Sunday, August 21, 2011

मरुभूमिको बाटोमा

…नमस्कार! यहाँलाई यति एअरलाइन्समा स्वागत छ,' सिल्की कपाल, शेेर्पाली ड्रेस, बदामे गाजलु आँखा, टमक्क मिलेको शरीर अनि मिठो मुस्कानसँगै एअर होस्टेसले यति एअरलाइन्सको भर्‍याङ चढ्दै गर्दा दुई हात जोडेर न्यानो स्वागत गरिन् हामीलाई। मन खुसीले पुलकित छ।

…लौ माथि (जोमसोम)को आकास त खुल्यो रे। घोडेपानीको खुलेपछि उडिहाल्छ।' पोखरा विमानस्थलका कर्मचारीले यसै भने। तर दुई घण्टाको कुराइपछि बल्ल जोमसोम उड्न पायौं। हजुरबा, हजुरआमा र म, तीनै जना पहिलोचोटि जहाज चढ्दै थियौं। मनमा एक किसिमको उत्साह अनि डर पनि। त्यस माथि पनि जहाज उडानको लागि खतरा क्षेेत्र मानिन्छ पोखरा–जोमसोम।

सोह्र श्राद्ध, मुक्तिनाथ दर्शन र अन्नपूर्ण सर्किट पदयात्राका लागि जानेहरुको भिड सुरु भैसकेकाले जहाजमा टिकट पाउन निकै गाह्रो थियो। हजुरबा र आमा हिँड्न सक्नुहुन्न त्यसैलेे मैल जहाजको टिकट चारतिर भनसुन गरेर बल्लबल्ल पाएको थिएँ भदौ तेस्रो साता।

बीस मिनेट उडेपछि पुगिन्छ पोखराबाट जोमसोम। जहाजले पोखरा विमानस्थल छोड्यो। मन सिरिङ्ग भो। हजुरआमा कराउनुभयो, …आबुई ˜˜˜˜˜।' अघि भर्खर देखिएका बडेमान घर सलाईको बट्टाजत्रै देखिन थाले। हेम्जाको माथि–माथि हुँदै आकासियो जहाज।

हरियाली डाँडाकाडा। झुण्ड–झुण्ड कुहिरोको मुस्लो। कुहिरोभन्दा पनि माथि जहाज। मन फुरुंग छ। केटाकेटीले नयाँ लुगा लगाएको दिनजस्तै। अनि धौलागिरी र निलगिरी हिमालबाट झरेका सेताम्मे खोली। फिँजारिएर बगेको कालीगण्डकी। अहो! कस्तो रोमान्चक प्राकृतिक संगम। जहाजबाटै भएपनि क्यामेराका लेन्स तीनैतिर सोझिए।

मनमा अनेक कुरा खेलाउँदा–खेलाउँदै २० मिनेट बितेको पत्तै भएन। जोमसोम विमानस्थल आइसकेछ। कालीगण्डकीको तीरैमा रहेछ एअरपोर्ट। हुस्सु, कुहिरो र उडानको भर नभएको विमानस्थल (कतिखेर कुहिरो लाग्ने र उडान रद्द हुने हो, ठेगान छैन)।

हरियालीले हरियो बनेको आँखा अब हरियालीविनाको उराठलाग्दो डाँडोमा ठोक्किए। जोमसोम नेपालको सबैभन्दा कम पानी पर्ने ठाउँ। त्यही भएर होला यहाँ हरियाली नभएको। हेर्दा मरुभूमि जस्तै।

गर्मीबाट एक्कासी चिसोमा पुगेकाले लुगलुग काम्छौं। टाउको दुख्न थाल्छ। चिनेजानेको कतै छैन। कहाँ बस्ने। …नयाँ ठाउँ आइएको छ। यतै एकछिन घुमौं अनि होटल खोजौंला,' हजुरबाले भन्नुभो।

जोमसोम बजार निकै सफा छ। सिमेन्टेड घर। बाटोमा ढुंगा बिछ्याइएको। मोटर गुड्न थालेपछि फोहर बन्दै गएको छ रे जोमसोम, स्थानीय बासिन्दा भन्छन्। स्याउ पाक्ने सिजन भएकाले बेच्न व्यापारी लर्कनै सडक दायाँबायाँ बसेका छन्। प्रतिकिलो ५० रुपैयाँदेखि ६० सम्म छ भाउ। …सानैमा असिनाले स्याउ झारेपछि यो वर्ष उत्पादन घटेको छ,' विगत १२ वर्षदेखि स्याउको खेलो गरिरहेका धादिङका उर्चा तामाङ भन्छन्, …गत सालहरूभन्दा यसपालि स्याउ महंगिएको छ।'

…लौ, चिया खाएर जानुस्। अगाडि पाइँदैन,' पुथाङ बजारबाट अघि बढ्दै गर्दा तीस ठाउँमा मुजा परेको अनुहार देखाउँदै प्रेमकुमारी तुलाचनले भनिन्। उनले होटल व्यवसाय गरेको दस वर्ष भैसक्यो रे। मार्फा गाउँमा छोराबुहारीसँगै बस्छिन् उनी। तर अहिले बुहारी जर्मनी गएकीले होटल चलाउन यतै आएकी। उनीसँगै किशोर साथी छिन्, शर्मिला श्रेष्ठ। घरचाहिँ वुुटवल। निकै फरासिली रहिछन् शर्मिला। चिया मात्रै पाइन्छ कि बास पनि? उनी हाँसिन् र भनिन्, …दुवै पाइन्छ।'
बास बसेकोचाहिँ कति हो नि? …खाएको एक सय पचास। बसेको प्रतिव्यक्ति पचास रुपैयाँ।' हामी त्यहीँ बस्यौं।

जोमसोममा सामान कि त पोखराबाट जहाजले ल्याउँछ। कि बेनीबाट खच्चड वा ट्रकले ल्याउँदो रेहछ। त्यसैले महंगो छ। दुध हालेको चिया खान त जहाज नै पर्खनुपर्छ। जहाजले पोखराबाट दुध ल्याएपछि होटलमा चिया पाक्छ।

बाह्र बज्यो। घरको छाना र रुखै ढालौंला गरी बतास चल्न थाल्यो। बाहिर निस्कियो कि धुलो र बतासले आँखा हेर्नै नसकिने।

मुस्ताङ स्याउका लागि नाम कहलिएको ठाउँ। बेलुकीपख जिल्ला प्रशासन कार्यालयतिर हामी लाग्यौं स्याउ बगान हेर्न। राताम्मे लठझुत बोटभरी फलेका छन् स्याउ। भरिला र रसिला। टपक्कै टिपेर खाउँजस्तो।
...................
भोलिपल्ट बिहानै निलगिरी खुलेको छ। आँखैमा टाँसिने हिमाल। सूर्यको किरणमा पहेलाम्य भएको हिमाल कति राम्रो! अघितिर निलगिरी पछिल्लोतिर धौलागिरी। बीचमा जोमसोम बजार।

हिमाल पारीको जिल्ला भनेर मनाङ र मुस्ताङ चिनिन्छ भनेर बारम्बार सामान्य ज्ञानमा घोक्थ्यौं। यहाँ आएपछि बल्ल थाहा पाइयो किन त्यसो भनिएको रहेछ भनेर। हामी त अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरी, निलगिरीजस्ता आधा दर्जन हिमाललाई पछाडि पारेर अघि बढेका छौं।

मुक्तिनाथसम्मै गाडी चल्न थालेपछि दर्शनार्थी बढेका छन्। यहाँको जीवनशैलीमा समेत परिवर्तन आएको छ। सुविधा बढ्दै गएको प्रेमकुमारीले अनुभव गरेकी छन्। भन्छिन्, …मानिसको आवतजावतले मान्छे टाठाबाठा मात्रै होइन, आर्थिक अवस्थासमेत उकासिएको छ।' गाडी चल्न सुरु भएको दुई वर्ष भयो। जोमसोमबाट एकैदिनमा मुक्तिनाथ पुगेर आउन सकिन्छ। बेनीबाट सिधै मोटरबाटो चले दुुई दिनमा मुक्तिनाथ दर्शन गरेर बेनी फर्कन सकिन्छ।


