Tuesday, May 3, 2011

प्रतिविद्यार्थी एक ल्यापटप, पढ्नभन्दा खेल्न प्यारो


पाठ्यक्रम विकास केन्द्रले २, ३ र ६ कक्षाको इ–पाठ तयार पारेको छ। अहिलेसम्म नेपाली, अंग्रेजी र गणित विषयका इ–पाठ तयार भइसकेका छन्।
लक्ष्मी गुरुङको घर मुस्ताङको कागबेनीमा पर्छ। हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङ दुर्गम पहाडी जिल्ला हो। उनी जनशान्ति माध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्छिन्। उनी विद्यालयमा किताबको पानासँगै ल्यापटप पल्टाउँछिन्। किताब र ल्यापटप बोकेर विद्यालय जानेमा उनीसँगै कक्षा २, ३ र ६ का अरू विद्यार्थी पनि छन्।

सात महिनाअघि ल्यापटप हातमा लिँदा खेलौनाजस्तै लागेको थियो रे लक्ष्मीलाई। यस्तोमा पढ्नेभन्दा उनले साथीसँग कानेखुसी गरेकी थिइन्, …कसरी पढ्ने होला?'

…तर चलाउँदै गएसि जानिँदो रहेछ,' उनी भन्छिन्, …अहिले त म नेपाली, अंग्रेजी र गणित सप्पै यसैमा पढ्छु।' ल्यापटपले उनलाई पढ्नमात्र होइन, गेम खेल्न, गीत सुन्न र फिल्म हेर्नसमेेत सिकाएको छ। …बजार (जोमसोम) बाट ल्याएको गीत र फिल्म यसैमा हेर्छु,' उनी भन्छिन्।

डेढ वर्षअघि सुरु भएको …प्रतिव्यक्ति एक ल्यापटप' कार्यक्रमअन्तर्गत उनीहरूले ल्यापटप पाएका हुन्। शिक्षा विभाग, पाठ्यक्रम विकास केन्द्र, शैक्षिक जनशक्ति विकास केन्द्र र साझा शिक्षा इ–पाटीले संयुक्त रूपमा यो कार्यक्रम सञ्चालन गरेको हो।

पहिलो चरणमा मकवानपुर, कपिलवस्तु, काभ्रेपलाञ्चोक, डडेलधुरा, मुस्ताङ र ललितपुर जिल्लाका २६ विद्यालयमा परीक्षणका रूपमा यो कार्यक्रम सञ्चालित छ। …यी जिल्लामा कार्यक्रम सफल भए देशभरका सबै विद्यालयका सबै विद्यार्थीलाई ल्यापटप पुर्‍याउने लक्ष्य छ,' विभागका शाखा अघिकृत दिपेन्द्र सुवेदीले भने।

सूचना र प्रविधिले दिनदिनै फड्को मार्दै गएपछि नेपाल सरकारले प्रतिविद्यार्थी एक ल्यापटपको अवधारणा ल्याएको हो। यो विद्यार्थी पढाउने नयाँ विधि हो। …ल्यापटपबाट पढाउँदा बढी प्रभावकारी हुन्छ,' उनी भन्छन्, …विद्यार्थीले तत्कालै आफ्नो कमीकमजोरी र गल्ती थाहा पाउन सक्छन् र सुधार्न सक्छन्।'

पाठ्यक्रम विकास केन्द्रले २, ३ र ६ कक्षाको इ–पाठ तयार पारेको छ। अहिलेसम्म नेपाली, अंग्रेजी र गणित विषयका इ–पाठ तयार भइसकेका छन्। सुवेदीका अनुसार अन्य विषय बनाउने काम भैराखेको छ।

…कार्यक्रम लागू भएका विद्यालयले सरकारले उपलब्ध गराएको सर्भरबाट डाउनलोड गरेर विद्यार्थीलाई सिकाउन सक्छन्,' उनी भन्छन्, …सबै विद्यालयमा सर्भर राखिएको छ।

तर, यो कार्यक्रमले विद्यार्थीलाई पढ्न सजिलो भए पनि केही बेफाइदासमेत देखिएको विद्यार्थीहरूको भनाइ छ।

जनशान्ति विद्यालयका कम्प्युटर शिक्षक दिपककुमार श्रेष्ठका अनुसार विद्यार्थीले ल्यापटपको राम्रो सदुपयोग गर्न सकेका छैनन्। …विद्यार्थीले यसलाई पढाइभन्दा मनोरञ्जनको भाँडोका रूपमा लिएका छन्,' उनी भन्छन्, …त्यही भएर सरकारले राम्रो कामका लागि दिए पनि प्रतिफल राम्रो आएको छैन।' उनका अनुसार विद्यार्थीहरू ल्यापटप घर लगेर कि गीत सुन्छन्, कि फिल्म हेर्छन्, कि गेम खेल्छन्।

