइलामा गोसाइँकुन्डमा पुगे र त्यहाँ त्रिशुल गाडेर आफू कुण्डमा सुते। चन्डाल गिरी नामबाट पछि चन्द्रागिरी भएको भनाइ छ।
यहाँबाट पूर्व काठमाडौं देखिन्छ। पश्चिम मकवानपुरका पहाडी क्षेत्र स्पष्ट देख्न सकिन्छ। राति १२ बजे आएर हेर्ने हो भने त वीरगन्जमा गाडीको प्रकाश देख्न सकिने मानन्धरले बताए। यो ठाउँलाई प्रचारप्रसार गर्न सके नगरकोटभन्दा कम्तिको पर्यटकीय गन्तव्य बन्दैन। भन्ज्याङसम्म मोटरमा गएर पैदल हिँड्न सकिन्छ।
मौसमअनुसार यो रुटमा लालीगुराँस, काफल खान सकिन्छ। बाटोमा कालिज, बदेल, तित्रा, मृगसमेत देख्न सकिन्छ।
अब हामी ओरालो लाग्दैछौं। मातातिर्थ पुग्नुपर्ने। दुई बजे हामी ओरालो लाग्दैछौं। सुसेली हाल्दै, गीत गाउँदै। केही बेर ठाडै ओरालो झरेपछि सजिलो बाटो आयो। बाटोमा एकएक गिलास फेन्टा र स्प्राइटले मुख भिजायौं। चखेल आइपुगियो। यहाँसम्म गाडी आउँछन्। फाखेल, चित्लाङ र चखेलका तरकारी यही बाटो हुँदै काठमाडौं लागिन्छ। यो ठाउँलाई ८ नम्बर पनि भनिन्छ। रोपवे सन्चालन हुँदा हेटौडाबाट ८ नम्बरको स्टेशन हो।
घाम पश्चिम लागिसकेको थियो। हामी केही छिन आराम गरेर फेरि उही कंक्रिटको जंगलतिर लम्कियौं।

No comments: