Friday, January 13, 2012

जाडोमा थलथले


चिसो मौसम। आतै कमाउने। यस्तोमा शरीर तताउने खान्की चाहिन्छ। खाना खाइसकेपछि शरीर तात्ने त हुनैपर्‍यो। जाडोका बेला तातो, झोलिलो र पोषिलो खाना खानुपर्छ भनिन्छ। त्यसो भए जाडोमा के खाने त?
सुप! चाहे त्यो हड्डीको होस् या नुडल्स। तात्तातो खानेकुराले शरीरको तापक्रम बढाउँछ र न्यानो राख्छ। त्यही भएर जाडोका बेला मात्र विशेष खानेकुरा बनाउने चलन भएको पाकाहरू बताउँछन्। जात, ठाउँअनुसार जाडोमा खानेकुरा फरक हुन्छ। हिमाल र तराईमा खाइने कुरा फरक हुन्छ।
अझ खाने परिकारमा विविधता भएको नेवार समुदायमा जाडोका लागि नै भनेर थुप्रै परिकार बनाइन्छ। चतामरी, याखुना, तःखा (थलथले), लाजमरी, घिउ चाकु जाडोमा खाने चलन रहेको पाकाहरू बताउँछन्।
थलथले नेवार समुदायमा लोकप्रिय खाना हो। नेवारी भाषामा तःखा भनिने थलथले राँगाको छाला र मासुबाट बनाइन्छ। थलथलेका सोखिन संस्कृतिविद सत्यमोहन जोशी भन्छन्, …जाडोका बेला थलथले खाँदा शरीरलाई उर्जा मिल्छ। जाडो भाग्छ।'

थलथले आजकाल नेवारी रेस्टुरेन्टमा समेत पाइन्छ। थलथले सजिलै घरमा बनाउन सकिन्छ। जोशीका अनुसार आजकाल जताततै पाइने फास्टफुडले घरमा बनाइन छाडेको छ। जाडोका समयमा परेको भोजभतेरमा भने यो पाक्छ।
कसरी बनाउने
सबैभन्दा पहिले राँगाको छाला भएको मासु चाहिन्छ। आफूले कति बनाउने हो, त्यहीअनुसार मसला तयार गर्नुपर्छ। मसलामा अदुवा, धनियाँ, लसुन, हिङ आदि हाल्नुपर्छ। अनि कराईमा पकाउने। राँगाको छाला बाक्लो हुने भएकाले यो पाक्न धेरै समय लाग्छ। जोशी भन्छन्, …झन्डै आधादिन जस्तै पकाउनुपर्छ। जति पकायो, त्यति मिठो।'
यो जुन दिन पकायो त्यही दिन खाने होइन। एकरात माटोको भाँडामा राख्ने, भोलिपल्ट मात्र खाने। माटोको भाँडामा राख्दा स्वाद बिग्रन्न। रातभर भाँडामा चिस्याएर राखेपछि मासु जम्छ। जमेको मासु भोलिपल्ट झिकेर खाने। यसलाई चिउरासँग मोलेर खाँदा बढी स्वादिलो हुन्छ। जोशी भन्छन्, …थलथले र झुरुमझुरुम परेको चिउरासँग मिलाएर खाँदा जाडो भाग्छ र शरीरमा इनर्जी दिन्छ।'
थलथलेसँग चटनी भए झन् मज्जा! चटनीचाहिँ माछाको बनाउनुपर्छ। यसलाई न्याखुना भन्छन्। माछालाई राम्रोसँग पकाएर चटनीका रूपमा खान सकिन्छ। जाडोमा यसले सर्दी लागेको बिसेक पार्छ।

1 comment:

SumAn said...

kbana man lagiyo laijana yar thal thale khana ...:)