कुहीरोले ढपक्कै
ढाकेको छ वरिपरि। फोटा खिच्ने रहर पुरा भएन। तल तलबाट उड्दै आएको भुइँकुहिरोले
जँगल ढपक्कै ढाकेको छ। हामी भने नेपथ्यको गीतलाई रिमिक्स बनाएर गुन्गुनाउँछौ
गाउँमा गाइबाख्रा
चराउँदा उकाली ओराली गरेको ज्यान भन्नै सुहाएन अलिकति उकालो चढ्नेवित्तिकै फतक्क
गलेकाले। सहरमा बसेपछि सुबिधाभोगी बन्दो रहेछ शरिर।
‘धर्म पनि हुने,
समाचार पनि आउने' लोभले गोसाइकुण्डको यात्रामा निस्किएको म। खलखली पसिना
छुटेकाले निथ्रुक्क भिजिसकेका छन् लुगा।
बिहान साँढे ११ बजे
सुन्दरीजलबाट मूलर्खकको उकालो चढेका हौ हामी। घाम चर्किएको छैन, तर हपहपी गर्मि छ। तामाङ जातिको बसोबास रहेको
मूलखर्क गाउँ।
बाटोमा छन् एकाध घर।
किरापट्याङ्ग्रा र चराको चिरविर। पानी खान धारा छन् ठाउँ–ठाउँमा। घडीले दिउँसोको एक बजायो। खाजा खाने बेला भयो।
साथीको पर्खाइमा हामीले खाजा खायौ–चिउरा,
दालमोठ र चाउचाउ। सुन्दरीजल
बाँधबाट दुइ साथी छुटेका थिए हाम्रो
साथबाट।
खाजा आफैंले बोक्नु
पर्छ, नत्र निकै महँगो पर्छ। एक
घन्टा कुर्दा पनि साथीहरु आइपुगेका छैनन। परेन फसाद! ‘विस्तारै जाउ जहाँ पुगेर भेटाइन्छ त्यही बसम्ला,'
सहकर्मी ऋषिकेश दाहालले भने।
ढुङ्गै ढुङ्गैको
सिढी चढ्दैछौं हामी। यहाँबाट गोसाइकुण्ड, हेलम्बु र लाङटाङ पदयात्रा गर्न सकिन्छ। दुइ घण्टा उकालिएपछि तेर्सा बाटो
आउछ। हिँड्न अलिक सजिलो महसुस गर्छौं। बाटोको दुइपट्टि जंगल। कहिले गुफामा छिरे
जस्तो कहिले निस्के जस्तो।
उकालो ओरालो गर्न
लठ्ठीले निकै सहयोग गर्छ। लौरो नल्याएकोमा चुक्चुकाउँछौं हामी। कहिले को अघि कहिले
को पछि। त्यसमा पनि हिँड्न नसक्ने साथी सधैं पछि।
जवानी र यौनका कुरा
गर्दै बाटो नापिरहेका छौं।
मूलखर्कसम्म मोटर
बाटो पुगेको छ तर, गाडी
गुड्दैन। आँटिलाले कहिलेकाही मोटरसाइकल चाहिँ लैजादा रै'छन्।
कुहीरोले ढपक्कै
ढाकेको छ वरिपरि। फोटा खिच्ने रहर पुरा भएन। तल तलबाट उड्दै आएको भुइँकुहिरोले
जँगल ढपक्कै ढाकेको छ। हामी भने नेपथ्यको गीतलाई रिमिक्स बनाएर गुन्गुनाउँछौ
‘छेक्यो, छेक्यो चिसापानी डाँडो हुस्सु र कुहिरोले
छोडेन कहिल्यै जहाँ
गएपनि मायाको धुइरोले।
पानी विर्विराउन
थाल्छ। अघिसम्म पसिनै पसिना भएको शरीर ठण्डा भयो। हामी रेनकोट लगाउँछौ। टिर्शट र
हाफ पेन्ट नभिजेपनि जुत्ता चाहिँ भिजिसक्यो।
पहिलो दिन
सिन्धुपाल्चोकको थकनी गएर बस्ने योजना। सुन्दरीजलबाट फोन गरेर १० जनालार्ई खाना
अर्डर गरिसकेका छौं। पौनेचार बजे चिसापानी पुग्यौं। यहाँ सेनाको व्यारेक छ। सेनाले
भने अनुसार यहाँबाट धौलागिरी हिमालदेखि सगरमाथासम्म देखिन्छ । पानी र हुस्सुले
गर्दा हामीले चाहिँ केही देखेनौ।
रेनकोट लाएपनि शरीर
भित्र पानी पसिसक्यो। चिसापानीमा बस्न र खान राम्रा होटल थुप्रै छन्। काठमाडौंबासी
गर्मी छल्न यता आए हुन्छ।
हामी नुवाकोट र सिन्धुपाल्चोक
जिल्लाको सिमानामा छौं। वारी नुवाकोट पारी सिन्धुपाल्चोक। आधा घण्टा भयो कुरेको
छुटेका साथी आइपुगेनन। ‘अब ओरालो
झर्नुुपर्छ', होटल साहुजीले भने
।(पानी परेको बेला चिप्लो ओरालो बाटो कस्तो हुन्छ होला सम्झनुस त)।
अबको गन्तव्य पाटीभन्ज्याङ्।
चिसापनीबाट ४५ मिनेट ओरालो झर्नुपर्छ। पाटीभन्ज्याङ पुगेपछि सबै दंग पर्छौ। छुटेका
साथी त बन्दोबस्तले चिया र चाउचाउ खाएरर बसेछन्। ‘१ घण्टा भो आ'को,' छुटेका साथी
उपेन्द्र भन्छन्, ‘तपाईहरु अघि
हुनुहुन्छ भनेर कुदेको कुद्यै।'
गह्रौ झोलाले काँध
मेरो हो की अरुको हो छुट्याउन गाह्रो भैसक्यो। झोला फुत्त फालिदिन्छु। र भुइमा
लत्तारिन्छु।
रोडैरोड झम्के
साँझमा थकनी पुग्छौं हामी। ‘लौ
आउनुहुन्न की भनेको आइपुग्नुभो। बसौ,' होटल साहुजी जीर लामा भन्छन्।
कोठा सफा छ सिरक
डसना पनि सफा। जनयुद्धताका माओवादीले चन्दा मागेर निकै सताएछन् उनलार्ई। खाना निकै
मिठो रै'छ। साँधेको गुन्द्रुकको
अचार जिव्र्रो फड्कारी फड्कारी खायौं।
गोसाइकुण्ड जाने
धेरै छन्। जति माथि गयो बास बस्ने समस्या हुन्छ। अघि गएर ठाउँ बुक नगरे बास नपाइन
सक्छ।
............
विहानको झिसमिसे।
अण्डा र चिया खाएर यात्रा शुरु गर्छौं। ठाडै उकालो। ५ रुपैयाँमा लौरो किन्छौ।
झण्डै दुइघण्टा पछि हामी चिप्लिङ डाँडोमा पुग्छौ। यहाँ पनि खान र बस्न राम्र्रो
सुविधा छ। सबैले दुइ कप कालो चिया र पार्लेजी विस्कुट खान्छौ। उकालोमा गुलियोेले
शक्ति दिन्छ।
अब तरपाय तरपाय
तरपाय उकालो लाग्छौं । बाटोमा फाट्टफुट्ट घर छन्। उकालोले अत्याएको छ। साढे नौं बजे
थकनीको उकालो काट्छौं। तेर्सो र ओरालो बाटे आउँछ।
संगीतले शरीरमा
उर्जा दिन्छ। साथीहरु तेर्सो आउने वित्तिकै गीत गुन्गुनाउँछन्। म चाहिँ आइपड
खोल्छु। लभ आजकलको चोर बजारी.....गीतले पाइला छिटो बढाउँछ।
मोवाइलमा विहानको
साढे १० बज्यो। ७ किलो भारी दुइदिनदेखि लगातर बोक्दा थकाइ पनि चानचुने लागेको छैन।
कुडुम्साङ आइपुग्छौं।
शेर्पा समुदायको बाक्लो बस्ती छ यहाँ। ‘दाई के के पाइन्छ?' टिम
लिडर विमल सोध्छन्। ‘खाना पाइन्छ,'
होटल साहुले भने। ‘अनि कुखुरा?' ‘हामी त शेर्पा काट्दैनौ। तपाइहरु आफै काट्ने हो भने
बनाइदिन्छौं।'
थकाइ लागेका बेला
कुखुरा काट्नु र बनाउनु झन्झटिलो काम। विमल र ऋषिकेश ताते। ‘जसरी नि मासुभात खाने नत्र हिँड्न गाह्रो हुन्छ,'
ऋषि अधिकारीले भने।
यात्रामा एकै ठाउँमा
धेरै बेर बस्नुहुन्न। थाकेर हिँड्न झन् गाह्रो हुन्छ। १२ बजे त्यहाँबाट हिँड्यौ।
आज पूरै उकालो हिँड्नुपर्छ। कुडुम्साङबाट हेलम्बु र मेलम्ची जान सकिन्छ।
चिटचिट पसिना छुटेको
छ। अहिले हामी लगभग २८ सय मीटर उचाइमा छौं। गोसाइकुण्डमा एकादशी नुहाएर कोही ओरालो
झर्ने क्रममा छन्।
‘लौ आयो दश
रुपैयाँमा,' टिमुरको माला
देखाउँदै बाटोमा टिमुर बेच्न बसेका शेर्पाहरु कराउँछन्,' टिमुरको माला लगाए उचाइ लाग्दैन।' व्यापार गर्ने रमाइलोे काइदा!
३१ सय उचाइमा पुग्छौ
हामी। कुडुम्साङको उकालो कटेपछि ओरालो झर्छौ। पानीले भत्काएको बाटो कतै हामफल्नु
पर्ने कतै समात्दै हिँड्नु पर्ने। बाटो देखेपछि ऋषिकेश चलचित्र सिमानाको गीत गाउँछन्–
उकाली ओराली गर्दै.....।
..........
सिन्धुपाल्चोकको
इचोक गाविसमा छौं यतिबेला। खाजा खाए झोला हलुङ्गो हुन्छ भनेर साथीहरु झोला
खोल्दैछन्।
पानी फेरी बर्सन
थाल्यो। इचोकबाट नै लाङटाङ राष्ट्रिय निकुञ्ज सुरु हुन्छ। दायाँ लागे हेलम्बु जान
सकिन्छ बायाँ उकालो लागे गोसाइकुण्ड। निकुञ्ज कर्मचारीले यसपालीदेखि तीर्थयात्रीको
रेकर्ड राख्न थालेको रहेछन्। त्यसैले हाम्रो इतिवृत्तान्त सोधे।
पानी झमझम परेको छ।
ठाडै उकालो छ। बाटोमा भल गड्गडाउँछ। मनले सोच्यो– बेकारमा दुःख पाउन किन आएको होला? तर गोसाइकुण्ड सम्झदा फेरी उकालिने हौसला
आउँछ। हामी ३३ मिटर उचाइमा आइपुगेका छौं। केही साथी हिँड्नै नसक्ने भएका छन्। लत्र्याक
लुत्रुक।
‘अब झन उकालो आउँदै
छ,' इचोक झर्दै गरेका तामाङ
युवकले भने, ‘उकालो उक्लन
हामीलाई एक घण्टा तपाइहरुलाई दुइ घण्टा।'
आजको बास मंगेन
गोठमा हुन्छ। त्यहाँ पुग्न साढे दुइ घण्टा लाग्छ। मन अत्तालिन्छ। झोलालेे पातो
दुखेर हैरान। जुत्ता भिजेर बूढी औला सुनिन थालिसक्यो।
दायाँबायाँ पहेला
फूल फुलेका छन्। चिसोले टाउको दुख्न थाल्छ। जसोतसो खुट्टा लतार्छु। मुटुको
धड्कनसंगै स्याँ स्याँ हुँदै छ। लेक लाग्ने भनेको यस्तै त होइन? मन दह्ो बनाउँछु।
तिर्खाले मुख प्याक
प्याक बनाएको छ। उकालोमा पानी पाइदैन। इचोकको उकालो सकिने वित्तिकै देउराली आउँछ।
यहाँ दुइ शेर्पीनी थर्पुङभत्र चिया बेच्दै छन्। तिर्खा मेटाएँ मैले। अहो! ड्रमको
फेदमा गड्यौला र कालो माटो थिग्रिएको छ।
६ जना साथी आइपुगेका
छैनन्। कालो चिया कपको १० रुपैयाँ तिरेर खायौं। आइपड निकाल्छु। लोकगीत सुन्छु। हिँडाइको
रफ्तार बढ्छ। बाटोको दायाँ बायाँ पूरै लाली गुरासको जंगल। गुरास फुल्ने समयमा
डाँडै रातो हुन्छ होला। आलेखको शिर्षक अहिल्यै जुराएँ ‘लालीगुराँस हाइवे।'
........
मंगेन गोठको
भन्ज्याङ ३७ सय मिटर उचाइमा छ। एक छिन् टुसुक्क बस्छौं। त्यहाँ बाट हिमाल र आकाश
नै छोउला जस्तो गरी गएको रक्की माउन्टेन। जाडोमा यहाँ पूरै हिउले ढाक्छ रे।
४५ मिनेट हिँडेपछि
हामी बासस्थान खोज्छौ। ‘लौ यतै
बसुँ मंगेन गोठपुगेपछि कालो टोपी, कालोे
ज्याकेट र कालै पाइन्ट लगाएका शेर्पा दाइ भन्छन् । ‘कति रुपैयाँ नि दाइ एक रात बसेको?' ‘एक हजार।' लाङटाङ राष्ट्रिय निकुञ्जले निकुञ्ज भित्र खुलेका जुन
होटलमा बसेनी एक हजार भन्दा बढी लिन नपाउने निर्णय गरेको रहेछ।
हामी मंगेेन गोठमा
बस्छौं। कोठामा गएर ह्वात्त झेला फाल्छौ। ओढ्ने छैन। तन्ना पनि छरपस्ट। तै पनि
कोठा पाएकामा खुशी छौं ।
साहुजी एक पाथी आलु
उसिन्छन्। होटलमा साहुजी, उनको
जेठी र कान्छी छोरी र छोरा मात्रै बस्छन्। अरु गाउँमा। गाउँ जान १ दिन लाग्छ रे। ‘व्यापारको समय यहि हो। काम गर्नैै पर्यो,'
उनले भने। होटल भरिभराउ छ तीर्थालुले। ‘लौ आलु खाउँ,' विमल सबैलार्ई बोलाउँछन्। १० जना घेरै बसेर नुन
खुर्सानीमा चोप्दै आलु खान्छौं।
भोलीपल्ट विहान
सबेरै हिँड्छौं। आज गोसाइकुण्ड पुग्नै पर्छ। मुख र दाँत ब्रस नगरी चिया र अण्डा
खाएर उकालो लाग्छौं। लालीगुराँस घारी हुँदै हामी ठाटेपाटी पुग्छौ नौ बजे।
दुइदिनसम्म हुस्सु र कुहिरोले ढाकेर हामीले कुनै दृश्य हेर्न र क्यामेरामा कैद
गर्न सकेका थिएनौं। ऋषिकेश दाइ र म क्यामेराको लेन्स सोझ्याउन थाल्छौं हिमाल र
पहाडतिर।
ठाटेपाटीबाट लौरी
बिनाको उकालो प्रष्टै देखिन्छ। देख्दा नजिकै। पुग्न घण्टौं लाग्ने। ठाटेपाटीबाट
लौरी बिना पुग्ने दुइ बाटो रहेछ। एउटा २० मिनेट उकालो हिँडेपछि तेर्सो हिँड्न पाइने। अर्को ३५ सय
मिटर उचाइबाट ३२ मिटर उचाइमा झरेर फेरी उकालो हिँड्नु पर्ने।
‘माथिकोबाट पहिरो
जाने खतरा र चिप्लो छ। लडेदेखि शरीरको केही पनि पाइदैन। पानी परे फेरी फर्केर
आउनुपर्छ,' त्यहाँको एक
होटलवालले भने। ‘जो डरेगा वो
मरेगा' भन्दै ६ जना माथिल्लै
बाटो जाने मन गर्छौं। तर मिलेन।
ऋषिकेश दाइ र म अघि
लाग्छौ। बाटोमा निकै छन् तीर्थयात्री। हामी उछिन्दै भेडीखर्क पुग्छौ। भर्खर बनेको
काठै काठको घर बाहिर रोटी, तरकारी,
चाउचाउ र विस्कुट राखिएका छन्। हामी
त्यही बसेर पुरीतरकारी खान्छौ। बास बस्न पनि राम्रो छ यहाँ। दुइटा पुरी र एक प्लेट
तरकारीको ५० रुपैयाँ।
सवा नौ वजे हामी
घोप्टेतिर लाग्छौ। घोप्टे जहाँ ०४९ मा थाइ एयरवेजको बोइङ विमान दुर्घटना
भएको।
खुट्टा गलेका छन्।
खोल्सा देख्ने वित्तिकै पानी खान्छौ। छाँगा छहरा हेर्दा रमाइलो लाग्छ।
लौरी बिनाको उकालो
बारे सुनेको थिए। त्यसैको फेदीमा पुग्दा साढे बाह्र बजेको छ। तपाइ हिँड्न नसके
यहिँ बास बस्न सक्नुहुन्छ। यहाँबाट विहानै उठेर हिँडे ११ बजेतिर कुण्ड पुगिन्छ।
चिया खाएर उकालो
लाग्छौं। पहिरो गएको छ। माथिबाट ढुंगा खस्यो कि तलको मान्छेको निधारमा लाग्छ।
झण्डै १० मिनेट यस्तै बाटो। त्यसपछि सिढीको बाटो सुरु हुन्छ।
डेढ घण्टा उकालो
लागेपछि निकै गाह्रो भो हिँड्न। भोक लाग्यो। खाना खाएको छैन। अब बस्ने ठाउँ पनि
छैन। चिसोले टाउको दुख्न थाल्छ। खुट्टाले उकालो पचाउन सक्ने अवस्थामा छैन। हामीसंग
चाउचाउ र विस्कुट मात्रै छ। विस्कुट त खाने तर, के संग? उकालोमा पानी पाइदैन।
एकछिन टुसुक्क
बस्छौं। ओरालो झर्दै गरेकालाई हामी सोध्छौं, ‘कति बेरमा थर्पुङ आउँछ?' ‘अब पाँच मिनेटमा।' मन
रमाउँछ।
फेरी खुट्टा
लतार्छाै। १० मिनेट उकालिएपछि थर्पुङ आउँछ। चिया र तातोपानी खानेहरुको भिड
देखिन्छ। चिया पकाउन व्यस्त छन् शेर्पा। दुइकप कालो चिया र विस्कुट खान्छौं।
लौरी विना उकालोको
बीचमा पुगेपछि मलाई हल्का टाउको दुख्छ। चिसोले आधा हात पूरै सेतो भैसक्यो। अघि
बढ्न सक्छु जस्तो लागेन। स्याँ स्याँ बढ्दै छ। लेक लाग्न थालेको हो की! लगभग ४८ सय
मिटर उचाइमा छौं। लसुन खाए लेेक लाग्दैन भनेर फेदीदेखि नै खाँदै आएको छु। अब अघि
बढ्छौं।
फेरी थर्पुङमा गएर
चिया र तातोपानी खाँदै ज्यान तताउँछु म। अलि हल्का भो टाउको दुख्न। शरीर तातो भो। ‘अब माथि उक्लन कति बेर लाग्छ?' थर्पुङका साहुजीलार्ई सोध्छौं। ‘अब आधा घण्टामा लौरी विना भन्ज्याङमा पुगिन्छ,'
उनी भन्छन्।
चट्टानै चट्टानको
बाटो उक्लन्छौं। दायाँबायाँ पहिरो गएको पहाड। हेर्दा पूरै मरुभूमि जस्तै।
लगभग ५१ सय मिटरको
उचाइमा पुग्छौं। ‘लौ यहि हो लौरी
बिना भञ्ज्याङ। टेकेर आएको लौरो यहीँ चढाउनु पर्छ,' एक पदयात्रीले भने। हामी पनि त्यसै गर्छाै।
अनि थर्पुङमा बस्छौं
र चिया खान्छौं। पाँच बजेको छ। अब उकालो उक्लनुपर्दैैन। यहि नै हो सूर्य कुण्ड
पनि। ४५ मिनेट ओरालो झरेपछि गोसाइकुण्ड पुगिन्छ।
मलाई लेक लागेन। मन
फुरुंग भो। पानी बर्सिन रोकिएको छैन। चिसोले हातखुट्टा कक्रेको छ।
झम्केसाँझमा
गोसाइकुण्ड पुग्छौं। दोहोरीलत्त मान्छे। हल्लाखल्ला निकै छ। बास बस्ने समस्या
पर्ला जस्तो छ। सूर्यकुण्डबाट झर्दा एकजना साथीले भनेका थिए, ‘सबै होटल र थर्पुङ भरिइसके।'
मान्दिरमा शेर्पा
नाच्दै छन्। होटलमा खाना, चिया र
तरकारी पकाउन भ्याइनभ्याइ छ उनीहरुलाई। थर्पुङमा गएर सोध्छौं, ‘दिदी बास बस्न पाइन्छ?' ‘कति जना?' उनी प्रश्न गर्छिन्। ‘दुइ जना।' ‘उ त्यो भित्र गएर बस्नुस्।'
हुन त सुविधा
सम्पन्न होटल र लज पनि छन् यहाँ। तर महंगो छ। एक कोठाको चार हजारदेखि ७ हजारसम्म
पर्छ। एउटा कोठामा सात जनासम्म अट्छ। समूहमा भने सस्तो पर्छ। थर्पुङ भरिभराउ छ।
कालो म्याटमा लमतन्न सुतेका छन् मानिस।
खाना खाएर सुतेको एक
जनाको ३ सय रुपैयाँ। हामी साहुनीले देखाएको ठाउँमा बस्छौं। झोलाबाट लुगा निकालेर
लगाउँछौं।
गोसाइकुण्डमा भात
काँचै हुन्छ रे। तात्तातो खाए स्वाद हुन्छ। मैले यहीँ सुनेको थिएँ। तीन छाक भयो
खाना नखाएको। आज त खानै पर्छ। नत्र भोली विहान ओर्लन सकिन्न। दालभात र आलुको
तरकारी ।
रात छिप्पिदै जाँदा
जाडो बढ्दो छ। ज्यान लुगलग काम्दै छ। पैतालाबाट चिसो पस्छ। हामी ओढ्ने माग्छौ।
एकछिनमा पातलो मण्डी ल्याइदिन्छन् तीनजनालाई। त्यसैको भरमा सुत्छौं। कालो म्याट
ओछ्याउनी र आफ्नै झोला सिरानी। जाडोले
निन्द्रा पर्दैन। पटक पटक उठ्छौं र विहान भयो की भनेर घडी हेर्छौं।
विहानको चार बजे
मानिसको कल्याङमल्याङ सुरु भयो। सबेरै कुण्डमा नुहाए धेरै जाडो हुँदैन भनेर हामी
पनि पाँच बजे पस्छौं। अहो! कति चिसो पानी मुटु नै चिस्याउने। म चुर्लुम्म डुब्छु।
जनै र डोरो लागाउँछौं हामी। कुण्डबाट माथि महादेव र त्रिशुलको छहरा पनि दर्शन गर्छौंं।
भक्तजनहरु पूजा गर्न तछाँडमछाँड गरिरहन्छन्।
कुण्डलाई एक चक्कर
लाउँछौं। अनि होटलमा पसेर चिया र नास्ता खान्छौं। सस्तै रै'छ। कालो चिया, तरकारी र दुइटा पुरी खाएको ३० रुपैयाँ।
यहाँको मौसम अचम्मको
छ। केटीको मन बदलिए जस्तै बदलिरहन्छ। एकैछिनमा हुस्सु लाग्छ। एकैछिनमा खुल्छ।
खुलेको मौकामा घितमरुञ्जेल फोटो खिच्छौं।
आजै रसुवा सदरमुकाम धुन्चे पुग्ने हिसाबले हामी साढे आठ बजे गोसाइकुण्ड
छोड्छौं।
गाजले मैयाँ
घोप्टेमा भेटिइन्
सिन्धुपाल्चोक मेलम्चीकी दिपा ढुंगाना। शिक्षाशास्त्र संकाय अन्तर्गत मेजर
अंग्रेजी लिएर १२ कक्षामा पढ्दै गरेकी। निकै फरासिली। पहिलो भेटमै मलाई सोधेकी
थिइन्, ‘खाना खानु भो नत्र
आउनुस् संगै खाऊ।'
१५ जनाको समूहमा
आएकी उनी घोप्टेदेखि लौरी विनासम्म संगै थिइन्। उचाइ बढ्दै गएपछि चिसोले आँखा
सुनिन्छ भनेर ऋषिकेश दाइले भने। यसको औषधि चाहिँ गाजल रहेछ। दिपालाई सोध्यौं,
‘गाजल छ?' एक छिन त उनी जिल्ल पर्छिन्। ‘छ। किन चाहियो?'
‘हामीलार्ई लगाइदेउ
न।' उनी गललल्ल हाँस्छिन्। हामी
पनि हाँस्छौं। विनिता दाहाल, ऋषिकेश
र मलाई पालै पालो लगाइदिन्छिन्।
गाजल लगाएपछि एक
अर्कालाईर् हेरेर हाँस्छौ।आपसमा
जिस्कन्छौं, ओइ गाजले भन्दै।
उकालो काट्ने राम्रो बहाना हुन्छ। भोलीपल्ट कुण्डमा नुहाउँदा सम्म त्यो गाजल
मेटिएन।
1 comment:
[url=http://viagraboutiqueone.com/#xpbfn]buy viagra[/url] - cheap viagra , http://viagraboutiqueone.com/#phpwr order viagra
Post a Comment