Thursday, October 13, 2011

माछा मिठो चिसापानीको

चिसापानी पुगेकाहरु माछाको स्वाद नलिई फर्कंदैनन् 

होटलभरि आलो, तारेको र सुकेको माछा झुन्ड्याइएका। तिनै होटलका वरपर ट्रक, सार्वजनिक गाडी, मोटरसाइकल र निजी सवारी साधन लर्कनै रोकिएको छ। जताको होटलमा गए पनि सुकेको  माछाको बास्ना आइहाल्ने। कतिलाई यो बास्ना मिठो लाग्छ। र, होटल छिर्छन्। कति नाक खुम्च्याउँदै जान्छन्। कर्णाली चिसापानीको विशेषता भनेकै यही हो–आलो, सुकेको र तारेको माछाको खाँटी स्वाद! 

कारमा हुइँकिने हुन् या बाइकमा गुड्ने। साधारण हुन् या ठूलाबडा। नेपाली हुन् या विदेशी। पूर्व–पश्चिम राजमार्ग हुँदै जाने जो कोही चिसापानीको माछा नचाखी हिँड्दैनन्। सात वर्षदेखि चिसापानीमा होटल लुक चलाएर बसेका शशीलाल लिगन भन्छन्, …माछा र भात खान भनेरै टाढा–टाढाबाट मानिस आउँछन्।' उनका अनुसार २०५० सालमा कर्णाली पुल बनेदेखि यहाँ व्यवसाय सुरु भएको हो।
चिसापानी कैलाली जिल्लामा पर्छ। मध्य तथा सुदूरपश्चिम विकास क्षेत्र छुट्याउने कर्णाली नदीको किनारमै छ चिसापानी। लगभग ३० वटा होटल छन् यहाँ। बाह्रै मास कर्णाली नदीको पानी चिसो हुने हुँदा यहाँ पाइने माछा स्वादिलो हुने होटल व्यवसायी बताउँछन्। प्रकाश होटलकी सञ्चालक भन्छिन्, …चिसो पानीका माछा तिखर हुन्छन्। गर्मीका खल्लो हुन्छन्। त्यसैले ग्राहक झुम्मिन्छन्।'
पूर्व–पश्चिम राजमार्गमा यात्रा गर्ने हुन् वा चिसापानी नजिकका बस्तीमा बस्नेहरू, कर्णालीका माछा खाएर धित मार्छन्। माछा जति खायो उति खाउँ–खाउँ लाग्छ। लिगनका अनुसार एकै व्यक्तिले तारेको माछा २ किलोसम्म खान्छन्। भन्छन्, …माछापारखीले त धित नमरुन्जेल खान्छन्।' यहाँ तारेको माछा प्रतिप्लेट ८० रुपैयाँ पर्छ। 
त्यसो त यहाँको माछा खाने मात्र होइन, कोसेलीका रूपमा आफन्त र घरमा समेत लगिन्छ। काठमाडौं, भरतपुर, बाँके, बर्दिया, नेपालगन्ज, धनगढी, अत्तरियाका यात्रुले किनेर लैजान्छन्। एक दशकदेखि माछा व्यवसाय गर्दै आइरहेकी मनमती ओलीले भनिन्, …स्थानीय मान्छेकहाँ भन्दा कर्णालीका माछा बाहिरतिर धेरै जान्छ।'
कर्णाली नदीबाट माछा मारेर ल्याउने भएपनि बर्दिया राष्ट्रिय निकुन्जको पश्चिम हुँदै दक्षिण बग्ने कर्णाली नदीको क्षेत्रमा भने माछा मार्न बर्दिया निकुन्ज प्रशासनले रोक लगाएको छ। यसले गर्दा पुर्खौंदेखि माछा मार्दै आएका राजी, सोनाहा समुदायका व्यक्ति र बादी युवा नदीको टाढा–टाढा पुगेर माछा मार्न बाध्य छन्। यहाँ दिनमा लगभग सय किलो माछा बिक्री हुन्छ।
यहाँ कलोज, गर्दी, सहर, जलकपुर, ठे, बाम, पठेल, सुजा बैखा, झिल्के, बाघे लगायत झन्डै एकदर्जन प्रजातिका माछा पाइन्छ। कहिलेकाहीँ त डल्पि्कनसमेत देखिन्छ। दुईतीन घन्टा माछा मार्ने हो भने पनि दिनभरि काम गरेबराबर पैसा कमाइने स्थानीय बताउँछन्।
माछाका लागि ख्याति कमाएपछि चिसापानीमा आन्तरिक पर्यटकसमेत बढेका छन्। बर्दिया र कैलालीलाई जोड्ने पूर्व–पश्चिम राजमार्ग खण्डको कर्णाली नदीमाथिको पुल नेपालकै नमुना मानिन्छ। यो ५ सय मिटर लामो छ। पुल हेर्न भनेर पनि वरपर सहरका मानिस आउने लिगन बताउँछन्।
यस्तै रमाइलो गर्न नदी किनारमै पिकनिक स्थल छ। तपाईंसँग समय छ भने बोटिङको मजा लिन सक्नुहुन्छ। बोटिङ गरेको प्रतिघन्टा एकजनाले ५० रुपैयाँ तिर्नुपर्छ। पिकनिकको बहानासँगै चिसापानीका माछाको स्वाद त लिन पाइन्छ नै, उखर्माउलो गर्मीका बेला पौडीको आनन्द समेत लिन सकिन्छ।
माछासँगै खानाको लागि पनि प्रख्यात छ चिसापानी। चिसो ठाउँ र चिसो पानीमा पकाएको खाना स्वादिलो हुन्छ भन्ने विश्वास अनुसार यात्रुहरू खाना खान आउने व्यापारी बताउँछन्। माछाभात खाएको १ सय ५० रुपैयाँ पर्छ। सादा खानाको ८० रुपैयाँ। यसैगरी ड्राई माछा ल्याउने हो भने हजार रुपैयाँ प्रतिकिलो पर्छ भने आलो ९ सय। 
चिसापानी सजिलै पुग्न सकिन्छ। नेपालगन्ज वा अत्तिरियाबाट त्यही बाटो हुँदै गुड्ने गाडी प्रसस्तै पाइन्छ। नेपालगन्जबाट बस चढ्दा तीन घन्टामै पुगिन्छ। अत्तरियाबाट दुई घन्टामा। रात बिताउन खोज्नेहरू स्थानीय होटलमा बस्न सक्छन्।

No comments: