Thursday, April 19, 2012

मेला तथा प्रदर्शनी बढ्यो


बेफुर्सदिला सहरी उपभोक्तालाई चारैतिर दौडन नपर्ने गरी चाहेको सामान एकै ठाउँमा उपलब्ध गराउन मेला महोत्सवले सहयोग गरेका छन् 

राजधानीमा पछिल्लो समय मेला तथा प्रदर्शनी गर्ने चलन बढेको छ। खानेदेखि लगाउने, हिँड्नेदेखि गुड्ने, शिक्षादेखि सूचना प्रविधिसम्मका जानकारी दिन र व्यवसाय बिस्तार गर्न व्यवसायीले विभिन्न नाम दिएर मेला तथा प्रदर्शनी आयोजना गर्ने गरेका छन्। विगतका वर्षमा भएका प्रदर्शनीभन्दा यो वर्ष १० प्रतिशतले प्रदर्शनी आयोजना बढेको मेला तथा प्रदर्शनी आयोजक बताउँछन्।
काठमाडौंको भृकृटीमण्डप, युनाइटेड वर्ल्डट्रेड सेन्टर, सिटीसेन्टर, राष्ट्रिय सभा गृहमा प्रदर्शनी तथा मेला हुने गरेका छन्। दैनिक उपभोग्य वस्तु, सवारीसाधन, सूचना प्रविधि, शिक्षा र सजावटमा धेरै मेला हुने गरेको भृकुटीमण्डप सञ्चालन कार्यालयका सहायक द्वितीय सुन्दरश्याम श्रेष्ठ बताउँछन्।

उनका अनुसार भृकुटीमण्डपमा अघिल्ला वर्षमा भन्दा यो वर्ष ४/५ वटा मेला बढी लागिसकेका छन्। यो वर्ष १३ वटाभन्दा प्रदर्शनी भइसकेको उनले जानकारी दिए। अझै ३ वटा प्रदर्शनीको लागि हल बुकिङ भएको उनले बताए। भृकुटीमण्डपमा वर्षेनी हुने नियमित  प्रदर्शनीभन्दा यो वर्ष थप नयाँ प्रदर्शनीको आयोजना भएको छ। फोटो किपालगायत प्रदर्शनी नयाँ भएको श्रेष्ठले बताए।
प्रदर्शनी अवलोकन गर्नेको संख्या र त्यहाँ हुने व्यापार बढेपछि प्रदर्शनी गर्ने चलन बढेको डाइरेक्सन नेपालका इभेन्ट डाइरेक्टर पशुपति खत्रीले बताए। …मेलामा नयाँनयाँ वस्तु हेर्न तथा किन्न पाइने भएकाले भिजिटर बढे। जसले गर्दा व्यवसायीलाई फाइदा पुग्यो,' उनले भने, …प्रदर्शनी आयोजकलाई थप हौसला पुग्यो।' उनका अनुसार निशुल्क सूचना, शिक्षा र स्वास्थ्यबारे जानकारी दिन पनि प्रदर्शन गरिएको छ। क्यान इन्फोटेकमा सूचना र प्रविधिको, हेल्थ एक्स्पोमा स्वाथ्य, एजुकेसन फेयरमा उच्च शिक्षाको, अटो एक्स्पोमा सवारीसाधनबारे जानकारी दिने गरिन्छ।
राष्ट्रिय सभा गृहका कार्यालय प्रमुख सनतकुमार थापा चाहिँ ग्राहकलाई एउटै छानामुनि धेरै सामान राखेर मेला आयोजना गर्दा ग्राहकलाई सजिलो हुने भएकाले पनि प्रदर्शनी बढेको बताउँछन्। …मेलामा पसेपछि धेरैथरी सामान हेर्न, जानकारी लिन र मन परे किन्न पाइन्छ,' थापाले भने, …यसले ग्राहकलाई चाहिएको सामान किन्न चारतिर भौतारिनु पर्दैन।' सभागृहमा यो वर्ष दर्जनभन्दा बढी मेला तथा प्रदर्शनी आयोजना भइसकेका छन्। …नेपालमा बनेका उत्पादनको प्रदर्शनी भयो,' उनले भने, …छाला जुत्ताको मेला लामो समय लाग्यो।'

यसैगरी डाइरेक्सन नेपालले पनि गत वर्षभन्दा १० वटाभन्दा बढी प्रदर्शनी गरेको दाबी गरेको छ। …आइटी, हेल्थ, शिक्षा र चिल्ड्रेन सम्बन्धी प्रदर्शनीमा हामलिे जोड दिएका छौं,' उनले भने।
सहरी जीवन दिनदिनै व्यस्त भएकाले चाहेको सामान भनेको ठाउँमा नभ्याउने तर यस्ता प्रदर्शनीले एकै ठाउँमा सबैखाले सामान उपलब्ध गराउँदा फाइदा हुने भएकाले पनि प्रदर्शनी गर्ने चलन बढेको हो। अन्तर्राष्ट्रिय व्यापारदेखि स्थानीयस्तरमा भएका मेलामा सबैखाले सामान राखिएको थियो।
यसरी हुने प्रदर्शनीले व्यापारी र उपभोक्ता दुवैलाई फाइदा पुगेको भृकुटीमण्डप सञ्चालन कार्यालयका श्रेष्ठ बताउँछन्। अर्थथन्त्रमा समेत सकारात्मक प्रभाव पारेको छ,' उनले भने, राजस्व पनि राम्रै उठेको छ।' यो आर्थिक वर्षमा प्रदर्शनी आयोजना गरेर भृकुटीमण्डपमा १ करोडभन्दा बढीको कारोबार भइसकेको उनले बताए। यहाँ १ दिन प्रदर्शनी गरेबापत हल भाडा १ लाख २५ हजार रुपैयाँ तिर्नुपर्छ।  बगैंचाको ५० हजार रुपैयाँ।
मेलामा दिइने छुटले पनि उपभोक्ताको मन प्रदर्शनीमा जान थालेको र आयोजकलाई प्रदर्शनी आयोजना गर्न हौसला मिलेको थापाको भनाइ छ। उनी भन्छन्, …मेलामा डिस्काउन्ट पाइन्छ भनेर  उपभोक्ता जान थाले जसले गर्दा मेला सफल हुन थाल्यो।'
कतिपय व्यापारीले आफ्ना स्टक क्लिरियन्स गर्न पनि मेला आयोजना गर्ने गरेको छन्।  …व्यापारीले यस्तै मेला गरेर स्टक क्लियिरयन्स गरिरहेका छन्। यसले गर्दा व्यपारीले आफ्ना सामान बिकाउन सक्ने भए ग्राहकले सस्तोमा सामान पाउने भए,' श्रेष्ठले भने।

No comments: