Thursday, April 21, 2011

डरके आगे जित...


तपाईंले त्रिशुली नदीमा र्‍याफ्ट पल्टिएर सात मिनेट पानीको तीब्र बहावबीच उकुसमुकुस हुँदै बाहिर उत्रिएका मान्छेका खुला आँखा र अनुहारको रंग देख्नुभएको छ? डर त्यस्तै हुन्छ।

…डरको रंग कस्तो हुन्छ? धुलोको रंगजस्तो, आकाशे, पहेँलो वा हल्का मसीजस्तो कालो? ... तपाईंले कहिल्यै समुद्र वा नदीको लहरले अचानक किनाराको बालुवामा ल्याएर पछारिदिएको माछाको खुला आँखा देख्नुभएको छ? मर्दै गरेको माछाको उदाङ्गो आँखा ...! त्यस्तो रंग ...!'
सहकर्मी यज्ञसको अनुवादमा भर्खरै प्रकाशित उदयप्रकाशको लघु उपन्यास …मोहनदास' मा डरको पहिचान खुलाउन खोजिएको छ। डर कस्तो हुन्छ?
तपाईंले त्रिशुली नदीमा र्‍याफ्ट पल्टिएर सात मिनेट पानीको तीब्र बहावबीच उकुसमुकुस भएर बाहिर उत्रिएका मान्छेका खुला आँखा र अनुहारको रंग देख्नुभएको छ?
मैले देखेको छु। हो, डर त्यस्तै हुन्छ। मैले देखेको डर।
•••
धादिङको कृष्णभिरदेखि चितवनको कुरिनघाटसम्म २३ किलोमिटर जलयात्रा गर्ने तयारीमा छौं हामी।
जेठको दोस्रो शनिबार। हामी भेला भएका छौं कृष्णभिरको त्रिशुली नदी किनारमा — म, नागरिक सहकर्मीहरू तारा चाम्लिङ, सन्तोष शर्मा, सुरेन्द्र पौडेल, अजित बराल र सन्तोष न्यौपाने। गंगा चौलागाई र योगेन्द्र खतिवडा पनि हामीसँगै छन्।
अघिल्लो रातको झरीले नदी धमिलोे छ। पानीको बहाव बढेको छ। तीब्र बहावमा र्‍याफ्टिङको छुट्टै मजा आउँछ।
…सबैले लाइफज्याकेट र हेलमेट लगाउनुस्,' र्‍याफ्टिङ गाइडहरू हिमाल र उत्तर गुरुङ सिठ्ठी फुक्दै भन्न थाल्छन्।
हिमाल हामीलाई र्‍याफ्टिङको …ओरियन्टेसन' पनि दिन्छन्। …सबभन्दा पहिला बुढी औंला तल पारेर प्याडल समात्ने। (गाइडले) फरवार्डभन्दा प्याडल अगाडि खियाउने। फास्ट फरवार्ड भन्दा जोडले खियाउने। स्टप भने रोकिहाल्ने। होल्डअन भने प्याडल माथि उकाल्ने। लेफ्टफरवार्ड भन्दा बायाँ बसेेकाले प्याडल खियाउने र दायाँलेे पछाडि। र, राइट फरवार्ड भन्दा यसको ठिक उल्टो गर्ने।'
हामी तयार छौं, साहसिक जलयात्राका लागि। मन रोमाञ्चित छ। थोरै डर, थोरै कौतुहल, अलिकति उत्तेजना।
…कस्तो लाग्दैछ?,' म प्याडलमा च्यापु अड्याएर बसेकी तारालाई सोध्छु।
…एकदमै एक्साइटिङ।'
उनी पहिलोचोटि र्‍याफ्टिङ गर्दैछिन्। उनले नभने पनि एक किसिमको तनाव अनुहारमा साफ झल्किरहेको छ।
…चियर्स!'
एकछिन, हामी बियर वा ह्विस्कीका गिलास जुधाइरहेका छैनौं। यो त र्‍याफ्टिङ सुरू भएको संकेत हो। हामी सबै आ–आफ्नो प्याडल झर्‍याप्प जुधाएर फेरि भन्छौं,
…चियर्स।'
र्‍याफ्ट बढ््न थाल्छ। मध्याह्नको घामलेे सबको जीउबाट चिटचिट पसिना छुुटिरहेको छ। म त्रिशुलीको पानीमा हात चोबल्छु। आहा कति चिसो!
…आत्था!,' तारा चिच्याउँछिन्।
…पोल्यो?'
…हैन चिसो भयो नि।'
…चिसो हुँदा आत्था भन्ने कि आच्छु भन्ने।'
हाम्रो हाँसोले र्‍याफ्ट डग्मगाउँछ।
•••
अजित पौडीका सौखिन रहेछन्। कतिखेर उत्तरले अनुमति देलान् र नदीमा फाल हालुँला भनेर पर्खिरहेका छन्।
पानीको बहाव कम भएको ठाउँमा पुगेपछि उनले अनुमति दिए, …तपाईंहरू पौडन सक्नुहुन्छ।' अजित प्याडल छोडेर नदीमा हामफल्छन्। सुरेन्द्र, सन्तोष न्यौपाने र म उनलाई साथ दिन्छौं।
…अब पहिलो र्‍यापिड (तीब्र बहाव) आउँदैछ,' उत्तर हामीलाई सतर्क गराउँछन्। यो र्‍यापिडको नाम रहेछ, लेडिज डिलाइट। निकै ठूलो छ यो छाल।
यस्ता बहाव छिनछिनमा आइरहन्छन्। कतिको नाम जुरिसकेको छ, कतिको जुराउन बाँकी। सानाठूला झण्डै एक दर्जन बहाव पार गर्दा प्रत्येकचोटि हामी र्‍याफ्टसँगै आफ्नो ज्यान मर्काइरहेका हुन्छौं।
अपसेट– एक, अफसेट– दुई। यी बहाव निकै तीब्र छन्। हामी उत्तेजनाले चिच्याउँछौं। यस्तो लाग्छ, नदीबाट पानीको ज्वारभाटा उठिरहेछ। हामी निथु्रक्क भिज्छौं।
ए... ए... ए...
लौ बर्बाद भो! अजित छालमा खस्छन्। धन्न केही भएन। पौडन सिपालु छन् उनी। एकछिन त हामीलाई सास घाँटीमै अड्किएजस्तो भयो।
सरप्राइज र्‍यापिडले हामीलाई खासै सरप्राइज दिँदैन। कराउँदा–कराउँदै मेरो स्वर सुक्नै लागिसक्यो। त्यसमाथि योेगेन्द्र कहिलेे गिरिजा, कहिले ज्ञानेन्द्र र कहिले माधव नेपालको क्यारिकेचर गरेर हँसाएका हँसायै छन्।
•••
नदी अहिले शान्त छ। हामी चितवनको फिस्लिङ बजार तल भिरको खोरियामा लगाएकोे खेती हेर्दै गफिइरहेका छौं। …मान्छेले कहीँ बाँकी राख्ने भएनन् जमिन,' भिरको खेती देखाउँदै सुरेन्द्र भन्छन्।
एकैछिनमा र्‍याफ्ट फेरि यताउता डोल्न थाल्छ। …अबचाहिँ डेन्जर र्‍यापिड आउँदैछ है,' उत्तर हातको इसाराले र्‍यापिडको चाल सम्झाउँछन्। …भित्ताबाट ठूलोे तरंग आउँछ। चारैतिरबाट छालले पेलेर ल्याउँछ। बीचमा बोेट हुन्छ। पल्टन पनि सक्छ। कोही नआत्तिनुहोला।'
हामी …एक्साइटेड' छौं। कताकता डर पनि छ। र्‍यापिड सुरू भएको संकेत गर्दै उत्तर कराउँछन्, …फास्ट फरवार्ड, फास्ट फरवार्ड'।
हामी भएभरको बल लगाएर प्याडल खियाउँछौं। छिटोछिटो खियाउँदा र्‍याफ्ट छालसँगै जोडले तलमाथि गर्न थाल्छ।
…होल्ड अन,' उत्तर भन्छन्।
हामी प्याडल खियाउन बन्द गर्छौं। तर नदीको त्यो तीब्र बहाव रोक्ने हाम्रो सामर्थ्य छैन। केही सोंच्नै नभ्याउँदै छालले र्‍याफ्ट हुत्याइदिन्छ।
र्‍याफ्ट उल्टिन्छ। हामी त्यसको मुनि हातखुट्टा यताउता फालिरहेका छौं। र्‍याफ्टले सबैलाई थिचेको छ। न पौडिएर बाहिर निस्कन सक्छौं, न र्‍याफ्ट सोझो पार्न सकिन्छ। सबैको होसहवास गुम छ। खाली स्वरमात्र सुनिन्छ। भयभीत स्वर।
हामीलाई सास फेर्न गाह्रो भइरहेको छ। एकछिनमा फुत्किन नसके ज्यान बचाउन मुस्किल छ। यति हुँदा पनि गाइड उत्तर हामीलाई सान्त्वना दिइरहेकै छन्, …नआत्तिनुस्् केही हुन्न।'
र्‍याफ्टमुनि म उनको अनुहार देख्दिनँ। उनी आफै पनि र्‍याफ्टमा चेप्पिएका छन्।
म, सन्तोष न्यौपाने र तारा डोरीमा झुण्डिएर कसैले बचाउन आइदेला भन्ने आसमा छौं। आफै त केही गर्ने अवस्था छँदैछैन। मनमनै भगवानको नाम जप्छु। यस्तोबेला सबभन्दा बढी याद आउने भगवानै हो। ताराचाहिँ …ममी' लाई बढी सम्भि्करहेकी छन्।
कोही पानीमा डुुबिहाले नदीमा जलपरीजस्ता देखिने कायकहरू बचाउन आउँछन् भन्ने सुनेको थिएँ। खोई कहाँ गए
ती? अघिअघि थिए, निकै अघि पो पुगेछन् कि? कि बाहिर र्‍याफ्ट सुल्टाउन खोज्दैछन्?
हामी सात मिनेटजति पानीभित्रै चिच्याइरहन्छौं। सँगै हिँडेको अर्का
र्‍याफ््टका गाइड हिमाल नायक निखिल उप्रेेतीको स्टाइलमा हाम्रो र्‍याफ्टमाथि हाम्फाल्छन्। बाँच्ने आसा पलाउँछ।
…ल अब सबैले डोरी समात्न छोड्नुस,' र्‍याफ्टमाथि उक्लिएका हिमाल भन्छन्। अघिदेखि डोरी समाएर तैरिरहेका छौं हामी। यो पनि छाडे त बगाउला नि? मन डराउँछ। तैपनि, गाइडले भनेको मान्नैपर्‍यो। हामी डोरी छाडिदिन्छौं।
र्‍याफ्ट सुल्टिन्छ। न्यौपाने नजिकै भएकाले डोरी समाउन भ्याइहाल्छन्। मलाई भने नदीले बगाएर अलिपर पुर्‍याउँछ। उनी डोरीको भर लिएर हात तन्काउँदै मलाई तान्न खोज्छन्। म उनको सहारामा नदीको बहावविपरीत आफूलाई ठेल्न थाल्छु।
…हे भगवान् बल्ल बाँचियो,' डोरीमा हात पुर्‍याएपछि अनायासै मेरो मुखबाट निस्कन्छ।
गाइड पालैपालो सबैलाई र्‍याफ्टमा तान्छन्। बाहिर उत्रेपछि हामी सबै एकअर्कालाई हेर्छौं।
डर भनेको के हो? अहिले हाम्रो अनुहारमा जुन भाव उत्रिएको छ, त्यही हो डर। यस्तै हुन्छ डरको रंग। अलिकति रातो, अलिकति फुस्रो, अलिकति फुंग उडेको।
…जीवनको यस्तो आनन्द कमैले लिन पाउँछन्,' धन्न बचेर आएका हामी फुर्तिसाथ छाती ठोक्छौं। तर जसले जे भने पनि मलाई थाहा छ, मानसिक रूपमा हामी सबै घाइते छौं।
•••
डर भनेको यही हो।
ज्यानको जोखिम मोलेर साहसिक यात्रामा निस्कनुस्, त्यहाँ तपाईंको साक्षात्कार हुन्छ डरसँग। दिमाग पूरै शून्यमा पुगेजस्तो। रक्तसञ्चार बन्द भएजस्तो, दिमागका तन्तुहरूले काम गर्न छोडेजस्तो।
डर भनेको यही हो।
यो भाव विस्तारै अनुहारबाट हराउँदै जान्छ। दिमाग
छ्याङ्ग भएजस्तो। अनुहार शान्त भएजस्तो। घन्टौं मेडिटेसन गरेर आँखा खोलेजस्तो। साहसिक यात्राको मज्जै यही हो।
डरलाई जित्दाको त्यो क्षण तपाईं जीवनकै सर्वाधिक
सुखानुभूति गर्नुहुन्छ।

1 comment:

SumAn said...

bhai yo heading nepali ma transalte gare ra daar bhanda aagadi jeet 6 rakha yar