Thursday, May 26, 2011

दामी दामन


नौबिसेबाट बस त्रिभुवन राजपथ लाग्यो। पृथ्वी राजमार्ग नबन्दासम्म निकै चहलपहल हुने यो राजपथ अहिले सुनसान रहेछ। एकाध ट्रक र मोटरसाइकलबाहेक अरु सवारीसाधन केही नचल्ने।
के बिधि तिखा हुन् घुम्ती। एकसरो गाडी मोड्न पनि नपुग्ने। कहिले दायाँ कोल्टने कहिले बायाँ। कोल्टाइसँगै एउटा लोकगीत सम्झन्छु :
घुम्तीनिर सोल्टिनी मिनीबस कोल्टिनी
म त, जता माया उतै ढल्किनी
बसमा सोल्टिनी थिइनन् न त उतैतिर म ढल्किएको नै थिएँ। सबैभन्दा पछाडीको सिटमा बसेको म झ्यालतिर चाहिँ ढल्किरहन्थेँ।
घुम्ती नै घुम्ती। धेरै घुम्ती भएकोले होला यो राजमार्गको कतिपय ठाउँको नाम सातघुम्ती, नौ घुम्ती वा बाह्र घुम्ती राखिएको!
धादिङको तसर्पु गाउँ हुँदै बस तरपाय तरपाय उकालो लाग्दै छ। नौविसेबाट उकालो लाग्दा निकै माथि देखिएका पारीपारीका जीवनपुर, छत्रेदेउरालीका डाँडा हामीसँगै समानान्तर भए अनि तल परे। अझै उकालो लाग्दै छौं हामी।
...
दामनका पर्यटनकर्मी र पत्रकार सहितको एक जम्बो टोली काठमाडौंको उखरमाउलो गर्मी छल्न दामन निस्केका। मध्य बसन्त ऋतु भएकाले होला कतै हरियाली, कतै उजाड डाँडो, कतै बारीमा मकै रोप्दै हल गोरु त कतै खेतमा एकोहोरो मकै गोडिरहेका किसान। गाउँले परिवेश र जीवनको सही दृश्य देखिने।
काठमाडौंको धूलो, धूवाँ, हल्लाखल्ला, व्यस्त दैनिकबाट टाढा भएपछि यस्ता दृश्यले नोष्टिाल्जिक बनाइदिन्छ। हलगोरु बारीमा देखेपछि म एकैछिन गाउँ सम्झन्छु। मकै छर्दा तारे गोरु नहिँडेर डाम बस्नेगरि पिटेको सम्झन्छु।
नागबेली बाटो, उत्तरतिर सेता हिमाल, तरेली परेका पहाड, मिलेका खेत र बारीका गह्राहरूले यो बाटो हिँड्ने वा गाडीमा दौडने जोकोहीलाई मुग्ध बनाउँछ। अझ बसन्त ऋुतुमा पुरानो पात झारेर नयाँ पात फेरेका हरिया रुखले आँखा शान्त र शितल बनाउँछ। हुन त सधैं यहि बसेर खन्ने र खोस्रनेलाई यस्ता दृश्यले दिक्क पनि बनाउन सक्छ।
समुद्री सतहबाट लगभग २ हजार मिटरमा उक्लँदै छौं हामी। टिस्टुङबाट पालुङ छिर्ने नाका। सल्लाघारीको चिसो बतास गाडीमा छिर्दैछ। अघिसम्म गर्मीले उकुसमुकुस भएका हामी, शितल महसुस गर्दैछौं। प्राकृतिक एसी। ठिक्क चिसो।
तपाईं पनि गर्मी छल्न चाहनुहुन्छ? टिस्टुङ, पालुङ वा दामन रोज्नुहोस्।
हामी पालुङ बजार छिर्दैछौं। पालुङ खोला तरेपछि बजार लाग्छ। कस्तो अचम्म, खोला वरी पालुङ गाविस, दामन गाविसमा चाहिँ पालुङ बजार!
दामन र पालुङ साच्चै राम्रो छ। हरियाली, शान्त र सफा। चारैतिर हरिया पहाडले घेरेको उपत्यका। बाहै्रकाल चिसो हुने। सबैजसो जातजातिको बसोबास रहेको यो ठाउँ त्रिभुवन राजपथ व्यस्त भएको बेला खाजा र खानको लागि प्रख्यात थियो। तर, अहिले सुनसान छ। बजार मौन छ।
यहाँको मौसम पनि अचम्मैको छ। एकैछिनमा घाम लाग्ने। एकैछिनमा बादल लाग्ने र पानी दर्कने। हामी पालुङ पुग्दा चरक्क चर्केको घामलाई एकै छिनमा बादल आएर छेक्यो। र, मडारिन थाल्यो। मैले सुनको थिएँ लन्डनका युवती र मौसमको भर हुन्न। पालुङमा पनि यस्तै लाग्यो। यहाँका युवतीको भर छ की छैन थाहा छैन तर, मौसमको चाहिँ भर नहुने रैछ। अदलबदल भइरहने।
नगदे बाली हुने ठाउँ यो। त्यसैले बाह्रैमास आलु, मकै, तोरी र मुला खेती गरिन्छ यहाँ। अहिले आलु गोड्ने बेला भएको छ। कतै फुल खेलेका आलुका ड्याङ कतै आलु गोडिरेहका किसान। मैले सहकर्मी रामचन्द्र भट्टलाई सोधेँ, …आलु फुलेपछि के फल्छ?' उनले हाँस्दै भने, …त्यति भन्न नआउनेले त पत्रकारिता नै नगर्नु।' बसका सबै जना गलल्ल्ल हाँसे। हुन पनि हो आलु फुलेपछि के फल्छ सबैलाई थाहा छ– गोलभेडा।
मकवानपुर जिल्लाको टिस्टुङ, पालुङ, दामन, मार्खु, बज्रबारही लगायतको ठाउँ आलु र मुलाको लागि प्रख्यात छन्। रसिलो र स्वादिलो हुने भएकोले नाम कमाएको स्थानीयले बताउँछन्। चिसो ठाउँको मुला र आलु स्वादिला हुन्छन्। त्यही भएर त काठमाडौंमा पनि मुला किन्दा पालुङको मुला भनेर विज्ञापन गरिन्छ। चाहे त्यो भक्तपुरमा नै किन नफलेको होस्।
पालुङ बजारलाई पछि पार्दै सिमभन्जयाङ उक्लँदै छौं। यहाँबाट सडकैसडक सिमभन्ज्याङ पुग्न १० किलोमिटर गुड्नुपर्छ। गाडीमा जाने हो भने १५ मिनेटमै पुगिन्छ। हिँडेर झण्डै एक घण्टा लाग्छ।
गर्मीबाट चिसो र चिसोबाट ठण्डा सुरु भयो। अब त जाडो हुन थाल्यो। यस्तो गर्मीमा पनि कस्तो चिसो ठाउँ! गर्मीमा चिसो खान र जाडोमा हिउँ खेल्न उपयुक्त गन्तव्य हो दामन।
गुराँस फुल्ने, काफल पाक्ने मौसम। वनभरी रातो, सेतो र गुलावी गुराँस ढकमक्क फुलेका छन्। कोइली चरी काफल पाक्यो गीत गाउँदै उडेकी छे। कस्तो शान्त ठाउँ। टाढा टाढा कराएको कोइली पनि नजिकै जस्तो लाग्ने। काठमाडौंको कोलाहलले डम्मिएका कान दामन पुगेपछि बल्ल खुले।
हामी पुग्नुभन्दा केही घण्टा अघि मात्रै असिना बर्केका रहेछन्। खाल्डाखुल्डीमा त सेताम्मै। झण्डै एकफिटसम्म जमेका। हामी एभरेष्ट पानोरमा रिसोर्टमा बास बस्यौं। रिसोर्ट सुन्दर र सफा छ। अनि यहाँबाट मनोरम दृश्य देख्न सकिन्छ।
...
दामन सूर्यादय र सूर्यस्तको भ्यू हेर्न पनि राम्रो ठाउँ हो। त्यसको लागि भ्यू टावरको समेत व्यवस्था गरिएको छ। स्थानीय सामाजिक संस्था स्टेप नेपालले सन्चालन गरेका हो भ्यु टावर। हामी सूर्योदय हेर्न विहान साढे ५ बजे उठ्यौं। नभन्दै पूर्व क्षितिजमा पहेँलो, रातो रंग बनाउँदै पौने ६ बजे सूर्य फुत्त निस्कियो। उत्तरतिर देखिएको सुनौला हिमाल पनि हेर्न लायककै थियो। यहि दृश्य हेर्न स्वदेशी र विदेशी पर्यटक यहाँ आउने गरेको रिसोर्टका निर्देशक सुदेश केसी बताउँछन्।
विहान निकै चिसो हुन्छ यहाँ। लुगलुग आँतै कमाउने। त्यसैले जुनसुकै मौसममा गएपनि न्यानो कपडा बोक्नै पर्छ।
अघिल्लोदिन परेको असिना अझै पग्लेका छैनन्। हामी एकछिन असिना खेलेर सिमभन्ज्याङ लाग्दैछौं। मकवानपुरको सबैभन्दा अग्लो भन्ज्याङ हो– सिम भन्ज्याङ। २ हजार ४ सय ८८ मीटर उचाइमा रहेको यहाँ चिया र नास्ता खान छाप्रे होटल छन्।
कलिलो घाममा टल्लेका असिनाले मनै आनन्दित बनायो। यहाँ चैत र वैशाख महिनामा वर्षेनी असिना पर्ने स्थानीय सुशिल कुमार भुजेलले बताए। भन्छन्, …५ फिट सम्म पर्छ। आरुका फूल, आलु र अन्य बाली सखाप पार्छ।' यसपाली भने ३ फिटसम्म परेको उनले जानकारी दिए।
असिना परेपछि बालबालिका शिवलिंग, मन्दिर बनाइखेल्दारहेछन्। हिउँदमा पनि यसैगरी हिउँ पर्ने र पर्यटक खेल्न आउने भुजेलले बताए।
काठमाडौंमा गर्मी बढ्दो छ। त्यसैले गर्मी छल्ने सोचमा हुनुहुन्छ भने दामन उपयुक्त गन्तव्य हो। गर्मी छल्न मात्रै होइन होइन यहाँबाट तराइ, पहाड र हिमालको दृश्य समेत देखिन्छ।
यहाँबाट नेपालमा रहेका ८ हजार मिटर भन्दा माथिका ८ वटा हिमाल हेर्न सकिन्छ। तर यसको लागि भने असोज र कात्तिक महिना उपयुक्त हुन्छ।
त्यसो त बास बस्नको लागि धेरै होटल छैन यहाँ। भएका अलि महंगा छन्। सस्तो खोज्ने हो भने पालुङबजार झर्नुपर्छ।
यहाँबाट अलि तल जाने हो भने तामाङहरूको बाहुल्यता रहेको बसीफाँट पुग्न सकिन्छ। त्यहाँ गएर एक रात विताउन सकिन्छ। तामाङ संस्कृति बुझ्न र नाचगान गर्न जाने हो भने रमाइलो गन्तव्य बसीफाँट जान सकिने श्री लेकाली बसीफाँट माविका सन्दिप भुजेल बताउँछन्।
नयाँ वर्ष र हिउँ परेको बेला मानिसहरूको भीड लाग्छ सिम भन्ज्याङमा। नयाँवर्षको दिन मैत्री बगैचामा पिकनिक मनाउन आउने पनि निकै हुन्छन् त्यति मात्रै होइन फिल्म र म्युजिक भिडियो सुटिङको लागि पनि रमाइलो छ।
यसैगरी तराइको गर्मीमा पिल्सिएकाहरू पनि सजिलै आउन सक्छन्। बीरगन्जबाट लगभग १ सय किमी उत्तरमा छ दामन। हेटौडाबाट लगभग ५५ किलोमिटर उत्तर।
...
यहाँबाट साइक्लिङिको मजा लिँदै हेटौडा वा मार्खुु हुँदै कुलेखानीमा माछा मार्न र बोटिङ गर्न समेत जान सकिन्छ। हेटांैडा र मार्खु हुँदै साइक्लिङको योजना बुनेका छन् स्थानीयले। दामनबाट मार्खु सम्म ओरालो र त्यसपछि तर्साे छ बाटो। यसैगरी दामनमा गएर रक क्लाइम्बिङ, प्याराग्लाइडिङ, पोन्नी राइडिङ समेत गर्न सकिने रिसोर्टका निर्देशक सुदेश बताउँछन्।
हिन्दूका लागि ऋषेश्वर महादेव र बौद्धमार्गीहरूका गुम्बा अर्काे आकर्षण हो। गुराँसे जंगलको बाटो हुँदै ऋषेश्वर मिन्दर र गुम्बा जान सकिन्छ। मन्दिरमा फागु र कोजाग्रत पूर्णिमा मेला लाग्छ।
ठूलो ढुंगालाई महादेव मानेर पुजाआजा गरिँदै आइएकेा छ। ढुंगामा महादेव छन् र आँखाले महादेव देख्न सक्यो भने सबै पाप पखालिने नासिने जाश्रुति छ। मूर्ति देख्न नसक्नेहरू चाहिँ पापी हुने त्यहाँ ४२ वर्षदेखि ध्यान गर्दै आएका भिक्षु जिचेन लामाले बताए।
पर्यटकलाई प्याकेज
दुई दसक पुरानो एभरेस्ट पानोरमा रिसोर्टले नेपाली पर्यटकलाई आकर्षित गर्न …आहा दामन' प्याकेज ल्याएको छ। प्रतिव्यक्ति दुई हजार ६८ रुपैयाँको प्याकेज असार मसान्तसम्म पाइने छ। प्याकेजमा डिनर, ब्रेकफास्ट, लन्च र कोठा राखिएको छ।
नेपालीमा हप्तामा छुट्टी मनाउन जाने संस्कार बढ्दै गएकोले उनीहरूलाई छुट प्याकेज ल्याएको रिसोर्टका निर्देशक सुदेश गौतम क्षेत्रीले बताए। समुद्री सतहदेखि दुई हजार पाँच मिटर उचाइमा रहेको यो रिसार्टबाट मौसम सफा भएको बेलामा उत्तरतिर सगरमाथालगायत ८ हजार मिटरभन्दा अग्ला ८ वटा हिमालहरू देख्न सकिन्छ।
सिंगल, डबल र डिलकस गरी रिसोर्टमा ३० वटा कोठा छन्।

Wednesday, May 11, 2011

भिमानमा चार महिना


ग्याब्रियला कोल्छाबोवा
नेपालबारे सुनेकीमात्र होइन, जानेकी पनि थिएँ। किताबमा नेपालबारे पढेदेखि नै मलाई यो देश आउँआउँ लागेको थियो। यहाँ आई स्वयंसेवी भएर काम गर्ने इच्छा थियो। म गणतन्त्र चेककी शिक्षिका। त्यसैले, गाउँको कुनै स्कुलमा पढाउन चाहन्थेँ।
नोभेम्बर २०१० को अन्त्यतिर नेपाल आएँ।
दुःखको कुरा, काठमाडौं विमानस्थलमा ओर्लेर नेपाली भूमिमा पाइला टेक्नासाथ ठगिएँ। एकजना मान्छेले …म तपाईंलाई लिन आएको हुँ, दस डलर दिनुस्' भन्यो। मैले होला त भनेर दिएँ। तर, ऊ मलाई लिन आएको होइन रहेछ। पछि त कहाँ बेपत्ता भयो कहाँ! दस डलरको कुरा होइन, म ऊ फर्केर आउला भनेर निकैबेर विमानस्थलमा कुरेर बसेँ। यसले एक मन त नेपालप्रति नै विरक्ति लागेर आयो। पछि सोचेँ, कुनै पनि घटनाको प्रकृति वा व्यक्तिको स्वभाव हेरेर त्यसकै आधारमा समग्र देशप्रतिको धारणा बनाउनु हुँदैन।
नेपाल बस्दै जाँदा, नेपालीहरूसँग भिज्दै जाँदा यसले मेरो मन जित्दै गयो। हुन त स्वयंसेवीका रूपमा काम गर्न आएकीले मैले नेपाल धेरै घुमिनँ। तर, जहाँ गएँ, जहाँ बसेँ, त्यहाँका मान्छेको रीतिथिति, रहनसहन, चालचलन र व्यवहारले मेरो मनमा अमिट छाप छोडेको छ।
नेपाल आउनुअघि मलाई राजधानी काठमाडौं …ग्रिनसिटी' (हरितसहर) होला भन्ने लागेको थियो। काठमाडौंप्रति यस्तै धारणा बनाएकी थिएँ। तर, यहाँ आएपछि थाहा भयो, यो त विदेशका अरू सहरजस्तै …कंक्रिटसिटी' पो रहेछ। अस्तव्यस्त ट्राफिक जाम, जथाभावी ठडिएका घर। काठमाडौंले आफ्नो मौलिक पहिचानसमेत गुमाउँदै आएको रहेछ। आधुनिक भवनले यहाँका मन्दिर, पाटीपौवा, ढुंगेधारा हराउँदै गएछन्। यो सुनेर साह्रै दिक्क लाग्यो।
सहरले जतिसुकै प्रगति गरे पनि उसले आफ्नो पहिचान गुमाउनु हुँदैन। फ्रान्सको पेरिसमा आधुनिकताको कुनै कमी छैन, तर सहरले परम्परागत पहिचान सुरक्षित राखेको छ। जुन दिन सहरको मौलिकता गुम्छ, तपाईंको पहिचान त्यही दिन नष्ट हुन्छ। यसबारे काठमाडौंवासी सजग हुनैपर्छ। किनकि, काठमाडौंको पहिचान गुम्नु भनेको काठमाडौंवासीकै पहिचान संकटमा पर्नु हो।
नेपाल बसाइमा मैले सौराहा, पोखरा र लुम्बिनी घुमेँ। यी ठाउँ एकदमै रमाइलो लाग्यो। यहाँ भने मौलिकता केही हदसम्म जीवित रहेको पाएँ।
नेपाल भ्रमणबाट केही नयाँ कुरा सिक्न चाहन्थेँ म। यहाँका विद्यार्थीलाई केही सिकाउन चाहन्थेँ। यसका लागि स्कुल खोज्दै सबभन्दा पहिला जनकपुर गएँ। त्यहाँ बस्ने प्रबन्ध नमिलेपछि सिन्धुलीको भिमान गएँ। भिमानमा पनि खानेबस्ने समस्या थियो। तर साथी पवन पौडेलले मलाई उनकै घरमा खानेबस्ने व्यवस्था मिलाइदिए।
भिमानमा म गाडी चढेर गएकी थिएँ। अहिलेसम्म त्यति लामो यात्रा कहिल्यै गरेकी थिइनँ। त्यो यात्रा सम्झँदा आज पनि रमाइलो लाग्छ। आफ्नो देशमा कहिल्यै गाडी चढेर बान्ता गरेकी थिइनँ, यहाँ आएपछि बाटो र लामो यात्राले पेट पुरै बाउँडिएर आयो। अनि त... (लामो हाँसो)।
भिमान पुगेको दिन सबैले स्वागत गरे। पवनकी आमाले निकै माया देखाउनुभयो। नयाँ ठाउँमा के होला, कसो होला भन्ने डर र संकोच मनमा थियो, त्यो उहाँको मायाले हट्यो। छरछिमेककाले पनि सधैं आदर गरे। बिस्तारै म सबैसँग खुल्दै गएँ। उनीहरूको संस्कृति र रहनसहनसँग भिज्दै गएँ। उनीहरूले पनि मलाई खुसीखुसी स्वीकार गरे। नेपालीहरूको यही बानीले मलाई नेपाल मनपर्छ। यहाँ बोलीमा मात्र होइन, व्यवहारमा पनि पर्यटकलाई भगवान मानिँदो रहेछ। एयरपोर्टको त्यो सानो घटनालाई छोडेर।
भिमानमा म चार महिना बसेँ। त्यहाँ ८ देखि १२ कक्षासम्मका विद्यार्थीलाई पढाएँ।
यहाँ प्रत्येक दिन नयाँ कुरा सिक्थेँ। नयाँ सिकाउँथेँ। कहिलेकाहीँ कल्पनै नगरेको र नसोचेको कुरा देख्दा अचम्ममा पर्थें। हाम्रो देशतिर जे काम पनि मेसिनबाट गर्ने चलन छ, यहाँ हातैले गरेको देखियो।
खेतमा गहुँ काटेको, आलस टिपेको, खेतबारीमा काम गरेको दृश्यले मलाई अझै अचम्भित बनायो। यी सबबाट ग्रामीण नेपालीको जीवन बु‰ने मौका पाएँ।
मैले इटलीमा दुध त खाएको थिएँ। तर, गाईको थुनबाट दुध दुहेको देखेकी थिइनँ। पहिलोचोटि त्यो देखेर चकितै खाएँ। यहाँ जे काम पनि हातैले गरिँदो रहेछ। नेपालले यसलाई आफ्नो पर्यटन प्रबर्द्धनसँग जोड्नसके राम्रो हुने थियो।
मैले गाईवस्तु पनि देखेकी थिइनँ। म यहाँ आएर बाख्रा गोठालो गएँ। आफैं काममा सामेल हुँदा जे कुरा पनि चाँडै जानिन्छ। मलाई आमाले केही गर्न दिनुहुन्नथ्यो, तर म काम नगरी वा अध्ययन नगरी बस्नै सक्दिनथेँ। उहाँले नलगे पनि पछि लागेर म काममा गइहाल्थेँ।
मैले उहाँसँगै डोको बोकेर दाउरा ल्याएँ। आफूले दाउरा बोकेपछि नै थाहा पाएँ, नेपालीलाई गर्दन र ढाड किन दुख्दो रहेछ! निकै परिश्रम गर्दा रहेछन् नेपाली। थाप्लोमा नाम्लो हालेर १५ मिनेट स्याँस्याँ गर्दै उकालो चढ्नु कम्ता गाह्रो भएन मलाई। तीन दिनसम्म दाउरा बोकेँ। काम गर्ने एकजना सहयोगी (माइला), आमा र ममात्रै घरमा थियौं। त्यही भएर आमालाई सघाउन पँधेरो गएँ। गाग्रोमा पानी बोकेँे। बारीमा गएर आलु टिपेँ। पहिलोचोटि थाहा पाएँ– आलु जमिनमुनि फल्दो रहेछ!
नेपालीका लागि यी सब सामान्य कुरा होलान्, तर मैले धेरै रोचक र अनौठो अनुभव गरेँ। म मासु खान्थेँ। मेरो देशमा प्लास्टिकमा पोको पारेर मासु बेचिन्छ। मलाई लाग्थ्यो, मासु प्लास्टिकमै पाइन्छ। यहाँ आफ्नै अगाडि खसी काटेर मासु तयार पारेको देखेँ। त्यसपछि पो थाहा पाएँ, मासु कसरी बनाइँदो रहेछ! मेरो देशमा ६०/७० वर्षअघि पनि यसरी कमै काम हुन्थ्यो रे, आमाले भन्नुभएको।
गाउँघरमा विवाहित महिला साडीमात्रै लगाउँदा रहेछन्। हामीकहाँ त जो पनि स्कर्ट लगाएर हिँड्छन्। मैले पनि साडी लगाएँ। सबैले भने– कति राम्री देखिएकी!
यहाँ विवाह गर्ने चलन पनि गज्जबकै रहेछ। म एउटा बिहेमा सामेल भएकी थिएँ। हामीकहाँ प्रायः लभ म्यारिज हुन्छ। केटाकेटी खुसी र चन्चले हुन्छन्। यहाँ दुलाहा र दुलही गम्म परेर बसेको देख्दा अचम्म लाग्यो। कति इनोसेन्ट!
मैले …बुक फर चिल्ड्रन' नाम दिएर यहाँ तीनवटा पुस्तकालय खोलेकी छु। साथीहरूलाई नेपाल जाँदा कम्तीमा दुइटा किताब लिएर जाऊ भन्छु। जुन मैले खोलेको पुस्तकालयमा काम लागोस्। मलाई नेपालमा दुध र चिउरा एकदमै मिठो लाग्यो। गुन्द्रुक र मस्यौरा त सँगै लाँदैछु।
रहँदाबस्दा सबैसँग यति मन मिलेछ, छुट्टिने बेला म धरधरी रोएँ। स्कुलका केटाकेटीले फूलमाला लगाएर मलाई बिदाइ गरे। यसले पनि मलाई निकै भावुक बनायो।
म फेरि नेपाल आउँछु।
(चेक रिपब्लिककी ग्याब्रियलासँग कञ्चन अधिकारीले गरेको कुराकानीमा आधारित)

Tuesday, May 3, 2011

प्रतिविद्यार्थी एक ल्यापटप, पढ्नभन्दा खेल्न प्यारो


पाठ्यक्रम विकास केन्द्रले २, ३ र ६ कक्षाको इ–पाठ तयार पारेको छ। अहिलेसम्म नेपाली, अंग्रेजी र गणित विषयका इ–पाठ तयार भइसकेका छन्।
लक्ष्मी गुरुङको घर मुस्ताङको कागबेनीमा पर्छ। हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङ दुर्गम पहाडी जिल्ला हो। उनी जनशान्ति माध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्छिन्। उनी विद्यालयमा किताबको पानासँगै ल्यापटप पल्टाउँछिन्। किताब र ल्यापटप बोकेर विद्यालय जानेमा उनीसँगै कक्षा २, ३ र ६ का अरू विद्यार्थी पनि छन्।

सात महिनाअघि ल्यापटप हातमा लिँदा खेलौनाजस्तै लागेको थियो रे लक्ष्मीलाई। यस्तोमा पढ्नेभन्दा उनले साथीसँग कानेखुसी गरेकी थिइन्, …कसरी पढ्ने होला?'

…तर चलाउँदै गएसि जानिँदो रहेछ,' उनी भन्छिन्, …अहिले त म नेपाली, अंग्रेजी र गणित सप्पै यसैमा पढ्छु।' ल्यापटपले उनलाई पढ्नमात्र होइन, गेम खेल्न, गीत सुन्न र फिल्म हेर्नसमेेत सिकाएको छ। …बजार (जोमसोम) बाट ल्याएको गीत र फिल्म यसैमा हेर्छु,' उनी भन्छिन्।

डेढ वर्षअघि सुरु भएको …प्रतिव्यक्ति एक ल्यापटप' कार्यक्रमअन्तर्गत उनीहरूले ल्यापटप पाएका हुन्। शिक्षा विभाग, पाठ्यक्रम विकास केन्द्र, शैक्षिक जनशक्ति विकास केन्द्र र साझा शिक्षा इ–पाटीले संयुक्त रूपमा यो कार्यक्रम सञ्चालन गरेको हो।

पहिलो चरणमा मकवानपुर, कपिलवस्तु, काभ्रेपलाञ्चोक, डडेलधुरा, मुस्ताङ र ललितपुर जिल्लाका २६ विद्यालयमा परीक्षणका रूपमा यो कार्यक्रम सञ्चालित छ। …यी जिल्लामा कार्यक्रम सफल भए देशभरका सबै विद्यालयका सबै विद्यार्थीलाई ल्यापटप पुर्‍याउने लक्ष्य छ,' विभागका शाखा अघिकृत दिपेन्द्र सुवेदीले भने।

सूचना र प्रविधिले दिनदिनै फड्को मार्दै गएपछि नेपाल सरकारले प्रतिविद्यार्थी एक ल्यापटपको अवधारणा ल्याएको हो। यो विद्यार्थी पढाउने नयाँ विधि हो। …ल्यापटपबाट पढाउँदा बढी प्रभावकारी हुन्छ,' उनी भन्छन्, …विद्यार्थीले तत्कालै आफ्नो कमीकमजोरी र गल्ती थाहा पाउन सक्छन् र सुधार्न सक्छन्।'

पाठ्यक्रम विकास केन्द्रले २, ३ र ६ कक्षाको इ–पाठ तयार पारेको छ। अहिलेसम्म नेपाली, अंग्रेजी र गणित विषयका इ–पाठ तयार भइसकेका छन्। सुवेदीका अनुसार अन्य विषय बनाउने काम भैराखेको छ।

…कार्यक्रम लागू भएका विद्यालयले सरकारले उपलब्ध गराएको सर्भरबाट डाउनलोड गरेर विद्यार्थीलाई सिकाउन सक्छन्,' उनी भन्छन्, …सबै विद्यालयमा सर्भर राखिएको छ।

तर, यो कार्यक्रमले विद्यार्थीलाई पढ्न सजिलो भए पनि केही बेफाइदासमेत देखिएको विद्यार्थीहरूको भनाइ छ।

जनशान्ति विद्यालयका कम्प्युटर शिक्षक दिपककुमार श्रेष्ठका अनुसार विद्यार्थीले ल्यापटपको राम्रो सदुपयोग गर्न सकेका छैनन्। …विद्यार्थीले यसलाई पढाइभन्दा मनोरञ्जनको भाँडोका रूपमा लिएका छन्,' उनी भन्छन्, …त्यही भएर सरकारले राम्रो कामका लागि दिए पनि प्रतिफल राम्रो आएको छैन।' उनका अनुसार विद्यार्थीहरू ल्यापटप घर लगेर कि गीत सुन्छन्, कि फिल्म हेर्छन्, कि गेम खेल्छन्।

विद्यार्थीहरू आफै पनि पढाइमा भन्दा खेल्नकै लागि ल्यापटप प्रयोग गरिरहेको स्वीकार गर्छन्। जनशान्तिमा कक्षा ६ मा पढ्ने सन्दिप नेपाली भन्छन्, …घरमा लगेर फुटबल खेल्छु। कहिलेकाहीँ त होमवर्क गर्नधरी भ्याउँदिनँ।'

टिभीमा समेत फुटबल हेरेर नअघाउने सन्दिप ल्यापटप घर ल्याएपछि त दिनमा पाँच/सातचोटि फुटबलमै भुल्छन्। यति हुँदाहुँदै पनि उनले ल्यापटपको इ–पाठबाट अंग्रेजी, हिसाब र नेपालीको होमवर्क गर्न जानिसकेका छन्।

त्यस्तै, भविष्यमा शिक्षिका बन्ने लक्ष्य राखेकी लक्ष्मीलाई पनि कम्प्युटरमा गेम खेल्न रमाइलो लाग्छ। …धेरैथोक त आउँदैन। तास खेल्नचाहिँ आउँछ,' उनी भन्छिन्। अर्का विद्यार्थी दावा साङ्वोले यसअघि न ल्यापटप देखेकी थिइन्, न यसको गेमबारे थाहा थियो। अहिले उनलाई धेरै गेमको नाम कण्ठ छ।

खेल्नमा बढी रुचि भए पनि ल्यापटपलाई पढाइमा पनि प्रयोग गरिरहेको उनी बताउँछन्। …ल्यापटप चलाउँदा–चलाउँदै धेरै काम गर्न जानिसकेको छु,' उनी भन्छिन्, …इ–पाठ खोल्न, खेल खेल्न र फोटोसमेत खिच्न जानेको छु, तर पढाइभन्दा गेम खेल्नै बढी मन लाग्छ।'

विद्यार्थीले ल्यापटप घर लगेर के गर्छन् भनी विद्यालयले राम्रो अनुगमन नगरेकाले यस्तो समस्या आएको स्थानीयको भनाइ छ। कागबेनीकी तेञ्जिङ गुरुङ भन्छिन्, …विद्यार्थीले ल्यापटप जे गरे पनि सरहरू वास्ता गर्दैनन्। अनि कसरी राम्रो सदुपयोग हुन्छ?'

शिक्षा विभागका कर्मचारी भने केन्द्रमा अहिलेसम्म राम्रो रिपोर्ट आएको दाबी गर्छन्। …हामीले अनुगमन गरेका बेला राम्रो रिपोर्ट आएको छ,' सुवेदी भन्छन्, …एउटा–दुइटा विद्यालयमा त्यस्तो हुनु स्वाभाविक हो।'

अर्का विद्यार्थी सुषमा नेपालीलाई पनि ल्यापटपले पढाइ बिगार्छ भन्नेमा विश्वास छैन। …घरमा गेेम खेलेर बानी बिग्रन्छजस्तो लाग्दैन,' उनी भन्छिन्, …आफूमा भरपर्ने कुरा हो। धेरै नखेले त भैहाल्यो नि।'

उनलाई ल्यापटपबाट गणितको चित्र कोर्न निकै मन पर्छ। …ज्यामितिको हिसाब निकै सजिलो तरिकाले जान्न सकिन्छ,' उनी भन्छिन्, मिले–नमिलेको उत्तिनखेरै थाहा पाइन्छ। भोलिपल्ट सरलाई सोध्नै पर्दैन।'

डाक्टर बनेर गरिबको सेवा गर्ने लक्ष्य राखेकी सुषमाले ल्यापटपबाट जोडा मिलाउन, चित्र कोर्न, साँचो वा झुटो छुट्याउन, एचसिएफ, एलसिएम हिसाब गर्न र त्रिभुजहरूबारे जानेकी छन्। अंग्रेजीमा भने कुनै–कुनै शब्द नबुझ्दा अलमलिने गर्छिन्।

…यो विधिको फाइदा र बेफाइदा दुवै छ,' शिक्षक श्रेष्ठ भन्छन्, …विद्यार्थीले पढेका कुरा उत्तिनखेरै अभ्यास गर्न पाएका छन्, परिभाषाहरू जान्छन् र कसरी अभ्यास गर्ने थाहा पाउँछन्।'

यसलाई राम्रोसँग सदुपयोग गरे विद्यार्थीको पढाइस्तर उकासिने उनको भनाइ छ।

Monday, May 2, 2011

भागेर सहर

गाउँको ठिटो। १६ वर्ष पुगेर सत्रमा टेकेको। मन थिरमा कहिल्यै बसेन। सखेलीहरू कोही लाहुरे भए, कोही विदेश भासिए, कोही पढ्न सहर पसे त कोही मास्टर बने। तर, गोरखा आरुपोखरीका रामप्रसाद रिमाल बिहानबेलुकी भकारो सोर्थे, दिनभरि गाईवस्तु चराउनमै व्यस्त हुन्थे। स्कुल टेक्न पाएनन्। घरको जेठो छोरो, घरकै काममा व्यस्त भए। भन्छन्, …घाँसदाउरा गर्दागर्दै पढ्ने उमेर घर्कियो।'

कमाउने साथी आउँदा चुरोट सल्काउँथे, घरमा भनेको चिज ल्याउँथे, सुकिलामुकिला भएर हिँड्थे। रिमाललाई यी सब टाढाको कुरा थियो। उनीसँग एक रुपैयाँ हुन्नथ्यो। भित्रभित्र साथीहरूको डाह गर्थे। विरक्तिएका थिए। उनी भन्छन्, …आफ्नो त न पैसा न त राम्रा कपडा। मन कुँडिन्थ्यो।'

एकदिन माथ्लो घरको साथी आएर सहर चर्चा गरे– राम्रो लाउन, मिठो खान पाइन्छ र पैसा कमाइन्छ। यो सुनेपछि १९ वर्षे रिमाल रातभर सुत्न सकेनन्। यता कोल्टे फर्क्याे साथीकै कुरा खेल्छन् उता कोल्टे फेर्‍यो त्यस्तै। गाउँमा यत्तिकै बसे जिन्दगीमा केही हुन्न। न केही जानिन्छ न त पैसा नै कमाइन्छ।

भोलिपल्ट बिहानै घरबाट काठमाडौं भागे उनी।
काठमाडौं त आए तर चिनेजानेको कोही छैन। न बस्नेको ठोगान न खानेको। भन्छन्, …कहाँ, कसरी जाने केही थाहा थिएन। खान पैसा थिएन। कति दिन भोकै हिँडेँ!'
काठमाडौंको गल्ली चहारे। बनाउँदै गरेको घरमा गएर सुते। त्यहाँ पनि आरामसित सुत्न सकेनन्। घरधनीले आएर लत्याउने हो कि भन्ने लाग्थ्यो। सम्झन्छन्, …आकासलाई सिरक मानेर कति दिन सुतेँ, कति दिन। खाली पेट पनि निकै हिँडेँ।'

एकसरो मैलो लुगा, ननुहाएको गुन्द्रुके कपाल, पातलो भैसकेको हात्तीछाप चप्पल लगाएर जागिर खान अफिस–अफिस धाए। यस्तो भेषमा गएकालाई कसले दिने जागिर! काम दिन जो पनि हच्किन्थे। बल्लतल्ल धेरै ठाउँमा भनसुन गरेपछि ट्रेकिङमा भारी बोक्ने काम पाए। कामसँगै नयाँ नाम पनि– भरिया राम।
भरियाबाट सुरु उनको यात्रा गाइडमा आइपुगेको छ। एड्भेन्चर थर्ड पोल ट्रेकमा गाइड काम गर्छन् उनी। पहिले गोरखाका रामप्रसाद अहिले चितवनका भएका छन्। पर्यटन क्षेत्रमा ३० वर्ष बिताइसकेका रिमाल पहिलेका दुःख सम्झँदा आत्तिन्छन्। भन्छन्, …जिन्दगी घाँसदाउरामै बित्छ किजस्तो लागेको थियो।'
...
कलकलाउँदो ज्यान, बढ्दो उमेर, हट्टाकट्टा शरीर भारी नै बोक्न परे पनि उनको तुजब अर्कै थियो त्यो बेला। परिआए १ सय किलोसम्म बोक्न सक्थे। साथीभाइले कमाएको देखेका उनले पैसाको महŒव बु‰दै थिए। उनी पनि सुकिला लुुगा लगाउन सक्ने भए।

पैसा त्यति धेरै थिएन, भरिया काममा। दिनको १५ रुपैयाँ पाउँथे। तैपनि के–के न पाएजस्तो भएको थियो उनलाई। पैसा बढी कमाउन तोकेभन्दा दोब्बर भारी बोक्थे। भन्छन्, …डबल भारी बोके डबल पैसा पाइन्छ भनेर ३५ किलोको सट्टा ७० किलोसम्म बोक्थेँ।'
भारी बोकेर पहिलोचोटि लाङटाङ गए। १४ जनाको समूहमा लाङटाङ पुग्न अहिलेजस्तो सजिलो थिएन। बेत्रावतीसम्म गाडीमा गएर हिँड्नुपर्थ्याे। अहिले स्याफ्रुबेसीबाट पैदल यात्रा गर्नुपर्छ।
भारी बोकेर १४ दिनको ट्रेक उनलाई गाह्रो भएन। कारण थियो– पैसा। उनले पैसाको महŒव बुझिसकेका थिए। त्यसैले होला भारी बोक्ने जोसजाँगर कत्ति पनि घटेन।
ट्रेकिङ आफैंमा गाह्रो काम। त्यसमाथि भारी बोकेर हिँड्न झनै गाह्रो। भारीले नअत्याए पनि उचाइले सतायो। कतिचोटि नांगै खुट्टा हिँडे। कति दिन पातलो लुगामा रात काटे। लुगलुग काम छुटेर सुत्नै सकेनन्।
लाङटाङ जाँदा नै ३९ सय मिटरहाराहारीको क्यान्जिङ गुम्बा पुगेपछि भने अलि गाह्रो भयो। …पहिलो ट्रेकिङ भएकाले लेक लाग्नै आँटेको थियो। सिकनेसको औषधी खाएँ,' उनी भन्छन्, …त्यसपछि १० दिनसम्म भारी बोक्दा केही भएन।' यस्तै अन्नपूर्ण सर्किट जाँदा पनि थोराङ्ला पास गर्ने क्रममा उनलाई टाउको दुखेको थियो रे। तर त्यसपछि कहिल्यै पनि हाइअल्टिच्युड लागेन। उनले ६ हजारभन्दा माथिसम्म चढेका छन्।
...
दुई दसक अघिसम्म पर्यटकले नेपालीलाई माया गर्ने अनुभव छ उनको। अहिले त वास्तै गर्दैनन् रे। परिआए सँगै हिँडेको टुरिस्टले छोडेर हिँड्ने उनी बताउँछन्। …टिप्स पनि राम्रो दिन्थे,' उनी भन्छन्, …अहिलेका लोभी हुन थालेका छन्।' पहिलो यात्रामा उनले झन्डै ५० डलर टिप्स पाएका थिए। तर सँगै गएका शेर्पा साथीहरूले काठमाडौंमा डलर लिएर गए प्रहरीले समात्छ भनेर अत्याइदिए। १ डलर बराबर १० रुपैयाँमा उनीहरूसँगै साटेछन्।
पहिलो ट्रेकिङबाट फर्केपछि उनले काठमाडौंमा डेरा लिए। एक हजार रुपैयाँ बचाएका थिए। महिनाको ४५ रुपैयाँमा कुमारी हलछेउ कोठा लिए। स्टोभ किने, भाडावर्तन जोडे र सिरक डसना। सामान जोडेपछि हर्षले उनको आँखाबाट आँसु झरे। आखिर काम गरे के नहुने रहेछ र! अहिले चितवनमा घरघडेरी जोडका छन्।
रिमालले अंग्रेजी पटक्कै जानेका थिएनन्। सँगैका साथीहरूले …एस/नो' भन्न सिकाए। पर्यटकसँग जे कुरा गर्दा कि मुन्टो हल्लाउँथे कि एस/नो भन्थे। कखरा नखुट्याएका उनले जे भने नि एस भन्दिन्थे।
अहिले परर अंग्रेजी बोल्न आउँछ। तर लेख्न जान्दैनन् र लेखेको बु‰दैनन्। त्यसैले छोराछोरीलाई राम्रो कलेज पढाएका छन्। दुई छोरी र एक छोरा छन् उनका।
त्यो बेलाको पर्यटन र अहिलेकोमा धेरै फरक पाएका छन् उनले। भरियालाई हेप्ने चलन थियो। भरिया भनेका तल्लो स्तरका हुन् भन्ने सोच थियो। हिँड्दा राम्रो खान र बस्न दिन्नथे। त्यही बेलादेखि भरियाले साथमा एक माना चामल लिएर जान थाले। पर्यटकलाई जुन होटलमा राख्थे, त्यहीँ एक रुपैयाँ दिएर त्यो चामल पकाउन लगाउँथे। सुतेको पैसा लाग्थेन। त्यो चलन नै हरायो अहिले।
भरिया भएर एक वर्ष काम गरेपछि किचनतिर छिरे। सहायक किचन ब्वाई भएर चार वर्ष काम गरे। सन् १९८८ मा शेर्पा ट्रेकिङ सर्भिसमा कुकको काम गरे। कुक पेसा पनि चित्त बुझेन उनलाई। अनि नाम र विशेषता कण्ठ गर्न थाले विभिन्न हिमाल, ठाउँ र जातजातिका। उनले भने, …अनुभव पनि बढ्दै गयो। त्यसपछि भरियाबाट गाइडतिर छिरेँ।'
एभरेस्ट एक्सप्रेसमा ४ वर्ष काम गरे। अनि २५ वर्षमा गाइड बने।
...
२५ वर्षको केटो गाइड बनेर हिँड्दा झिल्के देखिन्थे। कति महिला पर्यटक त बिहे गर्न मरिहत्ते गर्थे रे! उनले कसैलाई मन पराएनन्। …यिनीहरूसँग जिन्दगी चल्दैन भन्ने लागेर वास्ता गरिएन,' उनी भन्छन्।
एउटा जापानीले त बिहे गरौं जापान लैजान्छु भनेर हत्ते गरेको उनी सुनाउँछन्। …विदेश गएर पैसा कमाउने मोह कहिल्यै भएन,' उनले भने। त्यसैको रन्कोमा उनले गोरखा गएर बिहे गरे।
उनले सामान्य पर्यटकदेखि पहिलो सगरमाथा आरोही एडमन हिलारीसँगै काम गरे। पहिले १९९४ सालमा उनको भेटेका थिए हिलारीलाई। सल्लेरी, फाप्लु, जुमबेसीमा स्कुल र अस्पताल बनाउँदा सँगै काम गरेको उनी सम्झन्छन्।
ट्रेकिङमा लागेर पैसा नकमाए पनि छोराछोरी पढाउन सकेकामा उनलाई गर्व छ। उनका छोरा सिद्धार्थ युनिभर्सिटी, नोएडामा सिभिल इन्जिनियरिङ पढ्दैछन्। दुई छोरी काठमाडौंमा पढ्दैछन्।
छोराले पढाइ सकेर काम गर्न थालेपछि गाउँ गएर बस्ने उनको सोच छ। …गाउँमै गएर सामाजिक काम गर्छु,' उनले सुनाए।