आठ बजे लाग्यौं कागबेनीतिर। हिन्दु धर्मावलम्बी कागबेनीमा पितृ श्राद्ध गर्न जान्छन्। श्राद्ध मात्रै होइन त्यहाँ गएर गुरुङ समुदायको रहनसहन, रीतिरिवाज, चालचलनबारे जानकारी लिन पनि सकिन्छ। बिहान शान्त हुन्छ यहाँको वातावरण। विस्तारै घामले उकालो लाग्छ। त्यसपछि चल्न थाल्छ हावा।

…बिहानै हिँडे सजिलै पुगिन्छ। नत्र गाह्रो हुन्छ,' तुलाचनले भनेकी थिइन्। हामीले त्यसै गर्‍यौं। आठ बजे कालीगण्डकी तीरैतीर माथि लाग्यौं। जोमसोम २७ सय मिटर उचाइबाट हामी २८ सय २ मिटर माथि उक्लनुपर्छ। जम्मा १ सय २ मिटर माथि छ कागबेनी जोमसोमबाट। मोटरबाटो तेर्साेे छ।

धमिलो कालो पानी। …त्यही भएर होला यो नदीको नाम कालीगण्डकी भा'को,' हजुरआमाले अड्कल काट्नुभयो। कालो ढुंगा (शालिग्राम) पाइने विश्वको एक मात्रै ठाउँ हो– कालीगण्डकी। हजुरबाले भन्नुभयो, …भोलि फर्कंदा कालीमा ढुंगा खोज्नुपर्छ।'

बाटो–बाटोमा बेच्न राखिएका छन्– शालिग्राम ढुंगा। मूल्य पनि निकै महंगो। एक सय रुपैयाँदेखि २ लाखरुपैयँासम्मका। बढी भारतीय पर्यटकले खरिद गर्ने एक्लेभट्टीमा शालिग्राम बेच्न बसेका शेरबहादुर गुरुङले बताए।

हिँड्दै गर्दा साढे दस बज्यो। हावा चल्न सुरु भो। जिपहरू धुलो उडाउँदै हुँइकिएका छन् आफ्नै रफ्तारमा। बाटोमा हिँड्ने हामी तीन जना मात्रै। गाडी चलेदेखि हिँडेर मुक्तिनाथ जानेहरू घटेका छन् रे। गुरुङ भन्छन्, …गाडी चलेदेखि बीचबाटोमा हुने व्यापार व्यवसाय पनि घटेको छ।'

गाडीमा हुँइकिनेहरू झ्यालबाट मुन्टो निकाली–निकाली हामीलाई नै हेर्थे। उनीहरूले सोचे होलान्– कस्तो मख्खीचुस। गाडी चल्दा पनि बुढाबुढीलाई हिँडाएर लैजाने। तर, हजुरबाले भन्नुभएको थियो, …जिपमा गए केही हेर्न पाइँदैैन। हिँडेरै जाने।'

एकपाखे घाम चरक्क चर्केको छ। बिहान ११ बजे पुगियो एक्ले भट्टीमा। यहीँबाट कागबेनी र मुक्तिनाथ जाने बाटो छुट्टिन्छ। बायाँ लागे कागबेनी र दायाँ उक्लिए मुक्तिनाथ। कागबनीको मनोरम स्याउ बगान र फापरको बारी हेर्न बायाँ लाग्नु रमाइलो हुन्छ।

हजुरबा र आमाको एकछाकी। फलफूलबाहेक अरू खान नहुने। स्याउ बगानमा आएर हामीले त्यही खायौं। हजुरबाको कपाल खौरियौं कालीको तीरमा बसेर। हिमनदी भएकाले पानी निकै चिसो थियो। फटाफाट हिँड्ने मान्छेलाई जोमसोमबाट कागबेनी पुग्न २ घण्टा लाग्छ रे। तर हामीलाई चार घण्टा लाग्यो।

कागबेनीमा भनेजस्तो होटल–लज रहेछन्। पैसा तिर्न नसक्नेलाई आश्रम पनि छ। आश्रममा खान–बस्न सित्तै पाइन्छ। होटलमा तातो, चिसो, एटेच बाथ भएको जस्तो कोठा लिए पनि, रोजाइ आफ्नै। आफै पकाएर खाने हो भने भाँडा पनि पाइन्छ।

खानाको एक सय तीस र बास बसेको २ सय रुपैयाँ। हामी बस्यौं, मोनालिसा होटलमा। साहुनी तेन्जिङ गुरुङ। उनैले दिइन् खाना पकाउने भाँडा, चुह्लो र चामल। हजुरबा र आमा थाक्नुभएकाले मैले खाना पकाएँ। काठमाडौंको पाँचतारे होटलमा नपाइने खानाको मेनु यहाँ पाइन्छ रे तेन्जिङले भनेकी।

कागबेनी, कालीगण्डकी र कृष्णगण्डकीको संगमस्थल। यहाँ श्राद्ध गरे पितृले यो जुनीबाट मोक्ष पाउँछन् भन्ने जनविश्वास छ। विशेष गरी यहाँ सोह्र श्राद्ध, भाइटिकाको औंसी, राम नवमी र अक्षय तृतीयका बेला घुइँचो लाग्छ।
..................
पर्सिपल्ट बिहानै हामी लाग्यौं कागबेनी दोभानतिर। बाहुन जति पनि पाइने रहेछ श्राद्ध गराउन। १८ वर्षदेखि त्रिवेणीधाम नवलपरासीमा ब्राह्मणको काम गर्दै आएका चक्रपाणि रेग्मीका अनुसार कागभूषण नामको चराले मोक्षप्राप्तिका लागि शिवजीसँग तपस्या गरेका थिए। शिवजीले खुसी भएर वर दिए र भने, …निलगिरी पहाडमा गएर मुक्ति दिने नारायणको तपस्या गर। उनैले मुक्ति दिनेछन्।' नारायणको तपस्या गरे कागभूषणले र वरदान पाए– यहाँ आएर श्राद्ध गरे पितृहरू मोक्ष होऊन्। त्यसै बेलादेखि कागबेनीमा श्राद्ध गर्न थालिएको विश्वास गरिन्छ।
.............
जाडो लागिसकेको छैन। जाडो याममा त यहाँ ढपक्कै ढाक्छ रे हिउँले। बाहिर निस्कनै गाह्रो हुन्छ रे। श्री जनशक्ति माध्यमिक विद्यालय यहाँको एक मात्र मावि। तीन गाविसका विद्यार्थी अध्ययन गर्ने विद्यालय। जम्मा एक सय ६ जना विद्यार्थी। शिक्षक १७ जना। सरकारको महŒवाकांक्षी योजना प्रतिविद्यार्थी एक ल्यापटप यसै विद्यालयमा पहिलोचोटि सुरु भएको थियो। विद्यार्थी ल्यापटपमा खरर पढ्छन् यहाँ।

एक घण्टा उकालो उक्लिनुपर्छ कागबेनीबाट मुक्तिनाथ जान। देख्दा नजिकै तर हिँडेपछि सास्ती। मोटरबाटोमा ट्र्याक्टर बिग्रेर जाम भएको छ। चिसो सिरेटो फेरि चल्न थाल्यो। कागबेनीबाट चार घण्टामा पुगिन्छ मुक्तिनाथ। हामीलाई भने छ घण्टा।
हामी गफिँदै बाटो नाप्दैछौं। कहिल्यै नदेखेका उराठलाग्दा डाँडाकाडा। माथि उकालिँदै जाँदा मुटुको धड्कन बढ्छ। हजुरबाआमालाई उचाइ लाग्ला भनेर म लसुनको पोटी छोडाउन थालेँ।

बेलुकी पुगियो रानीपौवा। पर्यटकीय क्षेत्र भएकाले खानबस्न खासै गाह्रो रहेनछ। खाएको १ सय ५० र सुतेको प्रतिव्यक्ति ५० रुपैयाँ तिर्छौं हामी। सुत्न ओछ्यान सफासुग्घर भने रहेनछ।

मुक्तिनाथ तीन हजार आठ सय २ मिटर उचाइमा छ। हामीलाई लेक लागेन। त्यहाँको पानी सम्भि्कनेबित्तिकै छुन मन नलाग्ने। एकदमै चिसो। घाम नलाग्दै नुहाए केही हुँदैन, हामीलाई बाटोमा हिँड्ने हौसला दिन्थे।

मुक्तिनाथका एक सय आठ धारोमा नुहाउन मानिसको चहलपहल छ। सितिमिति मान्छेले लुगा खोलेर नुहाउने हिम्मत गर्दा रहेनछन्। तैपनि मुटु दह्रो बनाएर नुहायौं। धारामा नुहाएर मन्दिरअघि रहेको पापकुण्ड र धर्मकुण्ड पार गर्नुपर्दाे रहेछ। पापकुण्ड पार गरे अहिलेसम्म गरेको पाप काटिन्छ र धर्मकुण्ड पार गरे धर्म कमाइन्छ भन्ने विश्वास रहेको पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए।

बिहानै नुहाएर लागियो जोमसोम। त्यहाँबाट गाडीमा जाने निर्णय गर्‍यौं हामीले। गाडीमा १ सय पचास रुपैयाँ लाग्छ जोमसोमसम्म आएको। सिट भरिनेबित्तिकै गाडी छुट्छ। मुस्ताङ जिप व्यवसायी समितिले २८ वटा गाडी चलाएको छ।

यो वर्ष भारतीय पर्यटक बढेकाले मोटरसाइकलको पनि राम्रै व्यवसाय बढेको रहेछ। जिप पार्किङदेखि मुक्तिनाथसम्म जान मोटरसाइकल तयारी अवस्थामा हुन्छन्। आउन र जान तीन सय रुपैयाँ बुझाए पुग्छ।

बिहान ११ बजे जोमसोम झर्छौं। भोलि मात्रै जहाजको टिकट। उडान हुने नहुने कुनै टुंगो हुँदैन। जहाज नआए मोटरबाटो समात्नुको विकल्प छैन।

बेलुकीपख सिमसिम पानी पर्दै छ। हजुरबाले भन्नुभो, …राति पानी परे भोलिपल्ट त कुहिरो लाग्छ नि।' मन डरायो। भोलि बिहान कुहिरो लागे त जहाज आउँदैन।

नभन्दै भोलिपल्ट बिहानै हेरेको त कुहिरो टसको मस भएर बसेको छ जोमसोमलाई ढपक्कै छोपेर। गिद्धबाट आफ्नो चल्लालाई बचाउन कुखुरीले चल्ला छोपेजस्तै।

पहिलो उडान हुने समय भो। बिहानको साढे छ। बारम्बार यति एअरको अफिसमा जान्थे र सोध्थे, …आज जहाज आउँछ त?' हामी मात्रै होइन भारतीय र नेपाली गरेर लगभग तीन सय यात्रु वरपर घुमिरहन्थे। जहाजको पर्खाइमा पाइला नाप्दैछन्। …लौ जहाज आउनै लाग्यो रे,' सुन्नेबित्तिकै एअरपोर्टतिर मान्छे झुम्मिन्थे र एकछिनमा खिन्न अनुहार लिएर थच्किन्थे।

लौ टावरले पोखराबाट जहाज उडेको संकेत दियो। फेरि मानिस झोली–तुम्बा बोकेर कुद्छन्। मार्फामाथिको आकासतिरै छ आँखा — जहाज आउने आसामा। …बिहानको १० बजिसक्यो, पहिलो उडान त भएको छैन। चौथो उडानको त सम्भावना नै छैन,' यति एअरका कर्मचारीले भने। त्यहाँ मौसम खुलेपनि ११ बजेपछि हावा चल्ने भएकाले उडान हुँदैन। जहाज नआउने पक्का भयो। भोलि आउने पनि पक्का छैन। अब के गर्ने? पर्‍यो फसाद! गाडीबाट म्याग्दी हुँदै जाने निर्णय गरियो।

चारदिन अघि दुई हात जोडेर यति एअरमा गरेको नमस्कारको झझल्कोले बाँकी यात्राभरि मेरो मन बल्झाइरह्यो। …स्वागत छ मुस्ताङ यातायातमा' भनेर अब कोही आउने छैन।

No comments: