Monday, April 18, 2011

स्वादिलो खाजा घर


गैह्रीधारा चोकबाट पूर्वतिर १० पाइला अघि बढाउनुस, देव्रेतिर देखिन्छ खरानी रंगको तीन तले घर। त्यसको बाहिर देख्नुहुनेछ एउटा बोर्ड।
त्यसमा लेखिएको छ–खाजा घर– १। सिसाको ढोकाबाट भित्र छिर्ने वित्तिकै देखिन्छ दाहिनेतिर डाइनिङ हल र देव्रेतिर काउन्टर। काउन्टरको पछाडी भित्तामा सजाइएका छन् मदिराका बोतलहरु। डाइनिङ हलको भित्तामा चाहिँ चित्रहरु टाँगिएका छन्।
तपाई मेचमा बस्ने वित्तिकै खाजाघरको मेनु पल्टाउन सक्नुहुन्छ। मेनु हेरिसकेपछि रातो टिसर्ट र कालो पाइन्टमा सजिएका वेटर अर्डर लिन आउँछन्। खाना खाने की खाजा या ड्रिङ्स? रोजाइ तपाईको। …सर हजुर के लिने?' मुस्कुराउँदै वेेटर केओटी (किचेन अर्डर टिकट) काट्छन्।
दश मिनेटमै आइपुग्छ अर्डर गरिएको परिकार। …हामी धेरै बेर कुराउदैनौं', खाजा घरका इन्चार्ज श्याम थापा भन्छन् …चाडै सर्भ गर्छाै।' आरामदायी सोफामा बसेर खाने भए डाइनिङ रुम उपयुक्त छ। पलेँटी कसेर वा कुर्सीमा बसेर खाने भए पछाडीपट्टिको तीन तले घर। एक्लै र श्ाान्त वातावरण चाहिएको छ भने गार्डेनमा बस्नुस। माथिल्लो तलामा हुनुहुन्छ भने बसी बसी अर्डर गर्न सक्नुहुनेछ। टेवुलमाथिको घण्टी थिच्नासाथ अर्डर लिन आइपुग्छन् वेटर।
डाइनिङ रुममा बस्ने हो भने किचनको सरसफाइ पनि हेर्न सक्नु हुन्छ। काउन्टरको ठ्याक्कै पछाडी छ कचेन।
यहाँ दिउसोको खाजा मात्रै होइन, विहान बेलुकाको खाना, माछा मासु, मदिरा, चिया र कफि समेत पाइन्छ। खाजा घरको विशेषता के हो त? …माछा मसला हो,' इन्चार्ज थापा भन्छन्। रहु जातको माछालाई टुक्रा टुक्रा पारेर ग्रेभी बनाइन्छ। यो निकै स्वादिलो हुन्छ। मुल्य एक सय रुपैयाँ प्रति प्लेट।
त्यसो त लोकप्रिय ट्राउट माछा र खाना (३ सय रुपैयाँ) पनि पाइन्छ। …ट्राउट खान टाढा जान नपरोस् भनेर यही व्यवस्था गरेका हौं,' थापाको भनाइ छ, …बालाजुदेखि ताजा ट्राउट माछा ल्याउछौ।'
यहाँ साकाहारी र मांसहारीका लागि पकाउने भाँडा फरक फरक छन्। खाजा घरको मेनु तपाईको रोजाइ र पकेट सुहाउँदो छ। ५५ रुपैयाँदेखि १ सय ७० रुपैयाँसम्म तिरेर खाजा खान सकिन्छ। खाजा सेटमा भुजा/चिउरा, आलु तामा, बोडी, अचार र भुटन (७० रुपैयाँ) पाइन्छ। तपाई भेज हुनुहुन्छ भने भुजा/चिउरा, आलु तामा, बोडी, अचार (५५ रुपेयाँ)। अरु परिकारमा फिला (१ सय रुपैयाँ), चिकेन आइटम (९० देखि १ सय १० रुपैयाँ सम्म), तास (१ सय देखि १ सय १० रुपैयाँ) नेपाली खाना सादा (७५ रुपैयाँ), खसी वा लोकल कुखुराको मासु खाना (१ सय ५० रुपैयाँ), वियर, सेकुवा, मःम, बदेलको मासु लगायत छन्।
विहान नौ बजेदेखि राति १० बजे सम्म खुल्छ खाजा घर। हेड सहित चार जना कुक छन्, ६ जना वेटर। अनुभवि कुकले बाक्लो ढलोटको भाडामा पकाउछन्। किचन सफा छ। तपाई किचन निरिक्षण गर्न सक्नु हुन्छ। नेपाली र हिन्दी गजलका साथै सुमधुर लोकधुन सुन्दै खानुको मज्जै बेग्लै हुन्छ।
१३ वर्ष अघि खोलिएको हो खाजा घर। लोकप्रिय हुँदै गएपछि अरु दुइ ठाउँमा समेत यसका शाखा खोलिएका छन्। खाजा घर १ चाहिँ पहिलो शाखा हो भने सोह्रखुट्टेमा दोस्रो छ। तीनै ठाउँमा एकै स्वाद लिन सकिन्छ। मध्यम वर्गलाई लक्षित गरेर सुरु गरिएको भए पनि अहिले सबै वर्गका मानिस आउने गरेको थापा बताउँछन्।
पार्किङको भने समस्या छ। मुश्किलले १५ वटा मोटरसाइकल अटाउने ठाउँ छ। तपाइसंग कार छ भने त्यहाँ गएर खान गाह्रो पर्छ किनकी त्यहाँ पार्किङ गर्ने ठाउँ छैन। बेलुकीका लागि भने बाहिर सडकमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ। थापा भन्छन्, …ट्राफिकसंग अनुरोध गरेर कार्यालय समयपछि सडकमा पार्किङ गर्ने व्यवस्था मिलाएका छौं।'
भित्ता र टेवलको सरसफाइमा ध्यान दिएको भएपनि भूँइको सफाइमा त्यति ध्यान दिइएको छैन। थापा भन्छन् …हामीले स्वीपर राख्न सकेका छैनौं। अब यसलाई व्यवस्थित पार्दै लग्ने छौं।'
ख्याल राख्नुस है! दोस्रो र तेस्रो तलामा बसेर खाइसकेपछि भर्‍याङबाट ओर्लने बेला माथिल्लो भर्‍याङमा टाउको ठोकिएला नि।

No comments: