Sunday, August 28, 2011

स्वयम्भू अर्थात् आफैं उत्पत्ति भएको

…विश्व शान्ति पोखरीमा रहेको दानपत्रभित्र पैसा छिराउन सके मागेको पाइन्छ।'
स्वयम्भूको पश्चिम फेदीबाट झण्डै दस मिनेट उक्लिएर असिनपसिन भएका भाइबहिनीलाई विश्व शान्ति पोखरीको परिचय गराउँदै छन् बाबुराजा बुद्धाचार्य।


बिहानको साढे दश बजेको छ। अघि फेदीमा विश्वको तेस्रो ठूलो बुद्ध मूर्ति देखेर उत्साहित भाइबहिनी बज्राचार्यका कुराले दङ्ग छन्।
गोलाकार पोखरीको बीचमा ग्लोब छ। त्यसमाथि बुद्धको मूर्ति। …बुद्धले विश्व नियालिरहेको,' बाबुराजा अर्थ लगाउँछन्। त्यही ग्लोबमुन्तिर छ, गोलो पित्तलको दानपत्र। पर्यटकहरू पोखरीको डिलबाट एक/दुई रुपैयाँका सिक्का हुत्याउँदै दानपत्रमा छिराउन खोजिरहेका छन्। …प्रेमीप्रेमिकाले सिक्का भित्र छिराउन सके प्रेम सफल हुन्छ भनिन्छ,' उनी कालो चस्मा माथि सार्दै मुसुक्क हाँस्छन्।
१९९८ सालमा स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले बनाएको पोखरी हो यो। …पोखरीबाट उठेेको पैसा कहाँ जान्छ?,' रेनु थापा उत्सुकतासाथ सोध्छिन्। …यहाँका पाँचवटा सामाजिक संस्थाले बाँडेर लिन्छन्,' बुद्धाचार्य जवाफ दिन्छन्। गएको वैशाखमा ६० हजार रुपैयाँ उठेको थियो। यो अहिलेसम्मकै ठूलो रकम हो।
पोखरीबाट दायाँ लागे स्वयम्भूनाथ स्तुपा पुगिन्छ। बायाँ लागे महामञ्जुश्रीको चैत्य। हामी बायाँ लाग्दै छौं।
सेतो वर्णका महामञ्जुश्री चार हातमा खड्ग, धनुष, तिर र पुस्तक लिएर सिंहमाथि बसेका छन्। तर यहाँ उनको पूर्ण कदको मूर्ति छैन। पाउ (खुट्टा) मात्रै छ। पाउमा धर्मश्रीका आँखा छन्। माघ शुक्ल पञ्चमी (श्रीपञ्चमी) को दिन यहाँ ठूलो मेला लाग्छ। यो दिन मञ्जुश्री यहाँ आउँछन् भन्ने जनविश्वास छ।

चैत्य र रुखमा टाँगिएका रंगीबिरंगी ध्वजापताका देखाउँदै हिक्मत जिरेल सोध्छन्, …यी तोरण किन टाँगेको?'

…यसलाई तोरण भनिँदैन, ढाँचा भनिन्छ,' उनी प्रस्टयाउँदै भन्छन्, …मन्त्र भरिएको हुन्छ ढाँचामा। यसलाई छोएको हावाले हाम्रो शरीरलाई छोए स्वस्थ भइन्छ।'
अहिले हामी मञ्जुश्री चैत्य अगाडि छौं। टाङटुङ घण्ट बज्दै छ। …यो चैत्य कसले बनाएको?,' दिलिप जिज्ञासा राख्छन्।

…यसको रमाइलो कथा छ,' बुद्धाचार्य सुनाउन थाल्छन्। …मञ्जुश्रीले चोभारमा खड्गले हानेर गल्छेडो बनाएपछि उपत्यकाको पानी बाहिर गयो। यहाँ बस्ती बस्यो। कालान्तरमा आर्जेतार ऋषि र उनका साथीहरू स्वयम्भू घुम्न आउँदा आकासवाणी भयो– …मञ्जुश्रीको शरीर यहीँ छ। हंस (अस्तु) चाहिँ आकासमा। यहाँ मञ्जुश्रीको चैत्य स्थापना गर्नुपर्छ।' आर्जेतारले त्यही आकासवाणी सुनेर मञ्जुश्रीको चैत्य बनाएका हुन्।'
…बीचबीचमा गुम्बा किन बनाएको?,' दिलिप अझै उत्सुक छन्।

…बुद्धलेे सबैको रक्षा गर्छन् भनेर बुद्धिष्टहरूले बनाएका।'

…यो किन घुमाएको नि?,' भिक्षुहरूले घुमाउँदै हिँडेको मानेतिर देखाउँदै निशा गुरुङ सोध्छिन्।

…सबैको उद्धार होस् भनेर।'

महामञ्जुश्री चैत्यसँगै सरस्वती थान छ। …धेरैलाई महामञ्जुश्री र सरस्वती एउटै हो भन्ने भ्रम छ,' उनी खुलाउँछन्।
हामी दुवैलाई दाहिने पारेर बढ्दै छौं। अलिकति तल झरेपछि गोपु छाङ्ग्रा पुगिन्छ। आर्जेतार यहीँ आइपुग्दा आकासवाणी भएको रहेछ। भाइबहिनी चाख मानेर त्यो ठाउँ हेर्दै छन्। स्वयम्भूका पाँच पुरमध्येे वायुपुर यहीँ छ। …पृथ्वीलाई हावाको तीब्र वेगबाट रक्षा गर्न वायुपुर बनेको हो,' उनी भन्छन्।


बुद्धाचार्यको कुरा सुन्दै हामी स्वयम्भूको डाँडो उक्लन थाल्छौं। स्वयम्भूलाई विदेशी पर्यटकहरूले …मङ्की टेम्पल' को नाउँसमेत दिएका छन्। यो विश्व सम्पदा सूचीमा परेको छ। कुनै पनि ठाउँको धार्मिक, साँस्कृतिक र ऐेतिहासिक महत्व अनुसन्धान गरेपछि सम्पदा सूचीमा सूचीकृत गरिन्छ।
विश्व शान्ति पोखरी हुँदै स्वयम्भूनाथ उक्लन सजिलो पर्छ। स्वयम्भू किमडोलबाट तल झरेर भगवान पाउबाट सोझै उक्लन पनि सकिन्छ। तर, निकै उकालो पर्छ। यता भने आनन्दकुठी विद्यापिठ हुँदै आधा बाटोसम्म गाडी आउँछ। अहिले यो बाटो भत्किएको छ। बाटो कालोपत्रे गर्न १५ लाख रुपैयाँ निकासा भइसकेको बुद्धाचार्य सुनाउँछन्।

…यो हो शान्तिपुुर,' उकालो सकिएपछि स्वयम्भू प्रवेश द्वार छिर्नासाथ उनी त्यस ठाउँको बेलिविस्तार लाउन सुरू गर्छन्, …यहाँ दुई शैलीको चैत्य छ। नेेपाली र तिबेतियन। यी दुवै उस्तै देखिन्छन्, तर गजुरको बनावट फरक छ।'
शान्तिपुरमा शान्तिकराचार्यको मूर्ति छ। धर्ममास (साउन महिना) मा ब्रत बस्ने ब्रतालुहरू नुुन फुकाउन यहाँ आएर पूजा गर्छन्। प्रत्येेक पूर्णिमापछिको दशमीमा यहाँ पूजाआजा हुन्छ।
यसैको ठीकमाथि मल्लकालीन घर छ। यस्ता घर विस्तारै लोप हुँदै गएको बुद्धाचार्य बताउँछन्। …स्वयम्भू हाताभित्र यस्तै घर बताउँदै जाने महासमितिको गुरूयोजना छ,' उनी भन्छन्।
मल्लकालीन घर हेर्दै अघि बढे अग्नीपुर पुगिन्छ। संसारलाई आगोबाट बचाउन यसको स्थापना गरिएको हो। यहाँ भैरवको मूर्ति छ। दुईतिर पसलबाट ओम मणी पद्मे हुँको मधुर संगीत गुञ्जिरहेको हुन्छ। अग्नीको मूर्तिसँगै यहाँ महामञ्जुश्रीको पाउ पनि छ।

अब हेर्ने पालो लिच्छवीकालीन चैत्यको। १६ सय वर्ष पुरानो हो यो। यसमा मूर्ति राखिँदैन। हामी उत्तरतिरबाट स्वयम्भूको स्तुपा हेर्दै छौं। …स्वयम्भूको अर्थ के हो?,' भाइबहिनीहरू एकै स्वरमा सोध्छन्।
…स्व भनेको आफैं र भू भनेको जमिन। आफैं उत्पत्ति भएकाले स्वयम्भू भनिएकोे,' बुद्धाचार्य अर्थ खुलाउँदै छन्। …स्वयम्भू कहिले उत्पत्ति भो अहिलेसम्म थाहा छैन। बुद्धको सबभन्दा पुरानो स्तुपा यसैलाई मानिन्छ।'

…यसभित्र के होला?,' निस्ता सोध्छिन्।

…पानी छ। तोपखानामा तोप पड्कदा मैले यहाँभित्रबाट छत्ल्याङ्ग आवाज आएको सुनेको छु,' बुद्धाचार्यको कुरा सुनेर भाइबहिनी अचम्म पर्छन्।
…यति माथि कसरी पानी रह्यो होला,' उनीहरूको प्रश्न तेर्सिन्छ, जसको उत्तर बुद्धाचार्यसँग पनि छैैन।
उनी त्यसपछि स्वयम्भूनाथ सँगैको हारती मन्दिरबारे सुनाउन थाल्छन्– …सयौं वर्षपहिले हारती माताको मन्दिरअगाडि पिपलको चौतारो थियो रे। मन्दिरको शोभा बढाउन काटेको।'

भगवान पाउबाट उक्लिँदा स्वयम्भूनाथ पुगेपछि दायाँ पर्छ प्रतापपुर र बायाँ अनन्तपुर। चार वर्षपहिले प्रतापपुरमा आगो लागको थियो। पछि मर्मतसम्भार गरी उस्तै बनाइयो। त्यतिखेर भित्रका सबै सामान जलेर नासिए पनि मूर्तिचाहिँ जलेन।

हामी अहिले उत्तरपट्टिको विरुपाक्ष मूर्ति हेर्दै छौं। यसलाई …कली' पनि भनिन्छ। …हामी केटाकेटी हुँदा यो मूर्तिको टाउको मात्रै देखिएको थियो। अहिलेे कम्मरसम्म देखिएको छ,' बुद्धाचार्य भन्छन्। …यो मूर्तिको पूर्ण कद बाहिर निस्किए पृथ्वी नासिन्छ र कलियुग समाप्त हुन्छ भन्ने विश्वास छ। यस्तै मूर्ति पशुपतिनाथ मन्दिरमा पनि छ।'
बुद्धाचार्यका अनुसार स्वयम्भूमा यस वर्ष सुनको जलप लगाइँदै छ। पूरै स्तुपामा जलप लगाउन ४ करोड ९६ लाख रुपैयाँ लाग्ने उनी बताउँछन्। बुद्धिष्ट खाम्बाकी फ्रेन्च श्रीमतीको लगानीमा यो काम गर्न लागिएको हो। झण्डै एक सय वर्षअघि तिबेतियन स्यारमापाका सहयोगी नवाङ नोर्बुलेे यसैगरी सुनको जलप लगाएका थिए।
विरुपाक्षको मूर्तिबाट चार/पाँच कदम अघि बढेपछि नागपुर पुगिन्छ। त्यहाँ लम्पसार परेेर बसेको लामो नाग देखिन्छ। नागपुरमा फोहोर भए पानी पर्दैन भन्ने विश्वास छ। यसपालि पानी नपरेर यहाँ धेरैचोटि सफा गरिएको उनी बताउँछन्।
स्वयम्भू घुमेपछि हामीले थाहा पायौं, बुद्ध पाँच रङका हुँदा रै'छन्। यी पाँचै रङका बुद्ध स्वयम्भूमा मात्र छन्। …ती के/के होलान्?,' भाइबहिनीको जिज्ञासा शान्त पार्दै बुद्धाचार्य भन्छन्, …हरियो रङको अमोगासिद्धी बुद्ध। निलो रङको अक्षैभे बुद्ध। सेतो रङको बैलोचन बुद्ध। पहेँलो रङको रत्नसम्भव बुद्ध। र, रातो रङको अमृताम्भ बुद्ध।'

यी बुद्धको आसन पनि फरक हुन्छ। जस्तो– अमोगासिद्धी बुद्ध गरुड आसनमा, अक्षैभे गजासनमा, बैलोचन सिंहासनमा, रत्नसम्भव अश्वआसनमा र अमृताम्भ बुद्ध मयुर आसनमा बसेका हुन्छन्।
त्यसपछि हामी जान्छौं, अनन्तपुरसँगैको बसुपुर। यहाँ पहिले मूर्ति थिएन। पछि बसुन्धरा देवीको मूर्ति राखियो। त्यसको एक चक्कर लगाएर हामी वायुपुरतिर बढ्छौं। यो महामञ्जुश्रीमा हेरेको वायुपुर होइन, अर्कै हो। यहाँ चारवटा देउता छन्– वायु, नित्यनाथ, सेतो गणेश र कुमार।
…गणेश कति रङका हुन्छन् र?,' निस्ता सोध्छिन्।



…दुइटा– सेतो र कालो,' बुद्धाचार्य भन्छन्, …यहाँ सेतो गणेश छ। नाच्नुअघि यहाँ दर्शन गरे राम्रो नाचिन्छ भन्ने विश्वास छ।'

त्यसपछि हामी लाग्छौं, मूर्ति संग्रहालयतिर। यहाँ विभिन्न आसनमा बसेका बुद्धका मूर्ति छन्। बाहिरी देशबाट ल्याइएका मूर्ति पनि छन्।
संग्रहालय छेवैको सिँढी ओर्लँदै बुद्धाचार्य भन्छन्, …ल स्वयम्भूनाथको एक चक्कर लगाइयो।'
हामी देख्छौं, तल विश्व शान्ति पोखरीमा एक जोडी दानपत्रमा सिक्का खसाल्ने प्रयत्न गर्दै छन्।

No comments: