Wednesday, August 17, 2011

मौरी पालेर चार करोड

व्यावसायिक मौरी पालक मात्र होइन उनलाई अहिले नेपालमा पहिलो मौरी चराउने किसान भनेर पनि चिनिन्छ
काठमाडौं कालिमाटीस्थित जनप्रभात स्कुलमा १० कक्षामा पढ्दै थिए पवन सत्याल। एकदिन क्लास टिचरले सबै विद्यार्थीलाई सोधे, …पढेर के बन्ने लक्ष्य लिएका छौ?'


डाक्टर, इन्जिनियर, पाइलट, शिक्षक, नर्स। कक्षाकोठामा भएका विद्यार्थीले आफूले जाने र आएजतिका उद्देश्य बताए। तर पवनले न डाक्टर बन्ने लक्ष्य भएको बताए न त पाइलट वा शिक्षक नै। बेन्चबाट जुरुक्क उठे। र, भने, …सर म सफल कृषक बन्छु।'
यो कुरा सुनेर सर अचम्ममा परे। …पढेर पनि कोही कृषक बन्छन्?' सरले उल्टो झपारे, …पढेर त ठूलो मान्छे बन्नुपर्छ।'
सत्यालको कुरा सुनेर कक्षा हाँसोले गुन्जायमान भयो। उनी रातोपिरो भए। सबैले हेरेर गिज्याएको भान भयो। भित्रभित्रै मुर्मुरिए। र, सफल कृषक भएरै छाड्ने अठोट लिए उनले।
नेपालमा कृषकलाई किन हेपेको होला? उनलाई दिमागभरि सरको भनाइ र साथीहरूको हाँसो दिमागमा आइरह्यो। आखिर किसान बन्छु भन्दा किन उडाएका होलान्! ३० वर्षअघिको कुरा उनी सम्झन्छन्, …कृषक बन्छु भन्दा सबैले पंगु बनाए। तर मनमा राम्रो मौरीपालक कृषक बन्छु भन्ने थियो।'
आफ्नो इच्छा र इखले एसएलसी सकिनेबित्तिकै उनी मौरीपालनमा लागे। २०३५/३६ सालतिर व्यावसायिक मौरीपालन सुरु गरे। एसएलसी पास भएपछि कोही साथीले विदेश जाने तयारी गरे, कोही साइन्स लिएर डाक्टर, इन्जिनियर बन्ने धुनमा लागे। उनी भने जंगल–जंगल मौरी खोज्न थाले। …जता गए पनि मौरी पो पाइन्छ कि भन्ने लाग्थ्यो,' उनी भन्छन्, …रुख र भीर पखेरा चाहर्दै हिँड्थेँ।'
त्यतिबेला परिवारसँगै बाँसबारी बस्थे उनी। बुबाले छोरालाई सरकारी जागिर खुवाउन राम्रो कलेज पनि भर्ना गरिदिए। तर उनी कहिलेकाहीँ मात्रै कलेज जान्थे। परीक्षा दिन्थे। पढाइमा खासै रुचि राख्दैनथे। तैपनि स्नातकसम्म अध्ययन गरे। बुबा सधैं भन्नुहुन्थ्यो, …नचाहिने किराको पछि लाग्छ। पढेर नखाने भो। छोरा बिग्रियो।'
काठमाडौंमा उसबेला अहिलेजस्तो भीडभाड थिएन। चक्रपथ बाहिर त पूरै जंगलैजंगल। त्यसैले बिहान होस् या दिउसो वा बेलुकी सत्याल वन चाहर्थे। कतै मौरी भुनुनु गरेको सुन्यो कि त्यसको पछि लाग्थे। मौरी नबसुन्जेल पछि लागिरहन्थे र बसेको ठाउँ पत्ता लगाएर मात्र घर फर्कन्थे। भोलिपल्ट मौरी थाप्न जान्थे। कतिचोटि त बाँसबारीको मान्छे मौरीको पछि लागेर शिवपुरी पुगेका थिए। …पढ्नतिर ध्यान भन्दा आफ्नो कामप्रति नै झुकाव बढ्न थाल्यो,' आकाशमा मौरी हेर्दै हिँड्दा कतिपटक ठेस लागेर पछारिएको कहानी सुनाउँदै सत्याल भन्छन्, …कतै मौरी देख्यो कि घरमा ल्याएर पालौं पालौं लाग्थ्यो।'
३० वर्षअघि नेपालमा व्यावसायिक मौरीपालक कृषक थिएनन्। महका सोखिनले मात्रै घरमा घार बनाएर मौरी पाल्थे। …मौरी पालेर राम्रो आम्दानी हुन्छ भन्ने थाहै थिएन,' मौरी पाल्नुको उद्देश्य स्पष्ट पार्छन् उनी, …व्यावसायिक मौरीपालन सुरु गर्न नै दुःख गरेको हुँ।'
त्यसो त व्यवसाय गर्न मन मात्रै भएर भएन। सँगै धन पनि चाहियो। सत्यालसँग सुरुमा भनेजति धन थिएन। घरमा मागौं भने गाली खाइने। काम नलाग्ने किराको पछि नलाग भनेर बुबाको करकसो सुन्नुपर्ने।
स्कुल पढ्दा खाजा खान दिएको पैसा जम्मा गर्दागर्दै उनीसँग ५ सय रुपैयाँजति भएको थियो। यसमध्ये ४ सयबाट २ वटा घार किने। उक्त घारमा वनबाट मौरी ल्याएर पाले। भन्छन्, …घार किनेको कति दिनसम्म त मौरी नभेटाएर खाली बसे। पछि वनबाट मौरी ल्याएर हाले।'
उनले घरमा मौरी पालेको देखेपछि वरपरका छिमेकीले पनि पाल्ने मन गरे। र उनीसँग घार किने। उनले ८ सयमा दुइटै घार बेचिदिए। र, उनले चाहिँ ८ सयमा ४ घार मौरी किने। भन्छन्, …४ सयले २ घार किने, ८ सयले ४ वटा, १६ सयले ८ वटा घार। यही अनुपातमा मौरीको संख्या बढाउँदै लगेँ।'
घरमा मौरी राख्दा बाबुको कचकच निकै सहनुपरेको याद उनलाई अझै ताजा छ। उनी भन्छन्, …तैंले गरिखाँदैनस् भनेर सधैंजसो गाली खानुपर्थ्याे।' गाली गरे पनि उनी त्यसलाई त्यति धेरै महŒव दिँदैनथे। कारण एउटै थियो, आफ्नो उद्देश्य पूरा गरिछाड्ने। सबैलाई मौरी पालेर पनि कमाइ गर्न सकिन्छ। विदेश जानु पर्दैन भन्ने सिकाउनु। त्यसैले उनले मौरीपालनलाई निरन्तरता दिए। भन्छन्, …म सही बाटोमा लागेको छु भन्ने थियो। जसले जे भने पनि म आफ्नो व्यवसाय छाड्नेवाला थिइनँ।'
घारको संख्या बढाउँदै लगे तर त्यसलाई राख्ने ठाउँको समस्या र घरमा किचकिच भने उत्तिकै थियो। भन्छन्, …बीस वर्ष घरमै जसोतसो पालेँ। मौरीको घार संख्या बढ्दै गएपछि बुढानिलकण्ठमा सारेँ।' बुढानिलकण्ठ सरेको १० वर्ष भयो।
...
२ घारबाट मौरी पाल्न सुरु गरेका सत्यालसँग अहिले मेलिफेरी जातको २ सय घार मौरी छ। मौरी पालेको झन्डै बीस वर्ष त उनलाई परिवार र अरूलाई व्यवसायबारे बुझाउँदैमा ठिक्क भयो। पैसा पनि त्यति धेरै कमाएनन्। …पहिले पैसा कमाएन भन्नेहरू अहिले प्रशंसा गर्न थालेका छन्,' उनी सफलताको कथा सुनाउँदै भन्छन्, …पैसा कमाउन विदेश होइन स्वदेशमै पनि सकिन्छ।'
मौरीले राम्रो आम्दानी दिन थालेकोचाहिँ १० वर्ष भयो। त्योभन्दा अघि नाफा थिएन। मौरीलाई नै स्याहारसुसार गर्दै ठिक्क थियो। गार्डेन अपियरी नामको फाम खोलेर उनले व्यावसायिक मौरी सुरु गरेका छन्। २ सय घार मौरीबाट मासिक १० लाख कारोबार गर्ने उनी बताउँछन्।
अहिले उनले उत्पादन गरेको मह काठमाडौंमा मात्र खपत हुन्छ। नेपालभर र विदेशमा समेत महको माग धेरै भएको उनी बताउँछन्। …माग छ तर अझै उत्पादन गर्न सकिएको छैन,' उनले भने, …प्रतिकेजी ३ सय रुपैयाँमा बिक्री हुन्छ।' एक घार मौरीले वर्षमा ६० किलो मह उत्पादन गर्ने उनले बताए।
व्यावसायिक मौरीपालक मात्रै होइन उनलाई अहिले नेपालमा पहिलो मौरी चराउने किसान भनेर पनि चिनिन्छि। उनी तराई र पहाडका विभिन्न जिल्लामा मौरी चराउन लिएर जान्छन्। अहिले डेढसय घार मौरी चराउँदै उनले दाङ पुर्‍याएका छन्। एकचोटि चराउन लैजाँदा चार लाख रुपैयाँ खर्च हुन्छ। असोजदेखि बर्खा नलागुन्जेल मौरी चराइन्छ। भन्छन्, …मौरीको घारलाई ट्रकमा हालेर लगिन्छ। अनि जहाँ फूल हुन्छ, त्यहाँ लगेर चराइन्छ।'
