Friday, January 13, 2012

जाडोमा थलथले


चिसो मौसम। आतै कमाउने। यस्तोमा शरीर तताउने खान्की चाहिन्छ। खाना खाइसकेपछि शरीर तात्ने त हुनैपर्‍यो। जाडोका बेला तातो, झोलिलो र पोषिलो खाना खानुपर्छ भनिन्छ। त्यसो भए जाडोमा के खाने त?
सुप! चाहे त्यो हड्डीको होस् या नुडल्स। तात्तातो खानेकुराले शरीरको तापक्रम बढाउँछ र न्यानो राख्छ। त्यही भएर जाडोका बेला मात्र विशेष खानेकुरा बनाउने चलन भएको पाकाहरू बताउँछन्। जात, ठाउँअनुसार जाडोमा खानेकुरा फरक हुन्छ। हिमाल र तराईमा खाइने कुरा फरक हुन्छ।
अझ खाने परिकारमा विविधता भएको नेवार समुदायमा जाडोका लागि नै भनेर थुप्रै परिकार बनाइन्छ। चतामरी, याखुना, तःखा (थलथले), लाजमरी, घिउ चाकु जाडोमा खाने चलन रहेको पाकाहरू बताउँछन्।
थलथले नेवार समुदायमा लोकप्रिय खाना हो। नेवारी भाषामा तःखा भनिने थलथले राँगाको छाला र मासुबाट बनाइन्छ। थलथलेका सोखिन संस्कृतिविद सत्यमोहन जोशी भन्छन्, …जाडोका बेला थलथले खाँदा शरीरलाई उर्जा मिल्छ। जाडो भाग्छ।'

Wednesday, January 11, 2012

झलमल्ल झुले



जंगलको बीचमा छ झुले। त्यसैले यहाँ विभिन्न जंगली जनावर र चराको समेत अवलोकन गर्न सकिन्छ। कति जनावर त होटलमै आइपुग्छन्। कति चरा बारीमा समेत आउँछन्। मनोजका अनुसार तित्रा, कालिज, धोबी, दुम्सी, खरायो, चितुवा, मृग हेर्न सकिन्छ। 

छयांग खुलेको आकास। बर्खालाई बिदाइ गरेर हिउँदलाई स्वागत गरिरहेको शरद ऋतु। चारैतिर हरियाली। खेतमा लहलह पहेँलपुर धान। तरेली परेका पहाड। जति माथि उक्लियोे उति चिसो सिरेटो।

साँखु चोकबाट बायाँ लागेपछि पातलिँदै गएको बस्ती अनि बाली लगाउन तल्लीन किसानबीच साक्षात्कार गर्दै लप्सेफेदी गाविस उक्लँदा यस्तै देख्न सकिन्छ। केहीबेर अघि मात्रको कोलाहलबाट टाढा भएर स्वच्छ र सफा हावामा कावा खाँदै उक्लनुको मजै बेग्लै।

असोज–कात्तिक। हिमाल खुल्ने मौसम। घमाइलो दिन। न जाडो न गर्मी। शितल समय। यही मौका हो छर्लंग हिमाल हेर्ने। यस्तो मौसम छोपेेर घुम्न जानु र क्यामेरामा रमाइला दृश्य कैद गर्नु बेग्लै आनन्द हुन्छ। काठमाडौं उपत्यकाको आकास पनि यतिबेला खुलेेको छ। नजिकैका हिमाल उपत्यकालाई हेरेर मुस्काइरहेछन्। तर उपत्यका खाल्डोमा बसेर यस्तो दृश्य हेर्नुभन्दा नजिकैका डाँडामा गएर चियाउनु अझ राम्रो। तपाईं पनि लप्सेफेदीको झुले जाने?

Tuesday, January 10, 2012

हिउँ खेल्न सिमभन्ज्याङ



हिउँसँग खेल्नको साथै यहाँ पुगेपछि २ हजार ४ सय ८८ मिटर उचाइमा रहेको सिमिभन्ज्याङबाट मनमोहक सूर्यास्त समेत देख्न सकिन्छ

डाँडै सेताम्मे । के रुख, के जमिन। जताततै हिउँ नै हिउँ। कहिले हिउँको डल्लो बनाएर अरुलाई हान्दै त कहिले नथाहापाउने गरी कलरबाट हिउँ हाल्दिँदै रमाइलो गर्दाको आनन्दै बेग्लै। त्यतिमात्रै होइन, हिउँमाथि लम्पसार परेर हिउँले नै ज्यानलाई छोपेर सुत्दा झनै रोमान्चित!
यसैगरी हिउँ खेल्ने इच्छा छ? जाडो लागेसँगै मनमा आउने हिउँ खेल्ने रहर पुरा गर्ने हो भने मकवानपुरको उच्च पहाडी भाग सिमभन्ज्याङ, दामन र आसपास क्षेत्र र दोलखाको खरिढुंगामा हिउँ परेको छ।
सिमभन्ज्याङ, दामनमा सोमबार दिउसो ३ बजेदेखि पर्न थालेको हिउँ राती अबेरसम्म परिरहेको थियो। नेपालको अधिकांश भागमा पानी पर्न थालेसँगै सिमभन्ज्याङमा हिउँ पर्न थालेको थियो। मौसमविद्हरुका अनुसार नेपालमा पश्चिमी वायुको प्रभाव परेपछि पानी परेको हो। उच्च पहाडी तथा हिमाल भेगमा हिउँ परेको छ। 
दामनमा बिहान सिमसिम पानी परेको भएपनि ३ बजेपछि मात्रै हिउँ फुस्फुसाउन थालेको थियो। दामनस्थित एभरेष्ट पानारोमा रिसोर्टका सुपरभाइजर नितेश आमत्यका अनुसार हिउँ रोकिँदै पर्दै गरेको थियो। उनले भने, …सुरुमा पानी पर्‍यो। त्यसपछि हिउँ।' उनका अनुसार ३/४ इन्च बाक्लो हिउँ परेको छ। राती हिउँ परेको अनुमान गर्दै उनले भने, …यसैगरी हिउँ परे। ३/४ दिन बाँकी रहन्छ।'
हिउँ परेको समाचार आउन थालेपछि सोधखोज गर्नेको टेलिफोनमा सोधीखोजी गर्नेको ताँती लागेको आमत्यले बताए। कतिपय तन्नेरी हिउँ खेल्न सौखिनहरु बेलुकी नै दामन पुगेका थिए। तर हिउँले सडक पुरिएपछि दामनमै गाडी रोकिएको छ। हेटौडा, विरगन्ज, सिमभन्ज्याङ जाने यात्रु तथा पर्यटक १ घण्टा भन्दा बेसी हिँडेर सिमभन्ज्याङ पुगेका थिए। उनका अनुसरा दामनबाट माथि गाडी जान सक्दैन।
काठमाडौंबाट लगभग ८० किलोमिटर पश्चिम रहेको सिमभन्ज्याङ जान मोटरसाइकलमा ३ र गाडीमा ४ घण्टा लाग्छ। एकै दिन पुगेर फर्कन सकिने भएकोले हिउँ खेल्न चाहनेलाई यो राम्रा गन्तव्य हो।
हिउँसँग खेल्नको साथै यहाँ पुगेपछि २ हजार ४ सय ८८ मिटर उचाइमा रहेको सिमिभन्ज्याङबाट मनमोहक सूर्यास्त समेत देख्न सकिन्छ। 
जाडोसँगै प्रत्येक वर्ष यहाँ हिउँ पर्ने गरेको आमत्य बताउँछन्। तर गएका वर्ष भन्दा यो वर्ष चाँडै हिउँ परको हो। उनी भन्छन्, …विगतका वर्षमा माघ लागेपछि हिउँ पर्थ्याे। यो वर्ष पुमा नै हिउँ पर्‍यो।
हिउँ खेल्नको लागि काठमाडौं, हेटौडा, नारायाणघाट, बीरगञ्ज लगातयको ठाउँबाट युवायुवती आउने गरेका आमत्य बताउँछन्। साथै यहाँबाट विहानको सूर्योदय र कञ्चनजंगा देखि अन्नपूर्ण हिमालसम्मको लामो हिमशृंखला देख्न सकिन्छ। आमत्यका अनुसार पानी र हिउँ परेर रोकिएपछि छर्लङ्ग हिमाल देखिन्छ।