Tuesday, December 13, 2011

चाँडै ह्विलचेयर गुडाउँदै शौचालय


मेरुदण्ड पक्षघात भएकी युवतीले चिडियाखानामा अपांगतामैत्री शौचालय बनाउने अभियान थालिन् 

कञ्चन अधिकारी
अमृता ज्ञवाली १२ कक्षा पढ्दै थिइन्। फोटोग्राफीको प्रयोगात्मक अध्ययन क्रममा कलेजले चिडियाखाना लग्ने भयो। बिहानदेखि पानी नखाई बसिन्। पानी नखानुको एउटै कारण– चिडियाखानामा अपांगमैत्री शौचालय थिएन। दिसापिसाब आए कहाँ जाने?
…पानी खाए ट्वाइलेट गइराख्नुपर्ने,' साढे दुई वर्षकै उमेरमा बस दुर्घटनामा परी मेरुदण्ड पक्षघात भएकी २२ वर्षीय अमृताले तीन वर्षअघिको अनुभव सुनाइन्, …पानी नखाई गयो, आनन्द!'
अरूको सहयोग लिएर शौचालय जान गाह्रै हुन्छ। लाजसरमको कुरा आउँछ। धेरै समयसम्म दिसापिसाब रोक्दा मिर्गौला र पिसाबथैलीमा असर पर्छ। ज्यानै जान सक्छ।
त्यही भएर साथीहरूसँग कतै घुम्ने योजना बनाउँदा वा भेटघाट गर्नुपर्दा शौचालय जान नसकिने समस्याकै कारण अमृता हिच्किचाउँछिन्। …पहिले हामीलाई हुने ट्वाइलेट छ कि छैन भनेर साथीहरूलाई सोध्छु,' हि्वलचेयरमा गुड्दै उनले भनिन्, …यो मजस्ता हजारौं अपांगको समस्या हो।' साइबरसंसार डट कममा फोटोसुट समेत गराइसकेकी अमृता नेपालकी पहिलो ह्विलचेयर मोडल पनि हुन्।

अपांगता मैत्री नहुने भएकैले अमृताले धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय गोष्ठी र सेमिनार छाडेकी छन्। लामो समय कतै जानु पर्‍यो भने उनलाई पीडा हुन्छ। …एकछिनका लागि भए त जान्छु, लामो समय बस्ने कार्यक्रममा जान्नँ,' उनले दुःख पोखिन्।
हिँड्डुल गर्दा पनि शौचालय नभएर उनले धेरै दुख भोग्नु परेको छ। जाउँ कता, नजाउँ पिसाबले च्यापेर आपत् परिसक्यो! उनले चिडियाखाना गएकै दिन अठोट लिइन्, कुनै दिन अपांगता मैत्री शौचालयको अभियानमा लाग्छु।
त्यही भएर उनले किस्ट कलेजका बिआइएम पाँचौ ब्याचका विद्यार्थीको सहयोगमा …लेट्स स्पिन दी ह्विल टुगेदर' नामक अभियानै सुरु गरेकी हुन्।
अभियान त सुरु भयो तर संरचाना निर्माणको पैसा कसरी जुटाउने? यसका लागि गत शनिबार पुरानो बानेश्वरको गुरुकुलमा गरिएको च्यारिटी सोबाट संकलित रकमले चिडियाखानामा अपांगतामैत्री शौचालय निर्माण सुरु भएको छ।
अमृताका अनुसार लगभग ७० हजार रुपैयाँमा चिडियाखानामा शौचालय बन्छ। अपांगका लागि त यो शौचालय हुने नै छ, अरूका लागि पनि सजिलो हुनेछ।
…बच्चादेखि युवा तथा वृद्ध अवस्थाका सबैका लागि भ्रमण गर्न उपयुक्त स्थल चिडियाखाना भएकाले हामीले यहीँबाट अभियान सुरु गरेका हौं,' अहिले त्रिचन्द्र क्याम्पसमा बिए दोस्रो वर्षमा अध्ययनरत अमृताले भनिन्, …ह्विलचेयरमा हिँड्नेलाई एकै खुड्किलो उक्लिनु पनि सगरमाथा चढेजत्तिकै हो।'
चिडियाखानाबाट सुरु गरे पनि यो अभियान काठमाडौंका अन्य मुख्य ठाउँमा फैलाउँदै देशभरि लैजाने उनको योजना छ। यस्तो शौचालयमा कमोडको दायाँबायाँ सपोर्ट राखिएको हुन्छ जसले ह्विलचेयरमा जानेलाई सजिलो हुन्छ।
बाटो, गाडी, स्कुल, कलेज र सार्वजनिक स्थल अपांगता मैत्रीपूर्ण नहुँदा आफूजस्तालाई धेरै गाह्रो हुने अमृता बताउँछिन्। दिनहुँजसो नयाँ र ठूला भवन निर्माण भइरहेका छन्। सडक फराकिलो पारिँदैछ। सडकपेटी, स्कुल, कलेज, अस्पताल, बैंक, सपिङ कम्पेल्स थपिइरहेका छन्। यी संरचनालाई अपांगता मैत्रीपूर्ण बनाउनेतर्फ कसैको ध्यान नगएकामा उनी थक्थकाउँछिन्।
मैत्री श्ाौचालय नभएकैले क्याम्पस जान पनि मनै नलाग्ने उनी बताउँछिन्। …३/४ घण्टासम्म बस्नुपर्छ, त्यत्ति लामो समय ट्वाइलेट नगई बस्न सकिन्नँ, नगयो, ढुक्कै!' उनले भनिन्। अपांगता मैत्री भौतिक संरचना नभएकैले स्कुल तथा कलेजमा विद्यार्थी ड्रपआउट रेट पनि बढेको अमृता बताउँछिन्।
जन्मेपछि बाँच्ने अधिकार सबैको बराबर भएकाले सबैको लागि सहज शौचालय हुनुपर्छ भन्ने अभियानमा साथ दिन उनले सबैलाई आग्रह गरिन्। …अपांगलाई दया गरेर विशेष महŒव देऊ भनेको होइन, सबैलाई समानता हुनुपर्छ भन्ने माग हो,' अमृताले नागरिकसँग कुरा गर्दै भनिन्, …सरकारले बनाएको भौतिक सामग्रीको प्रयोग सबैले गर्न सक्नुपर्छ।'
तीन महिनाअघि कोरिया जाँदा उनलाई त्यहाँ बनाइएका अपांगता मैत्री भौतिक संरचनाले धेरै प्रभावित पार्‍यो। होटल, रेस्टुरेन्ट, अस्पताल तथा घरमा ह्विलचेयर मैत्री शौचालय र प्रयोग सामग्री थिए। अपांग, सवलांगको भेदै नहुने। …आफू मैत्री भएपछि मान्छेले स्वतन्त्र महसुस गर्न सक्छन्,' कोरियामा सिकेको पाठ उनले सुनाइन्, …हाम्रो देशमा भने आफूले अपांग छु भनेर नसोचे पनि भौतिक संरचनाले सोच्न बाध्य पार्छ र अरूको सहारामा बाँच्न बाध्य भइन्छ।'

1 comment:

suman luitel said...

It's really inspiring story. keep it up.