विद्यार्थीहरू आफै पनि पढाइमा भन्दा खेल्नकै लागि ल्यापटप प्रयोग गरिरहेको स्वीकार गर्छन्। जनशान्तिमा कक्षा ६ मा पढ्ने सन्दिप नेपाली भन्छन्, …घरमा लगेर फुटबल खेल्छु। कहिलेकाहीँ त होमवर्क गर्नधरी भ्याउँदिनँ।'

टिभीमा समेत फुटबल हेरेर नअघाउने सन्दिप ल्यापटप घर ल्याएपछि त दिनमा पाँच/सातचोटि फुटबलमै भुल्छन्। यति हुँदाहुँदै पनि उनले ल्यापटपको इ–पाठबाट अंग्रेजी, हिसाब र नेपालीको होमवर्क गर्न जानिसकेका छन्।

त्यस्तै, भविष्यमा शिक्षिका बन्ने लक्ष्य राखेकी लक्ष्मीलाई पनि कम्प्युटरमा गेम खेल्न रमाइलो लाग्छ। …धेरैथोक त आउँदैन। तास खेल्नचाहिँ आउँछ,' उनी भन्छिन्। अर्का विद्यार्थी दावा साङ्वोले यसअघि न ल्यापटप देखेकी थिइन्, न यसको गेमबारे थाहा थियो। अहिले उनलाई धेरै गेमको नाम कण्ठ छ।

खेल्नमा बढी रुचि भए पनि ल्यापटपलाई पढाइमा पनि प्रयोग गरिरहेको उनी बताउँछन्। …ल्यापटप चलाउँदा–चलाउँदै धेरै काम गर्न जानिसकेको छु,' उनी भन्छिन्, …इ–पाठ खोल्न, खेल खेल्न र फोटोसमेत खिच्न जानेको छु, तर पढाइभन्दा गेम खेल्नै बढी मन लाग्छ।'

विद्यार्थीले ल्यापटप घर लगेर के गर्छन् भनी विद्यालयले राम्रो अनुगमन नगरेकाले यस्तो समस्या आएको स्थानीयको भनाइ छ। कागबेनीकी तेञ्जिङ गुरुङ भन्छिन्, …विद्यार्थीले ल्यापटप जे गरे पनि सरहरू वास्ता गर्दैनन्। अनि कसरी राम्रो सदुपयोग हुन्छ?'

शिक्षा विभागका कर्मचारी भने केन्द्रमा अहिलेसम्म राम्रो रिपोर्ट आएको दाबी गर्छन्। …हामीले अनुगमन गरेका बेला राम्रो रिपोर्ट आएको छ,' सुवेदी भन्छन्, …एउटा–दुइटा विद्यालयमा त्यस्तो हुनु स्वाभाविक हो।'

अर्का विद्यार्थी सुषमा नेपालीलाई पनि ल्यापटपले पढाइ बिगार्छ भन्नेमा विश्वास छैन। …घरमा गेेम खेलेर बानी बिग्रन्छजस्तो लाग्दैन,' उनी भन्छिन्, …आफूमा भरपर्ने कुरा हो। धेरै नखेले त भैहाल्यो नि।'

उनलाई ल्यापटपबाट गणितको चित्र कोर्न निकै मन पर्छ। …ज्यामितिको हिसाब निकै सजिलो तरिकाले जान्न सकिन्छ,' उनी भन्छिन्, मिले–नमिलेको उत्तिनखेरै थाहा पाइन्छ। भोलिपल्ट सरलाई सोध्नै पर्दैन।'

डाक्टर बनेर गरिबको सेवा गर्ने लक्ष्य राखेकी सुषमाले ल्यापटपबाट जोडा मिलाउन, चित्र कोर्न, साँचो वा झुटो छुट्याउन, एचसिएफ, एलसिएम हिसाब गर्न र त्रिभुजहरूबारे जानेकी छन्। अंग्रेजीमा भने कुनै–कुनै शब्द नबुझ्दा अलमलिने गर्छिन्।

…यो विधिको फाइदा र बेफाइदा दुवै छ,' शिक्षक श्रेष्ठ भन्छन्, …विद्यार्थीले पढेका कुरा उत्तिनखेरै अभ्यास गर्न पाएका छन्, परिभाषाहरू जान्छन् र कसरी अभ्यास गर्ने थाहा पाउँछन्।'

यसलाई राम्रोसँग सदुपयोग गरे विद्यार्थीको पढाइस्तर उकासिने उनको भनाइ छ।

No comments: