Wednesday, May 11, 2011

भिमानमा चार महिना


ग्याब्रियला कोल्छाबोवा
नेपालबारे सुनेकीमात्र होइन, जानेकी पनि थिएँ। किताबमा नेपालबारे पढेदेखि नै मलाई यो देश आउँआउँ लागेको थियो। यहाँ आई स्वयंसेवी भएर काम गर्ने इच्छा थियो। म गणतन्त्र चेककी शिक्षिका। त्यसैले, गाउँको कुनै स्कुलमा पढाउन चाहन्थेँ।
नोभेम्बर २०१० को अन्त्यतिर नेपाल आएँ।
दुःखको कुरा, काठमाडौं विमानस्थलमा ओर्लेर नेपाली भूमिमा पाइला टेक्नासाथ ठगिएँ। एकजना मान्छेले …म तपाईंलाई लिन आएको हुँ, दस डलर दिनुस्' भन्यो। मैले होला त भनेर दिएँ। तर, ऊ मलाई लिन आएको होइन रहेछ। पछि त कहाँ बेपत्ता भयो कहाँ! दस डलरको कुरा होइन, म ऊ फर्केर आउला भनेर निकैबेर विमानस्थलमा कुरेर बसेँ। यसले एक मन त नेपालप्रति नै विरक्ति लागेर आयो। पछि सोचेँ, कुनै पनि घटनाको प्रकृति वा व्यक्तिको स्वभाव हेरेर त्यसकै आधारमा समग्र देशप्रतिको धारणा बनाउनु हुँदैन।
नेपाल बस्दै जाँदा, नेपालीहरूसँग भिज्दै जाँदा यसले मेरो मन जित्दै गयो। हुन त स्वयंसेवीका रूपमा काम गर्न आएकीले मैले नेपाल धेरै घुमिनँ। तर, जहाँ गएँ, जहाँ बसेँ, त्यहाँका मान्छेको रीतिथिति, रहनसहन, चालचलन र व्यवहारले मेरो मनमा अमिट छाप छोडेको छ।
नेपाल आउनुअघि मलाई राजधानी काठमाडौं …ग्रिनसिटी' (हरितसहर) होला भन्ने लागेको थियो। काठमाडौंप्रति यस्तै धारणा बनाएकी थिएँ। तर, यहाँ आएपछि थाहा भयो, यो त विदेशका अरू सहरजस्तै …कंक्रिटसिटी' पो रहेछ। अस्तव्यस्त ट्राफिक जाम, जथाभावी ठडिएका घर। काठमाडौंले आफ्नो मौलिक पहिचानसमेत गुमाउँदै आएको रहेछ। आधुनिक भवनले यहाँका मन्दिर, पाटीपौवा, ढुंगेधारा हराउँदै गएछन्। यो सुनेर साह्रै दिक्क लाग्यो।
सहरले जतिसुकै प्रगति गरे पनि उसले आफ्नो पहिचान गुमाउनु हुँदैन। फ्रान्सको पेरिसमा आधुनिकताको कुनै कमी छैन, तर सहरले परम्परागत पहिचान सुरक्षित राखेको छ। जुन दिन सहरको मौलिकता गुम्छ, तपाईंको पहिचान त्यही दिन नष्ट हुन्छ। यसबारे काठमाडौंवासी सजग हुनैपर्छ। किनकि, काठमाडौंको पहिचान गुम्नु भनेको काठमाडौंवासीकै पहिचान संकटमा पर्नु हो।
नेपाल बसाइमा मैले सौराहा, पोखरा र लुम्बिनी घुमेँ। यी ठाउँ एकदमै रमाइलो लाग्यो। यहाँ भने मौलिकता केही हदसम्म जीवित रहेको पाएँ।
नेपाल भ्रमणबाट केही नयाँ कुरा सिक्न चाहन्थेँ म। यहाँका विद्यार्थीलाई केही सिकाउन चाहन्थेँ। यसका लागि स्कुल खोज्दै सबभन्दा पहिला जनकपुर गएँ। त्यहाँ बस्ने प्रबन्ध नमिलेपछि सिन्धुलीको भिमान गएँ। भिमानमा पनि खानेबस्ने समस्या थियो। तर साथी पवन पौडेलले मलाई उनकै घरमा खानेबस्ने व्यवस्था मिलाइदिए।
भिमानमा म गाडी चढेर गएकी थिएँ। अहिलेसम्म त्यति लामो यात्रा कहिल्यै गरेकी थिइनँ। त्यो यात्रा सम्झँदा आज पनि रमाइलो लाग्छ। आफ्नो देशमा कहिल्यै गाडी चढेर बान्ता गरेकी थिइनँ, यहाँ आएपछि बाटो र लामो यात्राले पेट पुरै बाउँडिएर आयो। अनि त... (लामो हाँसो)।
भिमान पुगेको दिन सबैले स्वागत गरे। पवनकी आमाले निकै माया देखाउनुभयो। नयाँ ठाउँमा के होला, कसो होला भन्ने डर र संकोच मनमा थियो, त्यो उहाँको मायाले हट्यो। छरछिमेककाले पनि सधैं आदर गरे। बिस्तारै म सबैसँग खुल्दै गएँ। उनीहरूको संस्कृति र रहनसहनसँग भिज्दै गएँ। उनीहरूले पनि मलाई खुसीखुसी स्वीकार गरे। नेपालीहरूको यही बानीले मलाई नेपाल मनपर्छ। यहाँ बोलीमा मात्र होइन, व्यवहारमा पनि पर्यटकलाई भगवान मानिँदो रहेछ। एयरपोर्टको त्यो सानो घटनालाई छोडेर।
भिमानमा म चार महिना बसेँ। त्यहाँ ८ देखि १२ कक्षासम्मका विद्यार्थीलाई पढाएँ।
यहाँ प्रत्येक दिन नयाँ कुरा सिक्थेँ। नयाँ सिकाउँथेँ। कहिलेकाहीँ कल्पनै नगरेको र नसोचेको कुरा देख्दा अचम्ममा पर्थें। हाम्रो देशतिर जे काम पनि मेसिनबाट गर्ने चलन छ, यहाँ हातैले गरेको देखियो।
खेतमा गहुँ काटेको, आलस टिपेको, खेतबारीमा काम गरेको दृश्यले मलाई अझै अचम्भित बनायो। यी सबबाट ग्रामीण नेपालीको जीवन बु‰ने मौका पाएँ।
मैले इटलीमा दुध त खाएको थिएँ। तर, गाईको थुनबाट दुध दुहेको देखेकी थिइनँ। पहिलोचोटि त्यो देखेर चकितै खाएँ। यहाँ जे काम पनि हातैले गरिँदो रहेछ। नेपालले यसलाई आफ्नो पर्यटन प्रबर्द्धनसँग जोड्नसके राम्रो हुने थियो।
मैले गाईवस्तु पनि देखेकी थिइनँ। म यहाँ आएर बाख्रा गोठालो गएँ। आफैं काममा सामेल हुँदा जे कुरा पनि चाँडै जानिन्छ। मलाई आमाले केही गर्न दिनुहुन्नथ्यो, तर म काम नगरी वा अध्ययन नगरी बस्नै सक्दिनथेँ। उहाँले नलगे पनि पछि लागेर म काममा गइहाल्थेँ।
मैले उहाँसँगै डोको बोकेर दाउरा ल्याएँ। आफूले दाउरा बोकेपछि नै थाहा पाएँ, नेपालीलाई गर्दन र ढाड किन दुख्दो रहेछ! निकै परिश्रम गर्दा रहेछन् नेपाली। थाप्लोमा नाम्लो हालेर १५ मिनेट स्याँस्याँ गर्दै उकालो चढ्नु कम्ता गाह्रो भएन मलाई। तीन दिनसम्म दाउरा बोकेँ। काम गर्ने एकजना सहयोगी (माइला), आमा र ममात्रै घरमा थियौं। त्यही भएर आमालाई सघाउन पँधेरो गएँ। गाग्रोमा पानी बोकेँे। बारीमा गएर आलु टिपेँ। पहिलोचोटि थाहा पाएँ– आलु जमिनमुनि फल्दो रहेछ!
नेपालीका लागि यी सब सामान्य कुरा होलान्, तर मैले धेरै रोचक र अनौठो अनुभव गरेँ। म मासु खान्थेँ। मेरो देशमा प्लास्टिकमा पोको पारेर मासु बेचिन्छ। मलाई लाग्थ्यो, मासु प्लास्टिकमै पाइन्छ। यहाँ आफ्नै अगाडि खसी काटेर मासु तयार पारेको देखेँ। त्यसपछि पो थाहा पाएँ, मासु कसरी बनाइँदो रहेछ! मेरो देशमा ६०/७० वर्षअघि पनि यसरी कमै काम हुन्थ्यो रे, आमाले भन्नुभएको।
गाउँघरमा विवाहित महिला साडीमात्रै लगाउँदा रहेछन्। हामीकहाँ त जो पनि स्कर्ट लगाएर हिँड्छन्। मैले पनि साडी लगाएँ। सबैले भने– कति राम्री देखिएकी!
यहाँ विवाह गर्ने चलन पनि गज्जबकै रहेछ। म एउटा बिहेमा सामेल भएकी थिएँ। हामीकहाँ प्रायः लभ म्यारिज हुन्छ। केटाकेटी खुसी र चन्चले हुन्छन्। यहाँ दुलाहा र दुलही गम्म परेर बसेको देख्दा अचम्म लाग्यो। कति इनोसेन्ट!
मैले …बुक फर चिल्ड्रन' नाम दिएर यहाँ तीनवटा पुस्तकालय खोलेकी छु। साथीहरूलाई नेपाल जाँदा कम्तीमा दुइटा किताब लिएर जाऊ भन्छु। जुन मैले खोलेको पुस्तकालयमा काम लागोस्। मलाई नेपालमा दुध र चिउरा एकदमै मिठो लाग्यो। गुन्द्रुक र मस्यौरा त सँगै लाँदैछु।
रहँदाबस्दा सबैसँग यति मन मिलेछ, छुट्टिने बेला म धरधरी रोएँ। स्कुलका केटाकेटीले फूलमाला लगाएर मलाई बिदाइ गरे। यसले पनि मलाई निकै भावुक बनायो।
म फेरि नेपाल आउँछु।
(चेक रिपब्लिककी ग्याब्रियलासँग कञ्चन अधिकारीले गरेको कुराकानीमा आधारित)

1 comment:

SumAn said...

bhai yo story ta dami 6 tara blog ko template chai pahe la kai dami lage ko ho malai