Tuesday, August 16, 2011

सुन्ने किताब


प्लस टु, स्नातक र स्नातकोत्तर तहको पाठ्यपुस्तक, गेस पेपर र नोटलाई अडियो बुक बनाइँदै

राष्ट्रिय अपांग पुनर्स्थापना समाजको कार्यालयका कम्प्युटर साइबर ट्रेनिङ सेन्टर संयोजक सागर प्रसाईं फेसबुक चलाउँदै थिए। फेसबुकलाई माध्यम बनाएर थुप्रै समूहले उनको वालमा सहयोगको याचना गरे। कोहीले रगत चाहियो, कोही बाढीमा परे, कोही पैसा जुटाउन नसकेर अस्पतालमा अलपत्र परे, सहयोग गर्नुपर्‍यो भन्दै उनको वालमा थुप्रैले पोस्ट गरे।
त्यतिमात्र होइन हाइटीमा लागेको झाडापखाला नियन्त्रणका लागि होस् या जापानमा गएको शक्तिशाली भूकम्प वा लिबियामा भएको आन्दोलन नै किन नहोस्, फेसबुक वालमा लेखिएको सूचनाले निकै सहयोग जुटेको प्रसाईंलाई थाहा थियो।
यसो हो भने नेपालमा रहेका दृष्टिविहीनका लागि अडियो बुक तयार पार्न पनि फेसबुक उपयोग किन नगर्ने? प्रसाईंले साउन ३ मा लेट्स बिल्ड अडियो बुक्स फर भिजुअली इम्पेयर्ड पिपल नामको समूह खोले। र, सहयोगका लागि वालमा लेखे–
हामी सबैलाई थाहै भएको कुरा हो, नेपालमा दृष्टिविहीन विद्यार्थीको अवस्था निकै दयनीय छ। पढ्नका लागि ब्रेलमा किताब उपलब्ध छैनन्। साथीभाइ वा परिवारका सदस्यलाई किताब पढ्न लगाएको भरमा परीक्षा दिन बाध्य छन् उनीहरू। त्यसैले दृष्टिविहीन विद्यार्थीका लागि स्नातक तहमा पढाइ हुने विषयको अडियो बुक बनाउने हाम्रो योजना छ। सुरुमा धेरैले पढ्ने केही किताब, नोट, गेसपेपरको अडियो बुक तयार गरेर निशुल्क वितरण गर्दैछौं। पछि सबै तहका पुस्तकलाई अडियो बुक बनाएर बाँडिनेछ। तपाईं पनि अडियो बुक तयार गरेर दृष्टिविहीनका लागि सहयोग गर्न सक्नुहुनेछ।
समूह खोलेर वालमा सूचना पोस्ट गरेको १ घन्टा बित्न नपाउँदै १० जनाभन्दा बढीले सहयोगको प्रतिबद्धता जनाए। प्रसाईं भन्छन्, …सहयोग गर्छु। प्रस्ताव राम्रो छ भनेर समूह मनपराउने दिनकै बढे।' २३ दिनमा ५ सय ३० जनाभन्दा बढी मानिसले समूहलाई लाइक गरेका छन्।
…दृष्टिविहीनका लागि श्रव्य किताब बनाउँ' भन्ने समाजको कार्यक्रम अन्तर्गत सुरु गरिएको यो अभियानमा फेसबुकमार्फत १ सयभन्दा बढी स्वयंसेवक पुनर्स्थापना समाजको कार्यालय आइसकेका छन्। …जनशक्ति खोजेर स्टुडियोमा गएर रेकर्ड गर्न हामीसँग यथेष्ट पैसा थिएन,' प्रसाईं भन्छन्, …निशुल्क सहयोगका लागि फेसबुक प्रयोग गर्‍यौं।'
यसरी अडियो बुक तयार गर्ने समाज पहिलो होइन। अरू संस्थाले स्कुल लेभल र उपन्यासलाई अडियो बुकमा उतारेका छन्। तर कलेजस्तरको किताबलाई डिजिटलाइज्ड गर्दैछ समाज। दृष्टिविहीनले पनि सुनेर किताब पढ्न सकून् भनेर कार्यक्रम सुरु गरिएको प्रसाईं बताउँछन्। भन्छन्, …किताब नपाएर कति दृष्टिविहीन बीचमै पढाइ छोड्न बाध्य थिए। अब सुनेर पढ्दा राहत मिल्छ।'
यो कार्यक्रम सुरु गर्दा किताब किन्ने पैसा जुटाउन पनि हम्मेहम्मे परेको थियो। तर समाजका केही साथी मिलेर ६ हजार रुपैयाँ जम्मा गरेर काम सुरु भयो। ६ हजार रुपैयाँले ७० वटा किताब किनेको र त्यसैलाई अडियो फर्म्याटमा ढालिएको प्रसाईं बताउँछन्।
दृष्टिविहीनले अरूले जस्तै किताब पढ्न सक्दैनन्। उनीहरूले पढ्ने ब्रेल किताब छपाउनदेखि किन्नसमेत महँगो पर्छ। त्यसैले सबै किताब ब्रेलमा नछापिएको हो। प्रसाईं भन्छन् …अहिले ८३ वटा किताबलाई अडियो फर्म्याटमा लगिसकिएको छ।' प्लस टु, स्नातक र स्नातकोत्तर तहको गेस पेपर, किताब र नोटलाई अडियोमा ढालिएको जानकारी प्रसाईंले दिए।
मानविकी र शिक्षाशास्त्र संकायमा पढाइ हुने किताबको मात्र अडियो बुक बनाइएको छ। अरू संकाय दृष्टिविहीन विद्यार्थी नभएकाले यी दुई संकायको मात्र अडियो बुक तयार गरिएको प्रसाईं बताउँछन्।
कार्यालयका जागिरेदेखि विद्यार्थी, कलेजका प्रोफेसरसम्म सहयोग गर्न आएको उनले बताए। किताब पढ्दा बोली प्रष्ट, शब्दको सही उच्चारण र मिठो भए पुग्छ। प्रसाईं भन्छन्, …सेवा गर्छु भनेर आउनेलाई रेकर्ड गर्ने तरिका, बोल्ने तरिकाबारे सिकाउँछौं।' सहयोगका लागि समाजको कार्यालय, अनामनगरमा सम्पर्क गर्न सकिनेछ।
यसरी रेकर्ड गर्दा किताबको शीर्षक, लेखक, पन्ना, कुन विषय, कमा, पूर्णविराम उद्धरणलगायत सबै संकेत भन्नुपर्छ। यसले सुन्नेले सही अर्थ लगाएर बु‰न सक्छन्।
बिएस्सी नर्सिङ सकेर स्वयंसेवीका रूपमा काम गर्न आएकी अनुराधा ज्ञवालीले भनिन्, …आफ्नो तर्फबाट अरूलाई निस्वार्थ सहयोग गर्न पाउँदा खुसी लागेको छ।' उनले शिक्षा संकायको एउटा पुस्तक रेकर्ड गरिरहेकी छन्। उनका अनुसार २ सय पेजको किताबलाई रेकर्ड गर्न लगभग २ महिना लाग्छ।
अहिले कलेज लेभलको किताब मात्र रेकर्ड गरेको समाजले अब मासिक पत्रिका, उपन्यास पनि रेकर्ड गर्ने बताएको छ।
अहिले रेकर्ड गरिएका किताबमध्ये नेपाली भाषाको भन्दा अंग्रेजी किताबलाई बढी महŒव दिइएको छ। …अंग्रेजीको जमाना छ। त्यसैले अलि बढी प्राथमिकतामा राखेर किताब रेकर्ड गर्दैछौं,' प्रसाईंले भने। समाज नेपाल नेत्रहिन संघ कास्की, विभिन्न ठाउँका पुस्तकालय र राष्ट्रिय दृष्टिविहीन मिलेर शिक्षक सेवा आयोग, लोकसेवा आयोगको अडियो किताब बनाउने तयारी चल्दैछ। यसले गर्दा दृष्टिविहीन पनि सरकारी काममा प्रवेश गर्न सहयोग पुग्नेछ।
के हो अडियो पुस्तक
किताबमा लेखेका कुरा पढेर कम्प्युटर, सिडी, क्यासेट, मोबाइल वा अन्य कुनै डिजिटल माध्यममा रेकर्ड गरेर सुन्न सकिने गरी बनाइएको अडियो फाइललाई अडियो पुस्तक भनिन्छ। यसले दृष्टिविहीनले आफूलाई चाहिने किताब सुनेर पढ्न सक्छन्।
कसरी सहयोेग गर्ने
यदि तपार्इं अरूका लागि साँच्चै केही गर्न चाहनुहुन्छ र तपार्इंको घरमा कम्प्युटर छ भने त्यहाँ अडियो रेकर्ड गर्न सकिने कसुल एडिट वा अडब अडिसन नामको सफ्टवेयर माइक्रोफोनको सहायताले रेकर्ड गर्न सकिन्छ। तपार्इंले कमसेकम आधा वा एउटा सिँगै पुस्तक पढेर शिक्षाबाट बन्चित हुन लागेका दृष्टिविहीनलाई सहयोग गर्न सक्नुहुनेछ।

2 comments:

SumAn said...

la la bhai dams story 6. keep it up.

ranjit said...

good going, keep on postin