Wednesday, January 11, 2012

झलमल्ल झुले



जंगलको बीचमा छ झुले। त्यसैले यहाँ विभिन्न जंगली जनावर र चराको समेत अवलोकन गर्न सकिन्छ। कति जनावर त होटलमै आइपुग्छन्। कति चरा बारीमा समेत आउँछन्। मनोजका अनुसार तित्रा, कालिज, धोबी, दुम्सी, खरायो, चितुवा, मृग हेर्न सकिन्छ। 

छयांग खुलेको आकास। बर्खालाई बिदाइ गरेर हिउँदलाई स्वागत गरिरहेको शरद ऋतु। चारैतिर हरियाली। खेतमा लहलह पहेँलपुर धान। तरेली परेका पहाड। जति माथि उक्लियोे उति चिसो सिरेटो।

साँखु चोकबाट बायाँ लागेपछि पातलिँदै गएको बस्ती अनि बाली लगाउन तल्लीन किसानबीच साक्षात्कार गर्दै लप्सेफेदी गाविस उक्लँदा यस्तै देख्न सकिन्छ। केहीबेर अघि मात्रको कोलाहलबाट टाढा भएर स्वच्छ र सफा हावामा कावा खाँदै उक्लनुको मजै बेग्लै।

असोज–कात्तिक। हिमाल खुल्ने मौसम। घमाइलो दिन। न जाडो न गर्मी। शितल समय। यही मौका हो छर्लंग हिमाल हेर्ने। यस्तो मौसम छोपेेर घुम्न जानु र क्यामेरामा रमाइला दृश्य कैद गर्नु बेग्लै आनन्द हुन्छ। काठमाडौं उपत्यकाको आकास पनि यतिबेला खुलेेको छ। नजिकैका हिमाल उपत्यकालाई हेरेर मुस्काइरहेछन्। तर उपत्यका खाल्डोमा बसेर यस्तो दृश्य हेर्नुभन्दा नजिकैका डाँडामा गएर चियाउनु अझ राम्रो। तपाईं पनि लप्सेफेदीको झुले जाने?


लप्सेफेदी, काठमाडौं सहरबाट उत्तरपूर्वी गाविस। फेदीमा पर्ने साली नदीदेखि डाँडोमा रहेको शिवपुरी राष्ट्रिय निकुञ्जसम्म उक्लँदा बाटोमा थुप्रै मनोरम दृश्य देख्न सकिन्छ। काठमाडौंमा ठडिएका आलिसान महल चिलबाट भगेरा, भगेराबाट भुसुना बन्दै जान्छन्। उत्तरतिर चाँदीझैं चम्केका हिमाल मुसुक्क मुस्काएर स्वागतका लागि पर्खिरहेका हुन्छन्।

काठमाडौंको जोरपाटीबाट उत्तरपूर्व २१ किलोमिटर दुरीमा रहेको यो ठाउँमा पुग्दा मन आनन्दित हुन्छ। काठमाडौंको हल्लाखल्ला, धुवाँधुलो र व्यस्त दैनिकीबाट केही समय भएपनि छुट्टी लिन राम्रो छ झुले। एक रात बिताउन गए पनि हुन्छ, हाइकिङ गरेर त्यही दिन फर्के पनि हुन्छ।

काठमाडौंबाट धेरै टाढा छैन लप्सेफेदी। मोटरमा जाने हो भने २ घन्टा। आफ्नै साधन हुनेहरू भने डेढ घन्टामा सजिलै पुग्छन्। त्यसो त मोटरबाटो राम्रो नभएकोले चौकी भन्ज्याङबाट चाहिँ हिँड्नुपर्छ। मोटरसाइकल भने डाँडैमा पुग्छ। जोरपाटी नारायणटारबाट प्रत्येक घन्टामा सिन्धुपाल्चोक जाने बस छुट्छन्। त्यही बसमा चढेर चौकीभन्ज्याङ झर्नुपर्छ। त्यहाँसम्म ४० रुपैयाँ भाडा लिन्छ। त्यसपछि आधा घन्टा उकालो चढे झुले पुगिन्छ।

साली नदी तरेर ग्राभेल मोटरबाटोमा चाकाचुली खेल्दै उकालो लाग्दा रमाइलो हुन्छ। यहाँबाट सिन्धुपाल्चोकको भोटेचौर, सिन्धु, कोट, मेलम्ची, हेलम्बुसम्म ट्रेकिङसमेत गर्न सकिन्छ। सिन्धुपाल्चोक, रसुवाको काठमाडौं, भक्तपुर र दोलखाको अधिकांश यही ठाउँबाट हेर्न सकिन्छ।
गाउँले परिवेेश, जीवनशैली हेर्दै यहाँबाट मणिचुड, नगरकोट, चिसापानी, मेलम्ची पदयात्रा गर्न सकिन्छ। तामाङ, बाहुन क्षेत्रीको मिश्रित बस्ती छ। लेक उक्लँदै गएपछि भने तामाङ समुदायको बाहुल्य देखिन्छ।
२१ सय मिटर उचाइमा रहेको झुलेे भ्यु प्वाइन्टबाट देखिने हिमालको पानारोमिक दृश्यले मनै पुलकित बनाउँछ। पूर्वको सगरमाथादेखि लाङटाङ हिमालसम्म देखिन्छ। पर्यटनकर्मी मनोज आचार्यका अनुसार यहाँबाट झन्डै एक दर्जनभन्दा बढी हिमाल देखिन्छ। भन्छन्, …सूर्याेदय र सूर्यास्तको मनोरम दृश्यसमेत हेर्न सकिन्छ।'
जंगलको बीचमा छ झुले। त्यसैले यहाँ विभिन्न जंगली जनावर र चराको समेत अवलोकन गर्न सकिन्छ। कति जनावर त होटलमै आइपुग्छन्। कति चरा बारीमा समेत आउँछन्। मनोजका अनुसार तित्रा, कालिज, धोबी, दुम्सी, खरायो, चितुवा, मृग हेर्न सकिन्छ।
यसैगरी वनमा पसेर काफल, चुत्रो, ऐँसेलु, लालीगुराँस, भक्किअमिलोलगायत जंगली फलफूलसमेत खान सकिन्छ।
बस्नलाई त्यति धेरै होटल त छैनन्। पर्यटनको सम्भावना देखेपछि धमाधम होटल खोल्ने तयारी भइरहेको छ। अहिले तीनवटा होटल सञ्चालनमा छन्।
चिसापानी नगरकोट हाइकिङ वा साइक्लिङ गर्दा यो ठाउँ बीचबाटोमा पर्छ। झुले माउन्टेन भ्यु रिसोर्टका सञ्चालकसमेत रहेका मनोेज भन्छन्, …नगरकोट या चिसापानी जताबाट आए पनि बिहान वा दिउसो खाजा खान उपयुक्त ठाउँ हो यो। यसलाई पर्यटक ट्रान्जिट प्वाइन्ट बनाउने तयारी गरिरहेका छौं। उनका अनुसार नगरकोटबाट घोडचढी गर्दै यहाँसम्म आउने रुट पनि तय भैसकेको छ।


अर्ग्यानिक खाना 
पर्यटनको भविश्य सुनौलो देखेपछि झुलेमा होटल तथा रिसोर्ट खोल्ने होड चलेको छ। व्यवसायीले सेनासँग मिलेर सडक खनेका छन्। अहिले अर्ग्यानिक तरकारी र फलफूल उत्पादन गर्ने क्रम पनि सुरु भैसकेको छ। अर्ग्यानिक उत्पादनका लागि व्यापारीले धमाधम जग्गा लिन थालेका छन्। मनोज आचार्य र आले लामाले चारवर्ष अघि १ सय ७ रोपनी जग्गामा तरकारी र फलफूल लगाएका छन्।
किसानले तरकारी खेती गर्दा धेरै र चाँडै उत्पादन गर्न विषादी प्रयोग गर्न थाले। जसले उत्पादक र उपभोक्ता दुवैको स्वास्थ्यमा असर गर्न थाल्यो। आचार्य भन्छन्, …विषादी प्रयोग भएको खानेकुरा खाँदा क्यान्सर बढ्न थाल्यो। अर्ग्यानिक खेतीले यो हुन दिँदैन।'
फलफूल फलाउन लामो समय लागेपनि तरकारी भने उनले गत सालदेखि नै उत्पादन गर्दै आएका छन्। बारीमा सुन्तला, ओखर, भोगटे, लप्सी, किबी, स्ट्रबेरीलगायत बिरुवा रोपेका छन्। भन्छन्, …दाल र चामलबाहेक सबै कुरा यहीँ उत्पादन गर्छौं।' उनले आउँदो हिउँदबाट ट्राउट माछा पाल्ने तयारी गरिरहेका छन्। भने, …हिउँदमा पानी पुगे ट्राउट पनि पाल्छौं।'
कम्प्युटर व्यवसायीसमेत रहेका मनोज आफ्नै उत्पादन हुने भएकाले होटल चल्नेमा ढुक्क छन्। पौने करोडभन्दा बढी लगानी गरिसकेका आचार्य र आले भन्छन्, …लगानी धेर लाग्यो, पछि फाइदा देला।'

No comments: