Monday, May 2, 2011

भागेर सहर

गाउँको ठिटो। १६ वर्ष पुगेर सत्रमा टेकेको। मन थिरमा कहिल्यै बसेन। सखेलीहरू कोही लाहुरे भए, कोही विदेश भासिए, कोही पढ्न सहर पसे त कोही मास्टर बने। तर, गोरखा आरुपोखरीका रामप्रसाद रिमाल बिहानबेलुकी भकारो सोर्थे, दिनभरि गाईवस्तु चराउनमै व्यस्त हुन्थे। स्कुल टेक्न पाएनन्। घरको जेठो छोरो, घरकै काममा व्यस्त भए। भन्छन्, …घाँसदाउरा गर्दागर्दै पढ्ने उमेर घर्कियो।'

कमाउने साथी आउँदा चुरोट सल्काउँथे, घरमा भनेको चिज ल्याउँथे, सुकिलामुकिला भएर हिँड्थे। रिमाललाई यी सब टाढाको कुरा थियो। उनीसँग एक रुपैयाँ हुन्नथ्यो। भित्रभित्र साथीहरूको डाह गर्थे। विरक्तिएका थिए। उनी भन्छन्, …आफ्नो त न पैसा न त राम्रा कपडा। मन कुँडिन्थ्यो।'

एकदिन माथ्लो घरको साथी आएर सहर चर्चा गरे– राम्रो लाउन, मिठो खान पाइन्छ र पैसा कमाइन्छ। यो सुनेपछि १९ वर्षे रिमाल रातभर सुत्न सकेनन्। यता कोल्टे फर्क्याे साथीकै कुरा खेल्छन् उता कोल्टे फेर्‍यो त्यस्तै। गाउँमा यत्तिकै बसे जिन्दगीमा केही हुन्न। न केही जानिन्छ न त पैसा नै कमाइन्छ।

भोलिपल्ट बिहानै घरबाट काठमाडौं भागे उनी।
काठमाडौं त आए तर चिनेजानेको कोही छैन। न बस्नेको ठोगान न खानेको। भन्छन्, …कहाँ, कसरी जाने केही थाहा थिएन। खान पैसा थिएन। कति दिन भोकै हिँडेँ!'
काठमाडौंको गल्ली चहारे। बनाउँदै गरेको घरमा गएर सुते। त्यहाँ पनि आरामसित सुत्न सकेनन्। घरधनीले आएर लत्याउने हो कि भन्ने लाग्थ्यो। सम्झन्छन्, …आकासलाई सिरक मानेर कति दिन सुतेँ, कति दिन। खाली पेट पनि निकै हिँडेँ।'

एकसरो मैलो लुगा, ननुहाएको गुन्द्रुके कपाल, पातलो भैसकेको हात्तीछाप चप्पल लगाएर जागिर खान अफिस–अफिस धाए। यस्तो भेषमा गएकालाई कसले दिने जागिर! काम दिन जो पनि हच्किन्थे। बल्लतल्ल धेरै ठाउँमा भनसुन गरेपछि ट्रेकिङमा भारी बोक्ने काम पाए। कामसँगै नयाँ नाम पनि– भरिया राम।
भरियाबाट सुरु उनको यात्रा गाइडमा आइपुगेको छ। एड्भेन्चर थर्ड पोल ट्रेकमा गाइड काम गर्छन् उनी। पहिले गोरखाका रामप्रसाद अहिले चितवनका भएका छन्। पर्यटन क्षेत्रमा ३० वर्ष बिताइसकेका रिमाल पहिलेका दुःख सम्झँदा आत्तिन्छन्। भन्छन्, …जिन्दगी घाँसदाउरामै बित्छ किजस्तो लागेको थियो।'
...
कलकलाउँदो ज्यान, बढ्दो उमेर, हट्टाकट्टा शरीर भारी नै बोक्न परे पनि उनको तुजब अर्कै थियो त्यो बेला। परिआए १ सय किलोसम्म बोक्न सक्थे। साथीभाइले कमाएको देखेका उनले पैसाको महŒव बु‰दै थिए। उनी पनि सुकिला लुुगा लगाउन सक्ने भए।

पैसा त्यति धेरै थिएन, भरिया काममा। दिनको १५ रुपैयाँ पाउँथे। तैपनि के–के न पाएजस्तो भएको थियो उनलाई। पैसा बढी कमाउन तोकेभन्दा दोब्बर भारी बोक्थे। भन्छन्, …डबल भारी बोके डबल पैसा पाइन्छ भनेर ३५ किलोको सट्टा ७० किलोसम्म बोक्थेँ।'
भारी बोकेर पहिलोचोटि लाङटाङ गए। १४ जनाको समूहमा लाङटाङ पुग्न अहिलेजस्तो सजिलो थिएन। बेत्रावतीसम्म गाडीमा गएर हिँड्नुपर्थ्याे। अहिले स्याफ्रुबेसीबाट पैदल यात्रा गर्नुपर्छ।
भारी बोकेर १४ दिनको ट्रेक उनलाई गाह्रो भएन। कारण थियो– पैसा। उनले पैसाको महŒव बुझिसकेका थिए। त्यसैले होला भारी बोक्ने जोसजाँगर कत्ति पनि घटेन।
ट्रेकिङ आफैंमा गाह्रो काम। त्यसमाथि भारी बोकेर हिँड्न झनै गाह्रो। भारीले नअत्याए पनि उचाइले सतायो। कतिचोटि नांगै खुट्टा हिँडे। कति दिन पातलो लुगामा रात काटे। लुगलुग काम छुटेर सुत्नै सकेनन्।
लाङटाङ जाँदा नै ३९ सय मिटरहाराहारीको क्यान्जिङ गुम्बा पुगेपछि भने अलि गाह्रो भयो। …पहिलो ट्रेकिङ भएकाले लेक लाग्नै आँटेको थियो। सिकनेसको औषधी खाएँ,' उनी भन्छन्, …त्यसपछि १० दिनसम्म भारी बोक्दा केही भएन।' यस्तै अन्नपूर्ण सर्किट जाँदा पनि थोराङ्ला पास गर्ने क्रममा उनलाई टाउको दुखेको थियो रे। तर त्यसपछि कहिल्यै पनि हाइअल्टिच्युड लागेन। उनले ६ हजारभन्दा माथिसम्म चढेका छन्।
...
दुई दसक अघिसम्म पर्यटकले नेपालीलाई माया गर्ने अनुभव छ उनको। अहिले त वास्तै गर्दैनन् रे। परिआए सँगै हिँडेको टुरिस्टले छोडेर हिँड्ने उनी बताउँछन्। …टिप्स पनि राम्रो दिन्थे,' उनी भन्छन्, …अहिलेका लोभी हुन थालेका छन्।' पहिलो यात्रामा उनले झन्डै ५० डलर टिप्स पाएका थिए। तर सँगै गएका शेर्पा साथीहरूले काठमाडौंमा डलर लिएर गए प्रहरीले समात्छ भनेर अत्याइदिए। १ डलर बराबर १० रुपैयाँमा उनीहरूसँगै साटेछन्।
पहिलो ट्रेकिङबाट फर्केपछि उनले काठमाडौंमा डेरा लिए। एक हजार रुपैयाँ बचाएका थिए। महिनाको ४५ रुपैयाँमा कुमारी हलछेउ कोठा लिए। स्टोभ किने, भाडावर्तन जोडे र सिरक डसना। सामान जोडेपछि हर्षले उनको आँखाबाट आँसु झरे। आखिर काम गरे के नहुने रहेछ र! अहिले चितवनमा घरघडेरी जोडका छन्।
रिमालले अंग्रेजी पटक्कै जानेका थिएनन्। सँगैका साथीहरूले …एस/नो' भन्न सिकाए। पर्यटकसँग जे कुरा गर्दा कि मुन्टो हल्लाउँथे कि एस/नो भन्थे। कखरा नखुट्याएका उनले जे भने नि एस भन्दिन्थे।
अहिले परर अंग्रेजी बोल्न आउँछ। तर लेख्न जान्दैनन् र लेखेको बु‰दैनन्। त्यसैले छोराछोरीलाई राम्रो कलेज पढाएका छन्। दुई छोरी र एक छोरा छन् उनका।
त्यो बेलाको पर्यटन र अहिलेकोमा धेरै फरक पाएका छन् उनले। भरियालाई हेप्ने चलन थियो। भरिया भनेका तल्लो स्तरका हुन् भन्ने सोच थियो। हिँड्दा राम्रो खान र बस्न दिन्नथे। त्यही बेलादेखि भरियाले साथमा एक माना चामल लिएर जान थाले। पर्यटकलाई जुन होटलमा राख्थे, त्यहीँ एक रुपैयाँ दिएर त्यो चामल पकाउन लगाउँथे। सुतेको पैसा लाग्थेन। त्यो चलन नै हरायो अहिले।
भरिया भएर एक वर्ष काम गरेपछि किचनतिर छिरे। सहायक किचन ब्वाई भएर चार वर्ष काम गरे। सन् १९८८ मा शेर्पा ट्रेकिङ सर्भिसमा कुकको काम गरे। कुक पेसा पनि चित्त बुझेन उनलाई। अनि नाम र विशेषता कण्ठ गर्न थाले विभिन्न हिमाल, ठाउँ र जातजातिका। उनले भने, …अनुभव पनि बढ्दै गयो। त्यसपछि भरियाबाट गाइडतिर छिरेँ।'
एभरेस्ट एक्सप्रेसमा ४ वर्ष काम गरे। अनि २५ वर्षमा गाइड बने।
...
२५ वर्षको केटो गाइड बनेर हिँड्दा झिल्के देखिन्थे। कति महिला पर्यटक त बिहे गर्न मरिहत्ते गर्थे रे! उनले कसैलाई मन पराएनन्। …यिनीहरूसँग जिन्दगी चल्दैन भन्ने लागेर वास्ता गरिएन,' उनी भन्छन्।
एउटा जापानीले त बिहे गरौं जापान लैजान्छु भनेर हत्ते गरेको उनी सुनाउँछन्। …विदेश गएर पैसा कमाउने मोह कहिल्यै भएन,' उनले भने। त्यसैको रन्कोमा उनले गोरखा गएर बिहे गरे।
उनले सामान्य पर्यटकदेखि पहिलो सगरमाथा आरोही एडमन हिलारीसँगै काम गरे। पहिले १९९४ सालमा उनको भेटेका थिए हिलारीलाई। सल्लेरी, फाप्लु, जुमबेसीमा स्कुल र अस्पताल बनाउँदा सँगै काम गरेको उनी सम्झन्छन्।
ट्रेकिङमा लागेर पैसा नकमाए पनि छोराछोरी पढाउन सकेकामा उनलाई गर्व छ। उनका छोरा सिद्धार्थ युनिभर्सिटी, नोएडामा सिभिल इन्जिनियरिङ पढ्दैछन्। दुई छोरी काठमाडौंमा पढ्दैछन्।
छोराले पढाइ सकेर काम गर्न थालेपछि गाउँ गएर बस्ने उनको सोच छ। …गाउँमै गएर सामाजिक काम गर्छु,' उनले सुनाए।

3 comments:

SumAn said...

man paryo bhai tero writing

Unknown said...

mero reality panni yastai thio kunai bela, this article also reflect thats reality....

Shiron said...

Ramro chha yar