यसरी मौरी चराउन जाँदा कति ठाउँमा त्यहाँका किसानले विरोध गरेको उनी सम्झन्छन्। यस्तै ३/४ वर्ष अघिको कुरा। चितवनको शुक्रनगरमा तोरी फुलेको मौसम थियो। काठमाडौंबाट मौरी चराउन त्यहाँ लगे।
मौरी चराउन छोडेर उनी काठमाडौं आउँदै थिए। बाटैमा फोन आयो, …स्थानीयवासीले विरोध गरेर मौरी हटाउन दबाब दिएका छन्।' गाउँलेले भनेछन्, …यसरी मौरी ल्याएर छोड्दा बाली बिग्रन्छ। नत्र सबै मारिदिन्छौं।'
बीचबाटोबाटै फेरि चितवन हानिए उनी। पुगेर त्यहाँका किसानलाई मौरीले बालीलाई हानी होइन फाइदा पुर्‍याउँछ भनेर बुझाएपछि चराउन दिएछन्। …मौरीले फूल फुल्ने मौसममा परागसेचनमा मद्दत पुर्‍याउँछ। झन् उत्पादन बढाउँछ,' हाँस्दै भन्छन्, …अहिले त्यो गाउँ मौरीपालन पकेट क्षेत्र भएको छ।'
फूलअनुसारको स्वादमा मह उत्पादन गर्ने उनले ५ किसिमको मह उत्पादन गर्दै आएका छन्। फापर, तोरी, च्युरी, रुदिलो र जामुनोको स्वादमा मह बेच्दै आएका छन्। ३० वर्षसम्म मौरीको स्याहारसुसार गर्दै आएका सत्यालले मौरीलाई निकै नजिकबाट बुझेका छन्। कस्तो मौरीले राम्रो मह उत्पादन गर्छ, कस्तो खराब हुन्छ, के खान दिनुहुन्छ, के हुन्न? उनी भन्छन्, …मौरीको वंश सुधार गर्दै लगे राम्रो मह उत्पादन हुन्छ।'
मौरी पालनसम्बन्धी उनले न कतै तालिम लिएका छन् न त कतै अध्ययन नै। आफैंले काम गर्दागर्दै व्यावहारिक ज्ञान पाए। भन्छन्, …१० दिन भारतमा गएर तालिम लिएँ। अरू आफैंले काम गर्दै जाँदा सिकेँ।'
...
मौरीपालनसँगै उनले घार उत्पादन र खरायो पालन पनि सुरु गरेका छन्। व्यावसायिक मौरी पाल्नेहरू बढ्न थालेपछि घारको खपत बढेको उनले बताए। एउटा घारलाई २२ सय पर्छ। यदि मौरीसहित किन्ने हो भनेचाहिँ ६ हजार रुपैयाँ पर्ने उनले बताए।
यसैगरी खरायो व्यवसाय गरेको दुई वर्ष भयो। काठमाडौंमा स्वस्थ मासु पाउन छाडेपछि खरायो पालन सुरु गरेको उनले खुलाए। …खसी, बुंगुर, राँगा, कुखुराको मासु त्यति स्वस्थकर हुँदैन,' उनी भन्छन्, …कुखुरामा बर्ड, बंगुरमा स्वाइन फ्लु डर लगायत रोगको डर हुन्छ। खरायोमा हुन्न।' उनका अनुसार खरायोको मासुमा बोसो कम, कोलस्ट्रोल कम, प्रोटिन बढी र मुटुको रोगीले समेत खान हुन्छ।
लगभग ४ सय खरायो पालेका उनले हप्तामा एक चोटि मात्र मासु बिक्री गर्छन्। उत्पादन कम र माग धेरै भएकाले एक चोटि मात्रै बेच्नुपरेको गुनासो उनको छ।
मौरी र खरायो व्यवसाय गरेपछि २० जना प्रत्यक्षतः रोजगार भएका छन्। स्नातक तह पूरा गरेका सत्याल विदेशभन्दा यहीँ नै बढी आम्दानी भएको बताउँछन्। उनको भनाइमा उनीसँग अहिले चार करोडको सम्पत्ति छ। …विदेशमा गएर पसिना बगाउनुभन्दा आफ्नै देशमा बगाउनु राम्रो,' सत्याल भन्छन्, …साहस बटुलेर काम सुरु गर्नुपर्छ, विदेश गइरहनु पर्दैन।'

No comments: