Tuesday, May 29, 2012

घ्याम्पेडाँडामा उफ्रिदाँ

इरादा पहाडी/कञ्चन अधिकारी 

 यस्तो हाइकिङमा बाटोमा खाँदै हिँड्नुको मजा मैले पोहोर पनि लिएकी थिएँ। फलफूल, जाम पाउरोटी, चाउचाउ, विस्कुट, दालमोट अण्डा, दही च्यूरा यस्तै यस्तै खान्की

नयाँ वर्ष–नयाँ आशा, उमंग, उत्साह र सपना बोकेर आउँछ, मैले बुँझेको नयाँ वर्षको पहिलो दिन यही हो। त्यसैले होला भन्छन्, नयाँ वर्षको दिन जे जस्तो गरी बिताइन्छ, पूरै वर्ष त्यस्तै गरी बित्छ। बिहानीले दिनको संकेत गर्छ भने जस्तै। यही माहोललाई पछ्याएरै होला, प्रायः सबै उमेर समूहका मानिस नयाँ वर्ष घुमघामसँगै धुमधामले मनाउँछन्। रत्न राज्य लक्ष्मी क्याम्पस स्नातकोत्तर अन्तिम वर्षका केही साथीहरुले यस्तै निर्णय गर्‍यौ र निस्कियौं घुमफिरको लागि।
चिया खाने क्रममा हाम्रो योजना बनेको थियो, नयाँ वर्षको दिन केही रमाइलो गर्ने। गएको वर्ष जस्तै यो वर्ष पनि …हाइकिङ' जाने। पोहोर त चन्द्रागिरी गएको, यसपाली कहा“? लेले, लाकुरीभञ्ज्याङ, सुन्दरीजल लगायतका दर्जनौं नाम लिएपछि नयाँ अर्को ठाउँको नाम आयो– गुण्डु गाविस–३, भक्तपुर स्थित घ्याम्पेडा“डा। नामै सुन्दा एकचोटी गललल हास्यौं। नाम पनि …घ्याम्पे'।






अधिकांशका समूहको साथीलाई नौलो थियो ठाउँ। सबैजना त्यतै जान सहमत भइयो। कस्तो होला त्यो ठाउँ? …पक्कै पनि घ्याम्पोको जस्तै आकार भएर नै होला नाम पनि घ्याम्पे राखेको,' साथी ताराले अनुमान लगाइन्।हाम्रो योजना घुम्ने मात्रै होइन ड्राइ पिकनिक पनि थियो। त्यसैले अघिल्लो दिन आवश्यक खानेकुराहरुको किनमेल गरिएको थियो। यस्तो हाइकिङमा बाटोमा खाँदै हिँड्नुको मजा मैले पोहोर पनि लिएकी थिएँ। फलफूल, जाम पाउरोटी, चाउचाउ, विस्कुट, दालमोट अण्डा, दही च्यूरा यस्तै यस्तै खान्की।
...
नयाँ वर्षको दिन। नयाँ उमंग। बिहानैदेखि घाम चरकक्क चर्केको। दिन छर्लङ्ग। साँच्चै नयाँ आशा, उत्साहले भरिपूर्ण थियो। निर्धारित समयमा हाम्रो टोली पुरानो बसपार्क जम्मा भयो, म सहित पाँचजना बिरुवा जाने बस चढ्यौं, बाइक हुने विरुवामा कुर्ने सहमतिमा।

हाँस्दै र हल्ला गर्दै हामी भक्तपुर पुग्दा त्यहाँको स्थानीय जात्राले हाम्रो स्वागत गर्‍यो। आखिर भक्तपुर जात्राहरुको शहर त थियो र बिस्केट जात्रा त चलिरहेको थियो नै। जात्रामा केहीसमय हराएर दधिकोट पुग्दा सबै जम्मा भइसकेका रहेछन्। साथी अनिल न्यौपानेको घरमा केही समय आरम गरेर हाम्रो गन्तव्यतिर जाने तर्खरमा लाग्यौं। नेपालको संस्कृति र परम्पराको बारेमा अध्ययन गर्न आएका र आफ्नो नेपाली नाम सौगात राखेका एक अमेरिकी साथी सहित हामी १६ जना भएछौं।

दधिकोटको पाखाभरी लहलह झुलेका हरिया गहँु बारीका डिलडिलै हामी अघि बढ्यौं। साथीहरु कोही छाता ओढ्न थाले, कसैले कालो चश्मा लगाउन थाले। कोही गीत गाउन थाले भने कसैले मादल बजाउन। बाटोमा शुभकामना साटासाट पनि गरिँदै हाम्रो पाइला बढेका थिए। साथी सुमन ती सबै क्षणहरुलाई भिडियोमा कैद गर्न व्यस्त थिए। उनी कहिले सबैभन्दा अगाडि पुग्थे त कहिले सबैभन्दा पछाडि। करिब आधा घण्टाको हिंडाइपछि एउटा सानो डाँडो देखियो, त्यो नै रहेछ, घ्याम्पेडाँडा!  गहुँबारी, त्यसपछि माटाले बनेका घरहरु र त्यसको माथि देखिएको त्यो डाँडा हेर्दै रमाइलो थियो।

हामीसँग पहिलो पटक हाइकिङमा आएकी थिइन् साथी अनिता। उनलाई हामी अघिल्लो वर्षको रमाइलो सुनाउ“दै थियौं। घ्याम्पे डाँडा जान केही उकाले उक्लिनु पर्ने। हामी केही उक्लने वित्तिकै खाजा खाने विश्राम लियौं । ११ बजेको थियो। सबै भोकले लखतरान परिसकेका थियौं। उकालो उक्लन नसक्ने अवस्था थियौं।
घुम्नुको अर्काे रमाइलो भनेको भनेजति र मन लागेजति फोटो खिच्न पाउनु पनि हो। साथीहरु खाजा खानतिरभन्दा पनि पोज दिएर फोटोहरु खिच्नमा व्यस्त थिए। साथी भनानिवश्वर मादल बजाउँदै थिए भने शिवले गीत गाउँदै थिए। हाम्रो समूहकी फोटो खिच्न अति इच्छुक सुजितालाई धेरै नै सम्भि्कयौं। उनले भए कति र कस्तरी पोज दिँदि हुन्!
खाजाखाएपछि ठाडै उकालो जंगलको यात्रा सुरु भयो। सल्लोको पात झरेर बाटो चिप्लो थियो। तै पनि हामी विस्तारै गी गाउँदै, मादल बजाउँदै उक्कालियौं।
पालुवा पलाएर हरियालीले भरिपूर्ण चिलाउने, काफल, गुराँस, कटुस र अधिकांश सल्लाका बोटहरु भएको उक्त जंगलमा उकालो लाग्दै गर्दा साथी कञ्चनको पोर्टेबल रेडियोमा गीत बज्यो, …एम अलाइभ ..'। उकालोमा नाँच्दै, गीतमा स्वर मिलाउँदै, रमाइलो गर्दै हाम्रो यात्रा अगाडि बढ्यो। जंगलभरी ऐसेलु पाकेर लटरम्म थियो, काफल भने पाकेका थिएनन्, काँचै थिए। तर हामी, हामीहरु नै थियौं, ऐसेंलु त खाइयो नै काँचो काफल पनि बाँकी राखिएन।

साथीहरु रुख चढ्दै झुप्पा झुप्पा काँचो काफल टिप्दै थिए। घमाइलो त्यो बिहानीमा काँचो काफलले मुखबाट सरर पान्ी निकाल्थ्यो। अनि अमिलो काफलको स्वाद लिन्थ्यौ हामी। गुराँसको बोट बाहेक त्यो जंगलमा गुराँसको फूल भने कतै देखिएन।
जंगल छिचोलेपछि पुगियो घ्याम्पेडाँडा। गह्रा गह्रा परेका फराकिलो हरियो चौर। पर घुरमैलो उपत्यका। उत्तरतिर लमतन्न हिमाल। साँच्चै रमाइलो अनि आनन्दको डाँडा पो रहेछ। तयसकै आडमा अलि अग्लो डाँडा पनि। यहाँ पाइलट बाबाको आश्रम बन्दै रहेछ।
त्यहाँबाट काठमाडौं र भक्तपुरको दृश्य साँच्चै मनमोहक देखिन्थ्यो।  हामीले त्यो भन्दा माथिको सानो डाँडामा पुगेर चारै तिर आँखा नचाउने निर्णय गर्‍यौं र फेरी उक्लियौं बाटोमा ऐसेलु त कति कति! पाँजी पाँजी लिएर हामी मुखमा बुँजो लगाउँथ्यौं। हाइकिङमा हिँड्दाको रमाइलो यो पनि हो, वनका फफूल खानु।
मध्यान्हको चर्काे घाममा खुइय गर्दै पुग्यौं राजाकोट डाँडा। पहिला बाइसे चौबीसे राज्य हुँदा त्यहाँका राजा आएर बस्ने गरेको त्यहीको स्थानीय एक महिलाले हामीलाई जानकारी दिइन्। त्यहाँबाट करिब एक घण्टा उकालो हिँडेपछि चाहिँ रानीकोट पुगिँदोरहेछ। हामीसँग समय नभएकोले अर्काे साल जान थाती राख्यौ हामीले।
डाँडैमा छ्वालीले छाएको सानो बाटुलो घर थियो। हामीलाई नै बस्न बनाए जस्तो। बाहिर हपहपी गर्मी भएपनि भित्र शीतल । पहिला होटल थियो रे यहाँ। घाटा लागेपछि बन्द गरेको तिनै महिलाले हामीलाई बताइन्।
वरिपरि रातो, सेतो र सुन्तले गुलाफका फूलहरु ढकमक्क फुलेका। हामीहरु त्यही बाटुलो घरमा गोलबद्ध भएर बस्यौं र गफिन थाल्यौं। साथी सुमन र भवानी कुखुरा पोल्नतिर लागे। गएको वर्ष पनि हामीले यसैगरी चिकेन बर्बे क्यू खाएका थियौं।
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjv8pnXbarpmP52UWb6SAT8G1E6PU4WUqIF70-ug1htXG2bYNEAshx2q0owDPNEb_BzI1zxMYyupgfiUz3nRBrcGxsvUGEVssAleV2aY3fM_jG1Ai8X9GPW76NApkPo2nRV4KaL_rIFy9Y/s1600/Ghampedad+photo+by+Ramjee+Awal.JPG

कोही गीत गाउने। कोही माद ठोक्ने। कोही नाँच्ने। कसैले हसाउने। कोही फोटो खिच्न मस्त।  लगभग ३ घण्टा रमाइलो गर्‍यौं हामीले। अझ रमाइलो त साथी सौगातले नेपाली गीत आउँछ भन्दै …ढाका टोपी मैलो भन्ने गीत गाए पछि हाँसोको पर्रा नै चल्यो।
अंग्रेज लवजमा नेपाली गीत सुन्दा रमाइलो हुन्छ। जुन उनले पनि गाए।
कराउँदा, उफ्रिदा फेरी हामीलाई भोक लागिसकेको थियो। दिउसो ३ बजे ल्याएका खानेकुरा फैलाएर भाग लगाउन थाल्यौं। साथी अनिल र भाउजुले घरमा तिलको छोप राखेर बनाएको आलुको पिरो अचार, दहीले हाम्रो खानामा मात्र नभई रमाइलोमा पनि स्वाद थपिरहेको थियो।
खाएपछि पेट भरियो। अनि फेरी रमाइलोतिर हामी मोडियौं। गफ, गीत र नाँच नै हाम्रो रमाइलोको मुख्य विशेषता नै थियो। नाँच्नमा त हाम्रो समूहमा कोही सिपालु थिएनन् नै तर पनि सबैले आफ्नेा आफ्नो …स्टायल'ले नाँच्न थालेपछि हाँस्नुको विकल्प नै थिएन।
घडीको सुइँले ४ बजेको संकेत गरेपछि हामीले फर्कने तर्खर गर्न थाल्यौं। उक्लादा नै हामी गलिसकेका थियौं। उक्लँदा कति गाह्रो ओर्लन त सजिलो हुन्छ भन्ने साथीहरु ओरालो लागेपछि उक्लन भनदा ओर्लन नै गाह्रो भन्दै थिए। जीवनमा सुखपछि दुख र दुखपछि सुख भने झै यात्रा पनि कहिले उकाी कहिले ओृराली नै हो मैले चित्त बुझाएँ। समूहमा गफिँदै दधिकोट आइपुगिएछ।
प्रकृतिसँगको त्यो सामिप्यता, साथीहरुसँगको रमाइलोपन र मनभरी भरिएको नयाँ उत्साहलाई आफ्नो मनको घ्याम्पाभरी सजाएर हामी फर्कियौं।


1 comment:

SumAn said...

प्रकृतिसँगको त्यो सामिप्यता, साथीहरुसँगको रमाइलोपन र मनभरी भरिएको नयाँ उत्साहलाई आफ्नो मनको घ्याम्पाभरी सजाएर हामी फर्कियौं।