Thursday, May 26, 2011

दामी दामन


नौबिसेबाट बस त्रिभुवन राजपथ लाग्यो। पृथ्वी राजमार्ग नबन्दासम्म निकै चहलपहल हुने यो राजपथ अहिले सुनसान रहेछ। एकाध ट्रक र मोटरसाइकलबाहेक अरु सवारीसाधन केही नचल्ने।
के बिधि तिखा हुन् घुम्ती। एकसरो गाडी मोड्न पनि नपुग्ने। कहिले दायाँ कोल्टने कहिले बायाँ। कोल्टाइसँगै एउटा लोकगीत सम्झन्छु :
घुम्तीनिर सोल्टिनी मिनीबस कोल्टिनी
म त, जता माया उतै ढल्किनी
बसमा सोल्टिनी थिइनन् न त उतैतिर म ढल्किएको नै थिएँ। सबैभन्दा पछाडीको सिटमा बसेको म झ्यालतिर चाहिँ ढल्किरहन्थेँ।
घुम्ती नै घुम्ती। धेरै घुम्ती भएकोले होला यो राजमार्गको कतिपय ठाउँको नाम सातघुम्ती, नौ घुम्ती वा बाह्र घुम्ती राखिएको!
धादिङको तसर्पु गाउँ हुँदै बस तरपाय तरपाय उकालो लाग्दै छ। नौविसेबाट उकालो लाग्दा निकै माथि देखिएका पारीपारीका जीवनपुर, छत्रेदेउरालीका डाँडा हामीसँगै समानान्तर भए अनि तल परे। अझै उकालो लाग्दै छौं हामी।
...
दामनका पर्यटनकर्मी र पत्रकार सहितको एक जम्बो टोली काठमाडौंको उखरमाउलो गर्मी छल्न दामन निस्केका। मध्य बसन्त ऋतु भएकाले होला कतै हरियाली, कतै उजाड डाँडो, कतै बारीमा मकै रोप्दै हल गोरु त कतै खेतमा एकोहोरो मकै गोडिरहेका किसान। गाउँले परिवेश र जीवनको सही दृश्य देखिने।
काठमाडौंको धूलो, धूवाँ, हल्लाखल्ला, व्यस्त दैनिकबाट टाढा भएपछि यस्ता दृश्यले नोष्टिाल्जिक बनाइदिन्छ। हलगोरु बारीमा देखेपछि म एकैछिन गाउँ सम्झन्छु। मकै छर्दा तारे गोरु नहिँडेर डाम बस्नेगरि पिटेको सम्झन्छु।
नागबेली बाटो, उत्तरतिर सेता हिमाल, तरेली परेका पहाड, मिलेका खेत र बारीका गह्राहरूले यो बाटो हिँड्ने वा गाडीमा दौडने जोकोहीलाई मुग्ध बनाउँछ। अझ बसन्त ऋुतुमा पुरानो पात झारेर नयाँ पात फेरेका हरिया रुखले आँखा शान्त र शितल बनाउँछ। हुन त सधैं यहि बसेर खन्ने र खोस्रनेलाई यस्ता दृश्यले दिक्क पनि बनाउन सक्छ।
समुद्री सतहबाट लगभग २ हजार मिटरमा उक्लँदै छौं हामी। टिस्टुङबाट पालुङ छिर्ने नाका। सल्लाघारीको चिसो बतास गाडीमा छिर्दैछ। अघिसम्म गर्मीले उकुसमुकुस भएका हामी, शितल महसुस गर्दैछौं। प्राकृतिक एसी। ठिक्क चिसो।
तपाईं पनि गर्मी छल्न चाहनुहुन्छ? टिस्टुङ, पालुङ वा दामन रोज्नुहोस्।
हामी पालुङ बजार छिर्दैछौं। पालुङ खोला तरेपछि बजार लाग्छ। कस्तो अचम्म, खोला वरी पालुङ गाविस, दामन गाविसमा चाहिँ पालुङ बजार!
दामन र पालुङ साच्चै राम्रो छ। हरियाली, शान्त र सफा। चारैतिर हरिया पहाडले घेरेको उपत्यका। बाहै्रकाल चिसो हुने। सबैजसो जातजातिको बसोबास रहेको यो ठाउँ त्रिभुवन राजपथ व्यस्त भएको बेला खाजा र खानको लागि प्रख्यात थियो। तर, अहिले सुनसान छ। बजार मौन छ।
यहाँको मौसम पनि अचम्मैको छ। एकैछिनमा घाम लाग्ने। एकैछिनमा बादल लाग्ने र पानी दर्कने। हामी पालुङ पुग्दा चरक्क चर्केको घामलाई एकै छिनमा बादल आएर छेक्यो। र, मडारिन थाल्यो। मैले सुनको थिएँ लन्डनका युवती र मौसमको भर हुन्न। पालुङमा पनि यस्तै लाग्यो। यहाँका युवतीको भर छ की छैन थाहा छैन तर, मौसमको चाहिँ भर नहुने रैछ। अदलबदल भइरहने।
नगदे बाली हुने ठाउँ यो। त्यसैले बाह्रैमास आलु, मकै, तोरी र मुला खेती गरिन्छ यहाँ। अहिले आलु गोड्ने बेला भएको छ। कतै फुल खेलेका आलुका ड्याङ कतै आलु गोडिरेहका किसान। मैले सहकर्मी रामचन्द्र भट्टलाई सोधेँ, …आलु फुलेपछि के फल्छ?' उनले हाँस्दै भने, …त्यति भन्न नआउनेले त पत्रकारिता नै नगर्नु।' बसका सबै जना गलल्ल्ल हाँसे। हुन पनि हो आलु फुलेपछि के फल्छ सबैलाई थाहा छ– गोलभेडा।
मकवानपुर जिल्लाको टिस्टुङ, पालुङ, दामन, मार्खु, बज्रबारही लगायतको ठाउँ आलु र मुलाको लागि प्रख्यात छन्। रसिलो र स्वादिलो हुने भएकोले नाम कमाएको स्थानीयले बताउँछन्। चिसो ठाउँको मुला र आलु स्वादिला हुन्छन्। त्यही भएर त काठमाडौंमा पनि मुला किन्दा पालुङको मुला भनेर विज्ञापन गरिन्छ। चाहे त्यो भक्तपुरमा नै किन नफलेको होस्।
पालुङ बजारलाई पछि पार्दै सिमभन्जयाङ उक्लँदै छौं। यहाँबाट सडकैसडक सिमभन्ज्याङ पुग्न १० किलोमिटर गुड्नुपर्छ। गाडीमा जाने हो भने १५ मिनेटमै पुगिन्छ। हिँडेर झण्डै एक घण्टा लाग्छ।
गर्मीबाट चिसो र चिसोबाट ठण्डा सुरु भयो। अब त जाडो हुन थाल्यो। यस्तो गर्मीमा पनि कस्तो चिसो ठाउँ! गर्मीमा चिसो खान र जाडोमा हिउँ खेल्न उपयुक्त गन्तव्य हो दामन।
गुराँस फुल्ने, काफल पाक्ने मौसम। वनभरी रातो, सेतो र गुलावी गुराँस ढकमक्क फुलेका छन्। कोइली चरी काफल पाक्यो गीत गाउँदै उडेकी छे। कस्तो शान्त ठाउँ। टाढा टाढा कराएको कोइली पनि नजिकै जस्तो लाग्ने। काठमाडौंको कोलाहलले डम्मिएका कान दामन पुगेपछि बल्ल खुले।
हामी पुग्नुभन्दा केही घण्टा अघि मात्रै असिना बर्केका रहेछन्। खाल्डाखुल्डीमा त सेताम्मै। झण्डै एकफिटसम्म जमेका। हामी एभरेष्ट पानोरमा रिसोर्टमा बास बस्यौं। रिसोर्ट सुन्दर र सफा छ। अनि यहाँबाट मनोरम दृश्य देख्न सकिन्छ।
...
दामन सूर्यादय र सूर्यस्तको भ्यू हेर्न पनि राम्रो ठाउँ हो। त्यसको लागि भ्यू टावरको समेत व्यवस्था गरिएको छ। स्थानीय सामाजिक संस्था स्टेप नेपालले सन्चालन गरेका हो भ्यु टावर। हामी सूर्योदय हेर्न विहान साढे ५ बजे उठ्यौं। नभन्दै पूर्व क्षितिजमा पहेँलो, रातो रंग बनाउँदै पौने ६ बजे सूर्य फुत्त निस्कियो। उत्तरतिर देखिएको सुनौला हिमाल पनि हेर्न लायककै थियो। यहि दृश्य हेर्न स्वदेशी र विदेशी पर्यटक यहाँ आउने गरेको रिसोर्टका निर्देशक सुदेश केसी बताउँछन्।
विहान निकै चिसो हुन्छ यहाँ। लुगलुग आँतै कमाउने। त्यसैले जुनसुकै मौसममा गएपनि न्यानो कपडा बोक्नै पर्छ।
अघिल्लोदिन परेको असिना अझै पग्लेका छैनन्। हामी एकछिन असिना खेलेर सिमभन्ज्याङ लाग्दैछौं। मकवानपुरको सबैभन्दा अग्लो भन्ज्याङ हो– सिम भन्ज्याङ। २ हजार ४ सय ८८ मीटर उचाइमा रहेको यहाँ चिया र नास्ता खान छाप्रे होटल छन्।
कलिलो घाममा टल्लेका असिनाले मनै आनन्दित बनायो। यहाँ चैत र वैशाख महिनामा वर्षेनी असिना पर्ने स्थानीय सुशिल कुमार भुजेलले बताए। भन्छन्, …५ फिट सम्म पर्छ। आरुका फूल, आलु र अन्य बाली सखाप पार्छ।' यसपाली भने ३ फिटसम्म परेको उनले जानकारी दिए।
असिना परेपछि बालबालिका शिवलिंग, मन्दिर बनाइखेल्दारहेछन्। हिउँदमा पनि यसैगरी हिउँ पर्ने र पर्यटक खेल्न आउने भुजेलले बताए।
काठमाडौंमा गर्मी बढ्दो छ। त्यसैले गर्मी छल्ने सोचमा हुनुहुन्छ भने दामन उपयुक्त गन्तव्य हो। गर्मी छल्न मात्रै होइन होइन यहाँबाट तराइ, पहाड र हिमालको दृश्य समेत देखिन्छ।
यहाँबाट नेपालमा रहेका ८ हजार मिटर भन्दा माथिका ८ वटा हिमाल हेर्न सकिन्छ। तर यसको लागि भने असोज र कात्तिक महिना उपयुक्त हुन्छ।
त्यसो त बास बस्नको लागि धेरै होटल छैन यहाँ। भएका अलि महंगा छन्। सस्तो खोज्ने हो भने पालुङबजार झर्नुपर्छ।
यहाँबाट अलि तल जाने हो भने तामाङहरूको बाहुल्यता रहेको बसीफाँट पुग्न सकिन्छ। त्यहाँ गएर एक रात विताउन सकिन्छ। तामाङ संस्कृति बुझ्न र नाचगान गर्न जाने हो भने रमाइलो गन्तव्य बसीफाँट जान सकिने श्री लेकाली बसीफाँट माविका सन्दिप भुजेल बताउँछन्।
नयाँ वर्ष र हिउँ परेको बेला मानिसहरूको भीड लाग्छ सिम भन्ज्याङमा। नयाँवर्षको दिन मैत्री बगैचामा पिकनिक मनाउन आउने पनि निकै हुन्छन् त्यति मात्रै होइन फिल्म र म्युजिक भिडियो सुटिङको लागि पनि रमाइलो छ।
यसैगरी तराइको गर्मीमा पिल्सिएकाहरू पनि सजिलै आउन सक्छन्। बीरगन्जबाट लगभग १ सय किमी उत्तरमा छ दामन। हेटौडाबाट लगभग ५५ किलोमिटर उत्तर।
...
यहाँबाट साइक्लिङिको मजा लिँदै हेटौडा वा मार्खुु हुँदै कुलेखानीमा माछा मार्न र बोटिङ गर्न समेत जान सकिन्छ। हेटांैडा र मार्खु हुँदै साइक्लिङको योजना बुनेका छन् स्थानीयले। दामनबाट मार्खु सम्म ओरालो र त्यसपछि तर्साे छ बाटो। यसैगरी दामनमा गएर रक क्लाइम्बिङ, प्याराग्लाइडिङ, पोन्नी राइडिङ समेत गर्न सकिने रिसोर्टका निर्देशक सुदेश बताउँछन्।
हिन्दूका लागि ऋषेश्वर महादेव र बौद्धमार्गीहरूका गुम्बा अर्काे आकर्षण हो। गुराँसे जंगलको बाटो हुँदै ऋषेश्वर मिन्दर र गुम्बा जान सकिन्छ। मन्दिरमा फागु र कोजाग्रत पूर्णिमा मेला लाग्छ।
ठूलो ढुंगालाई महादेव मानेर पुजाआजा गरिँदै आइएकेा छ। ढुंगामा महादेव छन् र आँखाले महादेव देख्न सक्यो भने सबै पाप पखालिने नासिने जाश्रुति छ। मूर्ति देख्न नसक्नेहरू चाहिँ पापी हुने त्यहाँ ४२ वर्षदेखि ध्यान गर्दै आएका भिक्षु जिचेन लामाले बताए।
पर्यटकलाई प्याकेज
दुई दसक पुरानो एभरेस्ट पानोरमा रिसोर्टले नेपाली पर्यटकलाई आकर्षित गर्न …आहा दामन' प्याकेज ल्याएको छ। प्रतिव्यक्ति दुई हजार ६८ रुपैयाँको प्याकेज असार मसान्तसम्म पाइने छ। प्याकेजमा डिनर, ब्रेकफास्ट, लन्च र कोठा राखिएको छ।
नेपालीमा हप्तामा छुट्टी मनाउन जाने संस्कार बढ्दै गएकोले उनीहरूलाई छुट प्याकेज ल्याएको रिसोर्टका निर्देशक सुदेश गौतम क्षेत्रीले बताए। समुद्री सतहदेखि दुई हजार पाँच मिटर उचाइमा रहेको यो रिसार्टबाट मौसम सफा भएको बेलामा उत्तरतिर सगरमाथालगायत ८ हजार मिटरभन्दा अग्ला ८ वटा हिमालहरू देख्न सकिन्छ।
सिंगल, डबल र डिलकस गरी रिसोर्टमा ३० वटा कोठा छन्।

Wednesday, May 11, 2011

भिमानमा चार महिना


ग्याब्रियला कोल्छाबोवा
नेपालबारे सुनेकीमात्र होइन, जानेकी पनि थिएँ। किताबमा नेपालबारे पढेदेखि नै मलाई यो देश आउँआउँ लागेको थियो। यहाँ आई स्वयंसेवी भएर काम गर्ने इच्छा थियो। म गणतन्त्र चेककी शिक्षिका। त्यसैले, गाउँको कुनै स्कुलमा पढाउन चाहन्थेँ।
नोभेम्बर २०१० को अन्त्यतिर नेपाल आएँ।
दुःखको कुरा, काठमाडौं विमानस्थलमा ओर्लेर नेपाली भूमिमा पाइला टेक्नासाथ ठगिएँ। एकजना मान्छेले …म तपाईंलाई लिन आएको हुँ, दस डलर दिनुस्' भन्यो। मैले होला त भनेर दिएँ। तर, ऊ मलाई लिन आएको होइन रहेछ। पछि त कहाँ बेपत्ता भयो कहाँ! दस डलरको कुरा होइन, म ऊ फर्केर आउला भनेर निकैबेर विमानस्थलमा कुरेर बसेँ। यसले एक मन त नेपालप्रति नै विरक्ति लागेर आयो। पछि सोचेँ, कुनै पनि घटनाको प्रकृति वा व्यक्तिको स्वभाव हेरेर त्यसकै आधारमा समग्र देशप्रतिको धारणा बनाउनु हुँदैन।
नेपाल बस्दै जाँदा, नेपालीहरूसँग भिज्दै जाँदा यसले मेरो मन जित्दै गयो। हुन त स्वयंसेवीका रूपमा काम गर्न आएकीले मैले नेपाल धेरै घुमिनँ। तर, जहाँ गएँ, जहाँ बसेँ, त्यहाँका मान्छेको रीतिथिति, रहनसहन, चालचलन र व्यवहारले मेरो मनमा अमिट छाप छोडेको छ।
नेपाल आउनुअघि मलाई राजधानी काठमाडौं …ग्रिनसिटी' (हरितसहर) होला भन्ने लागेको थियो। काठमाडौंप्रति यस्तै धारणा बनाएकी थिएँ। तर, यहाँ आएपछि थाहा भयो, यो त विदेशका अरू सहरजस्तै …कंक्रिटसिटी' पो रहेछ। अस्तव्यस्त ट्राफिक जाम, जथाभावी ठडिएका घर। काठमाडौंले आफ्नो मौलिक पहिचानसमेत गुमाउँदै आएको रहेछ। आधुनिक भवनले यहाँका मन्दिर, पाटीपौवा, ढुंगेधारा हराउँदै गएछन्। यो सुनेर साह्रै दिक्क लाग्यो।
सहरले जतिसुकै प्रगति गरे पनि उसले आफ्नो पहिचान गुमाउनु हुँदैन। फ्रान्सको पेरिसमा आधुनिकताको कुनै कमी छैन, तर सहरले परम्परागत पहिचान सुरक्षित राखेको छ। जुन दिन सहरको मौलिकता गुम्छ, तपाईंको पहिचान त्यही दिन नष्ट हुन्छ। यसबारे काठमाडौंवासी सजग हुनैपर्छ। किनकि, काठमाडौंको पहिचान गुम्नु भनेको काठमाडौंवासीकै पहिचान संकटमा पर्नु हो।
नेपाल बसाइमा मैले सौराहा, पोखरा र लुम्बिनी घुमेँ। यी ठाउँ एकदमै रमाइलो लाग्यो। यहाँ भने मौलिकता केही हदसम्म जीवित रहेको पाएँ।
नेपाल भ्रमणबाट केही नयाँ कुरा सिक्न चाहन्थेँ म। यहाँका विद्यार्थीलाई केही सिकाउन चाहन्थेँ। यसका लागि स्कुल खोज्दै सबभन्दा पहिला जनकपुर गएँ। त्यहाँ बस्ने प्रबन्ध नमिलेपछि सिन्धुलीको भिमान गएँ। भिमानमा पनि खानेबस्ने समस्या थियो। तर साथी पवन पौडेलले मलाई उनकै घरमा खानेबस्ने व्यवस्था मिलाइदिए।
भिमानमा म गाडी चढेर गएकी थिएँ। अहिलेसम्म त्यति लामो यात्रा कहिल्यै गरेकी थिइनँ। त्यो यात्रा सम्झँदा आज पनि रमाइलो लाग्छ। आफ्नो देशमा कहिल्यै गाडी चढेर बान्ता गरेकी थिइनँ, यहाँ आएपछि बाटो र लामो यात्राले पेट पुरै बाउँडिएर आयो। अनि त... (लामो हाँसो)।
भिमान पुगेको दिन सबैले स्वागत गरे। पवनकी आमाले निकै माया देखाउनुभयो। नयाँ ठाउँमा के होला, कसो होला भन्ने डर र संकोच मनमा थियो, त्यो उहाँको मायाले हट्यो। छरछिमेककाले पनि सधैं आदर गरे। बिस्तारै म सबैसँग खुल्दै गएँ। उनीहरूको संस्कृति र रहनसहनसँग भिज्दै गएँ। उनीहरूले पनि मलाई खुसीखुसी स्वीकार गरे। नेपालीहरूको यही बानीले मलाई नेपाल मनपर्छ। यहाँ बोलीमा मात्र होइन, व्यवहारमा पनि पर्यटकलाई भगवान मानिँदो रहेछ। एयरपोर्टको त्यो सानो घटनालाई छोडेर।
भिमानमा म चार महिना बसेँ। त्यहाँ ८ देखि १२ कक्षासम्मका विद्यार्थीलाई पढाएँ।
यहाँ प्रत्येक दिन नयाँ कुरा सिक्थेँ। नयाँ सिकाउँथेँ। कहिलेकाहीँ कल्पनै नगरेको र नसोचेको कुरा देख्दा अचम्ममा पर्थें। हाम्रो देशतिर जे काम पनि मेसिनबाट गर्ने चलन छ, यहाँ हातैले गरेको देखियो।
खेतमा गहुँ काटेको, आलस टिपेको, खेतबारीमा काम गरेको दृश्यले मलाई अझै अचम्भित बनायो। यी सबबाट ग्रामीण नेपालीको जीवन बु‰ने मौका पाएँ।
मैले इटलीमा दुध त खाएको थिएँ। तर, गाईको थुनबाट दुध दुहेको देखेकी थिइनँ। पहिलोचोटि त्यो देखेर चकितै खाएँ। यहाँ जे काम पनि हातैले गरिँदो रहेछ। नेपालले यसलाई आफ्नो पर्यटन प्रबर्द्धनसँग जोड्नसके राम्रो हुने थियो।
मैले गाईवस्तु पनि देखेकी थिइनँ। म यहाँ आएर बाख्रा गोठालो गएँ। आफैं काममा सामेल हुँदा जे कुरा पनि चाँडै जानिन्छ। मलाई आमाले केही गर्न दिनुहुन्नथ्यो, तर म काम नगरी वा अध्ययन नगरी बस्नै सक्दिनथेँ। उहाँले नलगे पनि पछि लागेर म काममा गइहाल्थेँ।
मैले उहाँसँगै डोको बोकेर दाउरा ल्याएँ। आफूले दाउरा बोकेपछि नै थाहा पाएँ, नेपालीलाई गर्दन र ढाड किन दुख्दो रहेछ! निकै परिश्रम गर्दा रहेछन् नेपाली। थाप्लोमा नाम्लो हालेर १५ मिनेट स्याँस्याँ गर्दै उकालो चढ्नु कम्ता गाह्रो भएन मलाई। तीन दिनसम्म दाउरा बोकेँ। काम गर्ने एकजना सहयोगी (माइला), आमा र ममात्रै घरमा थियौं। त्यही भएर आमालाई सघाउन पँधेरो गएँ। गाग्रोमा पानी बोकेँे। बारीमा गएर आलु टिपेँ। पहिलोचोटि थाहा पाएँ– आलु जमिनमुनि फल्दो रहेछ!
नेपालीका लागि यी सब सामान्य कुरा होलान्, तर मैले धेरै रोचक र अनौठो अनुभव गरेँ। म मासु खान्थेँ। मेरो देशमा प्लास्टिकमा पोको पारेर मासु बेचिन्छ। मलाई लाग्थ्यो, मासु प्लास्टिकमै पाइन्छ। यहाँ आफ्नै अगाडि खसी काटेर मासु तयार पारेको देखेँ। त्यसपछि पो थाहा पाएँ, मासु कसरी बनाइँदो रहेछ! मेरो देशमा ६०/७० वर्षअघि पनि यसरी कमै काम हुन्थ्यो रे, आमाले भन्नुभएको।
गाउँघरमा विवाहित महिला साडीमात्रै लगाउँदा रहेछन्। हामीकहाँ त जो पनि स्कर्ट लगाएर हिँड्छन्। मैले पनि साडी लगाएँ। सबैले भने– कति राम्री देखिएकी!
यहाँ विवाह गर्ने चलन पनि गज्जबकै रहेछ। म एउटा बिहेमा सामेल भएकी थिएँ। हामीकहाँ प्रायः लभ म्यारिज हुन्छ। केटाकेटी खुसी र चन्चले हुन्छन्। यहाँ दुलाहा र दुलही गम्म परेर बसेको देख्दा अचम्म लाग्यो। कति इनोसेन्ट!
मैले …बुक फर चिल्ड्रन' नाम दिएर यहाँ तीनवटा पुस्तकालय खोलेकी छु। साथीहरूलाई नेपाल जाँदा कम्तीमा दुइटा किताब लिएर जाऊ भन्छु। जुन मैले खोलेको पुस्तकालयमा काम लागोस्। मलाई नेपालमा दुध र चिउरा एकदमै मिठो लाग्यो। गुन्द्रुक र मस्यौरा त सँगै लाँदैछु।
रहँदाबस्दा सबैसँग यति मन मिलेछ, छुट्टिने बेला म धरधरी रोएँ। स्कुलका केटाकेटीले फूलमाला लगाएर मलाई बिदाइ गरे। यसले पनि मलाई निकै भावुक बनायो।
म फेरि नेपाल आउँछु।
(चेक रिपब्लिककी ग्याब्रियलासँग कञ्चन अधिकारीले गरेको कुराकानीमा आधारित)

Tuesday, May 3, 2011

प्रतिविद्यार्थी एक ल्यापटप, पढ्नभन्दा खेल्न प्यारो


पाठ्यक्रम विकास केन्द्रले २, ३ र ६ कक्षाको इ–पाठ तयार पारेको छ। अहिलेसम्म नेपाली, अंग्रेजी र गणित विषयका इ–पाठ तयार भइसकेका छन्।
लक्ष्मी गुरुङको घर मुस्ताङको कागबेनीमा पर्छ। हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङ दुर्गम पहाडी जिल्ला हो। उनी जनशान्ति माध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्छिन्। उनी विद्यालयमा किताबको पानासँगै ल्यापटप पल्टाउँछिन्। किताब र ल्यापटप बोकेर विद्यालय जानेमा उनीसँगै कक्षा २, ३ र ६ का अरू विद्यार्थी पनि छन्।

सात महिनाअघि ल्यापटप हातमा लिँदा खेलौनाजस्तै लागेको थियो रे लक्ष्मीलाई। यस्तोमा पढ्नेभन्दा उनले साथीसँग कानेखुसी गरेकी थिइन्, …कसरी पढ्ने होला?'

…तर चलाउँदै गएसि जानिँदो रहेछ,' उनी भन्छिन्, …अहिले त म नेपाली, अंग्रेजी र गणित सप्पै यसैमा पढ्छु।' ल्यापटपले उनलाई पढ्नमात्र होइन, गेम खेल्न, गीत सुन्न र फिल्म हेर्नसमेेत सिकाएको छ। …बजार (जोमसोम) बाट ल्याएको गीत र फिल्म यसैमा हेर्छु,' उनी भन्छिन्।

डेढ वर्षअघि सुरु भएको …प्रतिव्यक्ति एक ल्यापटप' कार्यक्रमअन्तर्गत उनीहरूले ल्यापटप पाएका हुन्। शिक्षा विभाग, पाठ्यक्रम विकास केन्द्र, शैक्षिक जनशक्ति विकास केन्द्र र साझा शिक्षा इ–पाटीले संयुक्त रूपमा यो कार्यक्रम सञ्चालन गरेको हो।

पहिलो चरणमा मकवानपुर, कपिलवस्तु, काभ्रेपलाञ्चोक, डडेलधुरा, मुस्ताङ र ललितपुर जिल्लाका २६ विद्यालयमा परीक्षणका रूपमा यो कार्यक्रम सञ्चालित छ। …यी जिल्लामा कार्यक्रम सफल भए देशभरका सबै विद्यालयका सबै विद्यार्थीलाई ल्यापटप पुर्‍याउने लक्ष्य छ,' विभागका शाखा अघिकृत दिपेन्द्र सुवेदीले भने।

सूचना र प्रविधिले दिनदिनै फड्को मार्दै गएपछि नेपाल सरकारले प्रतिविद्यार्थी एक ल्यापटपको अवधारणा ल्याएको हो। यो विद्यार्थी पढाउने नयाँ विधि हो। …ल्यापटपबाट पढाउँदा बढी प्रभावकारी हुन्छ,' उनी भन्छन्, …विद्यार्थीले तत्कालै आफ्नो कमीकमजोरी र गल्ती थाहा पाउन सक्छन् र सुधार्न सक्छन्।'

पाठ्यक्रम विकास केन्द्रले २, ३ र ६ कक्षाको इ–पाठ तयार पारेको छ। अहिलेसम्म नेपाली, अंग्रेजी र गणित विषयका इ–पाठ तयार भइसकेका छन्। सुवेदीका अनुसार अन्य विषय बनाउने काम भैराखेको छ।

…कार्यक्रम लागू भएका विद्यालयले सरकारले उपलब्ध गराएको सर्भरबाट डाउनलोड गरेर विद्यार्थीलाई सिकाउन सक्छन्,' उनी भन्छन्, …सबै विद्यालयमा सर्भर राखिएको छ।

तर, यो कार्यक्रमले विद्यार्थीलाई पढ्न सजिलो भए पनि केही बेफाइदासमेत देखिएको विद्यार्थीहरूको भनाइ छ।

जनशान्ति विद्यालयका कम्प्युटर शिक्षक दिपककुमार श्रेष्ठका अनुसार विद्यार्थीले ल्यापटपको राम्रो सदुपयोग गर्न सकेका छैनन्। …विद्यार्थीले यसलाई पढाइभन्दा मनोरञ्जनको भाँडोका रूपमा लिएका छन्,' उनी भन्छन्, …त्यही भएर सरकारले राम्रो कामका लागि दिए पनि प्रतिफल राम्रो आएको छैन।' उनका अनुसार विद्यार्थीहरू ल्यापटप घर लगेर कि गीत सुन्छन्, कि फिल्म हेर्छन्, कि गेम खेल्छन्।

विद्यार्थीहरू आफै पनि पढाइमा भन्दा खेल्नकै लागि ल्यापटप प्रयोग गरिरहेको स्वीकार गर्छन्। जनशान्तिमा कक्षा ६ मा पढ्ने सन्दिप नेपाली भन्छन्, …घरमा लगेर फुटबल खेल्छु। कहिलेकाहीँ त होमवर्क गर्नधरी भ्याउँदिनँ।'

टिभीमा समेत फुटबल हेरेर नअघाउने सन्दिप ल्यापटप घर ल्याएपछि त दिनमा पाँच/सातचोटि फुटबलमै भुल्छन्। यति हुँदाहुँदै पनि उनले ल्यापटपको इ–पाठबाट अंग्रेजी, हिसाब र नेपालीको होमवर्क गर्न जानिसकेका छन्।

त्यस्तै, भविष्यमा शिक्षिका बन्ने लक्ष्य राखेकी लक्ष्मीलाई पनि कम्प्युटरमा गेम खेल्न रमाइलो लाग्छ। …धेरैथोक त आउँदैन। तास खेल्नचाहिँ आउँछ,' उनी भन्छिन्। अर्का विद्यार्थी दावा साङ्वोले यसअघि न ल्यापटप देखेकी थिइन्, न यसको गेमबारे थाहा थियो। अहिले उनलाई धेरै गेमको नाम कण्ठ छ।

खेल्नमा बढी रुचि भए पनि ल्यापटपलाई पढाइमा पनि प्रयोग गरिरहेको उनी बताउँछन्। …ल्यापटप चलाउँदा–चलाउँदै धेरै काम गर्न जानिसकेको छु,' उनी भन्छिन्, …इ–पाठ खोल्न, खेल खेल्न र फोटोसमेत खिच्न जानेको छु, तर पढाइभन्दा गेम खेल्नै बढी मन लाग्छ।'

विद्यार्थीले ल्यापटप घर लगेर के गर्छन् भनी विद्यालयले राम्रो अनुगमन नगरेकाले यस्तो समस्या आएको स्थानीयको भनाइ छ। कागबेनीकी तेञ्जिङ गुरुङ भन्छिन्, …विद्यार्थीले ल्यापटप जे गरे पनि सरहरू वास्ता गर्दैनन्। अनि कसरी राम्रो सदुपयोग हुन्छ?'

शिक्षा विभागका कर्मचारी भने केन्द्रमा अहिलेसम्म राम्रो रिपोर्ट आएको दाबी गर्छन्। …हामीले अनुगमन गरेका बेला राम्रो रिपोर्ट आएको छ,' सुवेदी भन्छन्, …एउटा–दुइटा विद्यालयमा त्यस्तो हुनु स्वाभाविक हो।'

अर्का विद्यार्थी सुषमा नेपालीलाई पनि ल्यापटपले पढाइ बिगार्छ भन्नेमा विश्वास छैन। …घरमा गेेम खेलेर बानी बिग्रन्छजस्तो लाग्दैन,' उनी भन्छिन्, …आफूमा भरपर्ने कुरा हो। धेरै नखेले त भैहाल्यो नि।'

उनलाई ल्यापटपबाट गणितको चित्र कोर्न निकै मन पर्छ। …ज्यामितिको हिसाब निकै सजिलो तरिकाले जान्न सकिन्छ,' उनी भन्छिन्, मिले–नमिलेको उत्तिनखेरै थाहा पाइन्छ। भोलिपल्ट सरलाई सोध्नै पर्दैन।'

डाक्टर बनेर गरिबको सेवा गर्ने लक्ष्य राखेकी सुषमाले ल्यापटपबाट जोडा मिलाउन, चित्र कोर्न, साँचो वा झुटो छुट्याउन, एचसिएफ, एलसिएम हिसाब गर्न र त्रिभुजहरूबारे जानेकी छन्। अंग्रेजीमा भने कुनै–कुनै शब्द नबुझ्दा अलमलिने गर्छिन्।

…यो विधिको फाइदा र बेफाइदा दुवै छ,' शिक्षक श्रेष्ठ भन्छन्, …विद्यार्थीले पढेका कुरा उत्तिनखेरै अभ्यास गर्न पाएका छन्, परिभाषाहरू जान्छन् र कसरी अभ्यास गर्ने थाहा पाउँछन्।'

यसलाई राम्रोसँग सदुपयोग गरे विद्यार्थीको पढाइस्तर उकासिने उनको भनाइ छ।

Monday, May 2, 2011

भागेर सहर

गाउँको ठिटो। १६ वर्ष पुगेर सत्रमा टेकेको। मन थिरमा कहिल्यै बसेन। सखेलीहरू कोही लाहुरे भए, कोही विदेश भासिए, कोही पढ्न सहर पसे त कोही मास्टर बने। तर, गोरखा आरुपोखरीका रामप्रसाद रिमाल बिहानबेलुकी भकारो सोर्थे, दिनभरि गाईवस्तु चराउनमै व्यस्त हुन्थे। स्कुल टेक्न पाएनन्। घरको जेठो छोरो, घरकै काममा व्यस्त भए। भन्छन्, …घाँसदाउरा गर्दागर्दै पढ्ने उमेर घर्कियो।'

कमाउने साथी आउँदा चुरोट सल्काउँथे, घरमा भनेको चिज ल्याउँथे, सुकिलामुकिला भएर हिँड्थे। रिमाललाई यी सब टाढाको कुरा थियो। उनीसँग एक रुपैयाँ हुन्नथ्यो। भित्रभित्र साथीहरूको डाह गर्थे। विरक्तिएका थिए। उनी भन्छन्, …आफ्नो त न पैसा न त राम्रा कपडा। मन कुँडिन्थ्यो।'

एकदिन माथ्लो घरको साथी आएर सहर चर्चा गरे– राम्रो लाउन, मिठो खान पाइन्छ र पैसा कमाइन्छ। यो सुनेपछि १९ वर्षे रिमाल रातभर सुत्न सकेनन्। यता कोल्टे फर्क्याे साथीकै कुरा खेल्छन् उता कोल्टे फेर्‍यो त्यस्तै। गाउँमा यत्तिकै बसे जिन्दगीमा केही हुन्न। न केही जानिन्छ न त पैसा नै कमाइन्छ।

भोलिपल्ट बिहानै घरबाट काठमाडौं भागे उनी।
काठमाडौं त आए तर चिनेजानेको कोही छैन। न बस्नेको ठोगान न खानेको। भन्छन्, …कहाँ, कसरी जाने केही थाहा थिएन। खान पैसा थिएन। कति दिन भोकै हिँडेँ!'
काठमाडौंको गल्ली चहारे। बनाउँदै गरेको घरमा गएर सुते। त्यहाँ पनि आरामसित सुत्न सकेनन्। घरधनीले आएर लत्याउने हो कि भन्ने लाग्थ्यो। सम्झन्छन्, …आकासलाई सिरक मानेर कति दिन सुतेँ, कति दिन। खाली पेट पनि निकै हिँडेँ।'

एकसरो मैलो लुगा, ननुहाएको गुन्द्रुके कपाल, पातलो भैसकेको हात्तीछाप चप्पल लगाएर जागिर खान अफिस–अफिस धाए। यस्तो भेषमा गएकालाई कसले दिने जागिर! काम दिन जो पनि हच्किन्थे। बल्लतल्ल धेरै ठाउँमा भनसुन गरेपछि ट्रेकिङमा भारी बोक्ने काम पाए। कामसँगै नयाँ नाम पनि– भरिया राम।
भरियाबाट सुरु उनको यात्रा गाइडमा आइपुगेको छ। एड्भेन्चर थर्ड पोल ट्रेकमा गाइड काम गर्छन् उनी। पहिले गोरखाका रामप्रसाद अहिले चितवनका भएका छन्। पर्यटन क्षेत्रमा ३० वर्ष बिताइसकेका रिमाल पहिलेका दुःख सम्झँदा आत्तिन्छन्। भन्छन्, …जिन्दगी घाँसदाउरामै बित्छ किजस्तो लागेको थियो।'
...
कलकलाउँदो ज्यान, बढ्दो उमेर, हट्टाकट्टा शरीर भारी नै बोक्न परे पनि उनको तुजब अर्कै थियो त्यो बेला। परिआए १ सय किलोसम्म बोक्न सक्थे। साथीभाइले कमाएको देखेका उनले पैसाको महŒव बु‰दै थिए। उनी पनि सुकिला लुुगा लगाउन सक्ने भए।

पैसा त्यति धेरै थिएन, भरिया काममा। दिनको १५ रुपैयाँ पाउँथे। तैपनि के–के न पाएजस्तो भएको थियो उनलाई। पैसा बढी कमाउन तोकेभन्दा दोब्बर भारी बोक्थे। भन्छन्, …डबल भारी बोके डबल पैसा पाइन्छ भनेर ३५ किलोको सट्टा ७० किलोसम्म बोक्थेँ।'
भारी बोकेर पहिलोचोटि लाङटाङ गए। १४ जनाको समूहमा लाङटाङ पुग्न अहिलेजस्तो सजिलो थिएन। बेत्रावतीसम्म गाडीमा गएर हिँड्नुपर्थ्याे। अहिले स्याफ्रुबेसीबाट पैदल यात्रा गर्नुपर्छ।
भारी बोकेर १४ दिनको ट्रेक उनलाई गाह्रो भएन। कारण थियो– पैसा। उनले पैसाको महŒव बुझिसकेका थिए। त्यसैले होला भारी बोक्ने जोसजाँगर कत्ति पनि घटेन।
ट्रेकिङ आफैंमा गाह्रो काम। त्यसमाथि भारी बोकेर हिँड्न झनै गाह्रो। भारीले नअत्याए पनि उचाइले सतायो। कतिचोटि नांगै खुट्टा हिँडे। कति दिन पातलो लुगामा रात काटे। लुगलुग काम छुटेर सुत्नै सकेनन्।
लाङटाङ जाँदा नै ३९ सय मिटरहाराहारीको क्यान्जिङ गुम्बा पुगेपछि भने अलि गाह्रो भयो। …पहिलो ट्रेकिङ भएकाले लेक लाग्नै आँटेको थियो। सिकनेसको औषधी खाएँ,' उनी भन्छन्, …त्यसपछि १० दिनसम्म भारी बोक्दा केही भएन।' यस्तै अन्नपूर्ण सर्किट जाँदा पनि थोराङ्ला पास गर्ने क्रममा उनलाई टाउको दुखेको थियो रे। तर त्यसपछि कहिल्यै पनि हाइअल्टिच्युड लागेन। उनले ६ हजारभन्दा माथिसम्म चढेका छन्।
...
दुई दसक अघिसम्म पर्यटकले नेपालीलाई माया गर्ने अनुभव छ उनको। अहिले त वास्तै गर्दैनन् रे। परिआए सँगै हिँडेको टुरिस्टले छोडेर हिँड्ने उनी बताउँछन्। …टिप्स पनि राम्रो दिन्थे,' उनी भन्छन्, …अहिलेका लोभी हुन थालेका छन्।' पहिलो यात्रामा उनले झन्डै ५० डलर टिप्स पाएका थिए। तर सँगै गएका शेर्पा साथीहरूले काठमाडौंमा डलर लिएर गए प्रहरीले समात्छ भनेर अत्याइदिए। १ डलर बराबर १० रुपैयाँमा उनीहरूसँगै साटेछन्।
पहिलो ट्रेकिङबाट फर्केपछि उनले काठमाडौंमा डेरा लिए। एक हजार रुपैयाँ बचाएका थिए। महिनाको ४५ रुपैयाँमा कुमारी हलछेउ कोठा लिए। स्टोभ किने, भाडावर्तन जोडे र सिरक डसना। सामान जोडेपछि हर्षले उनको आँखाबाट आँसु झरे। आखिर काम गरे के नहुने रहेछ र! अहिले चितवनमा घरघडेरी जोडका छन्।
रिमालले अंग्रेजी पटक्कै जानेका थिएनन्। सँगैका साथीहरूले …एस/नो' भन्न सिकाए। पर्यटकसँग जे कुरा गर्दा कि मुन्टो हल्लाउँथे कि एस/नो भन्थे। कखरा नखुट्याएका उनले जे भने नि एस भन्दिन्थे।
अहिले परर अंग्रेजी बोल्न आउँछ। तर लेख्न जान्दैनन् र लेखेको बु‰दैनन्। त्यसैले छोराछोरीलाई राम्रो कलेज पढाएका छन्। दुई छोरी र एक छोरा छन् उनका।
त्यो बेलाको पर्यटन र अहिलेकोमा धेरै फरक पाएका छन् उनले। भरियालाई हेप्ने चलन थियो। भरिया भनेका तल्लो स्तरका हुन् भन्ने सोच थियो। हिँड्दा राम्रो खान र बस्न दिन्नथे। त्यही बेलादेखि भरियाले साथमा एक माना चामल लिएर जान थाले। पर्यटकलाई जुन होटलमा राख्थे, त्यहीँ एक रुपैयाँ दिएर त्यो चामल पकाउन लगाउँथे। सुतेको पैसा लाग्थेन। त्यो चलन नै हरायो अहिले।
भरिया भएर एक वर्ष काम गरेपछि किचनतिर छिरे। सहायक किचन ब्वाई भएर चार वर्ष काम गरे। सन् १९८८ मा शेर्पा ट्रेकिङ सर्भिसमा कुकको काम गरे। कुक पेसा पनि चित्त बुझेन उनलाई। अनि नाम र विशेषता कण्ठ गर्न थाले विभिन्न हिमाल, ठाउँ र जातजातिका। उनले भने, …अनुभव पनि बढ्दै गयो। त्यसपछि भरियाबाट गाइडतिर छिरेँ।'
एभरेस्ट एक्सप्रेसमा ४ वर्ष काम गरे। अनि २५ वर्षमा गाइड बने।
...
२५ वर्षको केटो गाइड बनेर हिँड्दा झिल्के देखिन्थे। कति महिला पर्यटक त बिहे गर्न मरिहत्ते गर्थे रे! उनले कसैलाई मन पराएनन्। …यिनीहरूसँग जिन्दगी चल्दैन भन्ने लागेर वास्ता गरिएन,' उनी भन्छन्।
एउटा जापानीले त बिहे गरौं जापान लैजान्छु भनेर हत्ते गरेको उनी सुनाउँछन्। …विदेश गएर पैसा कमाउने मोह कहिल्यै भएन,' उनले भने। त्यसैको रन्कोमा उनले गोरखा गएर बिहे गरे।
उनले सामान्य पर्यटकदेखि पहिलो सगरमाथा आरोही एडमन हिलारीसँगै काम गरे। पहिले १९९४ सालमा उनको भेटेका थिए हिलारीलाई। सल्लेरी, फाप्लु, जुमबेसीमा स्कुल र अस्पताल बनाउँदा सँगै काम गरेको उनी सम्झन्छन्।
ट्रेकिङमा लागेर पैसा नकमाए पनि छोराछोरी पढाउन सकेकामा उनलाई गर्व छ। उनका छोरा सिद्धार्थ युनिभर्सिटी, नोएडामा सिभिल इन्जिनियरिङ पढ्दैछन्। दुई छोरी काठमाडौंमा पढ्दैछन्।
छोराले पढाइ सकेर काम गर्न थालेपछि गाउँ गएर बस्ने उनको सोच छ। …गाउँमै गएर सामाजिक काम गर्छु,' उनले सुनाए।

Friday, April 29, 2011

उ स्वर्ग पुग्यो म अफिस

उनीहरू यो दुनियाँमा कसैले नगरेको काम गर्न पुग्नु छ। त्यसैले बेस्मारी कुदाएको छ मोटरसाइकल। मानौ उसलाई जति हतार कसैलाई छैन। यसको यो दौडाई हेर्दा पाखा लागेर बसुँ। विरामी लिएर दौडेको एम्बुलेन्स पनि यतिविध्न कुद्दैनन् काटमाठैंका सडकमा। १ सय ५० सिसिको मोटरसाइकल काठमाडौंको व्यस्त सडकमा पनि ९० किलोमिटर प्रतिघण्टाको दरले चलाएको छ।
म साथीहरूसँग तीनकुनेमा चिया खाएर कोटेश्वर जाँदै थिएँ। फुत्त मेन सडकमा मोटरसाइकल मोडेर कोटेश्वरतिर लाग्दै थिएँ। पछाडी ठूलो आवाज आयो। मिररबाट हेरेँ। जगल्टे दुइ जना निलो पल्सरबाइक उडाएर ल्याइराखेका छन्। मलाई नी उसको हावाको झोंकाले लडाउला जसरी। अघि अघि लाग्यो। म पछि पछि। निकै स्पिडमा दायाँबायाँ गर्दै चलाएको देखेँ मैले। किन यस्तरी चलाएको होला। आफैले आफैलाई प्रश्न गर्दैछु म।
हेर्दा कलेज पढ्ने जस्ता थिए यी दुई। चलाउने कपाल पालेको। हेर्दै दादा। मैले सोँचे यिनीहरू यो बेलुकी कता र केकाममा हतारिएका होलान्? सोँचे पक्कै बटुवा वा अरु गाडीमा चढेकलाई आकिर्षत गरेर हिरो बन्न र वा! क्या खतरा चलाएको यो केटोले भनेर भन्दिन्छन् भनेर स्पिडमा मोटरबाइक चलाएका होलान्।
म यस्तै कुरा खेलाउँदै ४० को स्पिडमा चलाउँदैछु। कहिलेकाही त रिस पनि उठ्छ यस्ता आवारासँग। आफूले सही तरिकाले चलाएपनि यिनैका कारण आफू पनि दुर्घटनामा परिन्छ। उनीहरू त मर्छन् मर्छन्। अरुलाई समेत मार्छन्।
तीनकुने पुग्नै लागको थिएँ। कतै अनकन्ट्रोल ब्रेक लगाएको सुनेँ। अनि आँखै अगाडी दायाँबायाँ गर्दै निलो पल्सर ढल्यो। डिभाइडरमा ठोकियो। हत्तपत्त पछाडीका गाडीले पनि ब्रेक लगाए। मैले पनि लगाएँ। एकैछिनमा मान्छेको भिड जम्मा भए। कराउन थाले। कोही ट्याक्सी ले भन्दै थिए। कोही के भएछ भन्दै रमिता हर्न छिर्दै थिएँ। हस्पिटल लैजानु पर्‍यो। उ उटात चल्मलाइ राखेको छ भनेर भनदै थिए। म पनि बाइक साइड लगाएर हुलमा गएँ।
यस्सो हेरेँ यि लडेका दुइजना त त्यही जुुम्ले केटाहरू पो रहेछन् जो अघि हतारिएर कुदेका थिए। मेरो मनमा चिसो पस्यो। त्यस्ले चलाएको बाइक रिवाइन्ड गरेँ। सोचेँ आखिर विस्तारै गएको भए त केही हुन्नथ्यो नी । म शकुसल नै आएँ।
बाइक चलाउने केटाको मुखबाट ह्वालह्वाली रगत बग्दै थियो। उ ठामको ठाम मर्‍यो। पछाडी बस्नेचाही अलिपर उछिट्टिएर छट्पटाउँदै। मैले त्यो विभत्स दृश्य हेर्न सकिनँ।
फेरी म अफिसमा पेज बनाउन आउनुपर्ने थियो। त्यताबाट मोडिएर म सुन्धारातिर लागे। अनि मनमनै सोचेँ। त्यसैले भनिएको रेहछ चाडो गए भन्न सकिन्न ढिलो गए अवश्य पुगिन्छ।
बाटोमा अनेकन कुरा खेल्न थाल्यो। एक मन कहिल्यै बाइक नचलाउँ कि भन्ने पनि लाग्यो। फेरी गाडी नि त यस्तैगरि कति दुर्घटनामा परेका छन्। अन्तिम निचोड निकाले मैले म आफिस पुगेँ उ स्वर्ग!

Thursday, April 21, 2011

डरके आगे जित...


तपाईंले त्रिशुली नदीमा र्‍याफ्ट पल्टिएर सात मिनेट पानीको तीब्र बहावबीच उकुसमुकुस हुँदै बाहिर उत्रिएका मान्छेका खुला आँखा र अनुहारको रंग देख्नुभएको छ? डर त्यस्तै हुन्छ।

…डरको रंग कस्तो हुन्छ? धुलोको रंगजस्तो, आकाशे, पहेँलो वा हल्का मसीजस्तो कालो? ... तपाईंले कहिल्यै समुद्र वा नदीको लहरले अचानक किनाराको बालुवामा ल्याएर पछारिदिएको माछाको खुला आँखा देख्नुभएको छ? मर्दै गरेको माछाको उदाङ्गो आँखा ...! त्यस्तो रंग ...!'
सहकर्मी यज्ञसको अनुवादमा भर्खरै प्रकाशित उदयप्रकाशको लघु उपन्यास …मोहनदास' मा डरको पहिचान खुलाउन खोजिएको छ। डर कस्तो हुन्छ?
तपाईंले त्रिशुली नदीमा र्‍याफ्ट पल्टिएर सात मिनेट पानीको तीब्र बहावबीच उकुसमुकुस भएर बाहिर उत्रिएका मान्छेका खुला आँखा र अनुहारको रंग देख्नुभएको छ?
मैले देखेको छु। हो, डर त्यस्तै हुन्छ। मैले देखेको डर।
•••
धादिङको कृष्णभिरदेखि चितवनको कुरिनघाटसम्म २३ किलोमिटर जलयात्रा गर्ने तयारीमा छौं हामी।
जेठको दोस्रो शनिबार। हामी भेला भएका छौं कृष्णभिरको त्रिशुली नदी किनारमा — म, नागरिक सहकर्मीहरू तारा चाम्लिङ, सन्तोष शर्मा, सुरेन्द्र पौडेल, अजित बराल र सन्तोष न्यौपाने। गंगा चौलागाई र योगेन्द्र खतिवडा पनि हामीसँगै छन्।
अघिल्लो रातको झरीले नदी धमिलोे छ। पानीको बहाव बढेको छ। तीब्र बहावमा र्‍याफ्टिङको छुट्टै मजा आउँछ।
…सबैले लाइफज्याकेट र हेलमेट लगाउनुस्,' र्‍याफ्टिङ गाइडहरू हिमाल र उत्तर गुरुङ सिठ्ठी फुक्दै भन्न थाल्छन्।
हिमाल हामीलाई र्‍याफ्टिङको …ओरियन्टेसन' पनि दिन्छन्। …सबभन्दा पहिला बुढी औंला तल पारेर प्याडल समात्ने। (गाइडले) फरवार्डभन्दा प्याडल अगाडि खियाउने। फास्ट फरवार्ड भन्दा जोडले खियाउने। स्टप भने रोकिहाल्ने। होल्डअन भने प्याडल माथि उकाल्ने। लेफ्टफरवार्ड भन्दा बायाँ बसेेकाले प्याडल खियाउने र दायाँलेे पछाडि। र, राइट फरवार्ड भन्दा यसको ठिक उल्टो गर्ने।'
हामी तयार छौं, साहसिक जलयात्राका लागि। मन रोमाञ्चित छ। थोरै डर, थोरै कौतुहल, अलिकति उत्तेजना।
…कस्तो लाग्दैछ?,' म प्याडलमा च्यापु अड्याएर बसेकी तारालाई सोध्छु।
…एकदमै एक्साइटिङ।'
उनी पहिलोचोटि र्‍याफ्टिङ गर्दैछिन्। उनले नभने पनि एक किसिमको तनाव अनुहारमा साफ झल्किरहेको छ।
…चियर्स!'
एकछिन, हामी बियर वा ह्विस्कीका गिलास जुधाइरहेका छैनौं। यो त र्‍याफ्टिङ सुरू भएको संकेत हो। हामी सबै आ–आफ्नो प्याडल झर्‍याप्प जुधाएर फेरि भन्छौं,
…चियर्स।'
र्‍याफ्ट बढ््न थाल्छ। मध्याह्नको घामलेे सबको जीउबाट चिटचिट पसिना छुुटिरहेको छ। म त्रिशुलीको पानीमा हात चोबल्छु। आहा कति चिसो!
…आत्था!,' तारा चिच्याउँछिन्।
…पोल्यो?'
…हैन चिसो भयो नि।'
…चिसो हुँदा आत्था भन्ने कि आच्छु भन्ने।'
हाम्रो हाँसोले र्‍याफ्ट डग्मगाउँछ।
•••
अजित पौडीका सौखिन रहेछन्। कतिखेर उत्तरले अनुमति देलान् र नदीमा फाल हालुँला भनेर पर्खिरहेका छन्।
पानीको बहाव कम भएको ठाउँमा पुगेपछि उनले अनुमति दिए, …तपाईंहरू पौडन सक्नुहुन्छ।' अजित प्याडल छोडेर नदीमा हामफल्छन्। सुरेन्द्र, सन्तोष न्यौपाने र म उनलाई साथ दिन्छौं।
…अब पहिलो र्‍यापिड (तीब्र बहाव) आउँदैछ,' उत्तर हामीलाई सतर्क गराउँछन्। यो र्‍यापिडको नाम रहेछ, लेडिज डिलाइट। निकै ठूलो छ यो छाल।
यस्ता बहाव छिनछिनमा आइरहन्छन्। कतिको नाम जुरिसकेको छ, कतिको जुराउन बाँकी। सानाठूला झण्डै एक दर्जन बहाव पार गर्दा प्रत्येकचोटि हामी र्‍याफ्टसँगै आफ्नो ज्यान मर्काइरहेका हुन्छौं।
अपसेट– एक, अफसेट– दुई। यी बहाव निकै तीब्र छन्। हामी उत्तेजनाले चिच्याउँछौं। यस्तो लाग्छ, नदीबाट पानीको ज्वारभाटा उठिरहेछ। हामी निथु्रक्क भिज्छौं।
ए... ए... ए...
लौ बर्बाद भो! अजित छालमा खस्छन्। धन्न केही भएन। पौडन सिपालु छन् उनी। एकछिन त हामीलाई सास घाँटीमै अड्किएजस्तो भयो।
सरप्राइज र्‍यापिडले हामीलाई खासै सरप्राइज दिँदैन। कराउँदा–कराउँदै मेरो स्वर सुक्नै लागिसक्यो। त्यसमाथि योेगेन्द्र कहिलेे गिरिजा, कहिले ज्ञानेन्द्र र कहिले माधव नेपालको क्यारिकेचर गरेर हँसाएका हँसायै छन्।
•••
नदी अहिले शान्त छ। हामी चितवनको फिस्लिङ बजार तल भिरको खोरियामा लगाएकोे खेती हेर्दै गफिइरहेका छौं। …मान्छेले कहीँ बाँकी राख्ने भएनन् जमिन,' भिरको खेती देखाउँदै सुरेन्द्र भन्छन्।
एकैछिनमा र्‍याफ्ट फेरि यताउता डोल्न थाल्छ। …अबचाहिँ डेन्जर र्‍यापिड आउँदैछ है,' उत्तर हातको इसाराले र्‍यापिडको चाल सम्झाउँछन्। …भित्ताबाट ठूलोे तरंग आउँछ। चारैतिरबाट छालले पेलेर ल्याउँछ। बीचमा बोेट हुन्छ। पल्टन पनि सक्छ। कोही नआत्तिनुहोला।'
हामी …एक्साइटेड' छौं। कताकता डर पनि छ। र्‍यापिड सुरू भएको संकेत गर्दै उत्तर कराउँछन्, …फास्ट फरवार्ड, फास्ट फरवार्ड'।
हामी भएभरको बल लगाएर प्याडल खियाउँछौं। छिटोछिटो खियाउँदा र्‍याफ्ट छालसँगै जोडले तलमाथि गर्न थाल्छ।
…होल्ड अन,' उत्तर भन्छन्।
हामी प्याडल खियाउन बन्द गर्छौं। तर नदीको त्यो तीब्र बहाव रोक्ने हाम्रो सामर्थ्य छैन। केही सोंच्नै नभ्याउँदै छालले र्‍याफ्ट हुत्याइदिन्छ।
र्‍याफ्ट उल्टिन्छ। हामी त्यसको मुनि हातखुट्टा यताउता फालिरहेका छौं। र्‍याफ्टले सबैलाई थिचेको छ। न पौडिएर बाहिर निस्कन सक्छौं, न र्‍याफ्ट सोझो पार्न सकिन्छ। सबैको होसहवास गुम छ। खाली स्वरमात्र सुनिन्छ। भयभीत स्वर।
हामीलाई सास फेर्न गाह्रो भइरहेको छ। एकछिनमा फुत्किन नसके ज्यान बचाउन मुस्किल छ। यति हुँदा पनि गाइड उत्तर हामीलाई सान्त्वना दिइरहेकै छन्, …नआत्तिनुस्् केही हुन्न।'
र्‍याफ्टमुनि म उनको अनुहार देख्दिनँ। उनी आफै पनि र्‍याफ्टमा चेप्पिएका छन्।
म, सन्तोष न्यौपाने र तारा डोरीमा झुण्डिएर कसैले बचाउन आइदेला भन्ने आसमा छौं। आफै त केही गर्ने अवस्था छँदैछैन। मनमनै भगवानको नाम जप्छु। यस्तोबेला सबभन्दा बढी याद आउने भगवानै हो। ताराचाहिँ …ममी' लाई बढी सम्भि्करहेकी छन्।
कोही पानीमा डुुबिहाले नदीमा जलपरीजस्ता देखिने कायकहरू बचाउन आउँछन् भन्ने सुनेको थिएँ। खोई कहाँ गए
ती? अघिअघि थिए, निकै अघि पो पुगेछन् कि? कि बाहिर र्‍याफ्ट सुल्टाउन खोज्दैछन्?
हामी सात मिनेटजति पानीभित्रै चिच्याइरहन्छौं। सँगै हिँडेको अर्का
र्‍याफ््टका गाइड हिमाल नायक निखिल उप्रेेतीको स्टाइलमा हाम्रो र्‍याफ्टमाथि हाम्फाल्छन्। बाँच्ने आसा पलाउँछ।
…ल अब सबैले डोरी समात्न छोड्नुस,' र्‍याफ्टमाथि उक्लिएका हिमाल भन्छन्। अघिदेखि डोरी समाएर तैरिरहेका छौं हामी। यो पनि छाडे त बगाउला नि? मन डराउँछ। तैपनि, गाइडले भनेको मान्नैपर्‍यो। हामी डोरी छाडिदिन्छौं।
र्‍याफ्ट सुल्टिन्छ। न्यौपाने नजिकै भएकाले डोरी समाउन भ्याइहाल्छन्। मलाई भने नदीले बगाएर अलिपर पुर्‍याउँछ। उनी डोरीको भर लिएर हात तन्काउँदै मलाई तान्न खोज्छन्। म उनको सहारामा नदीको बहावविपरीत आफूलाई ठेल्न थाल्छु।
…हे भगवान् बल्ल बाँचियो,' डोरीमा हात पुर्‍याएपछि अनायासै मेरो मुखबाट निस्कन्छ।
गाइड पालैपालो सबैलाई र्‍याफ्टमा तान्छन्। बाहिर उत्रेपछि हामी सबै एकअर्कालाई हेर्छौं।
डर भनेको के हो? अहिले हाम्रो अनुहारमा जुन भाव उत्रिएको छ, त्यही हो डर। यस्तै हुन्छ डरको रंग। अलिकति रातो, अलिकति फुस्रो, अलिकति फुंग उडेको।
…जीवनको यस्तो आनन्द कमैले लिन पाउँछन्,' धन्न बचेर आएका हामी फुर्तिसाथ छाती ठोक्छौं। तर जसले जे भने पनि मलाई थाहा छ, मानसिक रूपमा हामी सबै घाइते छौं।
•••
डर भनेको यही हो।
ज्यानको जोखिम मोलेर साहसिक यात्रामा निस्कनुस्, त्यहाँ तपाईंको साक्षात्कार हुन्छ डरसँग। दिमाग पूरै शून्यमा पुगेजस्तो। रक्तसञ्चार बन्द भएजस्तो, दिमागका तन्तुहरूले काम गर्न छोडेजस्तो।
डर भनेको यही हो।
यो भाव विस्तारै अनुहारबाट हराउँदै जान्छ। दिमाग
छ्याङ्ग भएजस्तो। अनुहार शान्त भएजस्तो। घन्टौं मेडिटेसन गरेर आँखा खोलेजस्तो। साहसिक यात्राको मज्जै यही हो।
डरलाई जित्दाको त्यो क्षण तपाईं जीवनकै सर्वाधिक
सुखानुभूति गर्नुहुन्छ।

Wednesday, April 20, 2011

आफ्नै ज्यानको माया!

मानिस कति स्वार्थी हुन्छन्? त्यो कुरा आफैलाई थाहा हुने कुरै भएन। फेरी म यति स्वार्थी छु भनेर नाप्ने यन्त्र पनि अहिलेसम्म बनेको छै न। तर यसको मापन भने अरुले गर्छन्। अरुको त के कुरा आमा त स्वार्थी हुन्छन् भन्छन्। यसै विषयमा एउटा व्यंग्य समेत रचिएको छ।
अगेनाको छेउमा एक हप्ते बालक काखमा राखेर आमा तेल लगाउन दिने। त्यतिबेला बच्चोलाई तलमाथि केही भयो भने आमाको आँशुको भेल एक हप्तासम्म रोकिन्न। उनी त्यही बच्चाको विलौनामा पागल समेत हुन सक्छिन्। उनको यो मायालाई त मान्नै पर्छ। किनकी त्यति धेरै माया त्यो बच्चालाई न बाउले गर्छन् न त आफन्तले नै। अरु कसैले गर्दैन। यो सत्य कुरा हो।
तर तेल लगाइरहँदा कसैले बच्चा र आमा दुबैको काखमा एकएकवटा कोइला हलिदियो भने के गर्लिन् त ति आमाले? सामान्य छ, पहिले बच्चाको काखमा परेको कोइला हटाउनेछिन्। तर त्यस्तो हुन्न रे। पहिले आफ्नो काखको कोइला हटाएर मात्रै बच्चाको काखको कोइला हटाउँछिन् रे।
यो कुरा त सत्य हुन पनि सक्छ, नहुन पनि सक्छ। यो कुरा कसैले देखेको छैन। न त यसबारे कसैले रिसर्च नै गरेको छ। केबल पहिले पहिले महिलाहरूलाई डोमिनेन्ट गर्न यस्तो पनि भनिएको हुन सक्छ।
तर एउटा कुरा के हो भने जो सुकै होस् पहिले आफ्नो स्वार्थ हेर्छ बल्ल अरुको। यो त देखिँदै आएको हो।
यो प्रसंग किन जोडिएको भने मैले काठमाडौंमा दिनकै देख्दै अँएको कुरासँग मेल खान्छ। काठमाडौंमा निकै जाम हुन्छ। बाटो काट्न पनि मुश्किल हुन्छ। बाटो साँघुरो छ। मानिसहरू आफ्नै सुरमा हिँड्छन्। हिँड्नलाई न व्यवस्थित फुटपाथ छ न कुनै वैकल्पिक बाटो नै। गाडी र मानिस हिँड्ने एकै ठाउँ हुन्छ। यतातिर सरकारले कुनै वास्ता गरेको छैन त्यसैले त दुर्घटनाको संख्यामा बृद्धि भएको छ।
सबैभन्दा विजोग स्कुल जाने र स्ुकलबाट घर फर्कने बेला देखिन्छ। कति भायबहिनलिाइृ आफ्ना प्यारेन्टस् स्कुलसम्म लिन जान्छन् र हात समातेर घर लैजानछन्। त्यसो गरेको बच्चालाइृ सुरक्षित घर पुर्‍याउन गरिएको रे। यो कुरा मलाई त पत्यार लाग्दैन।
अफिस समयमा नै स्कुल पनि खुल्छ र छुट्टि हुन्छ। सवारीसाधनको भीड पनि त्यही बेला हुन्छ। मानिसहरूको भिड पनि त्यस्तै हुन्छ खचाखच। यस्तो बेला बालबालिकालाई झनै गाह्रो हुन्छ। आफ्नो प्यारेन्टस्को हात समाउँदै हिँड्नुपर्छ। मलाई अचम्म के लाग्छ भने यस्तो बेला सडकमा के के न वितेको जस्तो गरि हुइयँ मोटरसाइकला आउँछन्। मानौ सडकमा हिँड्ने बटुवालाई पनि लतारुँ। यही साइडमा बालबालिकाको हात समातेर प्यारेन्टस् हिँड्छन्। उनहिरूले यो सोच्दैनन् कि आफू सडक पट्टि हिँडु र बच्चालाई भित्रपट्टि पारुँ। बच्चा हिँड्दा यताउता गरेर हिँड्छन्। यदि हुँइकिएर आएको गाडीले लछार्‍यो भने त ज्यानै समेत जानसक्छ।
प्यारेन्टस्लाई आफ्नो ज्यानको कति माया लागेको होला। आफु सडकपट्टि हिँडेर नानीहरूलाई भित्तापट्टि हिँडाए त हुन्थ्यो नी। के गर्ने सबैलाई आफ्नै ज्यानको माया!

Tuesday, April 19, 2011

सिल्करोड हुँदै नेपाल


सारा दम्ब्रस
नेपालमा स्थानीय महिलाहरूसँग जंगलमा गएर काठदाउरा काट्न, १५ मिनेट तलबाट गाग्रीमा पानी बोकेर ल्याउन मलाई निकै रमाइलो लाग्यो। रोग लाग्दा फुकफाक गर्ने विद्या देखेर मलाई अचम्म लाग्यो। यो विद्या सिक्ने रहर छ

म सानैदेखि घुम्न भनेपछि हुरुक्कै हुन्थेँ। साथीभाइ बटुल्यो, घुम्न निस्किहाल्यो। त्यो बानी आजसम्म छ।
घुम्नु भनेको सोचेजति सजिलो कहाँ हुन्छ र! कपडादेखि खानेबस्नेसम्मको बन्दोबस्त मिलाउनुपर्छ। भनेको ठाउँमा राम्रा होटल फेला पर्दैनन्। परे पनि नयाँ ठाउँमा राम्रो होटल खुट्टयाउनु आफैंमा गाह्रो काम हो। घुमफिरको सोख राख्ने मान्छेले यस्ता चुनौतीसँग जुध्ने हिम्मत देखाउनैपर्छ। नयाँ ठाउँमा नयाँ मान्छेसँग बोल्दा नै खुट्टा लगलग कमाउनेहरूले घुमेर खाँदैनन्।
म गर्वसाथ भन्छु, ममा सानैदेखि यो सामर्थ्य थियो। म चुनौतीदेखि डराउँदिनँ। नयाँ ठाउँमा नयाँ मान्छेसँग भेट्दा–बोल्दा खुट्टा कमाउँदिनँ।
मुटु दरो नभइदिएको भए इटालीबाट …सिल्करोड' हुँदै नेपाल आइपुग्न कहाँ पाएर सक्थेँ र! त्यो पनि पाँच वर्षको अविराम यात्रा गरेर। कहिले गाडीमा, कहिले त पैदल।
पाँच वर्षअघि म स्कुलमा पढ्दै थिएँ। १६ वर्षको अल्लारे उमेर थियो। सिल्करोड छिचोलेर हिमालयको देश पुग्ने योजनाले मलाई दिनरात खान थालिसकेको थियो। विभिन्न वेबसाइटमा सिल्करोडको रोमाञ्चक यात्रा अनुभव पढेदेखि र त्यहाँका तस्बिर हेरेदेखि म भित्रभित्रै जुर्मुराइसकेकी थिएँ। घरि मरुभूमि, घरि पहाड र घरि हिमालय भूमि पार गर्नुपर्ने यो यात्रामा कहिले निस्कुँ भन्ने भइसकेको थियो। मनमा उत्साहको कमी थिएन, तर आमाबुवालाई यति लामो यात्राको योजना कसरी सुनाउने?
घरबाट अनुमति पाउन सजिलो भएन। सुरुमा त आमाबुवा तीनछक पर्नुभयो, मैले पाँचछ वर्षलाई घुम्न जान्छु भन्दा। कैयौं दिन बोलचाल भएन घरमा। म अगाडि परे कि उहाँहरू तर्किने, उहाँहरू अगाडि पर्नुभए म आँखा जुधाउन नसक्ने।
यसबीच दुई महिनाका लागि इटालीमै घुम्न निस्केँ, मेरो प्यारो पुन्टे कुकुर …सासा' लाई साथ लिएर। यात्रा रोमाञ्चक भयो। यो घुमाइले मेरो आत्मविश्वास हलक्कै बढाइदियो। फर्केर आएपछि आफूले खिचेका सबै फोटो आमाबुवालाई देखाएँ। फोटो देखेर उहाँहरू दंग पर्नुभयो। सासा पनि कम्प्युटरमा आफ्नो फोटो देखेर पुच्छर हल्लाउँदै कुइँकुइँ गर्थ्यो। आमाबुवा झन् खुसी हुनुभयो।
इटालीको यो यात्रामा निस्कनुअघि घरमा जुन खालको अप्ठ्यारो स्थिति थियो, फर्केर आउँदा हराइसकेको थियो। दुई महिना टाढा रहेर होला, आमाबुवा मसँग निकै घुलमिल हुन थाल्नुभयो। मैले पनि यही मौका हो भन्ठानेर फेरि उहाँसँग अनुमति मागेँ, सिल्करोडको यात्रा गर्न।
उहाँहरूले आनाकानी त गर्नुभयो, तर जानै दिन्नँ भन्ने ढिपी लिनुभएन। इटालीको रोमाञ्चक यात्राको वर्णनले सायद उहाँहरू मप्रति ढुक्क हुनुभयो भन्ने लाग्छ।
मैले अनुमति पाएँ।
सन् २००५ जनवरीमा मेरो यात्रा सुरु भयो।
...
यात्रामा जाँदा पुरै तयारी गर्नुपर्छ भन्ने मलाई थाहा थियो, तर म तयारीबिनै निस्केँ। सोचेँ, जहाँ जे पर्छ त्यही गर्छु। घरबाट निस्केको एक वर्ष त युरोपमै बिताएँ। युरोपका विभिन्न देश घुमेँ। पैसाको जोहो गर्न म सानोतिनो जे काम भेट्यो त्यही गर्थें।
लन्डन पुगेपछि पैसा पुर्‍याउन निकै गाह्रो भयो। त्यो सहर निकै महंगो रहेछ। जे कुरा पनि छोइनसक्नु। खानचाहिँ सबभन्दा महंगो लाग्यो। साथमा रहेको सबै पैसा निखि्रएपछि मैले त्यहाँको एउटा सानो होटलमा …सेफ असिस्टेन्ट'को काम गरेँ। कमाएको पैसा थप यात्रालाई चाहिन्थ्यो। त्यसैले, फुर्माइस गर्ने हैसियत थिएन। खानलाई खुबै कञ्जुस्याइँ गरेँ। पाउरोटीको भरमा कैयौं दिन काटेँ। त्यहाँका सुपरमार्केटहरूमा …एक्सपाइरी डेट' (प्रयोग गर्ने अवधि) सकिन लागेका खानेकुरा निःशुल्क पाइन्थ्यो। …डम्पस्टर डाइभिङ' भनिने त्यस्ता खानेकुराले स्वास्थ्य ठिक गर्दैन भनेर अंग्रेजहरू रुचाउँदा रहेनछन्। मलाई त के मतलब! कमभन्दा कम पाउन्ड खर्चेर पेट भर्नुपर्ने थियो। त्यसमाथि पैसै नपर्ने भएपछि मलाई अरू के चाहियो! मैले त्यही खाएँ। केही केही त पछिलाई काम लाग्ला भनेर पनि राखेँ।
बस्नलाई भने …अक्युपाइड हाउस' (लन्डनमा प्रयोगमा नरहेका घर) सफा गरेर बस्थेँ। त्यहाँ घर सफा गरिदिएबापत् बस्नलाई पैसा लाग्थेन।
पैसाको कति महŒव हुन्छ भन्ने कुरा मैले लन्डन बसाइमा थाहा पाएँ। झन् होटलमा मिहिनेत गरेर कमाएको पैसा चोरी भयो। थप पैसा जम्मा गर्न फेरि केही दिन लन्डनमै बस्नुपर्‍यो।
यात्रामा मैले सबभन्दा बढी दुःख पाएको लन्डनमै हो। अर्को ठाउँसम्म पुग्ने पैसा जोरजाम भएपछि मैले एक सेकेन्ड त्यहाँ बिताइनँ।
एक वर्षको युरोप यात्रापछि करिब एक वर्ष मैले पूर्वी अफ्रिकामा बिताएँ। त्यहाँ पनि विभिन्न संस्थामा स्वयंसेवकका रूपमा काम गरेँ। त्यसले खान, लाउन र बस्न मज्जाले पुग्थ्यो। केन्या, तान्जेनिया, जाम्बियालगायत अफ्रिकी देश घुमेँ। म केन्या पुग्दा चुनाव भइरहेको थियो। छिटपुट हिंसाका घटना हुन्थे। तर, असुरक्षित महसुस गर्नुपर्ने अवस्था थिएन।
त्यहाँ म गाउँको एउटा झुपडीमा बस्थेँ। राति एक्लै हिँड्दावर्दा आफैंलाई असुरक्षित भएजस्तो लाग्थ्यो। मनमा नराम्रा–नराम्रा कुरा खेल्थे। टिनएज उमेरमा मनमा उठ्ने अनेकन प्रश्नले झक्झक्याइरहन्थ्यो। तैपनि मन दरो पारेर आफैंलाई सम्हाल्थेँ।
...
घरबाट हिँडेको दुई वर्ष भइसकेको थियो। परिवारको न्यास्रोले सतायो। इटाली फर्किएँ। एक महिना घरमै बसेँ। सिल्करोडको महŒवाकांक्षी यात्रा अधुरै थियो। मेरा खुट्टा फेरि फड्फडाए। दुई वर्षको युरोप र अफ्रिका यात्राले नयाँ जीवनशैली, भाषा, भेषभुषा र चालचलनबारे मलाई धेरै कुरा सिकाएको थियो। फेरि नयाँनयाँ गन्तव्य पुगेर नयाँनयाँ कुरा सिक्ने इच्छाले मेरो मन कुटुकुटु खान थाल्यो।
मैले फेरि यात्रा सुरु गरेँ।
पहिलो गन्तव्य बन्यो, कोसोभो। कोसोभो भर्खरै स्वतन्त्र राष्ट्र बनेको थियो। यसअघि कोसोभो र बाल्कन्स युगोस्लाभियाअन्तर्गत थियो। स्वतन्त्र राष्ट्र गठनपछि त्यहाँका मानिसमा निकै ठूलो उत्साह मैले देखेँ। वर्षौं पिँजडाभित्र कुञ्जिएर बसेको चराले स्वतन्त्र आकासमा पखेटा फिँजारेजस्तै।
कोसोभोबाट घुम्दैघुम्दै गाजा आइपुगेँ। गाजा कसको हो भन्ने विवाद चलेकै थियो। इजरायल र प्यालेस्टाइनको युद्धभूमि थियो गाजा। म गाजा युद्ध सुरु भएको दुई दिनपछि त्यहाँ पुगेकी थिएँ। को कतिखेर कहाँ मारिने हो थाहा थिएन। मलाई त्यहाँ धेरै दिन बस्नु ठिक लागेन। त्यहाँबाट मध्यपूर्वी एसिया र इजिप्ट हानिएँ।
सिल्करोडको मुख्य व्यापारिक केन्द्र टर्की हो। यहाँ आइपुगेपछि ४ महिनाको निःशुल्क भिसा पाइयो। यसले टर्कीको बसाइ आरामदायी रह्यो। पहिले पाएका दुःखजति जम्मै बिर्सें।
सिल्करोडको एउटा विशेषता के हो भने, यहाँ विभिन्न देशलाई समेटेर एउटा खास नाम राखिएको हुँदो रहेछ। जस्तो– जर्जिया, अर्मानिया र अजरबैजानलाई समेटेर …काउकाजुस' नाम राखिएको थियो। म काउकाजुसमा झन्डै तीन महिना बसेँ। यतिञ्जेल आफूसँग भएको पैसा सक्किसकेको थियो। फेरि पैसाको फिटिफिटी पर्न थाल्यो। मैले थप यात्राका लागि पैसा जम्मा गर्न काउकाजुसमा विभिन्न …आर्ट प्रोजेक्ट' मा काम गरेँ।
नयाँ यात्राले नयाँ कुरा सिकाउँछ। म पनि पाइलैपिच्छे नयाँनयाँ कुरा सिकिरहेकी थिएँ। कहीँ नयाँ संगीत, कहीँ नयाँ नृत्य। एउटा देशमा कम्तिमा तीन दर्जनजति लोकनाच र लोकगीत सिक्ने मौका मैले पाएँ। गीत–संगीत र कलामा विशेष रुचि भएकाले म नयाँ ठाउँ पुग्यो कि सबभन्दा पहिला यिनै विषयको खोजखबरमा लाग्छु। त्यसलाई आफ्नो डायरीमा उतार्छु। र, रट्न थाल्छु।
मलाई यो यात्राभरिमा सबभन्दा मन परेको टर्कीको संगीत हो। यहाँको संगीतलाई …पोलिफोनिक' संगीत भनिँदो रहेछ। यसमा तीन या सातवटा आवाज मिलाएर स्वरबद्ध गरिन्छ। सुन्दा निकै आनन्द आउँछ। त्यतिमात्रै होइन, जंगल र प्राकृतिक दृश्यावलोकनमा पनि म खुबै रमाएँ। सहरका चिल्ला सडक र अग्ला महलभन्दा प्राकृतिक सौन्दर्यले मलाई बढ्ता तान्छ। आधुनिक सभ्यता हेर्नलाई त इटालीमा कम्ता चिज छन् र! म त प्रकृतिसँग नजिक हुनै भनेर सिल्करोड यात्रामा निस्केकी हुँ।
र, नेपाल आउनुको मुख्य उद्देश्य पनि मेरो यही हो।
...
तपाईं पनि मजस्तै सिल्करोडमा यात्रा गर्न चाहनुहुन्छ एउटा कुरा याद राख्नुस्, यहाँ सार्वजनिक गाडीको सुविधा त्यति राम्रो छैन। वा, भनौं छँदैछैन। यात्रा गर्दा प्रायः अर्काको गाडीमा लिफ्ट माग्नुपर्छ। त्यसैले, लिफ्ट माग्ने कला जानिराख्नु राम्रो। मैले धेरै ठाउँमा लिफ्ट मागेरै यो यात्रा पुरा गरेकी हुँ।
इरान आइपुग्दा म १९ वर्षकी भइसकेकी थिएँ। मैले यो यात्रामा इरानीजस्ता मिजासिला र सहयोगी मान्छे अन्त भेटिनँ। इरानमा भेटिएको मेरो एकजना साथी अर्काे हप्ता नेपाल आउँदैछ। ऊ पहिलोचोटि नेपाल आउन लागेको हो। मैले यहाँ धेरै ठाउँ देखिसकेँ। उसले मलाई इरान घुमाएको थियो, अब म उसको काठमान्डुको पथप्रदर्शक।
इरानमा रहँदा मैले एकदिन पनि गेस्ट हाउसमा बस्नुपरेन। त्यहाँ त पर्यटकलाई भगवानजस्तै मानिँदो रहेछ। जसलाई भेटे पनि छिट्टै घुलमिल भइहाल्ने। र, आफ्नै घरमा बस्न प्रस्ताव राख्ने। म धेरै इरानीहरूको घरमा बसेँ। त्यो साथीलाई भेटेको पनि त्यसै क्रममा हो।
मैले इरानको याज भन्ने ठाउँमा घुम्नुका साथै एक महिना काम पनि गरेँ। उजाड मरुभूमिको बीचमा बनेको खैरो रङको सहर हो त्यो। त्यहाँका घरहरूमा परालको भित्ता हुँदो रहेछ। गरिबीले नै होला, त्यो निकै कमलो हुन्थ्यो। अलिकति बल लगाउँदा पनि गर्ल्यामगुर्लुम ढल्ने। त्यो देखेरै मेरो मन त्यसै पग्लिएर आउँथ्यो। मैले त्यहाँका साथीहरू र मलाई घरमा पाहुना बनाएर राखेका घरधनीहरूलाई इटालियन पिज्जा बनाएर खुवाएँ। उनीहरूले पिज्जाको नयाँ स्वाद निकै मन पराए।
याजमै बन्दरबस नामको एउटा टापु छ, जहाँ हिप्पीहरू जम्मा भएर रङ र संगीतको उत्सव …फेस्टिभल अफ कलर्स एन्ड म्युजिक' मनाउँदा रहेछन्। सरकारले यो पर्वलाई गैरकानुनी मान्छ, तर स्थानीयले मनाउन छाडेका छैनन्।
इजरायली र इरानी सरकारले एकअर्काको देशमा जान निषेध गरेको छ। त्यहाँका मानिस यही टापुमा आएर रमाइलो गर्दा रहेछन्। म पनि त्यहाँ पुगेर निकै रमाएँ। अचम्म त के लाग्यो भने, टापुमा बस्ने भएर पनि त्यहाँका केटाकेटीलाई पौडी खेल्न आउँदो रहेनछ। मैले खुब मज्जाले पौडी खेलेँ। केटाकेटीहरू ट्वाल्ल परेर हेर्थे। मैले केही टाठा बालखाहरूलाई पौडी खेल्न सिकाइदिएँ।
इरानपछि अफगानिस्तान हुँदै पाकिस्तान आइपुगेँ। अफगानिस्तानसँग जोडिएको पाकिस्तानको पेसावर निकै अनौठो लाग्यो। …ट्राइबल' क्षेत्र रहेछ। पुलिसलाई समेत छिर्न बन्देज थियो। पर्यटकहरू भने १० डलर तिरेर छिर्न पाउँदा रहेछन्। यहाँ हतियार, गाँजा, चरेसको खुलेआम खरिदबिक्री हुँदो रहेछ। म छक्क परेँ।
पाकिस्तानको बालुचिस्तान सहरमा पनि अचम्मकै नियम रहेछ। यहाँ आउने प्रत्येक पर्यटकलाई सुरक्षा दिन एकजना सैनिक खटाइँदो रहेछ। धेरै आतंककारी हमला हुने भएर होला। ती सैनिक प्रत्येक घन्टा परिवर्तन हुँदा रहेछन्। यस्तो निगरानीमा बस्नुपरेकाले मैले घुमघाम गर्ने त कल्पनै गरिनँ।
बालुचिस्तानको यात्रा गर्दा चार दिनसम्म एकजना पनि महिला देखिनँ। मलाई त्यो ठाउँमा निकै विरक्त लागेर आयो। त्यहाँ बसोबास गर्दा मैले पनि इस्लाम संस्कृतिअनुसार टाउको र मुख बुर्का लगाएर छोप्नुपर्‍यो। बालुचिस्तानको सिमानामा आइपुग्दा साँझ परिसकेको थियो। त्यहाँका कुनै पनि होटलले मलाई राख्न मानेन। एक त पर्यटक, त्यसमाथि केटी। म निकै समस्यामा परेँ। बल्लतल्ल भनसुन गरेर एउटा होटलमा कोठा पाएँ।
मैले पाकिस्तानको कराँचीमा केही साता बसेर त्यहाँका गरिब छात्राहरूलाई स्याहारसुसार र पढाउने काम गरेँ। पाकिस्तानको संस्कृति मध्य र पूर्वी एसियाको मिश्रण रहेछ। त्यहाँ बस्दा घरिघरि आतंककारी हमला भएका खबर आइरहन्थे। मेरो मन त्यसै कामेर आउँथ्यो। आतंककारी हमला भइरहने पाकिस्तानमा लामो समय बिताउनु मलाई त्यति उचित लागेन।
म कराँचीबाट लाहोर आएँ। लाहोर सिल्करोडको मुख्य केन्द्रविन्दु मानिन्छ। लाहोरबाट इस्लामबाद पुगेँ। त्यहाँ भारत छिर्न भिसा लिएँ। भिसा पाउन निकै गाह्रो भयो। यसअघि अफगानिस्तानबाट पाकिस्तान छिर्दा पनि भिसा पनि गाह्रो भएको थियो।
अफगानिस्तान, पाकिस्तान र भारत सिल्करोडको …काराकोरम' राजमार्गमा पर्ने ठाउँ हो। सुरक्षा स्थिति जेजस्तो भए पनि यहाँको भौगोलिक दृश्य निकै सुन्दर छ। यहाँ बस्दा मैले विभिन्न पत्रपत्रिकामा लेख पनि लेखेँ।
भारत आइपुग्दा २० वर्ष पुगेकी थिएँ। मैले तीन महिना भारत बसेर विभिन्न ठाउँ घुमेँ। काम भने गर्नुपरेन।
...
सन् २०१० अगस्टमा नेपाल आएँ। अहिले पोखराबाट ३५ किलोमिटर वरको गाउँमा बसेकी छु। यो ठाउँमा भौतिक सुविधाहरू खासै छैनन्। मैले यो ठाउँ रोज्नुको कारण यही हो। म सहरी जीवनबाट टाढा, गाउँले रहनसहनमा बस्न चाहन्छु।
यहाँ स्थानीय महिलाहरूसँग जंगलमा गएर घाँसदाउरा काट्न, १५ मिनेट तलबाट गाग्रीमा पानी बोकेर ल्याउन मलाई निकै रमाइलो लाग्छ। नेपाल अति नै रमणीय देश रहेछ। हिन्दु, बौद्ध, मुसलमान, क्रिस्चियन मिलेर बसेको देख्दा मलाई अचम्म लाग्छ। अरू देशमा यसरी कहाँ मिलेर बस्छन् र? धर्म–धर्म, जातजातिबीच काटमार हुन्छ। नेपालमा भने यस्तो साम्प्रदायिक वैरभाव मैले देखिनँ। सबै मिलेर बसेका छन्। खुलेर बसेका छन्। मैले यहाँ आध्यात्मिक शान्ति पाएकी छु।
भिसाका लागि केही समय काठमाडौं आउँदा वसन्तपुरको झोछेँ (फ्रिक स्ट्रिट) मा बसेँ। हुन त फ्रिक स्ट्रिट सिल्करोडको हिस्सा होइन। तैपनि हिप्पी युगमा थुप्रै गोरा हिप्पीहरू घुम्दैफिर्दै यही ठाउँमा आइपुगे। आज पनि यहाँ हिप्पी युगको केही झझल्को मैले भेटेँ। यहाँ पर्यटकको अटुट आवतजावत हुँदो रहेछ। केही बूढा पर्यटक पुराना हिप्पीकालको सम्झना ताजा पार्न फेरि फर्केको आएको पनि मैले देखेँ।
मैलेे आजसम्म नेपालमा लुम्बिनी, पोखरा र काठमाडौं वरपरमात्र घुमेकी छु। ट्रेकिङ जान मन त पर्छ, तर महंगो छ। त्यति खर्च गर्ने मेरो आर्थिक हैसियत छैन। सबै पर्यटक धनी हुँदैनन्, म धनी छैन।
मलाई नेपालको संस्कृति निकै मन पर्‍यो। खासगरी रोग लाग्दा फुकफाक गर्ने विद्या अचम्म लाग्यो। यो विद्या सिक्ने रहर छ। धन्यवाद, चिया, भोलि, पर्सिजस्ता नेपाली शब्द जानिसकेकी छु। अरू शब्द सिक्दै छु। अब मेरो भिसा सकिन केही समयमात्रै बाँकी छ। नेपाल छोड्नुपर्ने दिन नजिकिँदै गएकोले मलाई दुःख लाग्न थालेको छ। तर, एउटा कुरा पक्का हो, यसपालि फर्किए पनि म फेरि नेपाल आउँछु।

के हो सिल्करोड?
सिल्क रोड भनेको व्यापरिक मार्ग हो, जसले युरोपलाई एसियासँग जोड्छ। आजभन्दा तीन हजार वर्षअघि सुरु भएको यो व्यापारिक मार्ग अहिले घुमघामका लागि प्रख्यात छ। चीनबाट आयात गरिएको सिल्क अर्थात् रेशम यही मार्गबाट व्यापारिक प्रयोजनका लागि युरोप–अमेरिका लगिने हुँदा यसलाई सिल्करोड भनिएको हो।

प्रस्तुति: कञ्चन अधिकारी

Monday, April 18, 2011

सयरमा सावधानी!

यात्रा भनेकै अनुभव हो। अनुभव सुखद पनि हुन्छ, दुःखद पनि। सुखद क्षणमा त सबै पुलकित भइहाल्छन्, तर यात्रामा निस्कँदा दुःखद अनुभवका लागि पनि तयार रहनुपर्छ।
यात्राका अधिकांश दुःखद पल हाम्रो आफ्नै असावधानीले निम्तन्छन्। कति भने टारेर टार्न सकिँदैन, तर समाधानका उपाय हुन्छन्। जसको ज्ञान यात्रामा निस्कनुअघि नै हुनु जरुरी छ।
डाँफे ट्राभल सेन्टरका प्रबन्ध निर्देशक पवित्रकुमार कार्कीसँग हामीले विदेश यात्राका क्रममा आउनसक्ने केही आकस्मिक समस्या र त्यसको निदानबारे वार्ता गर्‍यौं। ट्रान्जिट जहाज छुटेको छ भने अर्को व्यवस्था गर्ने पुरा जिम्मेवारी सम्बन्धित जहाज कम्पनीकै हुन्छ। तपाईं खाली आफ्नो टिकट देखाउनुस्, बाँकी बन्दोबस्त उसैले गर्छ। छुट्टै शुल्क एक पैसा लाग्दैन हराएका अधिकांश लगेज फिर्ता हुन्छन्। सम्बन्धित जहाज कम्पनीले तपाईंको घर वा तपाईं बस्ने होटलमै ल्याएर छाडिदिन्छन्। त्यसैले, आत्तिनुपर्ने आवश्यकता छैन

जहाज छुट्यो भने?
विदेश जाँदा अधिकांश ठाउँमा सिधा फ्लाइट पाइन्न। अर्को कुनै सहर गएर त्यहाँबाट …कनेक्टिङ फ्लाइट' समात्नुपर्छ। जस्तो, अमेरिकाको न्यूयोर्क जानुछ भने सबभन्दा पहिला थाइल्यान्डको बैंकक, अनि बल्ल न्यूयोर्क। वा, कतिचोटि त दुई/चारवटै सहर फन्को मार्नुपर्छ। यस्तोबेला कुनै एउटा जहाज ढिलो भयो भने अर्को जहाज छुट्ने सम्भावना धेरै हुन्छ। यसले तपाईंको पुरै यात्रा योजना चौपट पार्छ। यस्तोमा के गर्ने त?
…जहाज छुट्यो भन्दैमा आत्तिनुपर्ने कुनै कारण छैन,' कार्की भन्छन्, …तपाईंले सम्बन्धित विमान कम्पनीको सम्पर्क डेस्कमा गएर आफ्नो समस्या राख्नुभयो भने तुरुन्तै अर्को जहाजमा सिट पाउनुहुन्छ।'
यसका लागि उनको सुझाव छ — सबभन्दा पहिले एयरलायन्सको सम्पर्क डेस्कमा गएर लगत्तै अर्को जहाजमा सिट सुरक्षित पारिहाल्नुस्। तपाईंको आफ्नै लापरवाहीले छुटेको हो, अघिल्लो जहाज आइपुग्नै ढिला भएको हो वा एयरपोर्टको भीडभाडले नभ्याएको हो — यी सबै अवस्थामा तपाईंले अर्को जहाजमा सिट पाउनुहुन्छ।
ट्रान्जिट जहाज छुटेको छ भने अर्को व्यवस्था गर्ने पुरा जिम्मेवारी सम्बन्धित जहाज कम्पनीकै हुन्छ। तपाईं खाली आफ्नो टिकट देखाउनुस्, बाँकी बन्दोबस्त उसैले गर्छ। छुट्टै शुल्क एक पैसा लाग्दैन।
तर, कहिलेकाहीँ यही समस्या स्वदेशमा पनि पर्न सक्छ। यसको निदानका लागि सबभन्दा पहिला त घरबाट अतिरिक्त समय राखेर निस्कनुपर्‍यो, र जहाज छुट्ने वातावरण आउनै दिनुभएन।
…रिभ्यालिड टिकट' लिनु पनि समाधानको उपाय हो। फिर्ता नपाइने टिकट लिनुभएको छ भने जहाज छुट्नेबित्तिकै त्यसको काम सक्किहाल्यो। अब अर्को टिकट नकाटी सुख छैन। नवीकरण गर्न मिल्ने रिभ्यालिड टिकट छ भने त्यो स्वतः नवीकरण भइहाल्छ। यस्तो टिकटको मूल्य बढी पर्छ।

लगेज हरायो भने?
जहाजको लामो यात्रा गर्दा सबै झोला आफैं बोकेर साध्य हुन्न। त्यसैले हातेझोला आफूसँग राखेर ठुल्ठुलो ब्यागेज (अधिकतम तौलसम्मको) जहाजमा पठाउनुपर्छ। कहिलेकाहीँ गन्तव्यमा पुगेपछि आफ्नो लगेज आइनपुगेको थाहा पाउनुहुनेछ। परेन फसाद!
यस्तोमा तपाईंले चाल्ने पहिलो कदम भनेको सरासर विमानस्थलको …लस्ट एन्ड फाउन्ड' काउन्टरमा जाने र ब्यागेज हराएको सूचना दिने। यसका लागि आफू कहाँबाट आएको, कहाँ जाने, कुन ठाउँमा बस्नेलगायत सूचना र लगेजमा भएका सामानको विवरण खुलाएर फारम भर्नुपर्छ। कतिपय ठाउँमा टुथपेस्ट, ब्रसलगायत अत्यावश्यक सामान किनमेल गर्न केही पैसा क्षतिपूर्ति पाइन्छ।
हराएका अधिकांश लगेज फिर्ता हुन्छन्। सम्बन्धित जहाज कम्पनीले तपाईंको घर वा तपाईं बस्ने होटलमै ल्याएर छाडिदिन्छन्। त्यसैले, आत्तिनुपर्ने आवश्यकता छैन।
लगेज पाइएन भने (सामान्यतया यसरी ढिला हुने २ प्रतिशत लगेज हराएको रेकर्ड छ) त्यसभित्र भएका सामानको मूल्य दाबी गर्न सकिन्छ। यसका लागि जहाज कम्पनीले दिने …लगेज ट्याग' जतनसाथ राख्नुपर्छ। त्यही ट्याग देखाएर सामान दाबी गर्न सकिन्छ।
केही कम्पनीले प्रतिकिलो २० देखि ५० डलरसम्म क्षतिपूर्ति दिने गरेका छन्। तर, अधिकांशले लगेजमा भएका नगद, कलात्मक तथा पुराताŒिवक सामग्री, विद्युतीय सामान, गरगहनाजस्ता महँगा सामानको क्षतिपूर्ति दिँदैन। त्यसैले, यस्ता सामान लगेजमा नराखेकै राम्रो। क्षतिपूर्ति दिँदा पनि बजार भाउअनुसार पैसा पाइँदैन। केही प्रतिशत …डेप्रिसियसन' काटिन्छ। कहिलेकाहीँ खरिद गर्दाको रसिद बुझाउनुपर्ने हुनसक्छ।
…सबभन्दा राम्रो भनेको महँगा र अत्यावश्यक सामग्री लगेजमा राख्दै नराख्नू,' कार्की भन्छन्, …यस्ता सामान लैजानुछ भने आफूसँगै ह्यान्डक्यारीमै लगेको बेस।'

पासपोर्ट हरायो भने?
विदेश यात्रामा निस्कँदा सबभन्दा जतनसाथ राख्नुपर्ने पासपोर्ट हो। तर, जतिसुकै जतन गरे पनि मानवीय त्रुटी न हो, कहिलेकाहीँ हराउनसक्छ, गोजीमा बोकेर हिँड्दाहिँड्दै खस्नसक्छ, ह्यान्डक्यारीसँगै चोरिनसक्छ। यस्तो बेला धेरै यात्रु के हुने हो कसो हुने हो भनेर आत्तिन्छन्।
…जे भएपनि यो आत्तिनुपर्ने समस्या होइन,' उनी भन्छन्, …अलिकति दुःख पाइन्छ, तर समस्याको समाधान छ।'
पासपोर्ट हराइहाल्यो भने सबभन्दा पहिला त्यो ठाउँमा नेपाली दूतावास छ कि छैन र छ भने कहाँ छ पत्ता लगाउनुपर्छ। दूतावासले सजिलै ट्राभल डकुमेन्ट बनाइदिहाल्छ। तपाईं त्यही देखाएर यात्रा गर्न सक्नुहुन्छ। तर, सबै देशमा नेपाली दूतावास छैन। यात्रामा निस्कनुअघि यसको जानकारी लिनैपर्छ। कुन–कुन देशमा दूतावास छ भन्ने सूचना …डब्लुडब्लुडब्लु डट एमओएफए डट जिओभी डट एनपी'मा राखिएको छ।
पासपोर्ट हराएको ठाउँमा दूतावास रहेनछ भने त्यो देशको सहप्रमाणीकरण कुन दूतावासले हेर्छ, त्यहाँ सम्पर्क गर्नुपर्छ। जस्तो, ब्राजिलस्थित नेपाली दूतावासले अर्जेन्टिना पनि हेर्छ। अर्जेन्टिनामा पासपोर्ट हराउँदा ब्राजिलको दूतावासबाट सहयोग पाइन्छ। तपाईंलाई अर्जेन्टिनी अध्यागमन विभागले ब्राजिलको नेपाली दूतावासमा सम्पर्क गराइदिन्छ।
…यात्रामा निस्कँदा आफूसँग पासपोर्टका केही प्रतिलिपि पनि साथै राख्नुपर्छ, यसले नयाँ बनाउन वा ट्राभल डकुमेन्ट निकाल्न सजिलो हुन्छ,' कार्की भन्छन्, …त्योभन्दा राम्रो र सजिलो भनेको पासपोर्ट स्क्यान गरेर आफ्नो इमेलमा सेभ गरेर राख्नु हो।'

बिरामी परियो भने?
यात्रामा निस्कँदा हावापानी परिवर्तन भएर वा खानपिन नमिलेर बिरामी पर्न सकिन्छ। यस्तोमा जहाज कम्पनीसँग सम्पर्क गर्नुपर्छ। कम्पनीले नै बिरामीको हेरचाह गर्छ। बिरामी यात्रुको हेरचाहका लागि कम्पनीहरूले स्वयंसेवक खटाएका हुन्छन्।
कहिलेकाहीँ गम्भीर प्रकृतिको बिरामी छ भने अवस्था हेरेर स्वदेश फिर्ता पठाउने गरिन्छ। सामान्य छ भने औषधिउपचार गरेर लगिन्छ। तर, विमान कम्पनीले नै हेरचाह गरे पनि उपचार खर्च भने आफैंले बेहोर्नुपर्छ।
यो त भयो जहाजभित्रको कुरा। सम्बन्धित देशमै पुगेर बिरामी परे के गर्ने? आकस्मिक उपचार चाहिए स्थानीय सरकारी अस्पतालमा सम्पर्क गर्न सकिन्छ। तर, अमेरिकाजस्तो देशमा औषधिउपचार खर्च हामीले धान्नैनसक्ने महँगो हुन्छ। त्यसैले, यात्रामा निस्कनुअघि नै स्थानीय बिमा कम्पनीमा औषधिउपचार र दुर्घटना बिमासहितको …ट्राभल इन्स्योरेन्स' गराउँदा यात्रा सहज हुन्छ।

वृद्धवृद्धा वा बालबालिकामात्रै भए के गर्ने?
विदेशमा रहेका साथीभाइ वा आफन्तले छोराछोरी वा बुबाआमालाई मात्रै घुम्न बोलाउँछन्। वृद्धवृद्धा र बालबालिकालाई यात्राको कुनै जानकारी हुँदैन। भाषाको ज्ञान पनि नहुनसक्छ। ट्राभल एजेन्सीलाई पहिल्यै आफ्नो अवस्थाबारे जानकारी गराउनुपर्छ।
…तपाईं आफूलाई यात्रा अनुभव नभएको र भाषा पनि नआउने कुरा ट्राभल कम्पनीलाई जानकारी दिनुस्, अरू काम एयरलायन्सले नै गर्छ,' उनी भन्छन्।
यस्तो अवस्थामा टिकट बुकिङ गर्दा छुट्टै शुल्क तिर्नुपर्छ। शुल्क तिरेपछि जहाजमा उक्लने, ओर्लने र सम्बन्धित ठाउँसम्म पुर्‍याइदिने जिम्मा एयरलायन्सकै हुन्छ। कतिले त घाँटीमा सूचना झुन्ड्याएर पठाइदिन्छन्। जस्तो, …उहाँले कान सुन्नुहुन्न, सहयोग गरिदिनुहोला।'
कार्कीका अनुसार दस वर्षभन्दा बढी उमेरका केटाकेटीलाई यसैगरी पठाउन सकिन्छ। …त्योभन्दा कम उमेरकालाई भने एक्लै यात्रा गर्न दिइँदैन,' उनी भन्छन्।

पाकेटमारको फन्दा परे?
नेपालमा मात्रै होइन, पाकेटमारको बिगबिगी संसारभरि छ। जहाँ पनि सावधान हुनु नै राम्रो। कति ठाउँमा त ट्याक्सी चालकहरूले नै हैरान पार्छन्। एयरपोर्ट र जहाजभित्र यस्तो समस्या विरलै पर्छ।
यसबाट बच्न धेरै नगद पैसा बोकेर हिँड्नुभन्दा क्रेडिट कार्ड वा ट्राभल चेक बोक्नु सबभन्दा बेस। यी हराए पनि सम्बन्धित बैंकलाई सम्पर्क गरेर तत्काल समाधान खोज्न सकिन्छ। नगदै छ भने भएभरको पैसा कहिल्यै एकै ठाउँमा राख्नुहुन्न। तीनचार ठाउँमा बाँडेर राख्नुपर्छ। एकठाउँको पैसा चोरी हुँदा पनि अर्को ठाउँको बच्छ।
यति गर्दा पनि पाकेटमारको फन्दा परियो भने एउटै उपाय भनेको दूतावासमा गएर सहयोग माग्ने। त्यो देशमा भएका साथीभाइले पनि सहयोग गर्न सक्छन्। स्थानीय प्रहरीबाट भने सहयोगको आस कम हुन्छ।

जहाजको खान्की?
कति जहाजले खानाको सुविधा दिन्छन् त कतिले दिँदैनन्। कति जहाजमा पैसा तिरेर खाना खान पाइन्छ। यदि तपाईं सस्तो टिकटको बजेट एयरलायन्समा यात्रा गर्दै हुनुहुन्छ भने खाना किन्नुपर्छ। कतिलाई खानाको मेनु र मूल्यबारे जानकारी नहुनसक्छ। यस्तोमा निसंकोच अरूको सहयोग लिनैपर्ने कार्की बताउँछन्।
जहाजमै खानाको सुविधा छ भने टिकट काट्दा नै आफू साकाहारी हो वा होइन खुलाउनुपर्छ। त्यहीअनुसार जहाजभित्र खाना आइपुग्छ। कहिलेकाहीँ मेनु हेर्दा खानाको प्रकृति र स्वाद थाहा नपाएर पनि हैरान परिन्छ। …खानाको नाम जानिँदैन भने एयर होस्टेस वा अरू जान्ने मान्छेसँग सोधपुछ गर्नुको विकल्प छैन, यहाँ लाज मानेर चल्नेवाला छैन,' कार्की भन्छन्, …नत्र भोक्कै परिन्छ।'
त्यस्तै, कति जहाजामा शौचालय प्रयोग गर्न गाह्रो हुन्छ। यस्ता कुरामा एयरहोस्टेस वा साथीयात्रीको सहयोग माग्दा तपाईंलाई कसैले होच्याउँदैन। …यो भ्रमलाई नेपालको विमानस्थलमै मिल्काएर उड्नु नै राम्रो,' उनी भन्छन्।

प्रहरीले समात्यो भने?
आफू सही हुँदाहुँदै पनि कहिलेकाहीँ भिसा वा पासपोर्टमा समस्या आएर त्यहाँको प्रहरी वा अध्यागमन विभागले समात्नसक्छ। त्यस्तो बेला नहड्बढाई आफ्ना कुरा राख्नुपर्छ। उनीहरूलाई शंका लाग्यो भने अध्यागमन विभागमा राख्छन्। बदमासी गर्नुभयो भने स्वदेश फिर्ता पठाइन्छ। गैरकानुनी काम गरेको ठहरिए त जेल सजाय पनि भोग्नुपर्छ।
यात्रामा निस्कनुअघि नै सम्बन्धित देशको नियमकानुनबारे मोटामोटी ज्ञान हुनु जरुरी छ। जस्तो, अमेरिकी विमानस्थलमा हुने एक–तिहाई पक्राउ लागूऔषधसँग सम्बन्धित छ। सिंगापुर विमानस्थलले शौचालय …फ्लस' नगर्दा पनि तपाईंलाई जरिवाना गराउँछ। चक्लेट खाएर बोक्रा भुइँमा मिल्काउँदा पनि सजायको भागीदार हुनुपर्छ। कुनैकुनै देशमा चुरोट–रक्सी लग्न पाइँदैन।
दुर्भाग्यवस पक्राउ परियो भने दूतावासमा सम्पर्क गराइदिन प्रहरीलाई आग्रह गर्नुपर्छ। त्यसपछि घरपरिवारसँग सम्पर्क गरेर सहयोग माग्नुपर्छ।

प्राकृतिक वा मानवीय विपत्ति परे?
विपत्ति कसैले टार्न सक्दैन। जस्तो, नयाँ ठाउँमा पुग्दा अचानक आतंककारी हमला हुनसक्छ। भुइँचालो जानसक्छ। यस्तो अवस्थामा आफ्नो बन्दोबस्त आफैंले गर्नुपर्छ। खानेबस्ने व्यवस्था आफैं मिलाउनुपर्छ। अहिले हिमपातका कारण उत्तरी युरोपका धेरै फ्लाइट रोकिएका छन्। यसमा आफ्नो व्यवस्था आफैं गर्नुको विकल्प छैन। मौसमका कारण आउने विपत्ति टार्न यात्रामा निस्कनुअघि नै इन्टरनेटबाट आफ्नो गन्तव्यको मौसमबारे जानकारी लिन सकिन्छ।
तर, एयरलायन्सका कारण विपत्तिमा परे जहाज कम्पनीले नै सबै खर्च बेहोर्छ। जहाजको प्राविधिक समस्याले उडान स्थगित भए खानेबस्ने व्यवस्था उसैले मिलाउँछ।

स्वादिलो खाजा घर


गैह्रीधारा चोकबाट पूर्वतिर १० पाइला अघि बढाउनुस, देव्रेतिर देखिन्छ खरानी रंगको तीन तले घर। त्यसको बाहिर देख्नुहुनेछ एउटा बोर्ड।
त्यसमा लेखिएको छ–खाजा घर– १। सिसाको ढोकाबाट भित्र छिर्ने वित्तिकै देखिन्छ दाहिनेतिर डाइनिङ हल र देव्रेतिर काउन्टर। काउन्टरको पछाडी भित्तामा सजाइएका छन् मदिराका बोतलहरु। डाइनिङ हलको भित्तामा चाहिँ चित्रहरु टाँगिएका छन्।
तपाई मेचमा बस्ने वित्तिकै खाजाघरको मेनु पल्टाउन सक्नुहुन्छ। मेनु हेरिसकेपछि रातो टिसर्ट र कालो पाइन्टमा सजिएका वेटर अर्डर लिन आउँछन्। खाना खाने की खाजा या ड्रिङ्स? रोजाइ तपाईको। …सर हजुर के लिने?' मुस्कुराउँदै वेेटर केओटी (किचेन अर्डर टिकट) काट्छन्।
दश मिनेटमै आइपुग्छ अर्डर गरिएको परिकार। …हामी धेरै बेर कुराउदैनौं', खाजा घरका इन्चार्ज श्याम थापा भन्छन् …चाडै सर्भ गर्छाै।' आरामदायी सोफामा बसेर खाने भए डाइनिङ रुम उपयुक्त छ। पलेँटी कसेर वा कुर्सीमा बसेर खाने भए पछाडीपट्टिको तीन तले घर। एक्लै र श्ाान्त वातावरण चाहिएको छ भने गार्डेनमा बस्नुस। माथिल्लो तलामा हुनुहुन्छ भने बसी बसी अर्डर गर्न सक्नुहुनेछ। टेवुलमाथिको घण्टी थिच्नासाथ अर्डर लिन आइपुग्छन् वेटर।
डाइनिङ रुममा बस्ने हो भने किचनको सरसफाइ पनि हेर्न सक्नु हुन्छ। काउन्टरको ठ्याक्कै पछाडी छ कचेन।
यहाँ दिउसोको खाजा मात्रै होइन, विहान बेलुकाको खाना, माछा मासु, मदिरा, चिया र कफि समेत पाइन्छ। खाजा घरको विशेषता के हो त? …माछा मसला हो,' इन्चार्ज थापा भन्छन्। रहु जातको माछालाई टुक्रा टुक्रा पारेर ग्रेभी बनाइन्छ। यो निकै स्वादिलो हुन्छ। मुल्य एक सय रुपैयाँ प्रति प्लेट।
त्यसो त लोकप्रिय ट्राउट माछा र खाना (३ सय रुपैयाँ) पनि पाइन्छ। …ट्राउट खान टाढा जान नपरोस् भनेर यही व्यवस्था गरेका हौं,' थापाको भनाइ छ, …बालाजुदेखि ताजा ट्राउट माछा ल्याउछौ।'
यहाँ साकाहारी र मांसहारीका लागि पकाउने भाँडा फरक फरक छन्। खाजा घरको मेनु तपाईको रोजाइ र पकेट सुहाउँदो छ। ५५ रुपैयाँदेखि १ सय ७० रुपैयाँसम्म तिरेर खाजा खान सकिन्छ। खाजा सेटमा भुजा/चिउरा, आलु तामा, बोडी, अचार र भुटन (७० रुपैयाँ) पाइन्छ। तपाई भेज हुनुहुन्छ भने भुजा/चिउरा, आलु तामा, बोडी, अचार (५५ रुपेयाँ)। अरु परिकारमा फिला (१ सय रुपैयाँ), चिकेन आइटम (९० देखि १ सय १० रुपैयाँ सम्म), तास (१ सय देखि १ सय १० रुपैयाँ) नेपाली खाना सादा (७५ रुपैयाँ), खसी वा लोकल कुखुराको मासु खाना (१ सय ५० रुपैयाँ), वियर, सेकुवा, मःम, बदेलको मासु लगायत छन्।
विहान नौ बजेदेखि राति १० बजे सम्म खुल्छ खाजा घर। हेड सहित चार जना कुक छन्, ६ जना वेटर। अनुभवि कुकले बाक्लो ढलोटको भाडामा पकाउछन्। किचन सफा छ। तपाई किचन निरिक्षण गर्न सक्नु हुन्छ। नेपाली र हिन्दी गजलका साथै सुमधुर लोकधुन सुन्दै खानुको मज्जै बेग्लै हुन्छ।
१३ वर्ष अघि खोलिएको हो खाजा घर। लोकप्रिय हुँदै गएपछि अरु दुइ ठाउँमा समेत यसका शाखा खोलिएका छन्। खाजा घर १ चाहिँ पहिलो शाखा हो भने सोह्रखुट्टेमा दोस्रो छ। तीनै ठाउँमा एकै स्वाद लिन सकिन्छ। मध्यम वर्गलाई लक्षित गरेर सुरु गरिएको भए पनि अहिले सबै वर्गका मानिस आउने गरेको थापा बताउँछन्।
पार्किङको भने समस्या छ। मुश्किलले १५ वटा मोटरसाइकल अटाउने ठाउँ छ। तपाइसंग कार छ भने त्यहाँ गएर खान गाह्रो पर्छ किनकी त्यहाँ पार्किङ गर्ने ठाउँ छैन। बेलुकीका लागि भने बाहिर सडकमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ। थापा भन्छन्, …ट्राफिकसंग अनुरोध गरेर कार्यालय समयपछि सडकमा पार्किङ गर्ने व्यवस्था मिलाएका छौं।'
भित्ता र टेवलको सरसफाइमा ध्यान दिएको भएपनि भूँइको सफाइमा त्यति ध्यान दिइएको छैन। थापा भन्छन् …हामीले स्वीपर राख्न सकेका छैनौं। अब यसलाई व्यवस्थित पार्दै लग्ने छौं।'
ख्याल राख्नुस है! दोस्रो र तेस्रो तलामा बसेर खाइसकेपछि भर्‍याङबाट ओर्लने बेला माथिल्लो भर्‍याङमा टाउको ठोकिएला नि।

Sunday, April 17, 2011

पानी पिउन नपाउँदा...


अघिल्लो शुक्रबार नै मलाई सहकर्मी दाइ अमृत भादगाउँलेले भन्नुभएको थियो, …अर्काे शुक्रबार १२ बजे दामन जाउ। दामी रिपोर्टिङ गरेर ल्याउ। त्यहाँ पर्यटक आकर्षित गर्न नयाँ प्याकेज ल्याइँदै छ अरे।' दामन २ चोटी त पुगेकै थिएँ। तर त्यहाँ रात बिताउने मेसो मिलेको थिएन। ठिकै छ, त्यहाँबाट देखिने पानारोमिक हिमाल, सूर्याेदय र सूर्यास्त हेर्न मन लागे पछि हजारौं रुपैयाँ खर्चिनु पर्छ। त्यसैले नयाँ वर्षको भोलीपल्ट त्यता जाने पक्का गरेँ।
लेख्ने विषय धेरै छन् दामनमा जानु अघि केही सोच त बनाउनै पर्‍यो मेरो दिमागमा यस्तै कुरा खेल्दै थियो। बाह्र बजे निस्कने भने पनि नेपालीको बानी न हो भनेको टाइममा त पक्कै कोही नआउलान्। एक त बज्ला नी! मैले यही सोचेर भनेको समय भन्दा एकघण्टा ढिलो कोठाबाट निस्कएँ। समयको पङ्चुआलिटी नभएका हामी। यदि समयको पङचुआलिटी भएको भए त संविधान पनि तोकेकै समयमा बनिसक्थयो होला। एक वर्ष समय थपेर सभासद्ले एक वर्षको भत्ता पचाउन पाउन्थेनन् होला।
एक बजे कोठबाट निस्कनु अघि सहकर्मी रामचन्द्र भट्टलाई फोन गरे उनले भने गाडी निस्कने अहिले सम्म कुरोकन्तो छैन। मैले सोचे सितापाइलाबाट कलंकी पुगुन्जेल त पक्कै गाडी आइपुग्छ। तर, कलंकी गएर बसेको सवा एकघण्टा वित्दा पनि आएन। कलंकीमा म यता र उता गर्दै बसे। म उभिएको देखेर पसलेले पनि शंकाले हेर्न थालिसकेको थियो। तैपनि गाडी गुड्यो भनेर फोन आएन।
धुलो धुवा अनि भिडभाडमा दिक्कै लाग्ने। मेचीदेखि महकाली, हिमालदेखि तराइसम्मका मानिस यही देखिने। अनेकन कुरा यही देख्न पाइन। एक हिसाबले त मजैपनि हो। तर घाममा टट्टिनु कम्ता गाह्रो हुन्न। भोक पनि लागिसकको थियो। खाजा खान होटलमा पसुँ फेरी गाडी आइहाल्ने पो हो की! म नखाइकनै सवा एक घण्टा कलंकी चोकमा उभिएँ।
बल्ल सवा दुइ बजे गाडी आयो। भित्र छिरेको प्राय चिनेकै साथी रहेछन्। गलल्ल हाँसे। म पनि हाँसिदिए। कोइस्टर गाडीको पछाडी सिटमा बस्नुको विकल्प थिएन किनकी सबै भन्दा पछि गाडीमा चढेको मै थिएँ।
काठमाडौंबाट कम्तिमा तीन घण्टा लाग्छ दामन पुग्न। हुन त ८० किलोमिटर मात्रै हो। तर बाटो घुम्ती नै घुम्ती। उकालो घुम्तीमा ४० किलोमिटर प्रतिघण्टा भन्दामा त गाडी कुद्नै सक्दैन।
बिहान भात खाएदेखि पानीको घुट्को सम्म पिएको छैन। नौबिसेबाट उकालो लाग्दै छौं। बानी बिग्रिएछ, मोटरसाइकलमा हिँड्ने बानी राम्रो पनि होइन। जहाँ जाँदा नि भुटुटुटु पार्‍यो हिँडिहाल्यो। त्यसैले लामो यात्रामा गाडीमा बस्यो की वाक्वाकी लाग्ने। हुन त पेट भोको भएर पनि यस्तो भएको होला पेट निमोठर आइसक्यो। भनुँ कस्लाई। नभनुँ आफूलाई गाह्रो पार्‍यो। अनि मैले भने, …कमसेकम गाडीमा पानी त राख्नु।' सबैले होमा हो मिलाए।
पालुङ पुगेसि म फेरी एक्लै कराएँ। खाजा खाने ठाउँमा रोकौं। हामी आफ्नै पैसाले खाजा खान्छौं। खान पाउने आशामा आएका होइनौं। आयोजक मध्ये एकले भने, …अब आधा घण्टामा त रिसोर्ट नै पुगिन्छ। त्यही पुगेर खाजा खाऔं।' मन मनै सोचेँ मरेपछि औषधि!
पालुङ् माथि गएर एकछिन गाडी रोकियो। तैपनि पानी छैन। पानी खान पिउन नपाए पनि हावा खाऊ भनेर रोकेका थियो। बल्ल चिसो हावाले वाक्वाकी लाग्न कम भयो। अनि गाडी भित्र छिर्‍यौं। लौ गाडीमा त पानी पो आएछ।
…कहाँबाट आयो?' मैले सोधेँ
पहिलयै गाडीमा थियो रे। तर टुरिष्टलाई बेच्न राखेका रे। पानी नदिँदै पत्रकार होटल पुगे पुगुन् भनेर हो की के हो कसैले पान्ी छ भनेर चुइक्क बोलेनन्। कस्तो अचम्म! पानीले प्याकप्याक हुँदा पनि पिउन नदिने। जहा पनि नरम बोलेर केह िनपाइने। आफ्नो रिस देखाउनै पर्ने। हाम्रो चलन! तर जे भएपनि पानी पिउन पाइयो। धन्य आयोजक!

Wednesday, April 13, 2011

भरीया दाइले बिसाउने भारी


हिउँको डसना, हिउँको सिरानी र हिउँकै ओढ्ने। धेरैचोटी ओढिसके उनले। कसैले कपासको सिरक, डसना दिए भने त्यसमा त रातभरी निन्द्रा पर्दैन रे उनलाई। खुला आकाशमा सुतेर १३ वर्ष बिताइसके पेम्वा शेर्पा, ४१, ले। भन्छन्, …सधैँ यसैगरी सुत्ने बानी परिसक्यो।'
पहाड या हिमाली भेगमा पदयात्रा गर्दा बोक्ने उनको काम। दोलखाको रमणिय उपत्यका जिरीका यि शेर्पा भरिया बनेर हिँडेको एक दशक बढि भैसक्यो। यो अवधिमा आफुसँगै गएका विदेशी कता पुगिसके, गाइडले बजारमा घर ठड्याइसके, उनको भने दिनदिनै तालु खुइलिँदै छ। नाम्लोको डाम गहिँरँदै छ। …हेर्दाहेर्दै यही पेसा गरेर कति शहर गए,' उनले दुखेसो पोखे, …आफ्नो त कर्मै उस्तै।'
६ जनाको परिवारमध्ये श्रीमती एङ्डोमा जिरीमा होटल चलाएर बसेकी छन्। ३ छोरी सरकारी विद्यालयमा पढ्छन् भने एउटा छोरा गुम्बामा। भारी बोक्ने सिलसिलामै भेटिएका विदेशीले छोराछोरीलाई लगेर पढाइदिन्छु भनेर धेरै आश्वासन पनि दिए। नेपाली नेताले चुनावमा भोट माग्न जनतालाई आश्वासन बाँडे जस्तै भो उनलाई। भन्छन्, …भारी बोकुञ्जेल खुशी पार्न त्यस्तो भन्दारै'छन्।'
अध्ययनको कमी, बेरोजगार बस्नुपर्दाको पिडा र साथीभाइको लहैलहैमा २८ वर्षे लर्के जोवनमै उनी भरिया बनेका। त्यति मात्रै होइन, सगरमाथाको प्रवेशद्वार जिरी भएकाले पर्यटकको आउजाउ हुन थालेपछि पैसा कमाउने राम्रो मेलो हुनसक्छ भनेर पनि …पोटर' बनेको हुँ भन्छन्। …ममा आँट र बल थियो। परिवारमा पनि हातमुख जोर्नै गाह्रो थियो', उनले पुराना दिन सम्झे …त्यहि भएर भारि बोक्न हिँडेको।'
उनी पहिलो ट्रेकिङ रामेछापको दूधकुण्ड गएका थिए। आठ विदेशीसहित गाइड आङछिरिङको पछि पछि। …गुम्देल, थताङचेली, जुमबेसी, लम्जुरहु्ँदै भण्डारा र फेरी शिवालय निस्केका थियौं,' उनले सुनाए, …पहिलोचोटी त रमाइलै भयो। नदेखेको ठाउँ देख्न पाएँ। र, पैसा पनि कमाएँ।'
पहिलो चोटी ३० किलोको भारी बोक्दै उकालिएका। युवा जोश। चञ्चले मन। जागिर पनि नपाएको झोक र घरमा कचिंगलो। जे पर्ला भनेर भरिया बनेका। …त्यो बेला सब्जी बोकेको थिएँ,' उनले भने, …निकै हलुका लाग्यो।' ट्रेकिङमा पहिला भारी गह्रौं भएपनि पछि सामान घट्दै जाँदा हुलुका हुँदै जान्छ।'
उनी नेपालका धेरै ठाउँ डुलिसके। आफ्नै पैसा र सोखले होइन, अरुको पछिपछि लागेर। माथिल्लो डोल्पा, मनास्लु, लाङटाङ, धौलागिरी, मुलापास, सगरमाथा आधारशिविर मुख्य ट्रेकिङ रुटमा भारी बोके।

भारीसँगै धरैलाई सकुशल उचाइमा पुर्‍याए। तर उनको जिन्दगी जहाँको त्यही छ। पढ्न नपाएको दुखेसो छ्, …गरिबी र अशिक्षा नै कमजोरी भए। अक्षर मात्रै चिन्न सकेको भए केही हुन्थ्यो की!'
पहिलोचोटी भारी बोक्दा दिनको १ सय पचास रुपैयाँ ज्याला थियो। त्यो पाउँदा नी उनलाई केके न पाए जस्तै भएको थियो। …सितिमिती पैसा छुन त के देख्न समेत पाइन्नथ्यो,' पुराना क्षण सम्झन्छन्, …आफैले पैसा कमाउँदा निकै खुशि लाग्यो।'
आज समय फेरिएको छ। महँगी चुलिँदो छ। अचेल दिनको १ हजार रुपैयाँसम्म कमाउँछन्। …जे छ त्यसैमा रमाएको छु,' उनले भने, …मान्छेलाई जति पैसा भए पनि पुग्दैन। खान लाउन मजाले पुगेको छ,' आनन्दको सास फेर्छन्, …त्यो बेला सस्तो थियो जे सामान पनि। अहिले महंगी छोइ नसक्नु छ।'
१३ वर्षको अवधिमा ५० पटक भन्दा बढि समय भारीलाई पिठ्युँमा हालेर उकाली ओराली गरिसके पेम्बा। एक सिजनमा दुइदेखि चार पटकसम्म भारी बोक्न भ्याउँछन्।
ट्रेकिङमा जाँदा पोटरले ज्यानको माया मारेर हिँड्नुपर्ने बाध्यता छ। गएको सिजनमा मुलापास जाँदा। …तीन दिनसम्म हिउँमा हिँडको हिड्यै,' कुर्कुच्चाको सेतो भाग देखाउँदै उनले भने, …हिँउले खाएको खुट्टा।'
ट्रेकिङ जाँदा आँखै अगाडि साथीको खुट्टा हिँउले खाएर काट्न परेको देखेका छन् उनले। यसपाली आफ्नो हालत पनि त्यस्तै हुने हो कि भन्ने मनमा निकै डर थियो। …धन्न मेरो खुट्टालाई केही भएन। म्याग्दीको बेनीमा आएर दवाइ गरे,' पेम्बाले भने, …तोरीको तेल लगाएर मालिस गरेपछि ठिक भो,। नत्र मेरो जहानले दुःख पाउथे।'
हिँउमा भारी बोकेर हिँड्नु चानचुने कुरा होइन। राम्रो जुत्ता नलगाउँदा चिप्लने डर त्यत्तिकै हुन्छ। सस्तो कपडाको जुत्तामा हिँड्नु त जोखिम मोल्नु नै हो। प्रायः गोल्डस्टार जुत्ताको भरमा हिँड्छन्। …जुत्तामा हिँउ पसेर पग्लिन्छ र खुट्टा खान्छ। के गर्ने हजुर महंगो जुत्ता किनेर लाउन सकिन्न,' दुखेसो पोख्छन उनी।
भारी बोक्नेहरु हेपिन्छन्। पोटर बिना ट्रेकिङ अपुरो हुन्छ भन्ने सम्भि्कन्नन् गाइड र पर्यटक। पेम्बालाई पनि यसैमा दुःख लाग्छ। …राती सुत्न न राम्रो ओढ्ने दिन्छन् न त स्लिपिङ व्याग नै।' धेरैपटक एउटा कम्बलका भरमा आकाशमुनि रात कटाएको अनुभव छ पेम्बासँग। …उनीहरुको सामान बोकेर गन्तब्यमा पुर्‍याउने त हामी नै हो नी,' पेम्बा जोसिन्छन्, …तर, हामीलाई तेस्रो दर्जाको जस्तो व्यवहार गरिन्छ। खाना समेत पेटभरी पाइन्न।'
हिँड्दा–हिँड्दा जीवनमा धेरै मानिसको संगत गरिसके उनले। कतिले विदेश लाने आश्वासन दिए त कति महिलाले विहे गर्ने। कतिले गाली गरेका छन् कतिले माया। भन्छन्, …मैले भिन्ना भिन्नै मानसि देखेँ। मन हुनेले त टन्नै पैसा पनि दिएका छन्। तर नहुनेले त गाली।'
कसैले जुत्ता, ज्याकेट दिन्छन त कसैले पैसा। ट्रेकिङ अनुभव यस्तै छ उनको। …एकै चोटी ३६ सय सम्म टिप्स पाएको थिएँ,' अनुहारमा खुशिको भाव प्रष्ट देखिन्छ, … यो नै जीवनमा आएको ठूलो टिप्स हो, अष्ट्रलियाको ग्रुपले दिएको।'

काम गर्दै जाँदा दिक्क नलाग्ने त होइन, तर पनि जहानको मुख हेरेर भारी बोक्नै पर्ने बाध्यता छ। …अरु काम गर्न सीप छैन,' उनी भन्छन्, सकुञ्जेल भारी बोक्छु।'
ट्रेकिङमा कमाएको पैसा धेरै फारु नुहने अनुभव छ पेम्बाको। …साथीभाइ हुन्छन्। जीउ दुखेको हुन्छ। दुःख र जीउ दुखाई मेटाउन पिउ भन्यो कहिलेकाही पेसा नै बाँकी रहन्न,' उनी भन्छन्।
भारी बोक्दा स्वस्थ्य जोखिममा पर्छ। हिँड्दा टाउको दुख्ने र शरीर गल्ने हुन्छ। तर सँगैका समूहले …हेल्प अप' गर्ने भएकाले चिन्ता हुँदैन। …एक चोटी मेरो आँखा नै बन्द भएको छ,' घटना सुनाउँछन्, …चश्मा नलागाइ हिमाल चढ्दै थिएँ। हिउँ टल्केर आँखामा पर्‍यो। आँखा तिरमिराएर डम्मै भयो। म त्यही लडेँ।'

Tuesday, April 12, 2011

स्वर्गको एक टुक्रा


करिश्मा मानन्धर
सिने क्षेत्रमा काम गरेको दुई दसकभन्दा बढी भयो । सुटिङमा धेरै ठाउँ गएँ । घुमेमध्ये सबैभन्दा रमाइलो ठाउँ हो- पोखरा ।
मलाई डुल्न अति मनपर्छ । समय पाउनेबित्तिकै साथीभाइसँग कतै न कतै घुम्न निस्किहाल्छु । चलचित्रकर्मीभन्दा बेग्लै सर्कलका साथीभाइसँग निस्कन्छु ।

दुई वर्षअघि अमेरिका जानुभन्दा पहिले पोखरा गएकी थिएँ । उताबाट फर्केपछि पोखरा जान पाएकी छैन । हतारिएकी छु बर्खा सकिएपछि त्यता जान्छु । पोखराका प्राकृतिक सम्पदा र लेकसाइड मलाई औधि मन पर्छ । लेकसाइडमा बेलुकीपख बियरको चुस्की लगाउनुको जस्तो आनन्द अन्यत्र मिल्दैन ।

काठमाडौको धुलो धुवाँ कोलाहल फोहोर र सवारी साधनको जामले दिक्क बनाएका बेला पोखरा जाँदा आनन्द लाग्छ । ड्राइभिङको सौखिन म । जब कारमा थानकोट काटेर ओरालो झर्छु तब मन रोमािाचत हुन्छ । थानकोटबाट तल लागेपछि देखिने दृश्यले मन रोमािाचत हुन्छ । त्यहाँबाट देखिने सुन्दर फाँट पहाडी भुवनोट र गाउँले जीवन देख्दा हामी भौगोलिक विविधताका धनी भएकामा गौरवबोध हुन्छ ।

गाडीमा साथीभाइबीच गफले फुट्ने हाँसोको पर्राले यात्रा रमाइलो हुन्छ । आफ्नै गाडीमा जाँदा जहाँ मन लाग्यो त्यहीँ रोकेर खानपिन गर्न पाइन्छ । राजमार्गको खानाले काठमाडौंको एकैनासे खानालाई बिसा्रइदिन्छ पनि ।

जब मलेखु पुग्छु प्रुाई र ग्रेभी माछाको बासनाले आँतै हरर बनाउँछ । मुख रसाउँछ । मलेखुमा रोकिएर माछा नखाई अघि बढ्नै सक्दिनँ । हुन त मलेखुमा तराईबाट माछा ल्याएर बेच्छन् भनेको सुन्दा दुःख लागेको छ । माछा र बियरको चुस्कीले जोकोहीको मन रमाउँछ ।

त्यहाँ अरु चिज पनि राम्रो सफा र हाइजेनिक पाइन्छ । चाहे भात होस् या तरकारी सबै स्थानीय बारीमा फलेका हुन्छन् । त्यसैले पनि हवाइजहाजमा भन्दा गाडीमा यात्रा गर्न मन लाग्छ मलाई ।

मलाई नेपालको पूर्वी भाग पनि निकै रमाइलो लाग्छ । इलामको चियाबगान त हेरेर कहिल्यै धित मर्दैन ।
नेपालमा पर्यटकीय गन्तव्य धेरै छन् । तर सरकारले वास्तै नगरेको देख्दा दिक्क लाग्छ । विदेशमा त हरेक ठाउँमा पर्यटक आकर्षित गर्न विभिन्न योजना र कार्यक्रम बनाइएको हुन्छ ।
मलाई जान मन लागेको ठाउँ रारा ताल हो । धेरै गुनगान सुनेको छु रारा तालको । राराको तस्बिर र वृत्तचित्र हेर्दा कल्पिन्छु- नेपालमा पनि यस्तो ठाउँ छ है ! किन सरकारले बेवास्ता गरेको होला
रारा मेरो अबको गन्तव्य । हिँडेर जानुपर्छ भन्ने सुनेको छु । हिँड्न डराउँदिनँ । जति पनि हिँड्न सक्छु । ुस्वर्गको एक टुक्राु भनेर उपमा पाएको रारा चाँडै जाने सोचमा छु ।

लोडसेडिङ छल्न चित्लाङ

प्राकृतिक सौन्दर्यसँग स्थानीय उत्पादनबाट बनेका परिकार ट्राउट माछा र बाख्राको चिज खाँदै घुम्न रमाइलो हुन्छ । कुलेखानीमा जम्मा हुने पानीको यो पकेट एरिया हो । सरोवर बनाउँदा नै गाउलेसँग कहिल्यै लोडसेडिङ नगर्ने सम्झौता भएको छ । त्यसैले यहाँ कहिल्यै लोडसेडिङ हुन्न

कलंकीचोक पश्चिम मोडिएर मोटरसाइकल हुइँकिँदैछ । अघिअघि काठमाडौंमा बालुवा झारेर फेरि बालुवा बोक्न दौडेका बडेमानका टिपर । बचेखुचेका बालुवा पनि उडाउँदै हतारिएको छ त्यो । पछिपछि मोटरसाइकल र गाडी हर्न बजाउँदैछन् । सायद यी साना गाडी चाहन्छन्- बालुवाको धुलो छलेर अघि बढौं । तर बाटो साँघुरो छ । धुलो खाँदै हिँड्न बाध्य छौं ।
दिक्कलाग्दो बाटो । कहिले थानकोट चौकी आउला हाम्रो चारजनाको टोली चित्लाङ उक्लने तरखरमा छ । धुलो र धुवाँले अनुहार फुस्रो भइसकेको छ । थानकोट चौकी पुग्दा नपुग्दै धुलाम्मे भयो शरीर ।
बल्ल आयो चौकी । यहाँबाट देब्रे मोडिएपछि कहिले पक्की कहिले कच्ची बाटो हुँदै गोदाम पुग्छौं । ुआहा कस्तो हिमाल खुलेकोु उत्तरतिर हेरेर सहकर्मी देवेन पाण्डेले भने ुयस्तो मौसममा खुलेको हिमाल !
गोदाम चित्लाङ छिर्ने मुख्य नाका । यहीँबाट चित्लाङ जाने जिप छुट्छन् । यति नै समयमा गाडी छुट्छ भन्ने छैन । भरिएपछि जतिबेला पनि जाँदोरहेछ । चित्लाङबासीको व्यापारिक केन्द्र पनि रहेछ गोदाम ।
गोदामबाट उकालो लाग्दैछौं हामी । हिँडेर जाने हो भने दुई घन्टा । गाडीमा एकदेखि साढे एक घन्टामा पुगिन्छ । तर मोटरबाटोले पैदलबाटो मासेपछि मानिस हिँडेर कमै आवतजावत गर्दा रहेछन् । हामीले हिँड्ने एकजना पनि भेटेनौं ।
उकालो कच्ची बाटो । कतै ग्राभेल गरेको त कतै गिर्खे बाटो । खत्र्याकखत्र्याक गर्दै मोटरसाइकल उक्लँदैछ । कहिले कुना कहिले छेउ । दाह्रा निस्केका ढुंगामाथि मोटरसाइकल चलाउन कम्ता सास्ती हुन्न ।
यो बाटोमा फोरह्विल गाडी मोटरसाइकल र ट्रकबाहेक केही जान सक्दैन । तलमाथि केही भयो कि एकैचोटि गोदाम आइपुगिने । ुसाहसिक र रमाइलो पनि उत्तिकैु सँगै गएका साथी सुमन लुइँटेल फिस्स हाँस्छन् ।
फेदीबाट एउटा चुच्चो देखिएको हिमाल त जति माथि उक्लँदै गयो त्यति फराकिँदैछ । ुयस्तो रेन्ज त देखेकै थिइनँु एकदर्जन भन्दा बढी हिमालको फेदी पुगेका देवेनले आश्चर्य माने । ुउः त्यो नुम्बुर गौरीशंकर दोर्जे लाक्पा लाङटाङ त्योचाहिँ माछापुच्छ्रेु पूर्वबाट पश्चिमसम्मको हिमशृंखला देखाउँदैछन् उनी । हुन पनि छुंग आकास खुलेका बेला त झन्डै दुई दर्जन हिमाल देखिन्छन् यहाँबाट ।
तुवाँलोले ढम्मिएको उपत्यकाभन्दा निकै माथि आइसकेका छौं । त्यसैले परपरका दृश्य निकै सफा र स्पष्ट छ । मोटरसाइकल रोक्दै फोटो खिच्दै उक्लँदैछौं हामी । भित्तातिर हरियाली जंगल । छेउमा हिमाल र उपत्यका !
निलो आकास । निकै खुलेको छ मौसम । घुम्ने मौसम पनि यही हो । फोटो खिच्न र हेर्न पनि रमाइलो हुन्छ यस्तो मौसममा । घ्याच्च ब्रेक लगाउँछौं । ुओहो लालीगुराँस पोु राताम्मे जंगल देखेर कराउँछु ।
बल्ल उकालो काटियो । भन्ज्याङमा केहीबेर बस्दैछौं हामी । यो भन्ज्याङबाट पूर्व काठमाडौं पश्चिम मकवानपुर । यही डाँडोले अन्चल सिमानाको काम गरेको छ ।
भन्ज्याङबाट साँच्चै राम्रा देखिन्छन् दुवै उपत्यका । यहाँबाट १५ मिनेटमा चित्लाङ पुगिन्छ । अबको बाटोचाहिँ राम्रो छ ।

चारैतिर अग्ला हरिया डाँडा । सुलुत्त परेको उपत्यका । हरियाली खेतका पाटा । बीचबाट कलकल गर्दै बगेको खोला । साँच्चै राम्रो छ मकवानपुरको चित्लाङ गाविस । बर्खामास शितल । हिउँदमा सफा स्वच्छ र न्यानो । यहाँको हावापानीको विशेषता हो यो । त्यसैले गर्मीमा शितलता लिन र जाडोमा घाम ताप्न उपयुक्त छ यो ठाउँ ।
काठमाडौंबाट पश्चिमपट्टिको चन्द्रगिरीको काखमा छ यो उपत्यका । सदाबहार जंगललॆ ढाकेको यो उपत्यका हल्ला धुवाँ धुलोमुक्त छ । सुन्दर शान्त र रमणीय । त्यसैले काठमाडौंको भीड धुलो र धुवाँबाट मुक्त भएर सप्ताहन्त मनाउन निकै राम्रो र उपयुक्त गन्तव्य हो चित्लाङ ।
जाँदा थानकोट चौकीसम्मको धुवाँ धुलो र कोलाहलयुक्त वातावरणले वाक्क बनाएपनि देब्रे मोडिएको केहीछिनमै शान्त र हरियाली वातावरणले मुहारमा चमक ल्याइदिन्छ र स्वागत गर्छ गोदामले ।

दिउसोको १२ बजेको छ । घाम चर्कंदैछ । टिका र खादा लिएर स्वागतमा उभिएका छन् गाउँले । पर्यटक आउँदा स्वागत गर्ने परम्परा हो उनीहरुको । चित्लाङ पर्यटकीय हिसाबले राम्रो सम्भावना बोकेको ठाउँ हो । त्यसैले गाउँले यो काममा जुट्न थालेका छन् ।

यहाँ चारपाँच महिना अघिदेखि होमस्टे साचालनमा आएको चित्लाङ सामुदायिक होमस्टेका अध्यक्ष राधाकृष्ण बस्नेत बताउँछन् । अहिले पाँच घरलाई होमस्टे तोकिएको छ । ुथप पाँच घरमा पनि साचालन गर्ने तयारी हुँदैछु बस्नेतले भने । एकचोटिमा ५० जनासम्म पर्यटक राख्न सकिने उनको दाबी छ ।
तरकारी खेतीका लागि ख्याति कमाएको यहाँ गाउँलेले आफ्नै बारीमा उब्जाएको कुरा खुवाउँछन् । ुशुद्ध परिकारसहितको स्थानीय पेय माछा र मासु खुवाइन्छु होमस्टेकी कोषाध्यक्ष हिरादेवी मानन्धर भन्छिन् ुसकेसम्म अग्र्यानिक खान खुवाउँछौं ।
समुद्री सतहबाट १७०० मिटर उचाइमा छ चित्लाङ । हामी उक्लँदैछौं नास्पाती फर्ममा । दुई सय रोपनी क्षेत्रफलमा लगाइएको छ नासपाती । फराकिलो चौर भएकोले पिकनिकका लागि पनि उपयुक्त छ यो ठाउँ ।
नासपाती फर्म घुमेर बाख्राको चिज कारखाना जाँदैछौं । बाख्राको दुधबाट चिज उत्पादन हुन्छ । आँखैले चिज बनाउँदै गरेको हेर्न पनि सकिन्छ या त आलो चिज किनेरसमेत ल्याउन सकिन्छ । यो केन्द्र नेपालको एउटै र पहिलो कारखाना हो ।
छ वर्षअघि खुलेको यो केन्द्र पहिले सहकारीको भएपनि गाउँलेले खासै चासो नदेखाएपछि अहिले अशोकिसं ठकुरीले चलाएका छन् । दिनको ४ किलो चिज उत्पादन हुन्छ यहाँ । प्रतिकिलो १२ सय रुपैयाँमा बिक्री हुन्छ । यसका ग्राहक काठमाडैंका तारे होटल भएको बस्नेत बताउँछन् । गाउँले र आफ्नै बाख्राबाट दुध संकलन गरी चिज उत्पादन गर्ने ठकुरी बताउँछन् । भन्छन् ुदुध ५० रुपैयाँ प्रतिलिटरमा बिक्री हुन्छ ।
यो गाउँलाई टिपिकल भिलेजका रुपमा विकास गर्ने दाउमा छन् गाउँले । ऐतिहासिक र सांस्कृतिक परम्परालाई जगेर्ना गर्ने र पर्यटकलाई देखाउने होमस्टे समितिका सल्लाहकार बुद्धरत्न मानन्धर बताउँछन् । ुयहाँ आएपछि जेसुकै कुरामा पनि स्थानीय स्वाद दिन सकौं भन्ने छु उनले भने ुचाहे त्यो खानामा होस् या चालचलनमा ।
मकै कोदो फापर तोरी र गहुँ यहाँको मुख्य उत्पादन हो । त्यसैले यहाँ पुगेर बालीको परिकार खान सकिन्छ ।
कुनै समय तराई र काठमाडौं व्यापार गर्दा हिँड्ने बाटो हो यो । तर बाइरोड बनेपछि यो बाटो बन्द भयो । मानन्धरका अनुसार यो काठमाडौं छिर्ने मुख्य नाका भएकाले व्यापारीहरु बोकिएर पशुपति दर्शन गर्न आउँथे । एकचोटि यस्तै बोकिएर पशुपति जाँदै गरेको देखेर लक्ष्मीप्रसाद देवकोटाले चित्लाङको गुर्जुधारामा बसेर यात्री कविता रचेका थिए रे ! अहिले पनि यो धारा देख्न सकिन्छ ।
यही बाटो काठमाडौंमा पहिलोचोटि मोटर बोकाएर लगिएको थियो । त्यो बेला मोटरको रुप देखेका गाउँलेले झन्डै छ दसक पछिमात्र आफ्नै गाउँमा गाडी देखेको पूर्व गाविस अध्यक्षसमेत रहेका राधाकृष्ण बताउँछन् ।


हामी अब सात धारा जाँदैछौं । जाडोमा तातो र गर्मीमा चिसो हुन्छ रे यहाँको पानी । द्वापर युगमा सप्तऋषिले नुहाउने भएकाले यसलाई सप्तऋषि धारा पनि भनिन्छ ।
चित्लाङको नाम अशोक चैत्यबाट रहेको जनविश्वास छ । नेपालमा अशोक आउँदा बनाइएको चैत्यसँगै लहरै घर थिए रे । नेपाल भाषामा लहरै बनाइएको घरलाई लुङ भनिन्छ । चैत्य र लुङ सँगै भएपछि गाउँलेले यो टोलको नाम चैत्यलुङ राखे । पछि अपभ्रंश हुँदै चित्लाङ भएको होमस्टे समितिका सल्लाहकार मानन्धर बताउँछन्
अशोक चैत्यमा यक्ष र यक्षनीको मुर्ति छ । सँगै छ गुजुमुज्ज परेको पुरानो नेवार बस्ती । बुढाबुढी आफ्नै सुरमा घाम तापेर बसेका । ठ्याक्कै ललितपुरको घरजस्तै यहाँका घर । भुइँतला गोठ दोस्रो तला सुत्ने र माथिल्लोमा भान्सा ।
एकै दिनमा घुमेर सकिन्न चित्लाङ । घुम्नै धेरै ठाउँ छन् । चन्द्रगिरी भार्लश्वर अशोक चैत्य स्वच्छन्द भैरव तलेजु भवानी सातधारा नयाँ पौवा गोपाल बस्ती इन्द्रसरोवर र भेडा फाम ।
भेडा फाम यहाँ अर्काे रमाइलो ठाउँ हो । जेठअसारमा जाने हो भने हरियो तरेली परेको जग्गामा बाख्रा चरेको दृश्यले मन हरहराउँछ । कुलेखानी सरोवर हेर्दै यहाँ बस्दा निकै आनन्द हुन्छ । यहाँ आएर ड्राई पिकनिकसमेत गर्न सकिन्छ । गीत वा फिल्मको सुटिङ गर्न पनि रमाइलो ठाउँ छ ।
चित्लाङको अर्काे विशेषता- यहाँ कहिल्यै लोडसेडिङ हुन्न । त्यसैले लोडसेडिङबाट दिक्दार हुनुभएको छ भने यहाँ आएर प्रुेस हुन सकिन्छ । रचनात्मक काम गर्न सकिन्छ ।
कसरी जाने
काठमाडौंको गोदामबाट जिप पाइन्छ । यसले साढे एक घन्टामा पुर् याउँछ । प्रतिव्यक्ति ८० रुपैयाँ लाग्छ ।
के-के लैजाने
न्यानो कपडा क्यामरा टोपी सन कि्रम बाटोमा आफूलाई खान चाहिने खाजा ।
बस्न कति लाग्छ
एक जनालाई होमस्टेमा बिहान नास्ता खाना खाजा बेलुकीको खाना र सुत्न एक हजार । अरु खाने र रमाइलो गर्ने हो भने थप रकम बोक्नुपर्छ ।

Sunday, April 10, 2011

सुन्दर सेतो गुम्बा

शान्त छ । यहाँ आएर पढ्न रचनात्मक काम गर्न मर्निङ वाक जान दिउसो सितल हावा खान र एकदिन छुट्टी मनाउन सकिन्छ

सफा र शान्त वातावरण । चराको चिरबिर आवाज । काफल पाक्यो भन्दै कराइरहेकी कोइली चरी । भीडभाड र कोलाहरहित । तल सल्लाघारीबाट आएको सिरसिर बतासले गर्मीमा आतै हर्रहराउँछ काठमाडौं रामकोट गाविसमा रहेको सेतो गुम्बा पुग्दा । नागार्जुन डाँडाको फेदीमा रहेको गुम्बा बाहिरबाट हेर्दा जति राम्रो छ भित्र पुगेपछि त्यत्तिकै रमाइलो अनुभूति मिल्छ ।
गुम्बाको नाम त ड्रँुक अमिताभ माउन्टेन गुम्बा हो । तर यो सेतो गुम्बा भनेर चिनिन्छ । चक्रपथबाट नजिकै छ । बिदा र फुस्रदमा साथीभाइ परिवारसँग छुट्टी मनाउन उपयुक्त गन्तव्य हो यो । यहाँ जाने दुई बाटा छन् । एउटा स्वयम्भु चक्रपथबाट इचंगुनारायण हुँदै अर्काे सितापाइला चोकबाट । स्वयम्भु चोकबाट लगभग ४ किलोमिटर पश्चिममा छ गुम्बा ।

आफ्नै सवारीसाधन हुनेले गुम्बामै लैजान सक्छन् नहुने भने हिँडेरै जानुपर्छ । यहाँ जान सार्वजनिक यातायात पाइँदैन । हिँडेरै जाने हो भने स्वयम्भु चोकबाट पंैतालिस मिनेट । सल्लाघारीको सुसाहवट र गाउँले जनजीवनले हिँडाइको थकानलाई बिसा्रइदिन्छ ।
१२ वर्ष अघिदेखि बनाउन सुरु भएको हो गुम्बा । अहिले पनि बन्दैछ । यस ठाउँलाई पर्यटकीय गन्तव्य बनाएर धर्मको प्रचारप्रसार गर्ने उद्देश्य रहेको अमिताभ बौद्ध समाज समितिका सदस्य जिग्मे छ्योजाल लामा बताउँछन् । भन्छन् ुमानिस घुम्न पनि आउन् र बौद्ध धर्मबारे पनि जानकारी लिउन् भन्ने हाम्रो सोच हो ।ु प्रत्येक शनिबार झन्डै हजार मानिस आउने लामा बताउँछन् ।
पचहत्तर रोपनी क्षेत्रफलमा फैलेको छ यो । कन्लाकान्लामा बनाइएको घर र बगैंचाले भित्र छिरेपछि मनै रोमान्चित हुन्छ । दक्षिण ढोकाबाट छिरेपछि कार्ड लगाएर घुम्न जान पाइन्छ । छिर्न पैसा तिर्नुपर्दैन ।
प्रत्येक दिन बिहान ९ देखि ५ बजेसम्म खुल्छ गुम्बा । भित्र जाँदै हुनुहुन्छ भनेचाहिँ केही कुरा ख्याल गर्नैपर्छ । घुम्दा घडीको सुईअनुसार घुम्नुपर्छ भित्र आनीहरु पढिरहेका हुनाले धेरै हल्ला गर्न पाइन्न मादक पदार्थ मासु र चुरोट लैजान पाइन्न । लामा भन्छन् हामी प्लास्टिकरहित क्षेत्र बनाउन लागेका छौं । प्लास्टिकका केही सामान पायौं भने रिसाइकल गर्न पठाउँछौं । जथाभावी फोहोर गर्न पाइन्न ।
सिँढीबाट माथि उक्लँदै गर्दा वरपर कुँदिएका कलात्मक चित्र । बीचबीचमा राखिएका ठुल्ठुला बुद्धमुर्तिले पनि मन आनन्दित बनाउँछ । सबैभन्दा माथि पुगेपछि बगैंचामा फुलेका फूल कलकल पानीको आवाजले मन पुलकित बनाउँछ । अहा कति सुन्दर बगंैचा ! माथि राखिएको अमिताभ मुर्तिलाई एक फन्को लगाएर झर्दै गर्दा काठमाडौंको क्रंकि्रट जंगल पनि रमाइलै देखिन्छ ।
गुम्बामा धेरै समय बिताउन पाइन्न । बढीमा ३० मिनेट । सधैं यो नियम लागु नहुने लामा बताउँछन् । उनी भन्छन् मानिसको चापअनुसार घुम्न सकिन्छ । मानिस धेरै भए सुरक्षा गार्डले नै ३० मिनेटभन्दा बढी बस्न दिन्नन् ।
घुम्दै गर्दा भोक लाग्यो भने त्यहीँ छ- नारु ड्रँुक क्याफे । स्न्याक्स र साकाहारी खाजा पाइन्छ । अलि महंगो छ क्याफे ।
कोहालबाट दिक्दार हुनुभएको छ भने यहाँ पुगेर प्रुेस हुन सकिन्छ । शान्त भएकाले पढ्न र रचनात्मक काम गर्न सकिन्छ यहाँ । बौद्धधर्मबारे जानकारी लिने हो भने यसैसँग सम्बन्धित पुस्तकालयसमेत छ । त्यसो त गुम्बाभित्र मात्रै होइन वरपर पनि बस्ने ठाउँ मनग्गे छन् । सल्लाघारी बीचमा गएर गर्मीमा बस्नुको रमाइलै बेग्लै !